कल्पना अधिकारीवृध्द-पीडा
नसानाडी गल्दा विचलित अझै बन्दछ मन । विना आगो आफैँ मन मुटु यसै जल्दछ तन। हुँदा वृद्धावस्था प्रणयसित खै बोल्छ कसले? खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।

कल्पना अधिकारी :
गयो सोच्दा सोच्दै अनुपम युवा जीवन गयो ।
अचानाले जस्तै हरपल सयौँ चोट खपियो
बुबा आमा भन्छन् सुख र सुविधा खोज्छ तनले ।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।१।
भए रित्ता भान्सा यस मुलुकका गाउँ घरका ।
मकाएका छाना कमसल बने जीर्ण खरका ।
गयो काया गल्दै नयन रसिला छन् सकसले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।२।
थिए हट्टाकट्टा अवयव निकै दुर्बल भए।
न देखिन्छन् आँखा, खुरुखुरु झरी दन्त सकिए।
गरी खानै गाह्रो अब गलिसकेँ भन्छ मनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।३।
घुँडो मुन्टो एकैसरि हुन गयो, कान बहिरा।
सुनाऊँ, को सुन्ला विषम पलका मर्म गहिरा।
न छोराछोरी छन्,परिजन न छन् सोच्छ मनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।४।
नसानाडी गल्दा विचलित अझै बन्दछ मन ।
विना आगो आफैँ मन मुटु यसै जल्दछ तन।
हुँदा वृद्धावस्था प्रणयसित खै बोल्छ कसले?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।५।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































