दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ५६)
खोजूँ योग्य कथा विचार कसिने पाका बनून् निर्भर । साँच्चै सौख्य टिपेर रम्दछ हियो आल्हाद भर्दै घर।। यै हो मानव योग्य यो अवनिको बास्ना चलायौँ भने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

दीनानाथ पोख्रेल :
आफ्ना मान मियो दुखे पर भए पश्चाग्नि दन्किन्छ रे ।
राखे नित्य सुसारले घरसँगै उल्लास जन्मिन्छ रे ।।
हो सायुज्य निको बुझी मन लिए हर्षाश्रु शोभा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७१।।
मान्छेझैँ व्यबहारमा नरहने छन् दुष्टतामा कति ?
वृद्धावृद्ध नकार्न खोज्दछ भने त्यो हो अबोधी मति।।
सद्वाणी मृदु पस्कने मनुज जो आकाशमा उक्लिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७२।।
भोग्नै पर्दछ यो अवश्य सबले एकै धराको पथ ।
भिन्नै हो यदि चेत भन्दछ भने गुड्दैन काया रथ ।।
आफू वृद्ध हुँदा अपायक हुने आचार त्याग्यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७३।।
झुल्नेछन् घर ओर्लिएर हितका आभा सुनौला बनी।
आशीर्वाद लिएर रम्न म सकूँ सङ्लो सुबाटो खनी।।
झर्के चाल चली हियार कुडिँने बानी नहोस् फन्फने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७४।।
खोजूँ योग्य कथा विचार कसिने पाका बनून् निर्भर ।
साँच्चै सौख्य टिपेर रम्दछ हियो आल्हाद भर्दै घर।।
यै हो मानव योग्य यो अवनिको बास्ना चलायौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७५।।
०००
इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest







































