मीनप्रसाद लामिछानेअभिशप्त बुढ्यौली
जहान भैदिया भए पनि अलग्गै बस्न सकिन्थ्यो, अरुलाई बोझ बनिरहनु पर्दैनथ्यो । छोटो दिनकी रैछे, छोडेर गैहाली के गर्नु त ।

लामो समयपछि आज बिहान एक्कासी पिपलबोटे काकासँग बाटोमा भेट भयो । साख्खे काका नभए पनि उहाँलाई म आफ्नो काका भन्दा बढी गर्छु । त्यो कुरा उहाँलाइ पनि थाहा छ । त्यै भएर पनि होला उहाँलाइ भेट्दा म जति खुसी हुन्छु, त्यो भन्दा बढी उहाँ खुसी हुनुहुन्छ । अनुकुल भए होटेलमा बसेर चिया पिउँदै र नभए चौतारोमा बसेर हावा खाँदै एकछिन बात मार्न पायौं भने हामी दुवै खुसी हुन्छौं ।
हुन त काकाको र मेरो उमेर समुह मिल्दैन । हामी अघिल्लो र पछिल्लो पुस्ता । त्यसैले समाजलाइ हेर्ने र बुझ्ने कुरामा ठूलै फरक छ उहाँ र ममा । तर पनि उहाँको मनोविज्ञान पढ्न पाउँदा मलाइ रमाइलो लाग्छ । त्यसैले भेट भयो कि सञ्चो बिसञ्चोको औपचारिकतालाई सक्दो छोट्याएर म उहाँसंग अन्तरङ्ग भलाकुसारीमा प्रवेश गरिहाल्छु । म भन्छु कम, सुन्छु ज्यादा । र उहाँ पनि सुन्न भन्दा भन्न लालायित देखिनु हुन्छ । त्यसैले पनि होला हाम्रो गफ सौहार्दपूणर् हुन्छ ।
उहाँलाई भर्खरैका घटनाहरूको त्यति स्मरण हुँदैन तर युवावस्थाका प्रसङ्गहरू उहाँका दिमागमा अझै ताजा छन् । हरेक पटकका भेटमा ती प्रसङ्गहरू उहाँ नविराइ दोहो्याइ तेहे्याइ गरेर सुनाउनु हुन्छ । सुन्दा सुन्दा मलाई कण्ठ भै सक्यो तर यस घि कति पटक मलाई त्यहि प्रसङ्ग सुनाइसक्नु भएको छ भन्ने कुरा उहाँ बिर्सनु हुन्छ र आज फेरि सुनाउनु हुन्छ । म पनि धैर्य गरेर उहाँको कुरा सुन्छु । अझ उहाँलाई हौसला बढाउन विच विचमा सहि लाउँंदै र बनावटी जिज्ञासा राख्दै गर्छु । यसो गर्नु पर्दा मलाई जति गाह्रो भएनि काका भने खुसी देखिनु हुन्छ, र यसले मलाई पनि सन्तोष दिन्छ ।
काका पनि मलाई केहि कुरा नलुकाइ खुलस्त भन्नु हुन्छ । उहाँलाइ बारम्वार चिमोटी रहने एउटै कुरा छ “बल बैंसमा अभाव र गरिवीले सतायो, कहिल्यै राम्रो लाइएन, मीठो खाइएन अहिले जे खाएनि पुग्या छ तर शरीरमा रोगले घर गर्यो अव चाहिएन ।”
“त्यसैले बल बैंस साथमा छँदै जान सकिने ठाउँमा जानु पर्ने रहेछ, रहर लागेको लाउनु—खानु पर्ने रहेछ । समय घर्के पछि ज्या भनेर के गर्नु ∕” हरेक भेटमा मलाई सम्झाइ रहनु हुन्छ ।
काकीलाई अलि चाँडैं लग्यो जन्डिसले । काका एकल जीवन बाँचिरहनु भएको छ । चल अचल सम्पति ३ वटा छोराहरूलाई बाडिंदिनु भयो, आफूलाई जिउनी समेत राख्नु भएन । एउटी छोरी छिन् टाढा । एकमानाको बन्दोबस्त छ । आमाको निधनपछि ती पनि मुस्किलले माइत आउंछिन् । काका दुखेसो पोख्नु हुन्छ- “छोरीहरू पनि दुख पाए माइति सम्झने त रहेछन् नि ।”
काका अहिले १, २ महिना एउटा छोराकाँ, अर्को १, २ महिना अर्को छोराकाँ अनि अर्को छोराकाँ गरिरहनु भएको छ । “यसो गर्दा त झन रमाइलो होला नि हैन काका ? जता जाँदा पनि नौलोतौलो, स्वाद पनि फेरिफेरि खान पाइने ।” मैले मन चोर्न खोजें । काकाले लामो सुस्केरा हाल्दै दुखेसो पोख्नु भो “के को रमाइलो हुनु ! पहिला त आउंदै नआइदिए हुन्थ्यो भन्ठान्छन्, पुगेपछि पनि कहिले अर्को भाइकाँ जाला भनेर दिन गनेर बस्छन् । उनीहरूको ब्यवहारबाट म पनि बुझ्छु बुझ्न त तर के गर्नु नबुझे झैं गर्नु पर्या छ । जाने ठाउँ पनि त छैन अन्त कतै ! हेंला गरे पनि आफ्नै सन्तान हुन् । जहान भैदिया भए पनि अलग्गै बस्न सकिन्थ्यो, अरुलाई बोझ बनिरहनु पर्दैनथ्यो । छोटो दिनकी रैछे, छोडेर गैहाली के गर्नु त ।”
“जिउनी नराखेर गल्ती पो गरेछु कि जस्तो लागिरहेको छ ऐले, जिउनी भैदिएको भए शेषपछिको सम्पतिको आशले माया गर्थे कि !”
“हेंला नै त गर्दैनन् होला है” मैले अझै मनभित्र पस्न खोजें । “तपाईंका त ३/३ भाइ छोराहरू छन्, सबै एकसे एक । एउटाले हेंला गरे अर्को छ, के गाह्रो छ र !” काका एकछिन निशब्द हुनुभयो । अनि लामो सुस्केरा हालेर दुखेसो पोख्न थाल्नु भयो- “बाहिरबाट हेर्दा जस्तो देखिन्छ, जिन्दगी ठ्याक्कै त्यस्तो कहाँ हुँदोरहेछ र ! आफ्नै हातका औंलाहरू त एकनास छैनन्, छोराबुहारी पनि त्यस्तै हुन् ।”
दुखले मान्छेलाइ दार्शनिक बनाइदिन्छ रे भन्ने पढ्या थें कतै । आज काकाको कुरा सुनिरहँदा मलाई पनि हो कि जस्तो लाग्यो ।
“मेरो जेठो छोरो ठिक छ ।” काका भन्दै जान थाल्नु भयो- “कतै बाहिरफेर गयो भने रित्तो हात आउँदैन । केहि न केहि मेरा लागि भनेर ल्याइदिएकै हुन्छ । केहि नभए एक पाकेट विस्कुट, आधा किलो मिस्री भए पनि ल्याइदिन्छ । बुहारीले थाहा पाइ भने घर उचाल्छे । बुढालाई मत्याको भन्छे । नाति नातिनालाई नजिक ढिम्किन दिन्न । बडो दुष्ट छे । तर माइली बुहारी घ्यु छे । बुबालाई केहि खान रहर लाग्याथ्यो कि भनेर सोध्छे बेला बेलामा । घण्टा घण्टामा चिया बनाउँछे, मेरै लागि मात्र भए पनि । माइत गै भने पनि मेरा लागि घरमा खानपानको राम्रो ब्यवस्था मिलाइदिएर मात्र जान्छे । उताबाट आउने बेलां पनि खाली हात आउन्न मेरै लागि भनेर केहि न केहि ल्याइदिएकै हुन्छे । तर के गर्नु छोरो बडो सनकी छ । खाओस्—नखाओस्, आओस्—जाओस् वास्तै गर्दैन । कान्छा कान्छी घरमै बस्दैनन् । उनीहरूको जागिर बाहिर बाहिरै छ । नाति नातिना मात्रै हुन्छन् घरमा । ती केटाकेटीहरूको के कुरा गर्नु र ! अहिले सानै भएर पनि हेला, माया देखाउंछन्, हुर्केपछि त तिनीहरू पनि त्यस्तै हुने त होलान् नि ! जे भए पनि बुढेसकालमा काल पर्खिन साह्रै गाह्रो हुंदोरहेछ, अझ त्यसमाथि एकल जीवन जिउन त भो, शत्रुलाई पनि नपरोस् !”
काकाको गला अवरुद्घ हुँदै गएको थाहा पाएर मैले ठट्यौलो पारामा गफलाई अन्तै मोड्न खोजें । “के गर्नु त जोडि फुटाउन नमिल्ने हगि काका ?!” तर काकाले आंँखा चिसो पार्नु भयो र असजिलो मान्दै “भेट्दै गरौंला नि, ऐले जाउं पनि होला, फेरि ढिला भयो भने खाना राख्दिदैनन् घराँ !” भन्दै बाटो लाग्नु भो । म पनि भारी मन लिएर आफ्नो बाटो लागेँ ।
हेटौंडा ४
Subscribe
Login
0 Comments
Oldest





































