डा. मुकेशकुमार चालिसेपाका मानिसलाई घरमै राख्ने ! (२)
हाम्रो कुनै पनि कारोबारको राजस्व नलिनेलाई कसरी जवाफदेही बनाउने ? तर जसरी भए पनि पाका मानिसलाई घरमा नै टिकाऔँ, तपाईँ स्वर्ग खोज्न मरिरहन पर्दैन है ।
पाका मानिसहरूलाई घरमै राख्न किन आवश्यक छ भन्ने कुरा यस आलेखको अघिल्लो भागमा चर्चा गरियो । घरमै त राख्ने तर पाका मानिसहरू घरमै रहने अनुकूल परिवेश पनि हुनु उत्तिकै आवश्यक छ । के गरेर बस्ने ? समय कसरी बिताउने ? बिहान बेलुका त घरमा परिवारका सदस्यहरू हुन्छन्, गफगाफ हुन्छ, केटाकेटी हुन्छन् उनीहरूसँग खेलेर पनि समय बित्छ । तर दिउसो उनीहरु स्कुल जान्छन्, परिवारका अरु सदस्य पनि आआफ्ना दैनिकीमा कोही अफिस वा अन्य कामा निस्कन्छन् । अब घरमा पाका मानिस के गरेर बस्ने ? यो अर्को जटिल प्रश्न हो । अब यस भागमा पाका मानिसले समय व्यतित गर्ने उपायका बारे केही उल्लेख गर्न खोजिएको छ :
मोबाइलः
भन्न त किशोरकिशोरीहरूले मोबाईल बढि प्रयोग गर्छन् भनिन्छ तर बेलायतमा ६५ वर्षमाथिका ६५ प्रतिशत नै पाका मानिसले मोबाईल फोन प्रयोग गरेको २०२१ को आँकडा छ । तारवाला फोन स्थिर र खास ठाउँमा राखिने हुनाले मोबाईल फोन नै सबैले प्रयोग गर्छन् र अझ पाका मानिसले आफ्ना मनका कुरा गोप्य गर्नका लागि झन प्रयोगमा ल्याएको पाइन्छ । आधुनिक मोबाइलको विविध कर्कश आवाज मन नपरे साधारण खालका पाका मानिसमैत्री मोबाइल पनि बजारमा उपलव्ध छन् । ठूला टाँके मोबाइल भनेर चिन्हिने त्यस्तामा अक्षर ठूला र पर्दा चम्किला छन् । बाथ रोगी भई हातकाम्ने र आँखा कमजोर भएका पाका मानिसलाई त्यस्तो मोबाइल कामलाग्दो हुन्छ । त्यस्तोमा अरु मद्दत पुग्ने कार्यक्रमसहित बत्तीबाल्ने टर्च पनि हुन्छ र आवश्यक्ता अनुसार प्रयोग सजिलै गर्नसकिन्छ ।
मोबाइल फोनका खास कार्यक्रमले खासखास काम लिन सकिन्छ । अचेल केटाकेटी र परिवारका वयस्कले मोवाइलका यस्ता कुरा थाहा पाइसकेका होलान, उनीहरूबाट सिक्न सकिन्छ । घरमा धेरै मद्दत नभए मोवाइल बेच्ने वा बनाउने पसलेलाई हाल्न लगाउन सकिन्छ । नयाँ मोवाइल किन्दै हुनुहुन्छ भने किन्ने निश्चित गरेपछि बिक्रेतालाई हालिदिन भने हाल्दिन्छन् ।
जुम प्रविधिः इन्टरनेट छ भने मोबाइलमा जुम प्रविधि राख्न सकिन्छ । यो कार्यक्रम वाईफाई राखेझैँ सित्तैमा हाल्न सकिन्छ । यसबाट संसारभरी छरिएका नातागोता, ईष्टमित्र र साथीभाइसँग कुरा गर्न सकिन्छ र कहाँ बसेर कुरा गर्दै छन् भिडियोबाट हेर्न पनि सकिन्छ । अचेल रोगव्याधको महामारी बेला लामालामा कार्यक्रम पनि यसैबाट एकै समय संसारको जुनसुकै कुनाबाट भाग लिन सकिन्छ । यस प्रविधिबाट आवाज मात्रै सुन्न पनि सकिन्छ भने चलायमान सिनेमाजस्तै भिडियो पनि प्रयोग गर्न मिल्छ ।
तीनशब्दे सूचनाः यो कार्यक्रम मोवाईलमा भए तपाईँ पृथ्वीको जुनसुकै ठाउँमा भए पनि यस्ले अदभूत तीन शव्दे ठेगाना दिन्छ । तपाईँ हराउनु भयो, खतरा वा अप्ठ्यारोमा पर्नुभयो भने आफूलाई आकस्मिक उद्धार गर्नु परेको जानकारी सम्बन्धितलाई दिन सक्नुहुन्छ ।
औषधि घण्टीः औषधि नियमित खानुपर्ने मानिसलाई ठिक समयमा औषधि सेवन गर्न समय भएपछि सम्झाउन सतर्क गराउन घण्टी बज्ने कार्यक्रम पनि मोबाईलमा राख्न सकिन्छ । यस प्रकारको सूचना घण्टीको बेला कुन औषधि खानु वा लाउने बेला भयो त्यो पनि जानकारी दिनेगर्छ ।
खल्ती व्यायामः बेलायती हेरचाह भन्ने संस्थाले विकसित गरेको यो कार्यक्रम मोवाइलमा राख्यो भने तपाईँले के के गर्दा आफूलाई तन्दुरुस्त र स्वस्थ्य राख्न सक्नुहुन्छ भन्ने विस्तारपूर्वक सल्लाह दिन्छ ।
विविध खेलः प्रतिस्पर्धा हुने खेलहरू मोवाइलमा खेल्नथाले दिमाग सकृय भएर स्वस्थ्य रहन मद्दत पुग्छ । यसले मस्तिष्कमा समस्या भएर बिर्सने अथवा नचिन्हे डिमेन्सिया भनिने रोगलाई आएर असाध्य हुने बेला पछि घच्याड्न सकिन्छ । मस्तिष्कलाई सकृय पार्न शव्द बनाई, छक्याउने खेल अथवा चलाउनेले जुक्ति लाएर जित्ने सिर्जनात्मक खेलहरू खोज्नु पर्छ ।
ठूलो मोवाईल वा ट्याब्लेटः आईपडको विकास सन २०१० तिर भएको थियो । छोएर मात्र पनि सबै कार्यक्रम सजिलै देखापर्ने र चलाउन सकिने भएर बेलायती घरघरमा यो प्रचलित भयो । कामको हिसाबले आईपड मोबाइल र काखे कम्प्युटरको बिचको मानिन्छ । यसबाट खबर आदानप्रदानमात्र होइन, कम्प्युटर सुरु हुन त समय लाग्छ नि, यसबाट निमेषभरीमा इन्टरनेट खुल्छ । कम्प्युटरको जस्तो बसेर चलाउनु पर्ने झञ्झट हुन्न भने तातेर हैरान र तिघ्रा पोल्ने डर पनि हुन्न ।
धेरैजसो ट्याब्लेट आईफोन वा सामसुङ्ग ग्यालेक्सीमा आधारित छन् भने मोबाइल फोनजस्तै देखिन्छन् । कुनैकुनैमा त छोएर काम गर्न असजिलो लाग्नेका लागि अलग गर्न सकिने टङ्कण भाग हुन्छ । औँलाले छोएर काम गर्न मनन लाग्नेले खासखालको कलमले लेखेर वा छोएर पनि काम गर्न सकिने कलम किन्न पाइन्छ । ट्याब्लेटका केही फाइदा यस्ता छन्-
हेर्ने ठूलो पर्दाः दृष्टि सम्बन्धी समस्या भएकालाई अति काम लाग्छ । सबै कुरा प्रष्ट र ठूलो देखिन्छ ।
छक्क पर्ने कार्यक्रमः बसीबसी वा हिँडडुल गर्दै तपाईँले सिनेमा हेर्न सक्नुहुन्छ । विभिन्न खेल खेल्न सक्नु हुन्छ । आवस्यक परेकासँग भिडियो कुराकानी गर्न सक्नुहुन्छ ।
किन्न सकिनेः ट्याब्लेट सामान्यतया काखे वा टेबल कम्प्युटरभन्दा सस्तो हुन्छ । यो किन्न सकेमा कम्प्युटर राख्ने र चलाउने झञ्झट परेन ।
खेलको भण्डारः दिइएको कार्यक्रम भण्डारबाट तपाईँले धेरै थरिका खेल निकाल्न र साथिभाइसँग खेल्न सक्नुहुन्छ ।
चलायमानः ट्याब्लेटको धेरै वजन हुँदैन । आकार पनि बडा आकर्षक हुन्छ । साथमा लिएर हिँड्न सजिलो हुन्छ । धेरैजसो ट्याब्लेटमा भएका चलाउने तरिका र कार्यक्रमहरू प्रयोग गर्न सजिला र बुझ्न सकिने खालका नै हुन्छन् । यदि तपाईँले उही कम्पनीको मोबाइल फोन पहिला नै किनिसकेको छ भने त, सायद तपाईँलाई ट्याब्लेट चलाउन सिक्ने तरिकाको निर्देशनपत्र हेरिरहनु पनि पर्दैन होला ।
ट्याब्लेटका फाइदाः
तन्दुरुस्तीका तरिकाः उमेर जतिसुकै भए पनि मानिसको शरीर ठिक रहनु र स्वस्थ्य हुनु महत्वपूणर् कुरा हो । सकृय रहिरहनु खास गरेर पाका मानिसहरूको लागि महत्वपूणर् हुन्छ । स्वस्थ्य रहनुभयो भने तपाईँले सामान्यतया पाको उमेरमा औषधि गर्नुपर्ने मधुमेह र मुटुरोगबाट बच्नसकेको वा छुन नसक्ने संभावना बढि हुन्छ ।
आधुनिक प्रविधिको मद्दत पाका मानिसले पनि राम्ररी लिन सक्छन् । तपाईँको दैनिक गतिविधि र प्रगति मापन गर्ने स्वास्थ्य सम्बन्धी थुप्रै उपकरण र अनुगमन गर्ने कार्यक्रम उपलब्ध छन्, उपयोग गर्न जान्नुपर्छ, बस् । तन्दुरुस्ती मेसिन नाडीघडीझैँ बाँध्ने पनि छन र दिनभरीका गतिविधि निगरानी गरिरहेका हुन्छन् र आँकडा राख्छन् । यस्ता मेसिन चलाइराखेमा निम्नकुरा आँकलन गरिरहन्छन् । १) हिँडेका पाइला सङ्ख्याहरू र त्यस बराबर हुने माइल वा किलोमिटर २) गतिविधिबाट खपत भएको शक्ति ३) मुटुको चाल (सामान्यतया ७२ धड्कन हुन्छ) ४) सुताइको तरिका, समय आदि ।
कुनैकुनै त्यस्ता उपकरण भएको हाते घडीमा भौगोलिक सूचना प्रणालीसमेत समाबेश हुन्छ । त्यसो भएमा तपाईँको आधुनिक मोबाइल छ भने त्यसमा जोड्न सकिन्छ र आफूरहेको स्थानको जानकारी पठाउन मिल्छ । तीन चार दिन सजिलै खप्ने ब्याटरीबाट चल्ने त्यस्ता उपकरणयुक्त उपकरणमा पानीको असर हुन्न र भिजेमा वा नुहाउँदा पनि फुकालिरहनु पर्दैन ।
यस्ता कार्यक्रम भएका मोबाइल वा ट्याब्लेटले तपाईँले लिएदेखि नै काम गरिरहेका हुन्छन् । कुन ठाउँ पुग्दा कति हिँडिएछ वा कति पाइला चाल्नु भयो सबै रेकर्ड हुन थाल्छ । घरमा घरायसी दैनिक काम गर्दा पनि कोठाचोटा वा तलमाथि गर्दा यस्ता सामाग्रीयुक्त मोबाइल प्रयोग गरे दिनभरीमा कति हिँड्नुभयो त्यो पनि आँकलन हुन्छ । कहिलेकाहीँ साथीभाइ परिवारमा कुन ठाउँ कति पाइला छ भनि रमाइलो गर्न वा नापो गर्न पनि यस्ता उपकरणयुक्त मोबाइल कामलाग्दो हुन्छ ।
राम्रा र उच्चस्तरका मोबाइलबाट असङ्ख्य कार्यक्रम हेर्न र उपयोग गर्न सकिन्छ । एउटै मोबाइलबाट झण्डै टिभी र कम्प्युटरबाट हुने फाइदा लिन सकिन्छ ।
समाचार कार्यक्रमः कतिपय समाचारपत्र र टिभी कार्यक्रमको अनलाईन सेवा हुन्छ । प्रमुख समाचार र अरु सबै लेखरचनाका शीर्षकहरू वाईफाईमार्फत मोबाइलमा देखा पर्छन् । तपाईँलाई मनपर्ने वा विश्वासिलो अनलाइन र टिभीलाई सँधै आउने गरेर स्विकार पनि गर्न सकिन्छ । त्यसोभए उक्त पत्रिका नयाँ आउनासाथ तपाईँको मोबाईलमा सूचना आइहाल्छ, अनि मनलागेका समाचार वा लेख घर बसिबसी पढन सकिन्छ ।
मौशमबारेः दैनिक वा मासिक मौशमबारेमा जानकारी दिने कार्यक्रम पनि हुन्छ । हरेक दिन अनुमानित तापक्रम, वर्षा, हावाहुरी, असिनापानी र बदलीबारेमा त्यस कार्यक्रमबाट जानकारी लिन सकिन्छ । मौशमबारे थाहा पाए कहीँ जानु छ भने त्यही अनुसार लुगा, छाता र अरु कुराको तयारी गर्न सजिलो हुन्छ ।
खेलहरूः खेल शीर्षकमा कैयौँ चलायमान, सोचेर खेल्नुपर्ने र दिमाग तन्काउने खेलहरू हुन्छन । तपाईँले आफ्नो ईच्छा र रुचिअनुसार रोजेर खेल्न सक्नुहुन्छ । त्यस्ता खेल खेल्दा तपाईँको मस्तिष्क सकृय भइरहन्छ र एकान्तपन र समय कटाउन सजिलोभई दिक्दारी हुँदैन ।
सामाजिक सञ्जालः अचेल चलनचल्तीमा रहेका सामाजिक सञ्जालमा, फेसबुक, ट्विटर, वाट्स अप वा जुम छन् । तपाईँ जे चलाउन सक्नुहुन्छ त्यसै माध्यमबाट साथीभाइ, नाताकुटुम्ब र साथी बनेका नयाँनयाँ मानिससँग कुराकानी गरेर आनन्द लिन र समय बिताउन सक्नुहुन्छ ।
किनमेलः अचेल ठूला सहरबजार र बिकसित ठाउँमा किनमेल बिभिन्न सञ्जालमार्फत गर्ने गरिन्छ । नेपालमा पनि कोरोनाको हाहु पछि धेरै कुरा अनलाइन हुन थालेका छन । घरमा बसिबसी आदेशको भरमा विभिन्न सामान मगाउन सकिन्छ । हुँदाहुँदा बिहानको खाजा, दिउँसोको खाना र साँझको खाना झोलामै आइपुग्छ । तपाईँसग वाईफाई, मोबाईल र पैसा हुनुपर्यो, अनि आफ्नो ठिक ठेगाना भन्न सक्नुपर्यो, बस । न हिँड्ने दुःख, न यातायातको साधनको प्रयोग, न बाटोखर्च लाग्ने, घरबाट एक पाइलो निस्कनै पर्दैन, ढोकासम्म लिन गए पुग्छ ।
सँगित, सिनेमा र टिभीः सञ्चारमा बाढीजसरी आएकाबाट आफूलाई मनपर्ने कुनै कार्यक्रम छान्न सक्नुहुन्छ । कतिपय त मनपर्ने कार्यक्रम वा सिनेमा वा संगीत आफ्नो उपकरणमा उतारेर सुरक्षित राख्न सकिन्छ । समय हुँदा सोझै हेर्ने सुन्ने वा पछि पनि हेर्न सकिन्छ ।
हिँडडुलका उपकरणः भर्याङमा ओर्लन र उक्लिन गाहारो हुनेहरू तर सरासर सम्ममा हिँड्न सक्नेलाई सजिलो पार्न अचेल आफैँ हिँड्ने भर्याङ पनि पाइन्छन् । त्यसमा खुट्टा राखेपछि मन्दगतिमा उक्लन वा ओर्लन थाल्दछ । पुग्ने ठाउँमा पुगेपछि पाइला चाल्नु चाहिँ पर्दछ । अल्गो घर छ भने र तलमाथि गर्न मनलागे त्यस्तो भर्याङ घरमा राख्नु पाका मानिसको हितमा हुन्छ ।
हिँड्ने मेचः धेरै हिँड्न नसक्ने, खुट्टा दुख्ने वा उभिन नसक्ने पाका मानिसलाई हिँडडुल गर्न पाङ्ग्राबाला मेच काम लाग्छ । दुबै हात बलिया नै छन् भने आफैँले चलाउने र सामान्य गति लिन सकिने त्यस्ता मेच हिँडडुलमा सहयोगी हुन्छ । आफैँ चलाउन नसके सहयोगीले घच्याडेर त्यस्ता पाका मानिसलाई उनीहरूले ईच्छा गरेको ठाउँमा लैजान सकिन्छ । यस्ता मेचहरू ब्याटरीबाट चल्ने पनि पाइन्छन् । हाड खिइएका, जोर्नी बिग्रेका, बाथले थलिएका, हाड बढ्ने क्रममा कमजोरी भएर आकार बिग्रिएका पाका मानिसलाई हिँड्न समस्या हुन्छ । अरु अङ्ग राम्रै भएका त्यस्ता मानिसले नियन्त्रित गतिका स्कुटर प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो स्कुटरमा किनमेलका सामान राख्ने झोला पनि झुण्ड्याउन मिल्छ र पाका मानिस आफैँ आफूलाई चाहिने सामान किनेर ल्याउन सक्छन । ब्याटरी वा सामान्य ईन्धनबाट चल्ने मन्द गतिका यस्ता वाहनहरूको सहयोगमा पाका मानिस र अरु उमेरका अङ्गभङ्ग भएर हिँड्न समस्या भएका मानिस गतिशिल जीवन जीउन सक्छन ।
अन्त्यमा,
विभिन्न फाइदालाई सोचेर र मनन गर्दै पाका मानिसलाई घरमा नै ससम्मान अड्याऔँ । वयस्कहरूलाई आफू र आफ्ना सन्तानको हित गर्नु छ भने यो मात्र बाटो हो । गुँड छोडन्े बचेरा होइन थप गुँड बनाएर भए पनि सँगै जीउने सामाजिक प्राणी बनाउँ । अनुभव र ज्ञानले टेक गर्ने भएपनि आफूले नबुझ्दा चुपोलाग्दा भइहाल्यो नि । आफ्नै हुन्, गल्तीनै गरेर भने पनि एकछिनमा मायाले आफैँ फिर्ता लिई हाल्छन् नि । आफू नखाएर, नलाएर, नपढेर पनि ख्वाउने, लगाइदिने र पढाइदिने ती बाबुआमाभन्दा दयालु भगवान पनि छैनन् है । एक बचन सहेर पनि घरमा नै राखौँ यसमा हाम्रै भलाई छ ।
उहाँहरूलाई घरको काम धेरै गर्न नसक्दा तपाईँहामीले जानेका आधुनिक उपकरण प्रयो गर्न सिकाउँ । फुर्सदमा कसैलाई बाधा नहाली पाका मानिसलाई व्यस्त हुने बाटो हुन्छ । किन्न नसक्ने वा किनेर पनि सेवा प्रदायकको कमजोर प्रणालीका कारण कैयौँ ठाउँमा घरमा मोबाइलको लाइन नटिपेर रुखमा चढ्नुपर्ने वा नजिकको डाँडामा जानुपर्ने बाध्यता छ । कोरोना महामारीको बेला समयमा खबर दिन नसकेर कैयौँको ज्यान गएको छ । हरेक पालिकामा वडास्तरमा एउटामात्र भए पनि बलियो भरपर्दो सञ्चारको व्यवस्था गर्न सरोकारवालालाई केले रोक्छ ? बजारको नाफा नोक्सानमा आँखा गाडने कि ईमानीपूर्वक सकुन्जेल कर तिरेका सर्बसाधारणको हितमा व्यवस्था गर्ने सरकारले ? सरकारको काम के ? सुविधा बढाउने कि आफ्नो खल्तीमा आउने फाइदाको लागि नीजि सञ्चार पसललाई भटाभट स्विकृति दिने ? हाम्रो कुनै पनि कारोबारको राजस्व नलिनेलाई कसरी जवाफदेही बनाउने ?
तर जसरी भए पनि पाका मानिसलाई घरमा नै टिकाऔँ, तपाईँ स्वर्ग खोज्न मरिरहन पर्दैन है ।
चालिसेडाँडा, ललितपुर
२०७९ ज्येष्ठ २९
लेखकका अरु सामग्रीः
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
९. हामीलाई फुर्सद छैन, के गर्नु ?(४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
१०. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २९ मार्च २०२२
११. हामीलाई फुर्सद छैन, के गर्नु ?(५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
१२. बृध्दभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०७८, ६ अप्रिल २०२२
१३. हामीलाई फुर्सद छैन, के गर्नु ?(६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१४. मेरा अहिलेका साथीहरू (परिमार्जीत), फित्कौली डट कम अनलाईन, २०२२ मे ३, बैशाख २०, २०७९
१५. हामी हेपिने मान्छे हो र ? क्यानाडा नेपाल डट कम अनलाईन, ९ मे २०२२, बैसाख २६ २०७९
१६. हामीलाई एकै नापो काम लाग्दैन है ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ मई १७, ३ ज्येष्ठ २०७९
१७. ज्येष्ठ नागरिकलाई बेवास्ता गरे बिकास हुन्छ र ? क्यानाडा नेपाल डट कम अनलाईन, २० मे २०२२, ज्येष्ठ ६, २०७९
Subscribe
Login
0 Comments
Oldest



































