वासुदेव गुरागाईंज्येष्ठ नागरिककेन्द्रित केही सन्दर्भ केही बहस
गाईभैँसीका लागि गोठ, बाख्राका लागि खोर, विरामीका लागि अस्पताल, घोडाका लागि तबेला भनेजस्तो भाव आउने गरी वृद्धवृद्धाका लागि वृद्धाश्रम भनिनुहुन्न ।

वासुदेव गुरागाईं :
विश्वका जुनसुकै भूगोलका कुनाकाप्चामा रहेबसेका भए पनि मानिस आफैँमा नितान्त स्वार्थी जाति हो । जतिसुकै आदर्शका कुरा गरे पनि प्रत्येक क्षण ऊ आफ्नो व्यक्तिगत स्वार्थका विषयमा मात्र सोचिरहेको हुन्छ । सदासर्वदा ऊ त्यसैमा तल्लीन हुन्छ । त्यसभन्दा माथि उठ्न सक्यो भने ऊ परिवार, नरनाता र अरू आफ्नाको स्वार्थका विषयमा सोच्न थाल्छ । त्यसभन्दा पनि अलिक माथि उठ्न सक्यो भने ऊ आफ्नो वरिपरिका आफ्ना भजनगायकका विषयमा सोच्न थाल्छ । त्यसभन्दा माथि उठ्यो भने मात्र ऊ अलिक विस्तारित बाहिरी घेरामा पुग्छ र टोल, छिमेक, वल्लोपल्लो गाउँ, जिल्ला, अञ्चल, क्षेत्र हुँदै राष्ट्रका विषयमा सोच्ने अवस्थामा पुग्छ, त्यो पनि अघोषित रूपमा आफ्नै निजी स्वार्थलाई केन्द्रमा राखेर । त्यसभन्दा बाहिर निस्कन सक्यो भने ऊ आफ्ना छिमेकी देश, महादेश हुँदै अरू भूगोलका विषयमा सोच्न थाल्छ, त्यो पनि आफ्नो जाति र समूहको हितलाई केन्द्रमा राखेर सोच्छ र त्यसैअनुसार गर्छ । त्यसैले बुढ्यौली वयमा पुगेका ज्येष्ठ नागरिकका विषयमा कुरा गर्दा पनि ऊ आफ्नो जाति, समूह र वर्गको हितलाई केन्द्रमा राखेर कुरा गर्छ । काम गर्छ । सृष्टिका अरू प्राणीका विषयमा उसलाई त्यति चासो रहन्न ।
मानिसको यही स्वार्थी प्रवृत्तिका कारण उसबाट सम्पादन हुने अन्य जे जति पनि काम कुरा छन् ती सबै पहिला आफू र आफ्नो हित केन्द्रित भएर सम्पादन हुन्छन्, अनि मात्र अरू केन्द्रित । आम मानिसको यही स्वार्थी प्रवत्तिबाट प्रभावित भएर यहाँ पनि ज्येष्ठ नागरिककै सन्दर्भ केन्द्रित गरेर कुराकानी अघि बढाउने प्रयास हुनेछ, अरुको होइन ।
ज्येष्ठ नागरिक अवस्था अर्थात् बुढ्यौली उमेरगत हिसाबले मानिसको उत्तरार्द्ध जीवनकाल हो । मानिसको उत्तरार्द्ध जीवनकाल भनेको सामान्यतः पचासभन्दा पछिको उमेरलाई लिइन्छ । मानिन्छ । यो मुलुक अनुसार फरक फरक पनि होला । जुन देशका नागरिकका विषयमा कुरा गरिन्छ त्यस मुलुकको सरदर आयुले पनि यसलाई निर्धारण गर्छ होला । मानिसको सरदर आयु बढ्नु भनेको उसलाई उसको शारीरिक आवश्यकता अनुसार उपलब्ध हुनुपर्ने खानपानको आपूर्तिमा कमी नहुनु, स्वास्थ्य सेवाको उपलब्धता र उसको स्वास्थ्यस्थिति, जीवन शैली, काम गर्न सक्ने क्षमतामा विकास, कामको प्रकृति, राज्यका विभिन्न निकायमा रहेर काम गर्न पाउने अवसर जस्ता विषयमा बढोत्तरी हुनु पनि होला । जे भए पनि यसको मानक अवस्था भने मुलुक अनुसार फरक फरक हुन्छ भन्ने कुरामा दुई मत हुन्न ।
नेपालको कानुनले भने त्यसलाई साठीभन्दा पछिको उमेरलाई लिएर त्यस्ता मानिसलाई ज्येष्ठ नागरिक भनेर छुट्टै स्थान र आक्षरिक सम्मान दिएको छ । यसो भनिरहँदा जो कसैबाट पनि प्रश्न उठ्न सक्छ – ‘आक्षरिक सम्मान भनेको के हो !? किन आक्ष्रिक सम्मान भनियो !?’ हो, बुढ्यौलीका विषयमा कुरा गर्दा चुरो कुरो नै यही हो । छलफल र बहसको विषय नै यही हो । नेपालको सन्दर्भमा कुरा गर्दा विश्व परिवेश समेतलाई दृष्टिगत गरेर राज्यका तर्फबाट बुढाहरूका हितका विषयलाई सम्बोधन गर्नका लागि केही कानुनी व्यवस्था त भयो तर तिनको व्यावहारिक पक्ष कमजोर रह्यो । कानुन सार्वजनिक रूपमा देखाउनका लागि मात्र भयो । राज्यले गरेको छ नि, सरकारले गरेको छ नि भन्नका लागि मात्र भयो । किनकि, सरकारले गरेका यी कानुनी व्यवस्था अक्षरमा मात्र सीमित भए, जुन भाव र असल मनसायले पे्ररित भएर कानुनी व्यवस्था गरिएका थिए ती सकारात्मक भावका साथ व्यवहारमा पूणर्तः अनुवाद हुन सकेनन् । यसरी व्यवहारमा अनुवाद हुन नसक्नुका पछाडि पनि केही कारण होलान् । त्यसमध्ये राज्य आफैँको आर्थिक स्रोतको सीमितता, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि आदि जस्ता सामाजिक सरोकारका प्राथमिकताका विषयमा राज्यको लगानी विस्तार, विकास निर्माणका काममा दिनुपर्ने प्राथमिकता लगायत सरकारी दायित्वको क्षेत्र विस्तारले पनि एकै विषयमा बढी ध्यान पुग्न नसकेको हुनसक्छ । तर, सक्ने विषयमा पनि बेवास्ता हुनुले राज्य सञ्चालकको नियतमा शङ्का गर्नुपर्ने अवस्था सिर्जना छ ।
हुन त राज्य एउटा पक्ष वा स्वार्थ समूहको हितका लागि मात्र सञ्चालनमा हुँदैन । उसले सम्बोधन गर्नुपर्ने विषय र कार्यक्षेत्र सामान्य मानिसले सोचेभन्दा कता हो कता व्यापक हुन्छ । यस्तो हुनु पनि पर्छ । राज्यको सीमित साधन र स्रोतबाट ती सबै विषय र क्षेत्रलाई राज्यले सम्बोधन गर्नुपर्छ । त्यसैभित्र पर्छ यो लोककल्याण केन्द्रित राज्य व्यवस्था अन्तर्गत वृद्धवृद्धा वा ज्येष्ठ नागरिकलाई सम्बोधन गर्नुपर्ने राज्यको सामाजिक जिम्मेवारी र उत्तरदायित्वको विषय पनि ।
नेपालका सन्दर्भमा उदाहरणकै लागि केही कुरा गरिहेरूँ न । देशको आर्थिक हैसियत जे जस्तो भए पनि केही दशकअघि समाजका ज्येष्ठ नागरिकका लागि वृद्ध भत्ताको व्यवस्था राज्यले गर्यो । यस किसिमको साङ्केतिक सम्मानका लागि ज्येष्ठ नागरिकहरूले सरकारप्रति आभार प्रकट गरे । यसले एकातिर आफ्नो आर्थिक अवस्था एकदमै कमजोर भएकाका लागि थोरै भए पनि सघाउ पुग्यो भने आर्थिक हैसियत त्यसभन्दा माथि भएका ज्येष्ठ नागरिकले पनि सरकारले गरेको यस्तो व्यवस्थाले आफ्नो सम्मान भएको महसुस गरे ।
यसको वितरणमा सरकारी वा त्यस्तै किसिमका सेवामा कार्यरत रहेकालाई यस व्यवस्थाट विमुख गरिनु जायजै थियो तर सेवा निवृत्त भएर आफ्नो जीवनकालको सबै उर्वर समय सरकारी सेवामा बिताएर तोकिए बमोजिम उमेरगत वा अन्य हिसाबले अशक्तावस्थामा सेवा निवृत्त भएर निवृत्तभरणका रूपमा केही रकम हात पारिरहेका ज्येष्ठ नागरिकहरूलाई पनि यसबाट विमुख गरियो । स्वेच्छाले कसैले म यस्तो भत्ता लिन्न भनेको अवस्थामा बाहेक अन्य अवस्थामा तिनलाई राज्यले त्यसरी सम्मानका रूपमा दिइएको त्यस्तो भत्ताबाट विमुख गराउनु हुने थिएन ।
दोहोरो आर्जनका रूपमा त्यसलाई हेर्ने वा मानिने हो भने सेवामा रहेका जो कोहीलाई सेवा अवधिभित्र बैठक भत्ता वा अन्य किसिमका आर्थिक सुविधा किन उपलब्ध गराउने ? निवृत्तभिरण बाहेकका अन्य किसिमका ठुल्ठुला आयस्रोत भएकालाई किन यस्तो भत्ता उपलब्ध गराउने ? के निवृित्तभरणवाला सबैको आर्थिक अवस्था वा हैसियत एउटै छ ? निवृत्तिभरणको राशी एउटै छ ? पारिवारिक अवस्था र बसोबासको चाँजोपाँजो सबैको एकै किसिमको छ ? ठण्डा दिमागले सन्तुलित भएर केलाउँदा यस्ता प्रसङ्ग धेरै आउँछन् । त्यसैले निवृत्तिभरण उसको उर्वर वयमा उसले राज्यका लागि गरेको योगदानका निमित्त प्रदान गरिएको सुरक्षण हो भने ज्येष्ठ नागरिक भत्ता उसको वयगत सामाजिक हैसियतका लागि राज्यका तर्फबाट दिइएको साङ्केतिक सामाजिक सम्मान हो ।
जुन लामो समयसम्म उनीहरूलाई दिनु पनि पर्दैन । किनकि, यस्तो सम्मान भनेको उसको उमेर ढल्किसकेपछि प्रदान गरिने सामाजिक सुरक्षण हो । यसबाट प्राप्त हुने रकम उसले आफ्नो आर्थिक हैसियत अनुसार कुनै सामाजिक काममा पनि लगाउन सक्छ वा उसको साहित्यिक गतिविधि वा आपूmलाई सकारात्मक रूपमा व्यस्त बनाउने अरू काममा पनि खर्च गर्न सक्छ । यी दुईमध्ये एउटा निवृत्तिभरण हो भने अर्को नाममा जे भए पनि राज्यका तर्पmबाट गरिएको सामाजिक सम्मान हो । प्रकृति फरक छ यी दुईको । त्यसैले राज्यले यस्ता विषयमा सङ्कीणर् भएर होइन, उदार भएर सोच्नुपर्छ । व्यक्तिले पाएको निवृत्तिभरणलाई ‘डाहा’ को रूपमा नभई ‘आहा’ को रूपमा लिइनुपर्छ ।
समाजमा अहिले एउटा अवधारणा विकास भइरहेको छ- त्यो हो वृद्धवृद्धाका लागि वृद्धाश्रम । वृद्ध हुनेबित्तिकै तिनले वृद्धाश्रममा गएर बस्नुपर्छ भन्ने एक किसिमको मानसिकता पछिल्लो पिँढीमा नजानिँदो रूपमा विकास भइरहेको छ, जुन सबैका लागि प्रत्युत्पादक हो । संयुक्त परिवारको अवधारणामा सिञ्चित भइरहेको हाम्रो पारिवारिक संरचना पछिल्ला दिनमा आएर जानी वा नजानी खण्डित हुन थालेको छ । सानो परिवार सुखी परिवार भनेको बाबुआमा वा आफूमा आश्रित अरू जो कोहीलाई आफूबाट टाढा गराएर वा वृद्धाश्रम जस्ता स्थानमा पठाएर आफ्नो परिवार सानो गराउने सोच मानिसहरूमा विकसित भइरहेको छ । यो कदापि समाज र अरू जो कोहीका हितमा हुँदैन । आदर्श परिवार र आदर्श समाजको परिकल्पनामा यसले कुनै पनि हालतमा सघाउ पुर्याउँदैन । यस विषयमा राज्य लगायत सबैले सामाजिक विखण्डन आउनुअघि नै सोच्नुपर्छ ।
यस सन्दर्भमा अर्को एउटा पक्ष के विकसित भइरहेको छ भने वृद्धाश्रमलाई हेयका रूपमा हेर्ने । यो समाजको अङ्ग नै हैन जस्तो गरी हेर्ने । त्यहाँ बसाइने वा राखिने प्राणी मानिस नभएर अरू नै केही हुन् भने जस्तो व्यवहार गर्ने । तिनले विगतमा कहिल्यै सुखी जीवन व्यतीत गरेका छैनन्, तिनलाई सुखका विषयमा केही थाहा नै छैन जस्तो गर्ने । मानव भएर बाँच्नका लागि के के कुराको आवश्यकता पर्छ जस्ता विषयमा तिनलाई केही ज्ञान नै छैन जस्तो अनुमान गर्ने । यसले उनीहरूलाई वृद्धाश्रममा पुर्याएर पनि हरहमेसा शान्तिसँग जिउन दिइरहेको छैन । मानसिक रूपमा सधै आतङ्कित हुन सघाइरहेको छ ।
‘वृद्धाश्रम ।’ यसको नामकै विषयमा पनि एक पटक चर्चा गरिहेरूँ न । माथि उल्लेख गरिए झैँ वृद्धाश्रम भन्नेबित्तिकै बुढाबुढी लगेर थन्क्याउने डम्पिङ साइट जस्तो सोच पछिल्लो समयमा विकसित छ । कुरो यसो होइन । यो त आफैँ केही गरी खान नसक्ने अशक्तावस्थाका वेवारिस वृद्धवृद्धाका लागि राज्य वा अरू जो कोही व्यक्ति वा सामाजिक सङ्घसंस्थाबाट गरिएको सुरक्षित बसाइ व्यवस्थापन हो । यस्ता व्यक्तिहरूको कल्याणका लागि गरिएको पुण्य कर्म हो । यो त्यस्ता व्यक्तिहरूको आश्रम मात्र नभएर त्यस्तालाई संरक्षण दिने स्थान हो । जहाँ उनीहरूको खानपान, सरसफाइ, स्वास्थ्यसम्बन्धी हेरचाह, आफ्नो आस्था अनुसारको धार्मिक क्रियाकलापमा लाग्न पाउने जस्ता विषयमा सघाउने ठाउँ हो । सहजता प्रदान गर्ने ठाउँ हो । गाईभैँसीका लागि गोठ, बाख्राका लागि खोर, विरामीका लागि अस्पताल, घोडाका लागि तबेला भनेजस्तो भाव आउने गरी वृद्धवृद्धाका लागि वृद्धाश्रम भनिनुहुन्न । त्यसैले यस्ता स्थानलाई वृद्धाश्रम नभनेर ‘वृद्धवृद्धा वा ज्येष्ठ नागरिक संरक्षण केन्द्र’ भनेर नामकरण गरिनु सर्वथा उपयुक्त हुन्छ । यस्ता विषयमा पनि समसामयिक सुधार हेतु सरोकारवालाको ध्यान बेलैमा जानुपर्छ ।
पछिल्लो समय वृद्धवृद्धाहरू वृद्ध भएकै कारण हिंसामा पर्ने गरेको उदाहरण पनि हाम्रा सामु छन् । सार्वजनिक यातायातको प्रयोगमा होस् कि अन्यत्र यस्ता हिंसा हुने गरेका छन् । भिडभाडका समयमा तन्नेरीहरूकै बिचमा च्यापिएर सवारी साधनमा उक्लिनुपर्ने, बसभाडा वा अरू सरसामानको राखनधरनमा पनि सवारी कर्मचारीहरूका तर्फबाट अनेकौँ भनाइ खानुपर्ने, आरक्षित सिटमा बस्ने अधिकार नभएकालाई उठाएर आफू बस्न आफैँले वादविवाद वा झगडा गर्नुपर्ने, धार्मिक स्थलहरूमा पनि अरू सरह नै च्यापिएर अगाडि बढ्नुपर्ने, सरकारी काममा पनि ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा नराखिने जस्ता व्यवहारले उनीहरू अस्तिभन्दा हिजो, हिजोभन्दा आज र आजभन्दा भोलि हिंसामा परिरहेको अवस्था छ । त्यसैले यस्ता हिंसाबाट ज्येष्ठ नागरिकहरूलाई जोगाइनुपर्छ । जसले त्यस्तो हिंसा गर्छ त्यस्तालाई तत्काल कारबाही हुने गरिने व्यवस्था मिलाइनुपर्छ । होइन भने भविष्यमा पनि यिनीहरू हरपल हिंसामा परिरहनुपर्ने अवस्था हाम्रा सामु देखिँदैछ । त्यसैले यस्ता विषयमा राज्य तथा अन्य सरोकारवालाले सोच्नैपर्छ । समानुकूल सुधारका काम तथा नयाँ निणर्यहरू गरिनैपर्छ ।
अनि अर्को बिर्सन नहुने कुरो वृद्धवृद्धाका हितका विषयमा जुनसुकै पनि नयाँ निणर्य वा सुधारका लागि थप पाइला चाल्नुअघि पन्छाउने किसिमबाट व्यवस्थाका लागि व्यवस्था गर्न लागिएको जस्तो नगरी सङ्कुचित विचारधारालाई पूणर्तः परित्याग गरी उदारताका साथ सोचिनुपर्छ । कुनै पनि किसिमको पूर्वाग्रह वा सङ्कीणर्ता मनमा पालेर गरिने निणर्यले दीर्घकालीन रूपमा कदापि यिनको हित हुन सक्तैन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































