रामशरण न्याैपानेरुन्छन् पिता र माता
पुर्खा यहीँ रमाए नेपाल स्वर्ग ठानी संस्कारले सजाए उम्दा गृहस्थ धानी माटो भुलेर आफ्नो हिँड्दा त पीठ मोडी रुन्छन् पिता र माता भो जान्न देश छोडी॥

रामशरण न्यौपाने :
माता पिता दुवै छन् हो सत्तरी कटेका
देखेर आँसु झर्छन् ती कर्ममा खटेका
भन्छन् यहाँ सबैले छोरो रहेछ झोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥१
बिर्सेर रक्तको त्यो नाता र दुग्ध भारा
आफू बनेर ज्यादा नामर्द कर्महारा
सम्बन्ध उच्च गाढा हल्का गरेर तोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥२
कर्तव्य धेर हुन्छन् गाहस्थ जिन्दगीमा
भुल्दा अनर्थ होला छोरो भएर सीमा
छोडेर मस्त जाया पारेर झन् बिजोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥३
खन्ने हुँदैन माटो जोत्ने हुँदैन पाटो
धौ पर्छ बाँच्नलाई खाएर भात आँटो
को रोप्छ धान गैह्री टारी मकै र बोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥४
पुर्खा यहीँ रमाए नेपाल स्वर्ग ठानी
संस्कारले सजाए उम्दा गृहस्थ धानी
माटो भुलेर आफ्नो हिँड्दा त पीठ मोडी
रुन्छन् पिता र माता भो जान्न देश छोडी॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































