साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहनशीलता : बुढ्यौली जीवनको आभूषण

जिन्दगीभर पद, प्रतिष्ठा, मान, सम्मान, व्यवसाय र धन दौलतले अस्वाभाविक रूपमा अग्लिएकाहरू पनि छिनभरमै सडक/गल्लीमा पुगेका कतिपय अवस्था हामीले हाम्रै समाजमा देखेबुझेका छौँ । यस्तो अवस्था कसैलाई नआओस् तर सामाजिक यथार्थ यही हो ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

‘सहनशीलता : बुढ्यौली जीवनको आभूषण ।’
लेखको शीर्षक पढ्न्बित्तिकै जो कोही पनि पाठकलाई लाग्न सक्छ, बुढ्यौली जीवनसँग सहनशीलताको के नाता सम्बन्ध छ र ! बुढ्यौली जीवन भनेको बुढ्यौली जीवन हो, यसलाई दायाँबायाँ अरू विषयसँग जोडिरहनु पर्ने कुनै आवश्यकता नै छैन । अनि यस्तो अवस्थामा बुढ्यौली जीवनसँग जोडिएर सहनशीलताको कुरोचाहिँ कहाँबाट आयो ? किन आयो ?

यदि कसैले त्यस्तो सोच्छ भने त्यो सरासर सही सोचाइ नहुन सक्छ । त्यस्तो अभिव्यक्ति वा सोच त्यस व्यक्तिको अहंताको परिचायक बन्न सक्छ । यसो भन्दैमा त्यस्तो नसोच्नुस् भन्नचाहिँ खोजिएको होइन । त्यस्तो सोच्न पाइन्न भन्न खोजेको पनि होइन । त्यस्तो सोच्न सकिन्छ र भन्न पाइन्छ पनि । किनकि, सामाजिक वा सामाजिक परिवेशलाई हानी नोक्सानी नहुने गरी आफूलाई लागेका कुरा भन्न र त्यसलाई तर्कद्वारा पुष्टि गर्न जसले पनि पाउँछ । दुई किसिमका अभिमत अगाडि आएपछि त्यसमा छलफल हुन्छ, बहस हुन्छ, विचारविमर्श हुन्छ अनि त्यत्तिकै हुन्छ आआफ्ना पक्षमा दरो वकालत । यसो हुन सक्यो भने त्यसबाट निस्कने सारले समाजलाई पनि केही न केही सकारात्मक सन्देश दिन सक्छ । योगदान पुग्न सक्छ । यसैले यस आलेखमा सामाजिक परिवेश र यसभित्रका कथाव्यथालाई प्रतीकात्मक रूपमा सम्भव भएसम्म नजिकबाट नियालेर त्यसबाट प्राप्त अनुभूतिका आधारमा ‘सहनशीलता ः बुढ्यौली जीवनको आभूषण’ किन हो ? कसरी हो ? भन्ने छोटो चर्चा परिचर्चा गर्ने प्रयास गरिने छ ।

बुढ्यौली जीवन सुख खोज्ने समय होइन, खुसी खोज्ने समय हो । बुढ्यौली जीवन जतिसुकै फुर्तीफार्ती गरे पनि क्रमशः उँधौलीतिर धकेलिएको जीवन हो । यस अवस्थामा व्यक्तिको शारीरिक अवस्था, स्वस्थता, आहारविहार, खानपानको विशेष अनुशासन आदिका कारण कोही अलिक बढी शक्त होलान्, कोही अलिक अशक्त । फरक त्यत्ति हो । शक्त भए पनि, अशक्त भए पनि उमेर ढल्कँदै जानु भनेको बुढ्यौलीको अवस्था हो । उँधौली वयको यात्रा हो । यस्तो अवस्था भनेको आँट, साहस, हिम्मत, बुद्धि, अनुभव आदिको प्रचुरता रहेको तर त्यसका लागि जमेर खट्न सक्ने अवस्था नभएको परिस्थिति हो । यसरी कमजोर हुनु भनेको सहनशील हुनुपर्ने अवस्था पनि हो ।

बौद्धिक बाहेक कसैसँग प्रतिकार गर्ने क्षमता गुम्दै जानु भनेको सहनशीलतालाई अँगाल्नु पर्ने अवस्था हो । जब सहन सकिन्न र त्यसलाई शब्द वा व्यवहारबाट प्रतिकार गर्न थालिन्छ तब कुनै पनि वृद्धवृद्धाको दुःखको मेलो सुरु हुन्छ । साह्रै अपवाद अवस्थामा बाहेक अरूको सहयोग (आर्थिक पक्ष, सामाजिक सन्दर्भ, पारिवारिक परिवेश, लेखन, पठन तथा अन्य कुनै पनि विषयमा) मा बाँच्नुपर्ने यस अवस्थामा सहनशीलता उसका लागि अपरिहार्य बन्न आउँछ । यसो हुन सक्यो भने उसले विगतमा भोगिआएको सुखद जीवनको निरन्तरता कायमै रही उसलाई खुसी जीवन प्राप्त हुन्छ । त्यसैले बुढ्यौली जीवनलाई सुख खोज्ने समय होइन, खुसी खोज्ने समय भन्न खोजिएको हो ।

सहनशील शब्दले सहन सक्ने स्वभावको, सहिष्णु, क्षमाशील, विपत्ति आदिमा धैर्य धारण गर्ने, धैर्यशाली आदि अर्थ दिन्छ भने सहनशीलताले तिनै चिज, वस्तु हुनाको भाव वा अवस्था, अर्थात् सहिष्णुतालाई जनाउँछ । सारमा भन्नुपर्दा कुनै पीडा वा कष्ट सहन सक्ने क्षमताको गुण व्यक्तिमा मौजुद हुनु नै उसमा विद्यमान सहनशीलता हो । जो बुढ्यौली वयमा अपरिहार्य मानिन्छ, खुसी जीवनको प्राप्तिका लागि ।

जो व्यक्ति समय र परिस्थितिसँग सम्झौता नगरी आप्mनो पुरानै ढिपीमा अडिन्छ, र त्यसैका पक्षमा वकालत गर्छ त्यस्ता व्यक्तिको बुढ्यौली जीवन सूर्यमा ग्रहण लागेको दिनको जस्तो हुन्छ । कतिपयका घरमा आफूलाई घरमुली ठान्ने लोग्नेमान्छेहरूले भनेको सुनिन्छ – ‘यस्तो भात पकाउने, चिया पकाउने, तरकारी केलाउने/पकाउने, अचार बनाउने, बढारकुँढार गर्ने जस्ता घरभित्रका काम जिन्दगीमा कहिल्यै गरिएन । त्यस्तो गर्नुपर्छ भने बरु भोकै सुतिन्छ, गरिन्नँ ।’

यस्ता मान्छे उस्तै पर्दा साँच्चै नै घरमा भोकै बस्नु/सुत्नुपर्ने अवस्था पनि आउँछ । चौबिस घण्टाको दिन सरदर आधा समय अँध्यारो र आधा समय उज्यालो हुन्छ । मान्छेको जिन्दगी पनि त्यस्तै हो । यसैले मान्छेमा जुनसुकै सिप र जाँगर हुनुपर्छ । गृहलक्ष्मी बनेर बसेकी साथकी नारीको पनि त आप्mनै जस्तो जीवन हो भनेर बुझ्नुपर्छ । सुख उनलाई पनि चाहिन्छ, खुसी उनलाई पनि चाहिन्छ । उनलाई पनि कहिलेकाहीँ अरूले पकाएको, बनाइतुल्याई गरेको खान मन लाग्ला, अलिकति फुर्सदको चाहना होला, सुबिस्ताको चाह होला, आरामको आवश्यकता होला । यस्ता कुरा लोग्नेमान्छेले अरूले नभनीकनै बुझिदिनुपर्छ । त्यस्ता घरायसी काममा यदाकदा सघाइदिनुपर्छ । यसले मन जितिन्छ ।

यसरी नसघाउने हो भने अति भएपछि घरकी ती रानीरूपी नारी विष्फोट हुन सक्छिन् । उनले पनि अवस्था हेरी विद्रोह गर्न सक्छिन् । कचकच गर्न सक्छिन् । अनेकौँ भनाइ छर्न सक्छिन् । यस्तो अवस्थामा त्यो घरलोग्नेले सहनशील नहुने हो भने घरायसी सौहार्दतामा आँच आउँछ । यही कुरा लोग्नेमान्छेले गर्‍यो भने घरनारीले पनि त्यो कुरा सहनुपर्छ । एक अर्काको प्रतिकारमा उत्रनु हुँदैन । आपसी जुहारीमा जुट्नु हुन्न । कारण एउटा आगो भयो भने अर्को पानी हुनैपर्छ । नत्र त्यसले लिने उग्रता जस्तो पनि हुन सक्छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता दोहोरो भनाभन, विद्रोह, कचकच वा अरू यस्तै घटना परिघटना घरभित्र कति हुन्छन् कति ! आमा छोराका बिचमा हुनसक्छ, सासू बुहारीका बिचमा हुनसक्छ, बाबुछोराका बिचमा हुनसक्छ वा अरू जो कसैका बिच पनि । यसलाई सहज रूपमा निप्ट्याउने तरिका भनेको एउटा आगो एउटा पानी हुनु नै हो ।

साथीभाइहरूका कतिपय घरमा जाँदा दुवै जोईपोइ मिलेर काम गरिरहेका देखिन्छन् । जसको जे काम छ त्यसमा खटिन्छन् । भनिरहनु वा अह्राइरहनु पर्दैन । स्वतः खट्छन् । तर बाहिरी वा अन्य काम नभएका अवस्थामा सामूहिक रूपमा घरका काममा खटिएका देखिन्छन् । एउटाले वस्तुभाउ दुहुन्छ, अर्कोले घाँसपात, पानी गर्छ । एउटाले खोले कुँडो जुटाउँछ अर्काले भकारो सोहोर्छ । एउटाले तरकारी केलाउँछ अर्काले पकाउँछ । एउटाले चामल भिजाउँछ अर्काले चुलोमा बसाल्छ । एउटाले अचार बनाउँछ अर्कोले चिया पकाउँछ । एउटाले कुच्चो लगाउँछ, अर्कोले भुइँ पुस्छ । अनि आपसमा कहिलेकाहीँ यी दुई जोईपोइ जानाजान ठठ्ठा पनि गर्छन् र एकले पकाउँदा अर्कोले केही न केही खोट लगाउने र अर्कोले पकाउँदा फेरि अर्कोले केही न केही खोट लगाउँन पुग्छन् । यो विगतको क्रियाकलापको पालाको पैँचो हो ।

शक्तिमान उमेरका बेलामा कसले कतिखेर के भनेको हुन्छ, याद हुँदैन । तर शक्तिहीन हुँदै आएपछि त्यो कुरा स्मृतिमा ताजा भएर अगाडि आउँछ । मौका यही हो भन् भन्छ । अनि ठट्टा उत्रन्छ । बुझ्नेले ठट्टाकै रूपमा लिन्छ, नबुझ्ने शाब्दिक वा झटारोरूपी प्रतिकारमा उत्रन्छ । यस्ता कुरा ठट्टाका रूपमा सीमित हुनुपर्छ । ठठ्ठाका रूपमा यदाकदा गरिने यस्ता याथार्थिक वा काल्पनिक आरोप प्रत्यारोपले आपसी सम्बन्धमा प्रगाढता ल्याउँछ । आपसी सम्बन्धलाई अभैm कसिलो बनाउँछ । बुढ्यौली जीवनलाई हँसिलो बनाउँछ । मेलमिलापलाई दिगो बनाउँछ । हुन त यस्ता क्रियाकलाप बुढ्यौली वयपूर्वका अरू समयका हकमा पनि लागु हुन्छ । हुनु पनि पर्छ । यो बुढो भए पनि र बुढ्यौली वयपूर्वको भए पनि यिनीहरूबिचका यी सबै प्राप्ति र गतिविधि सहनशीलताका सकारात्मक परिणाम हुन् । यसलाई यही रूपमा लिइनुपर्छ ।

मान्छेको बुढ्यौली जीवन जुनसुकै हिसाबले पनि शक्तिहीनताको अवस्था हो । दिनानुदिन गल्दै जाने अवस्था हो । ढल्दै जाने अवस्था हो । डाँडामा बसेको जूनबाट सिक्ने अवस्था हो । अरूको सकारात्मक वास्ताबाट टाढिँदै जाने अवस्था हो । घमन्ड वा तुजुक देखाउने अवस्था पटक्कै होइन । त्यसमाथि सामान्यतः बुढ्यौली उमेरमा धेरै मान्छे समझदार भइसकेका हुन्छन् । अनेकौँ दुःख, कष्ट र सुख भोगेर यहाँसम्म आइपुगेका हुन्छन् । अनि उनीहरूले दुःख कतिेखेर कसरी आउँछ थाहा हुन्न भन्ने कुरा बुझेका हुन्छन् । जिन्दगीभर पद, प्रतिष्ठा, मान, सम्मान, व्यवसाय र धन दौलतले अस्वाभाविक रूपमा अग्लिएकाहरू पनि छिनभरमै सडक/गल्लीमा पुगेका कतिपय अवस्था हामीले हाम्रै समाजमा देखेबुझेका छौँ । यस्तो अवस्था कसैलाई नआओस् तर सामाजिक यथार्थ यही हो । त्यसैले जिन्दगीमा कतिखेर कसले, कोसँग, कसरी सम्झौता गर्नुपर्छ कसैले पनि पूर्व अनुमान गर्न सक्नतैनन् । यो ध्रुवसत्य कुरा हो ।

सहनशीलता बुढ्यौली जीवनका लागि मात्र आभूषण होइन, अरू अवस्थाका लागि पनि त्यत्तिकै अपरिहार्य विषय हो । त्यसैले अन्यायका विरुद्ध न्याय खोज्नुपर्ने अवस्थामा बाहेक अरू अवस्थामा सहनशीलता प्रत्येक मानिसमा हुनुपर्ने अत्यावश्यकीय गुण हो । सहनशीलताले जो कोही मानिसलाई महानभन्दा महान बनाउँछ । त्यसमाथि पनि हरकुरामा अवस्था हेरेर सानो वा ठुलो सम्झौता गरी भावी जीवन गुजार्नुपर्ने बुढ्यौली वयमा भने सहनशीलता जीवनको अपरिहार्य गहना नै हो, अमूल्य आभूषण नै हो । यसमा साह्रै अपवाद अवस्थामा बाहेक कोही कसैले पनि मत बझाउने छैनन् ।
सबैको जय होस् ।

०००
२०८०/०७/१५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x