साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छालाको चाउरी त उमेरिदाको सौन्दर्य हो नि !

हिउँ जस्तै सेतै फुलेका कपाल, निधारमा लामा रेखा, सुहाउँदा ठाउँमा उम्रेका राता, सेता कोठी र उस्तै पर्दा छरितो लौरो हल्लाउँदै हिँड्नु पाका मान्छेका सार्वजनिक गुण हुन् ।

Nepal Telecom ad

उमेरिदै जाँदा वयस्कका पुष्ट, सफा र लालित्यपूर्ण अनुहार र छाला परिवर्तन हुँदै हेर्दै जरखरिएका, चाउरी परेका र फुस्रा देखिन थाल्छन् । कतिमा त थप काला पोतो र दागहरू हातगोडा र अनुहारमा प्रष्ट आउँछन् भने शरीरको भित्रीभागमा राता कोठी देखिन सक्छन् । यी लक्षणहरूको उत्पत्ति छाला र अनुहार परिपक्व भएपछि देखिने मानिसको चिन्हारी हुन् । त्यसमा पछुतो वा दिक्क मान्नुपर्ने कुनै कारण छैन, बरु गर्व गरौँ ‘म पनि पाको भएछु’ भनेर अनि मनमनै मक्ख परौँ किनकी यो पाको मान्छेको पहिचान हो । त्यसैले त गाउँघरमा अझै पनि रातो वा काला कोठी उमेरिदा देखेर दुःख मान्नेलाई ‘धनको पोको, के दुख मान्या ? पाकेको छालाले सबै राम्रा कुरा बटुल्छ के !’ भन्ने चलन छ ।

अनुहार पाको किन ?
घामले डढेर चामलपिठी रङ्गको छाला गहुँगोरो भई उमेरिदा देखिने पाको रङ्गको तुलना यसको महत्वका कारण कसले कम आँक्न सक्ला ? त्यसैले त पाका मान्छेको दशकौँ घामपानी खपेको छालाको बान्की र रुपमा जोकोही भरपर्दो ठानेर ढुक्क हुन्छन् । हो, बढ्दो उमेरसँगै ‘निचोरे पनि रगत फुटला जस्तो कलिलो ओठ’ र ‘एक घाममै डढेर कालै हुने छाला’ भन्दा उमेरिदा भएको बाक्लो, फुस्रो छाला सामान्यतया प्रतिरोधी हुन्छ । पहिला थोरै औँला गाडेर कन्याउँदा पाछेको जस्तो राँटा पर्ने छाला अब नङले अलिअलि कन्याउदैमा पनि केही हुन्न, चिलाई मर्छ । त्यैपनि धेरै मानिसहरू ‘चाउरिएका छाला’ भनि नाक खुम्च्याउँदै कसरी पुष्ट र गोरो बनाउने ? र त्यसलाई मन नपराएर चाउरिने प्रक्रिया रोक्न सकिएला कि भनि विभिन्न उपाय गर्न पछि पर्दैनन् । ऐना हेर्‍यो कि घरी निधार तन्काउँदै र घरी उम्रेका मख्या निचोरेर आत्मसन्तोष गर्छन् ।

उमेरिदा शरीरका सबै भागमा असर गरेको हुन्छ । मानिसले आफ्नो पालाको सबैभन्दा उत्तम भनि आर्जन गरिसकेका ज्ञान, र उपलब्धिहरू पुरानिएका हुन्छन् भने अनुभव अब अहिलेकासँग तुलना गर्न कामलाग्ने हुनसक्छन् । त्यस्तै, मानिसका बाहिरी शारीरिक आवरणमा पनि फरक आइसकेको हुन्छ र खास गरेर अनुहारमा प्रष्ट त्यसको छाप देख्न सकिन्छ । वर्ष थपिँदै गएको प्रमाणको रुपमा सबैले चिन्ने र थाहा पाउने दर्जनौँ बान्की अनुहारमै देखा पर्दछ । अनुहारमा निधारसम्म आएका कपालका जराले ठाउँ छोड्दै तालुतिर लाग्छन् भने कतिको कपाल सेलरोटी बनेर तालुखुइले हुनु स्वभाविक बन्छ । कतिजनालाई अनुहार बिहान धुँदा कहाँसम्म धुनेनै समस्या हुन्छ भने कपाल काट्न जानु कि नजानु भनि दुबिधा हुन्छ । कानका कुडकुडे हाड बढिरहने हुनाले थपिएको उमेरसँगै अलिअली उम्रेका सिउर वा ऐण्टेनाजस्ता रौँसँगै लामा देखिन्छन् । नाकलाई ठाडो बनाउने मांसपेसी कमजोर भएकाले त्यहाँको नरम हाड लुलो भएर लत्रिन्छ, अनि नाकको टुप्पो पहिलेजस्तो दरो र पोटिलो नभई सुगानाके पनि हुनसक्छ ।

अनुहारको आकार र पुष्टपनामा शारीरिक पुनव्र्यवस्थापनको भित्री कारणले पनि परिवर्तन भएको देखिन्छ । बैँशमा छालाको भित्री तहमा लाग्ने बोसो असमान किसिमले एकातिर खासखास भागमा थुप्रिन जान्छन् । मुख्य गरेर निधार, कञ्चट, गाला, आँखा र मुख वरपर त्यस्ता बोसोका मात्रा बढि जम्मा भएका हुन्छन् अनि अनुहार भोगटेजस्तो भरिलो देखिन सक्छ । उमेरिदा ती बोसोको मात्राले आफ्ना फैलावट क्षेत्र गुमाउँदै एकातिर डल्ला पर्छन् र तल्लो भागतिर झर्न थाल्छन् । यसैकारण पहिले भुक्क, पुष्ट र बाटुलो देखिने अनुहार कच्याककुचुक परेको, कसिलो, सपाट र समरो छाला चाउरिन थाल्दछ र अति उमेरिदा झोल्लिन पुग्दछ । अनुहारका कुनै भागमा विशेषगरी तल्लो भागमा पाको उमेरको ‘धनीको कुरुपतारुपी थप बोसो’ जम्मा हुन लाग्दछ । त्यसैले चिउँडो तल, गर्धन र घुच्चकमा मासुका लुँदा परेजस्तो देखिन थाल्दछ भने पेट प्वात्त निस्केको हुन्छ ।

अँ, शरीरको बाहिरी भाग चाउरी पर्नु, रेखाहरू देखापर्नु, मुजा पर्नु, भ्यात्त पर्नु र छालाको सतह अल्गोहोचो देखिनु उमेरिदा सामान्य कुरा हो । गहिरा खालका ललाटका रेखाहरू आँखीभौँ उचाल्दा बढि प्रष्टिन्छन्, त्यसैले उत्सुकता र अभिव्यक्तिका रेखा पनि भनिन्छ भने कोही चाहिँ ‘प्राज्ञिक र भाग्यमानीका दुईतीन रेखा हुन्छन्’ भन्दछन् । वास्तवमा निधारका गहिरा रेखाले उक्त मानिसले चिन्तित रही अनुहारका मांसपेशीलाई उत्तेजित पारिरहने बानीले छालाको तन्काई बढि भएर हुन गएको हुनुपर्छ । धेरैनै गहिरा रेखा देखिनु, कहीँ भुक्क र कहीँ भित्र पसेकोजस्तो हुनुमा छाला भित्रको बोसोको असमान सराईले हुनुपर्छ । मसिना खालका रेखा र चाउरी प्राय घामपानीको असर, छाला फुस्रेर र छालाको विभिन्न प्राकृतिक बनावटमा ह्रास आएर भएको हुनुपर्छ । धुमपान अधिक गर्ने र उमेरमा ‘लाटो कीरालेझैँ एकोहोरो’ ज्यान झाँटिने गरी काम गर्नेका पनि छाला खस्रा, बाक्ला र कम व्यायामको कारणले प्राकृतिक पनरउत्पादन नभई लुलो देखिन सक्छ ।

छालाको हेरबिचारः
समग्रमा छालाको हेरबिचार भित्रनै अनुहारको रेखदेख पनि आउँछ । प्राय औषधिजन्य, छालामा पोत्न हुने लेसिला पदार्थ र प्रशाधनका क्रिम अचेल बजारमा प्रशस्त पाइन्छन् । छालालाई चिल्लो र नरम बनाउन आफूलाई मनपर्ने र फाप्ने त्यस्ता क्रिम नियमित सेवन गर्न सकिन्छ भने गरौँ । हातखुट्टाका खिल, गाँठागुँठी, उमेरिदा देखिने पाको भएर आउने काला थोप्ला र चाया, लगायतका समस्या समाधानमा सामान्य मालिस गर्ने बानीले सकारात्मक प्रभाव पारिरहेको पाइन्छ । बरु औषधिजन्य भनि प्रचार गरिएका त्यस्ताको मिश्रित अवयव भने आफूलाई फाप्ने रोज्न बिर्सनु हुन्न । प्रचारित सामग्री किन्न अनुकुल नभए घरमा प्रयोग गर्ने शुद्ध तोरीको तेल पानीमा फिटेर दल्नेगरे पनि छाला मात्रै होइन मांसपेशी दुख्ने समस्या पनि समाधान हुन्छ ।

अनुहारको पाकोपनः
हरेक पटक ऐना हेर्दा अनुहारको चाउरी र आँखीभौँ उचालेको छैन कि ललाटका पानीकुलो जस्ता धर्सा देखेर आत्तिनु भएको छ कि ? अलि पुष्ट देखियुन् भनेर तन्याकतुनुक गर्न मन गर्ने धेरै होलान् ! उमेरिदा जस्तोसुकै वंशको भए पनि र फुर्तिफार्ती चर्कै गर्ने व्यक्तिका पनि अनुहारमा दिन खाएको बान्की देखा परिहाल्छ । अनुहारको रङ्गरोगन, उमेरअनुसारको अभिव्यक्ति तथा अवस्थाले कतिपय बेला हाम्रो आनन्द र मनका ईच्छा बिपरित चुनौती थपिदिन्छ । उमेरिदाका सजिलो र सोझो बाटो भने यस्ता उपहारलाई स्विकार गर्नु नै हो । तर सबैजना त्यति सहजै स्विकार गर्न सक्तैनन् र त ऐना अगाडि पर्‍यो कि छाला तन्काएर हेर्न, गाला मुसार्न, आँखाको लोती तन्काउन, आँखीभौँ मिलाउन र कतिपय फूलेका रौँ उखेल्न खोज्छन् । कतिजना आर्थिकरुपले सक्षम वा देखिसुनी जानेका ‘आ, बजारमा कतिथरी मलहम पाइन्छ, बरु कोसँग सोधौँ, जिस्क्याउँछन् कि ? छिप्पिँदै गएको अनुहारमा आएको पाकोपन कम गर्न वा लुकाउन सकिएला कि ?’ भन्दै तुलबुलिएका पनि पाइन्छन् ।

प्राकृतिक उमेरलेनै दिएको रुपरङ्ग फेरौँ भने पनि सकिने उपचार चिकित्सा विज्ञानको उपलब्धिसँगै भइसकेको छ । अमेरिकातिरको माइकल ज्याक्सन भन्ने एउटा हब्सी केटाले अनेक शल्यक्रिया गराएर गोरो भई गीत गाउँदै अष्टाबक्र बान्कीले नाचेर एकताका संसारै हल्लाएको सबैले थाहा पाएकै होलान् ! अनुहारका बढि मासु र झोल्लिएका लुँदा हुने तन्तुलाई हटाउने प्रविधि धेरै वर्ष अघिदेखि चलनमा छ । अचेल प्रविधि झन विकसित भएर प्राकृतिक पट्ठोजस्तै देखिने गरी शल्यक्रिया गर्ने धेरै भइसकेका छन् । अनुहारको प्रभाव त्यस्तै चाहिनेलाई त ठिकै होला नत्र त्यस्तो शल्यक्रिया साह्रै महँगो र थप हेरबिचार अनि अरु प्रक्रिया सँगसँगै लैजानुपर्ने भएर खर्चालु भई सामान्य जनतामा त्यति लोकप्रिय छैन । सुन्दरता प्रशाधनका अन्य उपाय गर्ने चाहिँ सर्बसाधारणमा आजकाल सामान्य हुनथालेका छन् । प्राय मेला, पर्व, चाडबाड र विवाहजस्ता सामाजिक गतिबिधिमा नेपालमा पनि उमेर खाएका महिलापुरुष सिँगारिएर पट्ठापट्ठी बनी उडन्ते गीतमा नाचगान गरेको प्रशस्त देखिन थालेको छ । फापअफाप नहेरी प्रयोग गरिने नानाथरीका रसायनको लेदोले अरु नभए छालामा कुअसर पार्न सक्ला कि !

अलि सस्तो र छिटो हुनसक्ने क्षणिक स्वान्त्य सुखायमा नवधनाढ्य त एक पाइला अघिनै छन्, न्युन बर्गका लहस्सिएर केहि क्षणमा कुरुप बनेका नदेख्ने को होला ? मुखमा पोतेको क्रिमले घाँटी कालै बाँकी, रातो लिपिष्टिक दाँतभरी, बास्ना आउने तेल कञ्चटबाट कानतिर चुहिएको, आँखिभौँ र परेला टिपेर निलाम्मे, हरे ! क्या रुप बनाउँछन् ? त्यसको नमुना भूतको भिनाजु वासुदेव लुइँटेलको ‘कति राम्री कान्छी दिदी जात्रामा’ भन्ने लेख पढे नेपाली जनजीवनमा नक्कली अनुहार छर्लङ्ग देखिन्छ । खासै विशेष चिकित्सकीय प्रक्रिया नहुने केवल बाहिरी आवरणमा लिपपोत हुने श्रृङ्गारका सामान ठिकै महँगा हुन्छन् भने अस्थाई प्रभावकारी भएर बाञ्छित रुप कायम राख्न दैनिक र नियमित चाहिँ हुनैपर्छ । बानी परेपछि नगर्ने हो भने त आफ्नै रुप आफैँलाई अनौठो लाग्न सक्छ । त्यसपछि आउने अनेक पोतोले ‘बेकार पैसा सकिछु, फलाना फलानीको उल्क्याईमा परेर’ भनि ठस्किनु पर्ने हुन्छ । रसायनले बिगारेको छाला सुधार्न फेरि परिभराँड तरिका र उमेरिदाको सुरक्षामा काम लाग्छ भनि मिहेनतले सँगालेको दाम फजुलमा सिद्धिने मेसो बन्छ ।

घामबाट बचावटः
घामबाट अनुहार बचाउन विभिन्न प्रकारका धुलो र मलहम बजारमा प्रसस्त पाइन्छन् । त्यस्ता पदार्थको लेपनले छाला घामबाट आउने पराबैजनी किरणबाट बचाउन सकिन्छ र छाला डढ्ने, फुट्ने र नराम्रो नदेखिई बयस्कमाझैँ देखिने हुनसक्छ । लगाउँदा चिप्लो तर छाला नरममात्र पार्ने च्यापच्याप नहुने मलहम अचेल पन्यालो खालका बस्तुसहित पाइने हुनाले छाला सुखा र मुजा भएकोमा कामलाग्ने हुन्छ । चाउरी कम पर्ने, फुटेका र खुम्चेर नराम्रो देखिने छाला, त्यस्तैको पोषण पाएर जोडिन सक्छ । विभिन्न गुणका छत्रेटोपी पनि घामबाट बच्न कामलाग्दा हुन्छन् भने साना घुम परापूर्वकालदेखि किसानहरूले प्रयोग गर्नेगरेको सबैलाई हेक्का होला । चिसो र स्याँठ बिरुद्ध पनि कानेटोपी लाउने चलन सबैले देखेकै होला । जाडो महिनामा चिसोले छाला फुट्छ र टाउकोमा समस्या पर्छ भनेर भुत्ले टोपी लगाउने चलन पनि छ ।

सुकेका, मरेका, उच्छरिएका र काँचुलीपरी निस्केका छाला नरम, सफा र फुटेको नदेखिने हुन्छन् । त्यसो हुनुमा त्यस्ता मलहममा पाइने भिटामिन ए को गुण भएका पदार्थको समिश्रणले गर्दा हो । त्यस्तै, धेरै गहिरा खाडल भएका मुजा छन् भने अचेल बोटुलिनम भएको सुइ लाउने चलन पनि छ । त्यस पदार्थमा भएको असरले निधारको गहिरा मुजा पनि पुरिएर निको गर्न सक्छ । त्यसले खुम्चिएर एकातिर थुप्रिनजाने मांसपेसी र तन्तुहरूलाई केहीमात्रामा अचल गराउन सक्छन् साथै बोटोक्स भन्ने मलहमले गहिरा मुजाहरू भरिएर बिस्तारै हराउन सक्छन् । छाला भर्ने भन्ने ह्यालुरोनिक सुई पनि विकसित भएको छ र यसले चिउँँडो र गाला मुनिको लुँदाजस्तो मुजा लाई भर्न र तन्काउन मद्दत गर्दछ । शरीरको अवस्था र मुजाको सक्रियता हेरेर यस्तो सुई आवधिक रुपमा लगाउने गरेको छ भने केही होला अन्यथा उमेरिदा चाउरिने छालाले आफ्नो करामत देखाउन छोड्दैन ।

लेजर वा पराबैजनी किरणको उपचार पद्दती पनि विकशित भएको छ । यस पद्दतीबाट बिभिन्न खालका कोठी, पोतो र छालामा आएका दागहरू हटाउन सकिन्छ । राता दाग र कोठीहरू कतिपय बेलामा रगतको नसा फुलेर र फुटेर हुनसक्छ । त्यसलाई ससाना भागमा विभाजित गर्दा रगत सोसिएर हटाउन सकिन्छ भने ठूलोबाट मसिनामा घटाउन पनि सकिन्छ । छालाको माथिल्लो अर्थात बाहिरी भागको पत्र निकाल्ने चलन पनि छ, त्यसो गर्दा घामले डढेको, खिलको रहलपहल, सामान्य चाउरेको र खुम्चिएको भाग हटाउन सकिन्छ । कहिलेकाहीँ शरीरका सबैभागमा पुनर्मर्मत गरेझैँ यस प्रक्रियाबाट बाहिरी छालाको लेजर उपचार गरिन्छ । यसबाट बाहिरी मात्र होइन छालाको भित्री पत्रमा पनि असर गरेको हुन्छ, त्यसले गर्दा अचल र निस्कृय तन्तु उत्तेजित भई मांसपेशीमा कोलाञ्जेनहरू बन्न थाल्छन् र मांसपेशी फुलेर शरीर पुष्ट देखिन्छ । अनि चाउरी परेको, मुजा परी खुम्चिएको छाला र गिर्खा देखिएका भाग नदेखिई अनुहारलगायत सबै भाग झरझराउँदो देखिन थाल्दछ । यस विधिबाट उपचार गर्दा केहि समय लाग्छ र हप्तौँको प्रयासपछि छाला प्राकृतिक स्तर र गुणले युक्त भएर बैँशालु देखिन जान्छ । ‘हमजायगा भन्ने हँस्यौली पात्रले छाला तन्काएर सधैं जवान देखिएर उम्नाचो गरेको’ खिस्सा सुन्नुभएको होला नि ? सायद यस्तै कुनै उपचार पद्दतीको प्रचार पनि हो कि ? छालाको चाउरीबारेमा चिन्तित हुनेहरूले साङ्गोपाङ्ग बुझेर मात्र गर्न जरुरी छ, है ।

छाला बिग्रने अन्य कारणः
उमेरिदै जाँदा केही वातावरणीय प्रभावहरू खासगरी वायु प्रदुषणको खराब असर विरुद्धमा शरीरको सक्रियताले पूर्ताल गर्न पाका मान्छेका शरीरले सक्दैन । शरीरको प्रतिरोधी क्षमताको कारण वयस्क हुँदा त्यतिनै प्रदुषणको स्तर खप्ने मानिस उमेरिदा आन्तरिक कमजोरीका कारण नसक्ने हुन जान्छ । पाका र अति पाका मान्छे जलवायु परिवर्तनको असरले बढि प्रभावित हुन्छन् । अति गर्मी र अति जाडो हुँदा सबैभन्दा बढि असर पाका मान्छेलाई नै हुन्छ किनकी त्यस उमेरमा केहि न केही रोगले च्यापेको हुन्छ नै । रोग नलागेका पाकालाई वातावरणीय असर थाम्न सजिलो होला तर रोगले च्यापेकालाई त अप्ठ्यारो पार्ने हुनालेनै ‘बुढाखाडा माघलाई’ भन्ने उखान चिसो पहाडी मुलुक नेपालमा चलेको होला । धेरै पाका मान्छे सुखले वा रोगव्याधले सकेसम्म शारीरिक श्रम कम गर्ने, हिँडडुल नगर्ने र थल्लिएर घरबाहिर नहिँड्ने साथै घरभित्र पनि एकै ठाउँ बसिरहने गर्दा शरीरलाई चाहिने व्यायाम नभई छाला निस्कृय भएर बिग्रन्छ ।

उमेरिदा पक्कै पनि केही न केही औषधि सेवन नियमित होला ? औषधिको गुन हुँदाहुँदै पनि शरीरभित्र रासायनिक पदार्थको नियमित आपूर्तिले नकारात्मक असर भइरहेको छालामा समेत देखिन सक्छ । अझ पाका मान्छेमा धेरै औषधिको प्रभावस्वरुप अत्यधिक तातो त सहनै सक्दैनन् र लु लागेझैँ असमयमानै चिन्ताजनक अवस्था आउन सक्छ । त्यसो हुँदा छाला फुट्ने, चर्कने र चाउरिने सामान्यतया द्रुतगतिमा भएको पाइन्छ । विभिन्न कारणले शारीरिक प्रतिरोधि क्षमता पाका मान्छेमा घटेको र कम भएको पाइन्छ । यस्तो अवस्थामा सामान्य झुसिलकीराको झुसले थला पार्न सक्छ भने अरु कीराको गन्ध, रङ्ग  र तिनले छुँदा निकाल्ने पदार्थले पनि शरीरभरी डाबर आई कोकोहोलो मच्च्याउने असर गर्न सक्छ । पानीको मात्रा र गुणले पनि सिकिस्त असर पारेर ओच्छ्यान पर्न सक्छन् भने पुरा स्वास्थ्यमा असर गर्दा छालामा बिगार नआउने कुरै भएन ।

अन्त्यमा,
उमेरिदा देखिने शारीरिक संरचना र आकारप्रकारमात्र होइन रोगव्याधको अवस्था पनि पाका मान्छेका गहना हुन् । चाउरी नपरेका छाला र नफुलेका कपाल उमेरमा रमाइलो र स्वभाविक भए पनि उमेरिदा त नक्कली कहलाइन्छ । हिउँ जस्तै सेतै फुलेका कपाल, निधारमा लामा रेखा, सुहाउँदा ठाउँमा उम्रेका राता, सेता कोठी र उस्तै पर्दा छरितो लौरो हल्लाउँदै हिँड्नु पाका मान्छेका सार्वजनिक गुण हुन् । यस्ता सबै लक्षण र आइपरेका चिनारीलाई सगर्व स्विकार गरी आनन्द मान्नु पाका र अति पाका मान्छेको स्वभाव बन्नुपर्छ । उमेरिदा पनि बैँशालु बान्की गर्ने र कृत्रिम आडम्बरमा मक्ख हुने बेला होइन, बरु बैँशकालाई बाटो देखाउने अगुवा बन्नुपर्छ पाका मान्छेले । त्यसैले प्रकृतिले दिएको उपहार भित्री हृदयले स्विकार गर्दै सन्तोषी बन्नु साँच्चिका पाका मान्छेको लक्षण हो । तपाइँ फरक हो र भन्या ?

०००
ल.पु. चालिसेडाँडा
चैत ८, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x