
सहनशीलता : बुढ्यौली जीवनको आभूषण
जिन्दगीभर पद, प्रतिष्ठा, मान, सम्मान, व्यवसाय र धन दौलतले अस्वाभाविक रूपमा अग्लिएकाहरू पनि छिनभरमै सडक/गल्लीमा पुगेका कतिपय अवस्था हामीले हाम्रै समाजमा देखेबुझेका छौँ । यस्तो अवस्था कसैलाई नआओस् तर सामाजिक यथार्थ यही हो ।

वासुदेव गुरागाईं :
‘सहनशीलता : बुढ्यौली जीवनको आभूषण ।’
लेखको शीर्षक पढ्न्बित्तिकै जो कोही पनि पाठकलाई लाग्न सक्छ, बुढ्यौली जीवनसँग सहनशीलताको के नाता सम्बन्ध छ र ! बुढ्यौली जीवन भनेको बुढ्यौली जीवन हो, यसलाई दायाँबायाँ अरू विषयसँग जोडिरहनु पर्ने कुनै आवश्यकता नै छैन । अनि यस्तो अवस्थामा बुढ्यौली जीवनसँग जोडिएर सहनशीलताको कुरोचाहिँ कहाँबाट आयो ? किन आयो ?
यदि कसैले त्यस्तो सोच्छ भने त्यो सरासर सही सोचाइ नहुन सक्छ । त्यस्तो अभिव्यक्ति वा सोच त्यस व्यक्तिको अहंताको परिचायक बन्न सक्छ । यसो भन्दैमा त्यस्तो नसोच्नुस् भन्नचाहिँ खोजिएको होइन । त्यस्तो सोच्न पाइन्न भन्न खोजेको पनि होइन । त्यस्तो सोच्न सकिन्छ र भन्न पाइन्छ पनि । किनकि, सामाजिक वा सामाजिक परिवेशलाई हानी नोक्सानी नहुने गरी आफूलाई लागेका कुरा भन्न र त्यसलाई तर्कद्वारा पुष्टि गर्न जसले पनि पाउँछ । दुई किसिमका अभिमत अगाडि आएपछि त्यसमा छलफल हुन्छ, बहस हुन्छ, विचारविमर्श हुन्छ अनि त्यत्तिकै हुन्छ आआफ्ना पक्षमा दरो वकालत । यसो हुन सक्यो भने त्यसबाट निस्कने सारले समाजलाई पनि केही न केही सकारात्मक सन्देश दिन सक्छ । योगदान पुग्न सक्छ । यसैले यस आलेखमा सामाजिक परिवेश र यसभित्रका कथाव्यथालाई प्रतीकात्मक रूपमा सम्भव भएसम्म नजिकबाट नियालेर त्यसबाट प्राप्त अनुभूतिका आधारमा ‘सहनशीलता ः बुढ्यौली जीवनको आभूषण’ किन हो ? कसरी हो ? भन्ने छोटो चर्चा परिचर्चा गर्ने प्रयास गरिने छ ।
बुढ्यौली जीवन सुख खोज्ने समय होइन, खुसी खोज्ने समय हो । बुढ्यौली जीवन जतिसुकै फुर्तीफार्ती गरे पनि क्रमशः उँधौलीतिर धकेलिएको जीवन हो । यस अवस्थामा व्यक्तिको शारीरिक अवस्था, स्वस्थता, आहारविहार, खानपानको विशेष अनुशासन आदिका कारण कोही अलिक बढी शक्त होलान्, कोही अलिक अशक्त । फरक त्यत्ति हो । शक्त भए पनि, अशक्त भए पनि उमेर ढल्कँदै जानु भनेको बुढ्यौलीको अवस्था हो । उँधौली वयको यात्रा हो । यस्तो अवस्था भनेको आँट, साहस, हिम्मत, बुद्धि, अनुभव आदिको प्रचुरता रहेको तर त्यसका लागि जमेर खट्न सक्ने अवस्था नभएको परिस्थिति हो । यसरी कमजोर हुनु भनेको सहनशील हुनुपर्ने अवस्था पनि हो ।
बौद्धिक बाहेक कसैसँग प्रतिकार गर्ने क्षमता गुम्दै जानु भनेको सहनशीलतालाई अँगाल्नु पर्ने अवस्था हो । जब सहन सकिन्न र त्यसलाई शब्द वा व्यवहारबाट प्रतिकार गर्न थालिन्छ तब कुनै पनि वृद्धवृद्धाको दुःखको मेलो सुरु हुन्छ । साह्रै अपवाद अवस्थामा बाहेक अरूको सहयोग (आर्थिक पक्ष, सामाजिक सन्दर्भ, पारिवारिक परिवेश, लेखन, पठन तथा अन्य कुनै पनि विषयमा) मा बाँच्नुपर्ने यस अवस्थामा सहनशीलता उसका लागि अपरिहार्य बन्न आउँछ । यसो हुन सक्यो भने उसले विगतमा भोगिआएको सुखद जीवनको निरन्तरता कायमै रही उसलाई खुसी जीवन प्राप्त हुन्छ । त्यसैले बुढ्यौली जीवनलाई सुख खोज्ने समय होइन, खुसी खोज्ने समय भन्न खोजिएको हो ।
सहनशील शब्दले सहन सक्ने स्वभावको, सहिष्णु, क्षमाशील, विपत्ति आदिमा धैर्य धारण गर्ने, धैर्यशाली आदि अर्थ दिन्छ भने सहनशीलताले तिनै चिज, वस्तु हुनाको भाव वा अवस्था, अर्थात् सहिष्णुतालाई जनाउँछ । सारमा भन्नुपर्दा कुनै पीडा वा कष्ट सहन सक्ने क्षमताको गुण व्यक्तिमा मौजुद हुनु नै उसमा विद्यमान सहनशीलता हो । जो बुढ्यौली वयमा अपरिहार्य मानिन्छ, खुसी जीवनको प्राप्तिका लागि ।
जो व्यक्ति समय र परिस्थितिसँग सम्झौता नगरी आप्mनो पुरानै ढिपीमा अडिन्छ, र त्यसैका पक्षमा वकालत गर्छ त्यस्ता व्यक्तिको बुढ्यौली जीवन सूर्यमा ग्रहण लागेको दिनको जस्तो हुन्छ । कतिपयका घरमा आफूलाई घरमुली ठान्ने लोग्नेमान्छेहरूले भनेको सुनिन्छ – ‘यस्तो भात पकाउने, चिया पकाउने, तरकारी केलाउने/पकाउने, अचार बनाउने, बढारकुँढार गर्ने जस्ता घरभित्रका काम जिन्दगीमा कहिल्यै गरिएन । त्यस्तो गर्नुपर्छ भने बरु भोकै सुतिन्छ, गरिन्नँ ।’
यस्ता मान्छे उस्तै पर्दा साँच्चै नै घरमा भोकै बस्नु/सुत्नुपर्ने अवस्था पनि आउँछ । चौबिस घण्टाको दिन सरदर आधा समय अँध्यारो र आधा समय उज्यालो हुन्छ । मान्छेको जिन्दगी पनि त्यस्तै हो । यसैले मान्छेमा जुनसुकै सिप र जाँगर हुनुपर्छ । गृहलक्ष्मी बनेर बसेकी साथकी नारीको पनि त आप्mनै जस्तो जीवन हो भनेर बुझ्नुपर्छ । सुख उनलाई पनि चाहिन्छ, खुसी उनलाई पनि चाहिन्छ । उनलाई पनि कहिलेकाहीँ अरूले पकाएको, बनाइतुल्याई गरेको खान मन लाग्ला, अलिकति फुर्सदको चाहना होला, सुबिस्ताको चाह होला, आरामको आवश्यकता होला । यस्ता कुरा लोग्नेमान्छेले अरूले नभनीकनै बुझिदिनुपर्छ । त्यस्ता घरायसी काममा यदाकदा सघाइदिनुपर्छ । यसले मन जितिन्छ ।
यसरी नसघाउने हो भने अति भएपछि घरकी ती रानीरूपी नारी विष्फोट हुन सक्छिन् । उनले पनि अवस्था हेरी विद्रोह गर्न सक्छिन् । कचकच गर्न सक्छिन् । अनेकौँ भनाइ छर्न सक्छिन् । यस्तो अवस्थामा त्यो घरलोग्नेले सहनशील नहुने हो भने घरायसी सौहार्दतामा आँच आउँछ । यही कुरा लोग्नेमान्छेले गर्यो भने घरनारीले पनि त्यो कुरा सहनुपर्छ । एक अर्काको प्रतिकारमा उत्रनु हुँदैन । आपसी जुहारीमा जुट्नु हुन्न । कारण एउटा आगो भयो भने अर्को पानी हुनैपर्छ । नत्र त्यसले लिने उग्रता जस्तो पनि हुन सक्छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता दोहोरो भनाभन, विद्रोह, कचकच वा अरू यस्तै घटना परिघटना घरभित्र कति हुन्छन् कति ! आमा छोराका बिचमा हुनसक्छ, सासू बुहारीका बिचमा हुनसक्छ, बाबुछोराका बिचमा हुनसक्छ वा अरू जो कसैका बिच पनि । यसलाई सहज रूपमा निप्ट्याउने तरिका भनेको एउटा आगो एउटा पानी हुनु नै हो ।
साथीभाइहरूका कतिपय घरमा जाँदा दुवै जोईपोइ मिलेर काम गरिरहेका देखिन्छन् । जसको जे काम छ त्यसमा खटिन्छन् । भनिरहनु वा अह्राइरहनु पर्दैन । स्वतः खट्छन् । तर बाहिरी वा अन्य काम नभएका अवस्थामा सामूहिक रूपमा घरका काममा खटिएका देखिन्छन् । एउटाले वस्तुभाउ दुहुन्छ, अर्कोले घाँसपात, पानी गर्छ । एउटाले खोले कुँडो जुटाउँछ अर्काले भकारो सोहोर्छ । एउटाले तरकारी केलाउँछ अर्काले पकाउँछ । एउटाले चामल भिजाउँछ अर्काले चुलोमा बसाल्छ । एउटाले अचार बनाउँछ अर्कोले चिया पकाउँछ । एउटाले कुच्चो लगाउँछ, अर्कोले भुइँ पुस्छ । अनि आपसमा कहिलेकाहीँ यी दुई जोईपोइ जानाजान ठठ्ठा पनि गर्छन् र एकले पकाउँदा अर्कोले केही न केही खोट लगाउने र अर्कोले पकाउँदा फेरि अर्कोले केही न केही खोट लगाउँन पुग्छन् । यो विगतको क्रियाकलापको पालाको पैँचो हो ।
शक्तिमान उमेरका बेलामा कसले कतिखेर के भनेको हुन्छ, याद हुँदैन । तर शक्तिहीन हुँदै आएपछि त्यो कुरा स्मृतिमा ताजा भएर अगाडि आउँछ । मौका यही हो भन् भन्छ । अनि ठट्टा उत्रन्छ । बुझ्नेले ठट्टाकै रूपमा लिन्छ, नबुझ्ने शाब्दिक वा झटारोरूपी प्रतिकारमा उत्रन्छ । यस्ता कुरा ठट्टाका रूपमा सीमित हुनुपर्छ । ठठ्ठाका रूपमा यदाकदा गरिने यस्ता याथार्थिक वा काल्पनिक आरोप प्रत्यारोपले आपसी सम्बन्धमा प्रगाढता ल्याउँछ । आपसी सम्बन्धलाई अभैm कसिलो बनाउँछ । बुढ्यौली जीवनलाई हँसिलो बनाउँछ । मेलमिलापलाई दिगो बनाउँछ । हुन त यस्ता क्रियाकलाप बुढ्यौली वयपूर्वका अरू समयका हकमा पनि लागु हुन्छ । हुनु पनि पर्छ । यो बुढो भए पनि र बुढ्यौली वयपूर्वको भए पनि यिनीहरूबिचका यी सबै प्राप्ति र गतिविधि सहनशीलताका सकारात्मक परिणाम हुन् । यसलाई यही रूपमा लिइनुपर्छ ।
मान्छेको बुढ्यौली जीवन जुनसुकै हिसाबले पनि शक्तिहीनताको अवस्था हो । दिनानुदिन गल्दै जाने अवस्था हो । ढल्दै जाने अवस्था हो । डाँडामा बसेको जूनबाट सिक्ने अवस्था हो । अरूको सकारात्मक वास्ताबाट टाढिँदै जाने अवस्था हो । घमन्ड वा तुजुक देखाउने अवस्था पटक्कै होइन । त्यसमाथि सामान्यतः बुढ्यौली उमेरमा धेरै मान्छे समझदार भइसकेका हुन्छन् । अनेकौँ दुःख, कष्ट र सुख भोगेर यहाँसम्म आइपुगेका हुन्छन् । अनि उनीहरूले दुःख कतिेखेर कसरी आउँछ थाहा हुन्न भन्ने कुरा बुझेका हुन्छन् । जिन्दगीभर पद, प्रतिष्ठा, मान, सम्मान, व्यवसाय र धन दौलतले अस्वाभाविक रूपमा अग्लिएकाहरू पनि छिनभरमै सडक/गल्लीमा पुगेका कतिपय अवस्था हामीले हाम्रै समाजमा देखेबुझेका छौँ । यस्तो अवस्था कसैलाई नआओस् तर सामाजिक यथार्थ यही हो । त्यसैले जिन्दगीमा कतिखेर कसले, कोसँग, कसरी सम्झौता गर्नुपर्छ कसैले पनि पूर्व अनुमान गर्न सक्नतैनन् । यो ध्रुवसत्य कुरा हो ।
सहनशीलता बुढ्यौली जीवनका लागि मात्र आभूषण होइन, अरू अवस्थाका लागि पनि त्यत्तिकै अपरिहार्य विषय हो । त्यसैले अन्यायका विरुद्ध न्याय खोज्नुपर्ने अवस्थामा बाहेक अरू अवस्थामा सहनशीलता प्रत्येक मानिसमा हुनुपर्ने अत्यावश्यकीय गुण हो । सहनशीलताले जो कोही मानिसलाई महानभन्दा महान बनाउँछ । त्यसमाथि पनि हरकुरामा अवस्था हेरेर सानो वा ठुलो सम्झौता गरी भावी जीवन गुजार्नुपर्ने बुढ्यौली वयमा भने सहनशीलता जीवनको अपरिहार्य गहना नै हो, अमूल्य आभूषण नै हो । यसमा साह्रै अपवाद अवस्थामा बाहेक कोही कसैले पनि मत बझाउने छैनन् ।
सबैको जय होस् ।
०००
२०८०/०७/१५
काठमाडौं