डा. मुकेशकुमार चालिसेपाका मान्छेका रोग तह लगाऔँ !
जतिन्जेल बाँचिन्छ आनन्दले बाँच्नुपर्छ र जीवित प्राणीलाई नै रोग लाग्छ, मरेपछि वा निर्जीवलाई रोगलाग्ने होईन भन्ने सत्य साँच्चिकै मानेर सकेको उपचार गर्नुपर्छ ।
हिजोआज ससारभरी रोगव्याधको नियन्त्रण र पोषणयुक्त खानपानका कारण हाम्रा बा-आमा, हजुरबा-हजुरआमाहरूलाई पाको उमेरमा हुने रोग कमनै देखिएलान् । तर पहिलादेखि पछिलागेका वा बंशानुगत केहीभने साथ नछोडेका होलान् । मानिस आखिर एउटा समुहमा रहने प्राणी हो, त्यसैकारण, सामान्य हेलच्यक्र्याइँले सरुवा रोगबाट समस्या हुनसक्छ । भौतिक विकासले सुविधा बढेजस्तै नयाँ पुराना रोगका नयाँनयाँ विकसित रुपले विश्व मानव समाज आक्रान्त नै छ । त्यसमा पनि कम विकसित देशका पाका मानिसहरू अझ विभिन्न कारणले वयस्क र केटाकेटी भन्दा बढि नै जटिल समस्यामा हुन पनि सक्छन् । त्यसैले उमेरिदा पाका मान्छेलाई दुख नदिने रोगमुक्त संसार भइसकेको छैन ।
धेरै उमेरिनु भनेको पाको अवस्थामा आइपुग्दा डरलाग्दो चित्रण पनि हुनसक्छ- कपाल तिलचामल हुँदै नालु फुलेझैँ देखिनु, तुसारोले छोपेझैँ सेताम्मे हुनु, तालु खुइलिनु, अनुहारमा मुजा पर्नु, हात गोडामा चाउरी र दागहरू देखापर्नु हो । भर्खर झिकेको वा थन्क्याएको सामान बिर्सनु र एउटा खल्तीमा राखेको कुरा अर्को खल्तीमा खोज्नु वा छाम्नु पनि उमेरिँदै जाँदा सामान्य हो । आफ्नै मोबाईल वा घरको फोन बिर्सनु र फ्याट्ट भन्न नसक्नु, मान्छे चिन्ने तर नाम बिर्सने वा चिनेका, भेटेका मान्छेका नाम कण्ठ तर हिजोको आजै भेट्दा नचिन्नु पनि पाका मानिसको रमाईला घटना हुन् । उमेर पुगेका नेपालका एक प्रख्यात चिकित्सकले साथी आएको बखत चिया लेराउन छोरीलाई अह्राएको घटना नेपालमा चिकित्सक र बुद्धिजीवि बीच ०४९ ताका खुब चर्चा हुन्थ्यो । चिया अह्राएपछि गम्भीर छलफलमा एकसुरमा लागेका बखत उनले चिया लिएर आउने छोरीलाई ‘कहाँ, कसलाई खोज्न आयौ नानी ? ठूलामान्छे कुरा गर्न लागेको बेला सुन्न आउन हुन्न नि’ भनि हपारेको कुरा धेरैलाई थाहा छ ।
रमाईला यस्ता प्रशङ्ग वयस्कले निकाले पनि वास्तवमा उमेरिदै जाँदा अनौठा र पहिले कहिल्यै नभएका स्वास्थ्य समस्या पनि देखापरेका हुनसक्छन् । हेक्का राखौँ, यो समस्याले बृहत सङ्ख्यामा मानिसभित्र पहुँच फैलाउँदै छ । संसारभरीको २०२० मा लिइएको आँकडा अनुसार ६० वर्षदेखि सय वर्ष नाघेका पाका मानिसको सङ्ख्याले १३.७१ प्रतिशत भन्दा बढि ओगटेको थियो । यस्तो प्रतिशत यही परिस्थिति रहे संसारमा अब तीस वर्षपछि सन २०५० सम्ममा डबलिने अनुमान जनसङ्ख्याबिद र संस्थाहरूले गरेका छन् । नेपालमा पनि मानिसका सरदर आयुको मान विभिन्न कारणले हाम्रै पालामा ४२ वर्षबाट बढ्दै अहिले ७० वर्ष मानिन्छ । पाका मानिसको सङ्ख्या त्यसै अनुरुप बढ्दै छ र यो उमेर समुह कुल जनसङ्ख्याको मताधिकारको हिसाबले त पाँच भागको एक भाग रहेको देखिन्छ । यसरी तिब्रगतिमा बढिरहेको पाका मानिसको सङ्ख्या र उमेरिदै जाँदा आफन्त र प्रियजनले भोग्नसक्ने स्वास्थ्य समस्या पहिचान र निक्र्यौल गरी उहाँहरूको उत्तरार्द्ध लाई स्वस्थ्य जीवनमा रुपान्तरण गर्न हामी सबैलाई मनलाग्दैन र ? हुनसक्ने केहि समस्याको संक्षिप्त चर्चा गरौँ है ।
१. दीर्घ स्वास्थ्य समस्याः
अमेरिकी पाका मानिसको केन्द्रिय परिषदको २०१६को भनाईमा करिब ९२ प्रतिशत उमेर खाएका मानिसमा कम्तीमा एउटा दीर्घ रोग त हुन्छ नै । त्यस्तै ७७ प्रतिशत पाका मानिसमा कम्तीमा दुईटा दीर्घरोगले गाँजेको पाइन्छ । हृदय रोग, हृदयाघात, अबुर्दरोग र मधुमेहमध्ये कुनै न कुनै सामान्यतया भएको पाइन्छ । कहिल्यै पिछा नछोड्ने यी दीर्घरोगहरू अति खर्चालु पनि छन् र प्रभावित भएकाहरूमध्ये दुईतिहाईको प्रतिवर्ष ज्यान नै लिन्छन् । यस्तो भयावह स्थितिप्रति सम्बेदनशील भएर अमेरिकी राष्ट्रिय दीर्घरोग बचावट र स्वास्थ्य उन्नति केन्द्रले हरेक वर्ष त्यस्ता मानिसले पारिवारिक जनस्वास्थ्य चिकित्सकसँग भेट्ने सल्लाह दिएका छन् । भेटेर त्यस्ता रोगहरूको राम्रो व्यवस्थापन र रोकथाम गर्नका लागि वार्षिक स्वास्थ्य जाँच गराउन, स्वस्थ्य सन्तुलित खानपान गर्न र नियमित व्यायामको तालिका बनाउन सल्लाह दिइएको छ । मोटोपना र बुढेसकालको अछन्द्याईलो भ्यात्त परेको मासु, कम्मरमुनि सुक्दै गएको अवस्था हरेक पाका मानिसमा शारीरिक श्रम कत्ति नगर्ने र सामान्य व्यायाम नगर्नेहरूलाई उमेरिदा देखिन्छ । अझ अहिलेको घर बसिबसी सबै काम गर्ने र खानपिनमा सोखिनहरूलाई त आक्रान्त नै पारेको भेटिन्छ । तर उचित सन्तुलित आहार तथा घरभित्र भए पनि व्यायाम नियमित गर्नेमा यस्तो रोग कम हुँदै जानेमात्र होइन अरु दीर्घरोग पनि लाग्न सक्तैन । धेरै श्रम हुने र गाहारो हुने कसरत गर्न नसक्ने पाका मानिसले सजिलो व्यायाम रोज्नुपर्छ । विज्ञहरूको भनाइमा सामान्यतया स्वासप्रस्वास बढने गरेर करिब छ हजार पाइला प्रतिदिन हिँड्नु आफ्नो स्वास्थ्य सामान्य राख्ने सरल र सबैले गर्नसक्ने व्यायाम हो ।
२. चेतनशील (स्नायु) स्वास्थ्यः
चेतनशील स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको सोच्ने, सिक्ने क्षमता र स्मरणशक्तिलाई निर्दिष्ट गरिन्छ । सामान्यतया पाका मानिसले भोग्ने भनेको ज्ञानेन्द्रीयको प्रतिक्रिया अनुरुप कर्मेन्द्रीयले विविध कार्य गर्न नसक्नुका साथै बिर्सने नै प्रमुख समस्या हो । संसारभरमा सन २०१६को सुरुवातमा चार करोड ७१ लाख जति मानिसमा बिर्सने समस्या देखिएको थियो भने सन २०५० सम्ममा यो सङ्ख्या तेब्बर हुने अनुमान पनि गरिएथ्यो । शारीरिक अवस्था सामान्यजस्तो देखिए पनि बिर्सने, सम्झाउँदा पनि नसम्झिने स्नायु रोगलाई अल्जहाईमर भनिन्छ । अमेरिकामा मात्र त्यतिखेर पचास लाख ६५ वर्ष माथिका पाका मानिसमा यो रोग भएको निरोपण गरिएथ्यो । त्यहाँको उमेरिनु राष्ट्रिय प्रतिष्ठानको भनाई अनुसार बिर्सने रोग व्यक्तिका अरु जटिल स्वास्थ्य समस्याका कारणले पनि बढेको हुन्छ । त्यस्तो बिर्सने समस्या रोगकै रुपमा विकसित हुनलाई उक्त व्यक्तिका निजी कारण र भइसकेका रोगहरूको असरले हुनसक्छ । जस्तो निजले विभिन्न असर गर्ने पदार्थको गलत प्रयोग गरेको, मधुमेह भएको, अतिचिन्ताको बानी, उन्माद (डिप्रेशन) भएको, एड्स लागेको र धुमपानका कारण बिर्सने बढि गराउने खतरनाक सहायक बानी र स्थाई रोग हुन । अति बिर्सनेभई मस्तिष्क नै सोच्न नसक्ने वा स्नायुले प्रतिक्रिया नदेखाउनेभई असाध्य भएमा त औषधि हुँदैन । तर माथिका सहायक रोग नियन्त्रण गरेर असाध्य नभएको अवस्थामा नियमित औषधि गरेर व्यवस्थापन गर्ने उपाय चिकित्सकहरूले बनाइसकेका छन । असाध्यउन्मुख धेरै पाका मानिस कम्तीमा क्रियाको प्रतिक्रिया देखाई सामान्यतिर उन्मुख भएका छन् भने सुरुवाती बिरामी निको भएका पनि छन् ।
त्यसैले, सामान्य जैविक प्रक्रिया र स्वभावमा परिबर्तन देखिए सकेसम्म चाँडै चिकित्सकको सल्लाह लिने र भनेअनुसार गर्नु पाका मानिसमात्र होइन परिवारकै हितमा छ । पाका मानिसले पनि सकेको शारीरिक वा बौद्धिक नियमित श्रम गर्दै सरल, सादा र ईच्छा अनुसार परिवारलाई बाधा नपर्ने गरी क्रियाकलाप गरिरहनु पर्छ । आफ्नो पालाको सम्झेर ‘परिवारमा यसो भएन उसो भएन’ भनेर चिन्तित भई रोग निम्त्याउनु भन्दा ‘जति बाँचिन्छ आनन्द मानेर बाँच्नुपर्छ, मानव जीवन एकबारको हो, जीवित प्राणीलाई मात्र रोग लाग्छ’ भनेर समयमै औषधि गर्नुपर्छ । आफ्ना उमेर समुहका साथीभाइ ईष्टमित्र भेटेर पुराना नयाँ प्रशङ्ग चर्चा गरेर स्मरणशक्ति जोगाई राख्नुपर्छ ।
३. मानसिक स्वास्थ्यः
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ६० वर्षमाथिका १५ प्रतिशतभन्दा बढि पाका मान्छे एक प्रकारको मानसिक असन्तुलनले पीडित छन् । पाका मानिस सबैजसोलाई हुनसक्ने मानसिक असन्तुलन भनेको उन्माद (डिप्रेशन) हो । यद्यपि सात प्रतिशत मात्र पाका मानिसमा यस्तो देखिएको छ, तर संसारमा घटिरहेका विविध कारणले यो सङ्ख्या बढ्ने सङकेत देखिएको छ । फेरि यो समस्या असाध्य बन्नुमा उचित निराकरण समयमा नगरिनु र उचित उपचार नगरिनु पनि प्रमुख हो । धेरैले बिकसित र स्वर्गजस्तो भनि तारिफ गर्ने अमेरिकी समाजमा कुल आत्महत्याको १८ प्रतिशत भने निकै पाका उमेर समुहका मानिस पर्दछन् । असाध्य रोग लागेको जीर्ण शारीरिक अवस्था, व्यक्तिवादको निकृष्ट उत्पादन गरेको स्वभाव, आफन्तहरू हेरबिचार गर्ने नहुनु र सरकारले पनि प्रयाप्त व्यवस्थापन नगरेकोले गर्दा पाका मानिसमा उन्माद बढेको पाइन्छ । हरेक उमेर समुह र विशेषगरी पाका मानिसलाई स्वस्थ्य भएर जीउन र जीवनयापनका सरल सामाजिक सँरचनाको निर्माण बृद्धि गरेर यो समस्याको न्युनिकरण गर्न सकिन्छ । पश्चिमाहरू अहिले आएर सामाजिक सुरक्षा, सहकारी सहयोग, नातेदारबाट सहयोगको अपेक्षा र सहयोग समिति निर्माण गरेर पाका मानिसको जीवनस्तर सुधारौँ भन्न लागेका छन् । त्यस्तो भएमा पाका मानिसमा आउने उन्माद हल गर्न सकिन्छ भन्ने उनीहरूको ठम्याई छ ।
संसारभरिनै आधुनिकताको नाममा गरिने किशोरकिशोरी र वयस्कहरूको पाका मानिसप्रतिको व्यवहार र धारणामा परिबर्तन गर्नु आवश्यक छ । श्रद्धेय उनीहरूले आफ्नो कालखण्डमा पुरा गरेका हामीले कल्पनै नगरेका कर्तव्यका आधारमा मानसम्मान, आदर, हेरबिचार गर्नैपर्छ । पाका मानिसले दशकौँ लगाएर आर्जन गरेका ज्ञानरुपी अनुभवलाई ‘गनगन गरिरहन्छन’ भनि उपेक्षा गर्नुभन्दा उनीहरूको कुरा सुन्ने, समयसापेक्ष व्यवहारमा लगाउने र आभार व्यक्त गर्ने परम्परा अघि सार्न पाएहुन्थ्यो नि । यसले त, वयस्कलाई सुसुचित र सम्बृद्ध हुन मद्दत गर्दछ भने पाका मानिसलाई आफ्ना कुरा सुनिदिएकोमा आनन्द भई उन्मादबाट जोगिने हुन्छन् । फलस्वरुप मानव जातिको ज्ञानको पुस्तान्तरणलाई मद्दत हुनेछ र थप पारिवारिक स्वास्थ्य समस्या र खर्चबाट पनि बचत हुनेछ नि ।
मानविय आधारभूत आवश्यक्ता अनुरुप व्यवस्थापन नभएका सबै मुलुकमा जनताप्रति उचित जवाफदेही व्यवस्था नभएर सबै उमेर समुहले कुनै न कुनै दुख पाएकै हुन्छन् । औशतमा पाका मानिसले त्यस्तोमा बढि भोग्नुपरेको समाचार व्यापक नै हुन्छ । यस्तो अवस्थालाई फेरबदल गर्न बेलैमा उचित अनुभव र ज्ञानलाई आदर गर्ने सामाजिक व्यवहारको चाँजोगरे सुखमय र छोड्न मन नलाग्ने पारिवारिक अवस्था आउन कुनै भद्रो पर्खनु पर्दैन ।
४. शारीरिक चोटपटकः
एउटा अध्ययन अनुसार हरेक १५ सेकेण्डमा एक पाको मानिस हिँडडुल गर्दा वा गर्नखोज्दा अचानक लडेको कारणले अस्पतालको आकष्मिक कक्षमा भर्ना गरिएको आँकडा देखिन्छ । त्यस्तै, त्यसरी लडेर चोटपटक लागी हरेक २९ मिनेटमा एक पाका मानिस मरेको पनि सनाखत भएको छ । यसरी सन्तुलन गुमाएर, कमजोर भएर अथवा ज्ञानेन्द्रीयको कमजोरीले लडेर पाका मानिसको ज्यान जाने नै अहिलेको प्रमुख समस्या देखिन्छ ।
उमेरिदै जाँदा हाडहरू खिइने, खुम्चिने हुन्छ भने मांसपेसीको उर्जा न्युन भएर निर्बलियो हुन्छ । मांसपेसीको कमजोरीले पाका मानिसहरूले आफ्ना विविध क्रियाकलाप र गतिमा सन्तुलन गुमाउँछन् । त्यसपछि बर्लङ्ग लड्नु सामान्य हुन्छ र लडेमा छाला र मासु दरफरिनु, चोटलाग्नु, जोर्नी खुस्किनु र हाड भाँचिनु सम्भव हुन्छ । अझ टाउको नै ठोकिन पुग्यो भने त्यो उमेरमा वित्यास पर्छ । विशेषगरी स्नान कोठामा पाका मान्छे लडेर पक्षघात वा मस्तिष्कश्राव भएको घटना धेरै छन् । पाको उमेर हुँदै गएपछि धेरैको हाड खिइनु र बाथ वा अरु कारणले हाड र जोर्नी सुन्निने रोग लाग्नु सामान्य मानिन्छ ।
पाका मानिस हिँड्दा लरखराउने र कमजोरीले लड्ने नै हुन्छ नि भन्ने पनि होइन । रोगको अवस्था हेरेर पाका मानिसको शारीरिक गतिबिधिलाई बढाएर घरभित्र नै हिँडडुलको व्यवहारिक तरिका सुधारमार्फत रोकथाम गर्न सकिन्छ । सकेसम्म सुरक्षित ठाउँमा बिहान, बेलुका र दिउँसो पनि सन्तुलन मिलाएर हिँड्ने अभ्यास गर्नुपर्छ । घरका भित्ता र कुनामा राम्ररी भर गरेर दुबै हात र गोडाको मांसपेसी तन्काउने र खुम्च्याउने व्यायाम गर्नु पर्छ । सम्भव भए कोठामा नरम गद्दामाथि छिटोछिटो हिँड्ने, उल्टोसुल्टो हिँड्ने आदि अभ्यासले पाका मानिसको हिँडाइको सन्तुलन सपार्न मद्दत पुग्छ । पाका मान्छेले प्रयोग गर्ने शौचालय र स्नान क्षेत्र सुख्खा तथा हावा चल्ने हुनुपर्छ र त्यहाँ प्रयोग गर्ने चट्टी नचिप्लने हुनुपर्छ । घरमा हिँड्दा निश्चिन्त भएपछि मात्र सार्वजनिक बाटोघाटो र सडकमा हिँड्नु सुरक्षित हुन्छ ।
५. एचआईभी एड्स र अरु यौनजन्य रोगहरूः
सन २०१३ को अमेरिकी (सिडीसी)को आँकडा अनुसार ५० वर्ष नाघिसके पछिका २१ प्रतिशत मानिसमा एड्स भेटिएको छ । त्यस्तै त्यसै वर्ष मृत्यूको कुल सङ्ख्यामा ३७ प्रतिशत ५५ वर्ष माथिका छन् । यौनक्रिडाको आवश्यक्ता, चाहना र सक्षमता मानिसको उमेरसँगै फरक परे पनि, यौनइच्छा पाका मानिसमा पूणर्तया लोप भएको हुँदैन । आक्कलझुक्कल हुनसक्ने यौन सम्बन्धमा अलि पुरानो बिचारका धेरै पाका मानिसले सुरक्षित साधनहरूको प्रयोग गर्न त्यति रुचाउन्नन् । आफ्नो बढ्दै गएको उमेरमा हुनसक्ने रोग प्रतिरोधी क्षमताको कमजोरीसँगै सामान्य देखिने बिच हुने त्यस्तो यौन सम्पर्कले पाका मानिसमा एचआईभि हुनसक्ने प्रबल सम्भाबना रहन्छ । उमेरिदै जाँदा देखिने कतिपय रोग र कमजोरीका लक्षणहरू उस्तै हुनेहुनाले पाका मानिसमा एचआईभि भएको ढिला थाहा पाइन्छ । यस्तो कारणले समयमा नै उपचार सुरु गर्न अलमल परेको हुन्छ र त्यतिन्जेलसम्म पाका मानिसको प्रतिरोधी क्षमता अतिनै नोक्सान भइसकेको हुनाले उपचार सफल नहुन सक्छ ।
कतिपय औषधि गर्ने ठाउँमा सुई लगाउने, रगत झिक्ने वा हाल्ने काममा पूणर् सावधानी नगरिएको कारण स्वस्थ्य मानिसका साथै पाका मानिसमा समेत यौन सम्पर्कमा हुने भनिएको यो रोग सरेको प्रसस्त आँकडाहरू प्रकाशित छन् । त्यसैले कुनै पनि उपचारमा स्वस्थ्य र सुरक्षित लसपस हुनु नितान्त आवश्यक छ भने रोग प्रतिरोधी क्षमता कम हुनसक्ने पाका मानिसले त सम्पूणर् सावधानी पालना गर्नैपर्छ । अतिशुक्ष्म किटाणु कति छिटो कसरीसम्म सर्छन् भन्ने व्यवहार र बचावटका उपायबारे कोरोना कालमा संसारभरिनै सचेतनता बढेको छ । पाका मानिसहरूले त्यसै तहको त्यस्तै सतर्कता आफ्नो उमेर र शरीरको अवस्था हेरेर संक्रामक रोग नफैलिएको अवस्थामा पनि अपनाउनु आवश्यक देखिन्छ ।
६. कुपोषणः
खानाकै कमि हुने परिवारमा कुपोषणको सिकार बालबालिका उमेरदेखिनै हुन्छ । सामान्य परिवारमा कुपोषण खान नपाएर भन्दा पनि असन्तुलित र मिठो लागेको खानामात्र खाने कारणले धेरैजसो भएको पाइन्छ । उमेर अनुसार आवश्यक पौष्टिक तत्व भएको खानेकुरा हजम गर्यो भने कुपोषण भएर अरु रोग निम्त्याउनु पर्दैन । ६५ वर्ष माथिका पाका मानिसमा हुनसक्ने कुपोषणको त्यति ख्याल गरिन्न । त्यसैले कुपोषणले प्रतिरोधी क्षमता कमजोर र मांसपेसी निर्बलियो भएका पाका मानिसलाई समेत ‘बुढ्यौलीको लक्षण’ भनेर कुपोषण भएको हेक्का गरिँदैन भने प्राय गरे पनि अरु नै उपचार गरिन्छ । उमेर पुगेका मानिसमा हुने कुपोषणले अरु जटिल रोगव्याध जन्माउन मद्दत गरेको पाइन्छ । बिर्सने स्वभाव भएकाले समयसमयमा खाना खान बिर्सनुले धेरै अरु समस्या निम्त्याउँछ । पौष्टिक खानाको नियमित कमिले शरीरमा विभिन्न कमि भएर उन्माद हुने, मद्यपानमा मन जाने, खास दैनिक खाना खान घटाउने, सामाजिक जमघट र भेटघाट मन नपराउने हुनथाल्छ । यस्तो स्थितिमा कमाई कम हुनेमात्र होइन बचत पूँजि पनि अनावश्यक खर्च भएर निर्धनताको दिसामा पाका मानिस उन्मुख हुन थाल्दछन् ।
खानपानमा सामान्य फेरबदल र उपयुक्त पौष्टिक वस्तुको मिलावटले स्थितिमा सकारात्मक परिणाम आउन थाल्छ । दैनिक खानामा फलफूल र ताजा तरकारीको बृद्धि गर्नुपर्छ तथा तेलजन्य पदार्थ, बोसो र नुनचिनी आवश्यक मात्रामा मात्र खानाले पाका मानिसमा हुने कुपोषण हटाउन सकिन्छ । संयुक्त परिवारमा बस्ने पाका मानिसले सगोलको खाना बाहेक उपयुक्त फलफूल किनेर बिहान दिउँसो खाने नियम बनाए हुन्छ । अलग्गै यदि किन्न सक्छन् भने हिजोआज आफैँ खाना तयार नगर्ने वा नसक्नेले बजारमा त्यस्तो पोषण पदार्थ भएको खाना किनेर उपयोग गर्न सक्छन् ।
७. ज्ञानेन्द्रीयका समस्याहरूः
पछिल्लो कालखण्डमा भौतिक विकासले चुल्याएको अमेरिका जस्तो देशमा त ७० वर्ष नाघेका पाका मानिसहरूमा प्राकृतिक जैविक शरीरमा हुने परिवर्तनलाई रोक्न सकेका छैनन् भने अरु देशमा के कुरा ? त्यस उमेर समुह माथिका थुप्रै अमेरिकीहरू आँखा र कानका क्षमतामा अशक्त पाइएका छन् । सरकारी निकायले निकालेको आँकडा अनुसार हरेक छ जनामा एकजना आँखाका समस्या भएका र हरेक चारमा एकजना कानका समस्याग्रस्त अमेरिकी रहेका छन् । चिकित्सा विज्ञानको धेरै उन्नति गरेको भने पनि जैविक प्रक्रियामा हुने रोगव्याध निर्मूल नभएको बिगत वर्षका महामारीबाटै प्रष्ट हुन्छ । प्राकृतिक प्रकोप र ठूला शक्तिराष्ट्रको आर्थिक-राजनैतिक चपेटामा परेका राष्ट्रका सर्वसाधारण जनताको हालत त त्यसै पनि दयनिय भएकोमा स्वास्थ्य अवस्था कमजोर रहेको नै छ नि । सबै बिगारी सकेपछि बडो मानविय भएझैँ पूँजी कमाउन पनि अचेल विभिन्न प्रकारका आँखा र कानका साधन बनाइएका छन् । त्यसबाट दृष्टिशक्ति र श्रबणशक्तिमा मद्दत पुर्याउने यन्त्र र चिजबिज बजारमा उपलब्ध भएका छन् । बेलैमा उपचार गरे कमजोरी हट्न सक्छ र धेरैमा केही समयावधिपछि पहिलेझै देख्न र सुन्न सक्ने हुन्छ । कसैमा भने उपचारसहित थप त्यस्ता सामग्रीको प्रयोगले पाका मानिस फेरि देख्न, पढनलेख्न र सुन्न सक्ने भई आनन्द लिन सक्छन् । तातो चिसो थाहा पाउन वा हराउने समस्यामा विशेष छालाको अवस्था र शरीरको तन्दरुस्तीमा धेरै भर पर्ने हुन्छ । पाका मानिसमा नियमित सफाई, तेल घसाई, र समग्र जीउको स्याहार गर्ने बानी भए समस्या नरहन सक्छ । नाक, कान र आँखामा बाहिरी बस्तुको प्रयोगले चिलाई मर्छ वा पाकेमा हाले हुन्छ भनि अप्रमाणित बस्तुले कोटट्याउने, दल्ने र घोच्ने नगर्नु नै बेश हुन्छ । समस्या भएमा खेलाँची नगरी जानकारको उचित सल्लाहमा यस्ता सम्बेदनशील अङ्गको सफाई वा उपचार गर्नु पाको उमेरमा राम्रो हुन्छ ।
८. दाँत, मुखको समस्याः
पाका मानिसका दाँत, गिजा र जीब्रोको समस्या बारेमा ‘उमेर पुगेपछि यस्तै हो’ भनि वास्ता नगर्ने गरिन्छ । वास्तवमा समय समयमा आफैँ हेरबिचार गरे वा वयस्कहरूले पुर्याइदिए एक सय वर्षसम्म पनि ती स्वस्थ्य र बलियो हुनु अनौठो होइन । नियमित दाँतको सफाई, चोटपटकबाट गिजाको बचावट र जीब्रोको सफाई मात्रले पनि तिनको शुरक्षा हुने गर्छ । मानिस आफ्नो स्वाद, बानी र अज्ञानताले मनलागि गर्दा र तिनको स्वास्थ्य रक्षाका लागि चाहिने पोषणयुक्त खानपान नगर्दा रोगबाट आक्रान्त धेरै भेटिन्छन् । अझ उमेर पाको हुँदैजाँदा त विभिन्न अरु रोगव्याध र कमजोरीका कारण अलौटा मकै चपाउने दाँत च्याउ टोक्न नसक्ने हुन्छन् । गिजा सुन्निएर कहिले रगत आउने र कहिले दाँतनै हल्लने भएका हुन्छन् । जीब्रो बाक्लो भएर स्वाद थाह नपाउने वा तापक्रम थाहा नपाउने भई तातो खानेकुरा खानखोज्दा पोलिने समेत हुन्छन । सूर्ति, पान, सुपारी आदिको अम्मल भए त के चाहियो र ? दाँत मात्र होइन स्वासनै के कस्तो गन्ध छोड्छ र कति बिग्रन्छ सबैलाई थाहा छ । अझ हल्लिएका र बेढङ्गले खिइएका दाँतले टोकिएर रगत जमी गाला र जीब्रोमा काला डल्ला देखिने भएका हुन्छन् ।
धनी र बिकसित भनाउँदा ६५ नाघेका अमेरिकीहरूमा करिब २५ प्रतिशत जतिका त आफ्ना नभएर हालेका दाँत छन् । दाँतका खोपिल्टा, खिइएको अवस्थाले राम्ररी खाना खान पनि समस्या भएको पाइन्छ । त्यसले उनीहरूको समाजमा सामाजिक ईज्जत कम भएको, आत्मलघुता र शारीरिक समस्यासमेत हुन गएको भनाई छ । मुखको स्वास्थ्य समस्यामा, थुक कम आएर प्याकप्याक सुक्ने, गिजा पाक्ने, जीब्रो लरबराउने र मुख घाँटीमा अबुर्दरोग (क्यान्सर) भएका पाका मानिस जत्ति भेटिन्छन । यस्ता समस्याहरू नियमित चिकित्सक सुबिधा लिएबाट व्यवस्थापन र रोकथाम पनि भएका छन् । तर दाँतको बीमा आर्थिक कारणले पहुँच नपुगेर र सेवा निबृत्तलाई नहुने भएर पाका मानिसले दुखः व्यहोर्नु परेको छ । हाम्रो देशमा बैँश छउन्जेल दाँतको बखान र पाको उमेरमा नियमित दाँत माझ्नसमेत पछि पर्ने सोच भएका मानिस अलि छन् । अझ विभिन्नको सिको गर्दै खानापछि छिचरा दाँतबिच अड्किएका बस्तु हटाउन सिन्काले घोच्ने त युवाहरूको फेसन नै छ । पाका मानिस पनि दुखेका गिजा र हल्लेका दाँतबाट रगत आउन्जेल घोचेर सन्तोष लिने धेरै छन् । बरु नुन हालेको मनतातो पानी, फिटकिरी पानी, नुनबेसार र तेलको लेपले माझेर कुल्ला र सकेमा खाना पछि पनि समस्या भएकाले दतिवनबाट दाँत, गिजा र जिब्रो सफाई गरेमा आफ्नै तरिकाले पनि मुखका समस्या न्यून गर्न सकिन्छ ।
९. चिजबिजको ज्यादतीः
राम्रो हुन्छ वा फाईदा गरेथ्यो भनेर पाका मानिसहरू कहिलेकाहीँ उचित चिकित्सकको सल्लाह नलिई औषधि आफैँ सेवन सुरु गर्छन । कतिपय सुनेको भरमा ‘फलानाले यस्तै हुँदा यो औषधि खाएर निको भएको रे’ भनेर आफूपनि खान्छन् । अचेल धेरै मानिस औषधि बेच्ने पसल (मेडिकल)मा गएर नजँचाई औषधि किनेर सेवन गर्छन् । त्यसो गर्नु पाका मानिसको शरीर र स्वास्थ्य अवस्था विपरित काम हो । कतिपय जाँडरक्सी चल्ने मानिस समुहमा पाका मानिसमा आएको समस्या बिर्सन, घटाउन र हटाउन मद्यपानको मात्रा बढाउँछन् । यी सबै कुरा अवैज्ञानिक र हानिकारक तरिका हुन् ।
अमेरिकी पाका मानिसमा मद्यपान बढदो मात्रामा सेवनगर्ने उमेर नै हो भन्ने खालको चिन्तन व्याप्त छ । नियमित नजँचाई एक पटक पहिले भनिएको औषधिनै लगातार सेवन गर्ने र पहिलाजस्तो असरभएको नलागे मात्रा नै आफैँ बढाउने उपबुज्रुक हुने पनि देखिन्छ । फेरी चिकित्सकले पनि पाका मानिसहरू कसरी औषधि सेवन गर्छन र उनिहरूको मद्यपानको मात्राबारे खासै हेक्का नराखी सल्लाह दिएको पनि पाईन्छ । स्वास्थ्य परिक्षणमा त्यस्ता विषयमा कुनै सोधपुछ गरिने प्रावधान र चलन नै छैन । फेरि विविध रोगका कारण विभिन्न औषधि सेवन गर्नेले अलगअलग औषधि एकैपटक सेवनगर्दा पनि प्रतिक्रियास्वरुप रसायनको असर भएको पाईन्छ । एकिकृत औषधिगर्ने प्रणलीको अभावमा पाका मानिस विभिन्न रोग पालेर बाँच्नु परिरहेछ । यसलेगर्दा सन २०२०सम्म पाका मानिसमध्ये पचासलाख बढि मानिस बस्तुको अतिप्रयोग र रासायनिक प्रतिक्रियाको शिकार भई अधमरो भएको आँकडा सार्वजनिक भएको छ । यसमा महगो चिकित्सक सेवा चाहिने मष्तिस्क र नसाका रोगी पाका मानिसको त अवस्था झन खस्कँदो छ ।
नेपालमा पनि दुखाई कम गराउन र घाउखटिरामा प्रयोगहुने औषधि प्रायः आफैँ चिकित्सक भएर मनलागेसम्म सेवनगर्ने चलन व्यापक छ । नसा लट्ठ्याउने औषधि पनि एउटाले जे खायो त्यहि खाने चलन पनि छ, उच्चरक्तचापमा सबैले जानेकै भनेर एउटै औषधि खाएको पनि देखिन्छ सुनिन्छ । रिँगटा लाग्यो भने नजँचाई भिटामिन र जीवनजल खाने त जान्नेसुन्ने पनि कति छन कति ? त्यस्तै ढाड दुख्दा, ज्वरो आउँदा, खान मन नलाग्दा, पेट दुख्दा, झाडा लाग्दा पनि भनेसुनेका औषधि योग्य चिकित्सकबाट राम्ररी नजँचाई सोझै औषधि पसलबाट किनेर खाने प्रसस्त पाईन्छन । कथम कदाचित निको भएमा फेरी उसले त्यो औषधि त ‘राम बाँण’ को रुपमा प्रचारगरेर अरुलाई प्रभावित पार्ने कति कति ? यस्तो गलत प्रक्रियाबाट उमेर ढल्केर सारिरीक अवस्था कमजोर भएका पाका मानिसलाई जोगाउनै पर्छ नत्र असामयिक अन्त्य हुन के बेर ?
१०. मुत्र नियन्त्रण र कब्जियतः
विभिन्न कारणले महिला र पुरुष पाका मानिसमा पिसाब नरोकिने हुन सक्छ । दुबैमा मुत्रनलीको सँक्रमणले यो सामान्य सधै हुने रोगको रुपमा बिकसित भएको हुन्छ भने पुरुषहरूमा मुत्रथैलीसँगै हुने प्रोस्टेट ग्रन्थी बढेर वा संक्रमण भएर पनि हुन्छ । कसैको धारो लागेझैँ चुहिरहने र कसैको ननिख्रने र पोल्ने भएर कुठाउँमा पिसाब फेर्नुपर्ने बाध्यता हुन्छ । कतिपयको मुत्र थैलीको नियन्त्रक मांसपेशी कमजोरभएर हाँस्दा, खोक्दा वा भारी उठाउन बल गर्दा पनि पिसाब चुहिन्छ । उमेरिदै जाँदा शारीरिक गतिविधि कम भएर उचित व्यायामको अभावमा खाना पनि कम खाने वा नरुच्ने साथै आवश्यक पौष्टिक पदार्थको कमीले कब्जियत हुन्छ । पेट, आन्द्रा पाचन प्रणालीको समस्याले पनि कब्जियत हुनसक्छ । पाका मानिसहरू दैनिक नियन्त्रित मलमुत्र बिसर्जन हुनु त स्वस्थ्य भएको लक्षण नै हो । छिनछिनमा पिसाब हुनु र दिन बिराएर मल बिसर्जन गर्नु पाका मानिकको तालिका मान्दा हुन्छ ।
पाको उमेरमा पहिला नगरेको भए पनि सन्तुलित रेसायुक्त आहार लिनुपर्छ । शरीरको वजन पनि उमेर र जीउडाल अनुसार कायम राख्न खोज्नुपर्छ । पहिला कामको व्यस्तताले नियमित व्यायाम नगरे पनि अब सक्ने व्यायाम नियमित गर्नुपर्छ । आफ्ना समस्या बारेमा चिकित्सकसँग धक नमानी सोधपुछ र सल्लाह लिनुपर्छ । अमेरिकी पाका मानिसलाई त यही सल्लाह दिएको छ मायो क्लिनिक र स्वस्थ्य उमेरिनु समुहले भने हामी किन पछि पर्नु ? जतिन्जेल बाँचिन्छ आनन्दले बाँच्नुपर्छ र जीवित प्राणीलाई नै रोग लाग्छ, मरेपछि वा निर्जीवलाई रोगलाग्ने होईन भन्ने सत्य साँच्चिकै मानेर सकेको उपचार गर्नुपर्छ ।
चालिसेडाँडा, ललितपुर
लेखकका अरु सामग्रीः
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
९. हामीलाई फुर्सद छैन, के गर्नु ?(४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
१०. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २९ मार्च २०२२
११. हामीलाई फुर्सद छैन, के गर्नु ?(५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
१२. बृध्दभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०७८, ६ अप्रिल २०२२
१३. हामीलाई फुर्सद छैन, के गर्नु ?(६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१४. मेरा अहिलेका साथीहरू (परिमार्जीत), फित्कौली डट कम अनलाईन, २०२२ मे ३, बैसाख २०, २०७९
१५. हामी हेपिने मान्छे हो र ? क्यानाडा नेपाल डट कम अनलाईन, ९ मे २०२२, बैसाख २६ २०७९
१६. हामीलाई एकै नापो काम लाग्दैन है ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ मई १७, ३ ज्येष्ठ २०७९
१७. ज्येष्ठ नागरिकलाई बेवास्ता गरे बिकास हुन्छ र ? क्यानाडा नेपाल डट कम अनलाईन, २० मे २०२२, ज्येष्ठ ६, २०७९
१८. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
१९. पाको मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, जुन १६ २०२२, असार २, २०७९
२०. पाका मानिसबारे भ्रम नपालौ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ जुन २०, ६ असार २०७९
२१. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, जुलाई ४, २०२२, असार २०, २०७९
Subscribe
Login
0 Comments
Oldest



































