सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामीलाई फुर्सद छैन, के गर्नु ?(४)

लौ, हेर्नुहोस् त, अपरान्ह पछिको समय पनि बेफुर्सदी नै भयो, गम्न बाहेक लेख्न एक पारा सकेको भए के भन्नु । हुन त फुर्सद नभएर नै हो, होईन त !

Nepal Telecom ad

साँझको पाँच भन्दा बढि नाघ्यो । अब के लेखौँ भनेर सोच्नु पर्‍यो । एकछिन् कौसीतिर बरालिँदा रमाइलै होला, कुरो पनि फुर्ला । डाँडामा घाम ढल्केको छ, मधुरो प्रकाश अझै लागेकै छ । किरणहरू एकमतोमा एकातिर छन् । चराहरू दिनभर चारो चरेर आफ्ना गुँडतिर बाँकटे हान्दैछन् । अलि छुट्टिएर उड्नेलाई खबरदारी गर्दै पाका च्याउँच्याउँ कराउँछन्, कम उमेरका जस्ता देखिने फेरि बगालमा नै मिसिएर उड्न फर्के जस्तो लाग्छ । छरिएका सबै साथी र परिवार पहिल्याउँदै एकमतोमा फर्किरहेछन् । सजीव सबैमा समान हितमा पारिवारिक र समुहगत एकगठ हुने नियम नै छ कि कसो ? कतिपय दिनमा विचरण गर्ने त अब गुँड हुने गुँडतिर लागे नहुने के गर्दा हुन् ? ओत त पक्कै लाग्दा हुन् सुरक्षित ठाउँमा । त्यस्को निर्णय पक्कै अनुभवीले गर्दा हुन् ।

पर अली अग्ला रुखहरू भएतिर एक हुल साना, मध्यम र ठूला वा पाका होलान् चमेराहरू उडिरहेका थिए । यिनीहरूको चैँ अब साँझ परेपछि बिचरण गर्ने समय होला । दिउँसोभरी पखेटा फरफराउँदै कुराकानी गरिरहने यी उल्टो झुण्डिएर बस्ने प्राणि साँझ सक्रिय हन्छन् र रातभरी विचरण गर्छन् । केही सानालाई कागहरूले लखेट्न खोज्याजस्तो छ, मझ्यौलाहरू वरपर रहेर बचाउन खोजेका हुन् जस्तो लाग्यो । एउटा चमेराको पखेटा च्यातिने गरेर कागले ठुँग्यो । त्यो घाइते अलि ठूला भएतिर गयो । ए, पाका केही चमेराहहरू मिलेर त कागलाई पो लखेट्न र त्यो क्षेत्रबाटै भगाउन खोज्दै छन् । अनुभवी पाका चमेरा आफ्ना बंशज बचाउन कति लागिपरेका ? हो नि, उनीहरूको ज्ञान र अनुभवले बैरीसँग लड्ने धेरै जुक्ति सँगालेको जस्तो लाग्यो, आखिर पाका न परे ! एकछिनमा शत्रु परास्त भएको अनुमानमा होला, बासस्थानका रुखहरूमा चक्कर मार्दै साथीहरू बटुल्दै अलि टाढातिर उडेर गए ।

घरको गल्लीतिर हेर्दा पाको डाँगो सतर्क भएर आगन्तुक आउने बाटोको मुखमा आराम गरिरहेको छ भने कुकुर्नी पछाडि खान पाइने घरको ढोका छेउ । बच्चा र किशोरहरू दुबै बाबुआमाको बिच पर्ने भागतिर । सेवा लिन, पर्नसक्ने अकल्पनीय खतरा र दुर्घटनाका स्रोत रक्षा अनि बचाउनुपर्ने उमेरसमुहबारे कस्तो उच्च ज्ञान ! एउटाको प्रतिक्रियामा अरु सतर्क र आवश्यक्ता बमोजिम ओडलाग्ने । अँ, बाहिरिया देखेर जत्ति क्याउँक्याउँ गरे पनि सजातीय खोपीका मित्र देखेपछि बढीमा सुँघासुँघ र घटिमा आफ्नो क्षेत्र निर्धारणको लघुसङ्का बिसर्जन । टोलका मानिसहरूसँग बडो हिसाबी व्यवहार छ गल्लीमा बस्ने उनीहरूको । जुठोपुरो दिने आउजाउ गरे भोक लागेको बेला पछिलाग्ने र अघाएको बेला मुण्टो उठाई पुच्छर हल्लाउने । टोलका अरुको चलखेलमा सतर्क हुने नघुक्ने, तर नौला आउजाउ गरे खबरदारी गर्ने । अलिअलि पूर्वाग्रही चैँ छन्, टोले जस्तै आए वास्ता नगर्ने तर फरक खालका आएगए टोलनै थर्काउने गरेर टोलभक्ति देखाउने । जे भएपनि बडो सामुहिक छन् है !

कावा खाँदै गरेका एकजोडी चिबे र कागको पछिपछि एउटा चिल पछि लागेको थियो । एकछिनमा चिबे र कागको दोस्तीमा भाँजोहाल्न खोजेझै्ँ चिलले बाँकटे हान्यो । सतर्क दुबैले काम बाँडे कि जस्तो लाग्यो । कागले पछि लागेर पुच्छरतिर र चिबेले सुइँकेर गई ढाडतिर चुच्चो गाड्ने प्रयाश गरे । दुई प्रयाशमै दुबै साना प्राणिले त्यो बलिष्ट चिल लखेटे र चिल जोडले पखेटा हान्दै तलमाथि गरी भाग्यो । सानै आकारका भए पनि मिलेपछि दुष्ट्याइँ गर्ने बलियोलाई आजित गराई लखेट्न सकेका, अहा ! अर्कोतिर एउटा बाज सुइँकेर आयो, त्यो क्षेत्रभरीका परेवाहरू ‘हामी एक छौँ, खबरदार !’ भनेझैँ हुरुरुरु बथान बनेर उडे र ‘पूरा क्षेत्र हाम्रो हो, पस्न पाउन्नस्’ भनेझैं रेखाङ्कन गरे । हरेकका सहभागितामा आफ्नाहरूसँगै आफ्नो रक्षा हुन्छ भन्ने सामुहिकता कस्ले सिकायो होला ? हुन त बजारसँग अभ्यस्त हुनु नपरेकाले हरेक गतिविधिलाई नगदसँग तुलना गर्ने परिवेश र क्षमता नभएर होला कि ? छाना र खानाका लागि सँगै जाउँ आआफ्ना बर्कतले भ्याएसम्म गरौँ भन्ने नै सामुहिकता होला । एकअर्कालाई सक्नेभएपछि कोच्च्याउन राखीदिने नगरे पनि ठाउँसारी गरेर मद्दत त गरिरहेकै हुन्छन् । हेर्ने फुर्सद र बुझ्ने ज्ञान भए कति अर्थपूणर् र मार्मिक होला प्रकृतिका हरेक प्राणिका चलखेल ?

मानिस चैँ किन मुण्डमुण्ड बुद्धि भएका व्यक्तिवादी भए होलान् ? एक अर्कासँग मिल्नै गाहारो, एकगठ हुनै समस्या, परिवारको एकता नै कमजोर । समान कुराका लागि पनि हरेकका असहमतिका चोसा बार्‍ह वटा चुच्चाझैँ भेटिने । विचरा आफ्नै चुच्चाका भरमा जीउने चरा कति मिलनसार, कति सामुहिक र सङ्गठित ? गल्लीका कुकुर परिवारका सदस्यहरू आआफ्नै जिम्बेवारी र हैसियतमा बस्ने । स्वपरिवार वा स्वजातीय हितमा कति सम्बेदनशील हुने । मस्तिष्क क्षमता मानिसभन्दा थोरै भएपनि पारिवारिक अनुशासनको उलङ्घन कसैबाट नहुने । हरेक मानिसका परिवार चराकै जति त्यति सहिष्णु भइदिए कति रमाइलो हुन्थ्यो ? ज्ञान र अनुभवको आदरयुक्त परिवार, त्यस्तैको समाज र समुदाय अनि त्यस्तै त्यस्तैको संसार बन्थ्यो होला ? साँच्ची, के मस्तिष्क बिकास नै मानव जातिको अभिशाप हो त ? के यो ठूलो र वजनदार भएको केबल लड्दा ठोकिन मात्र हो ?

साँझको सुमधुर तापक्रममा कौशी दृश्याबलोकन त मलाई मानव उत्पत्ति र विकासको गहन चिन्तनतिर डोहोर्‍याउन पो थाल्यो । कहाँ आजको लेखनी मशला खोज्न हिँडेको कहाँ बरालिन पुगेँ ! घाम डुबेर रामारुमी हुल थाल्यो, बतास चल्न लाग्यो, अब लम्पटासनतिर लस्केर आराम गरे बेलुकाको खुराक भित्र्याउन सहज होला । चिसो बढेर तुम्बो ठासठुस् गर्नथाल्यो र टाउको टनटन गर्नथाल्यो भने त, रात कटाउन गाहारो हुन्छ । फेरि एकछिनमा भान्छाको उर्दी हुनसक्छ, ठाउँमा नबसे र बेलामा नसुने आफैँलाई घाटा । पाको मान्छेले घाटालाग्ने कुरा गर्नु त काँचो भइहालियो नि । यो उमेरमा काँचो हुनु त लाजै हुन्छ है ! म उमेरमा त लाज हुने काम नगर्ने मान्छे, अब किमार्थ गर्दिन । सके बरु अरुको लाज छोपीदिने वा छोप्न सिकाइदिने नसके देख्या नदेखेझैँ गर्ने हो ।

आफू माथ्लो तलामा लम्पट कस्ने भएर तल भान्छाको राग अलिअलि पहिले अन्दाज गर्न अवसर मिल्छ । दालको पत्तो पाउन्न तर सिट्ठीले मेसो पाइन्छ भने भात भर्सिन लागेको चाहिँ बास्नाले थाह लागिहाल्छ । तरकारीको सुरुवात त झ्वाइँ गरेकोबाट थाह पाइन्छ तर के पाक्दै छ भन्ने चैँ ठम्म्याउन गाहारो पर्छ । मरमशला र अचारबारे बाजेको पालादेखिको सिलौटेले जानकारी त दिन्छ तर के के भन्ने चाहिँ भन्न सक्तिन र जे होस् यति भएपछि एकसरो मलाई चाहिने र पाउने खुराक तयारी हुन आँट्यो भन्ने अनुभूतिले मुख रसाउने र पेट क्याउक्याउ गर्न थालिहाल्यो । अनि खाना अघिको औषधि जिप्ट्याउनेतिर बेलाभयो भन्ने पनि सन्देश बुझ्नु पर्‍यो । अँ, खाना खानासाथ खाने औषधि सँगै लगे राम्रो, त्यसोभए खानापछिको जलसेवन सँगै बजाइदियो काम नै घट्छ । लौ, ज्यानराख्ने त्यो महत्वपूर्ण अवशरहरू त तत् समयमा नै गर्नुपर्छ, गुमाउने त कल्पना पनि गर्न सकिन्न । नत्र त रातभरी हाब्रोको झुत्ति र ज्यानको बाउँडिने दुखाई कसले सहोस् ? अब कुनबेला पवित्र कार्यको निम्तो आउँछ, पर्खिनु पर्‍यो, उफ, पर्खनु जस्तो चिन्तित गराउने काम केही होइन् । तर गर्न सक्ने त त्यति नै हो ।

लौ, हेर्नुहोस् त, अपरान्ह पछिको समय पनि बेफुर्सदी नै भयो, गम्न बाहेक लेख्न एक पारा सकेको भए के भन्नु । हुन त फुर्सद नभएर नै हो, होईन त ! क्रमश….

ल.पु., चालिसेडाँडा

= लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युज नेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाइन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाइन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाइन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्वाद डट कम अनलाइन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाइन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाइन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाइन, २०२२ मार्च ३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे