साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा अम्लपित्त र वाकवाकी समस्या !

खानपिनमा बारना गरी थपदुख नपाउने उपाय निर्धारण गर्नै पर्दछ, अन्यथा बल्झिएको अम्लपित्त र अल्सरले पाको उमेरमा अरु रोगसँगै रगत कम हुने झञ्झट आइलागी जीवननै खतरामा पर्नसक्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने, पेट पोलेको जस्तो हुने र हरेक खानेकुरामा दिगमीग लागेर देख्यो कि अजिणर् हुने लक्षण पाको उमेरमा धेरै देखिन्छ । पाका मान्छेमा प्राय छाती पोलेको, औडाह भएको गुनासो हुन्छ भने कुनै खानेकुरा सन्तोषले खान खोजेको बिरलै पाइन्छ । उमेरसँगै शारीरिक श्रममा कमी त्यसमाथि कुनै दीर्घ रोगले समातेमा यस्ता भनाई प्राय सबैजसो पाका मान्छेका अभिव्यक्ति भएका हुन्छन् । अवस्थाको हेरबिचार नगर्ने परिवार परेमा छिमेकी र ईष्टमित्रसँग ‘जे पकाए पनि नाकनिक गर्नुहुन्छ, के अब हिरा खान दिनु ?’ भनि उल्टो हेलाँहोचो गरेको सुनिन्छ । उमेरिदा वयस्क उमेरमाझैँ धामा गर्न कमैले सक्छन् भने शरीर पनि पुरानिएर जन्मेदेखि सक्रिय अङ्ग र प्रणाली थाकेका हुन्छन् । त्यसैले पाको उमेरमा मुटु, रक्तसञ्चार, श्वासप्रश्वास, फोक्सो, पाचन शक्ति, घाँटी, पेट, आन्द्रादेखि मलद्वारसम्मले दुःख दिएको हुनसक्छ । यस क्रममा आन्तरिक जैविक रस उत्पादनमा पनि धेरथोर भएको र त्यसको प्रभावले शारीरिक प्रक्रियामा समेत असर गरी हिजोसम्म सम्पन्न गर्नसक्ने काम गर्न अहिले असमर्थ भएको देखिन्छ ।

वाकवाकी र औडाहा :
रोगकै रुपमा स्थापित अम्लपित्त भनिने समस्या पेटमा खाना पचाउनका लागि निस्कने हलुका घनत्वको अम्लीय जैविक रस खाना पचाउन छाडेर घाँटीसम्म फर्किन खोजेपछि हुनथाल्छ । यसो हुन थालेपछि मानिसले घाँटी दुखेको, अमिलो पानी हुलुक्क आएको र बेलाबेला पेट पोलेको भन्छन् । पेटमा पुगेका कुरा तल जानुपर्नेमा माथितिर आउनुमा मुखदेखि पेटलाई जोड्ने खाना नलीको भित्र रहेका खाना तलतिर घच्याड्ने मांसपेशी कमजोर र अशक्त भएर पनि हुनसक्छ । त्यसो हुँदा खाना उल्टी भई फर्कन खोज्छ भने लामो समय खाली पेट र अधिक अम्लीय रस उत्पादन हुँदा त्यो पनि मास्तिर उक्लने गर्छ । यस्तो अवस्था आएको लक्षणहरूमा प्रमुख रुपमा छाती वा पेट पोल्ने र बान्ताहोला जस्तो भई वाकवाकी लाग्नु नै हुन् ।

विशेषगरी पाका र अरु उमेरका मानिसमा पनि दुबै थरीका लक्षण अनुभूत गरेको अनुभव पाइन्छ । दीर्घ रोगले ग्रसित बिरामी खानाको असन्तुलनले लामो अस्पताल बसाईको क्रममा खाना अमन लागेर कम खाने र औषधिको अति उपयोगले पेटका समस्या बल्झाउन सक्छन् । त्यसबेलामा नसाबाट पानी औषधि दिन थालिन्छ भने बिरामी चाहिँ पेटमा खानाको कमीले हुने औडाहाबाट आत्तिएर दिइरहेको पानी वा रगतसमेत नसाबाट थुतेर खान खोजेको कैयौँ लामो समय सेवागरेका स्वास्थ्यकर्मीहरूको अनुभव सुनिन्छ । आन्तरिक मजबुतीले रोगसँग लड्न सहज हुने ठम्याई धेरैको भए अनुसार बिरामीलाई गरिने उपचार परम्परागतनै रही अझै एकीकृत पद्दतीको विकास नभइसकेका अस्पतालमा बिरामीले अनौठा क्रियाकलाप गरेको र उनलाई सेवाप्रदायकले मानसिक असुन्तलन भएकोतिर सोचाई राख्दा बिरामीको ज्यान जोखिममा परेका थुप्रै घटना सुनिन्छन् ।

छाती पोल्ने :
धेरैले भन्नेगरेको छाती पोल्ने भनेको मुटु वा फोक्सो पोल्ने भनेको होइन, बरु पेटको माथिल्लो भाग, खाना नली र घाँटीमा पेटबाट निस्किएको अम्लले पोलेको हो भनि पाका मान्छेका चिकित्सकहरू लगायत उमेरिदा विज्ञ के. एम. काठेको छ । धेरै पटक अम्ल मास्तिर फर्किन खोज्दा भित्री नरम छालामा पाछेको, मसिना घाउ भएको हुनसक्छ र पोलेकोजस्तै लाग्छ । पाचन प्रणालीका उपरोक्त भागहरू छाती र करङको पछाडि पर्ने हुनाले यस्तो पोल्ने छातीमै भएको र करङ पनि पोलेको जस्तो लाग्न सक्छ । रोगले धेरै च्यापेमा यसरी हुने पोलाई ज्यादै तिखो, एकोहोरो र अति दुख्ने हुनसक्छ । अति बिग्रेमा पाका मान्छेलाई सामान्य बस्दा पोल्नेमात्र होइन खानेकुरा खाँदा, निहुरिँदा र उल्टोसुल्टो सुत्दा पनि झन पोल्न थाल्छ । कतिजना त पल्टेर थिचिएको छातीको भागनै दुखेको, चसचस गरेर घोचेको र सहन गाह्रो भएको गुनासो राख्छन् । यस्तो भएका विरामीले खानेकुरा खाँदा घाँटीमा टट्टाएको, पाछेकोसमेत भन्ने गर्छन् तथा खाना खान र निल्न नखोजेर वाक्क गरेर फाल्छन् । वास्तवमा के भएको भनि निस्कने अम्ल जाँच गराएमा औषधि सेवनपछि अम्लबाट हुने सुरुवाती छाती पोल्ने, अमिलो पानी मुखमा आउने र हुलुकहुलुक रोग समन हुनसक्छ ।

बान्ता हुनु :
अम्लकै कारण र खाना नलीका मांसपेशीको काम कम हुनथाले पछि पेट हुँडल्ने, छाती पोल्ने र घाँटीमा अप्ठ्यारो भई चाहिने र्‍याल ननिस्केर खाना मुखमा राखी चपाउन खोज्दा वा चपाएर निल्न खोज्दा निलिँदैन । अनि एकैचोटी वाक्क आउने, पेट बटारिने हुन्छ भने मुखमा भएको खाना पनि बेस्वादे लाग्न थाल्छ । शरीरका सबैतिरबाट अस्विकृत भएझै खाने मान्छेले उक्त खाना बान्ता गर्नु सिबाय अरु उपाय रहँदैन । यसो हुँदा पेट खालीनै भए अम्ल निस्कन खोज्छ भने केही निलिएको भए त्यो पनि फर्किन खोज्छ । यस असामान्य अवस्थामा कहिलेकाहीँ खानाका चिजबिज खानाको नलिबाट मात्र होइन श्वास नलीतिर पनि पसेर हैराननै बनाउँछ । यस्तो भइरहेमा खाना मनपर्ने, मनतातो, नरम र लदरो जाउलोजस्तो मात्र खान खोज्नु सहज होला । सबै चिजबिज खानु स्वास्थ्यको लागि फाइदा हुन्छ भन्ने नाममा मन नपर्ने खाना खान प्रयाश गर्नु हुन्न । वाकवाकी नियमित हुन थालेमा पेटमा निस्कने अम्लको परीक्षण गराई औषधि सेवनतिर लाग्नु पर्छ । अचेल बजारमा धेरै नामका अम्ल बिरोधी ओखती पाइन्छन् आफूलाई फाप्ने खाँदा हुन्छ ।

अरु लक्षणहरू :
वाकवाकी लाग्नु, बान्तासमेत हुनु र छाती पोल्नु सामान्यतया ग्याष्ट्रिक भनिने रोगकै स्वरुप हुन् । यो रोग असाध्ये भएमा केही अनौठा तर दुर्लभ लक्षणहरू पनि कतिपय पाका मान्छेमा देखिन थाल्छ । सबैमा एकै किसिमले एकै प्रकारका लक्षण नदेखिन सक्छ, मान्छेका जीउडाल, समुह, समुदाय, खानपानको ईतिहास र हावापानी अनुसार फरक-फरक लक्षणहरू देखा परेको हुनसक्छ । केही अरु लक्षणहरू निम्नअनुसार हुनसक्छन्ः जीउ रोगीजस्तो लाग्ने, तमतमिदो मुख हुने, खाना निल्न खोज्दा अड्कने, निल्न बल गरे खाना तल जाँदा दुख्ने, बेलाबेला अमिलो वा तितो पानी मुखमा आउने, खाना खाँदा र अरु बेला खोकी लाग्ने, स्वर धोद्रिने, जीब्रो खस्रो हुने, घाँटीमा घाउ वा पाछेको जस्तो लाग्ने, छाती दुख्ने, छाती बाँधेजस्तो लाग्ने, राती निदाएको बेला छाती थिचिएर स्वाश फेर्न गाह्रोरो भई एक्कासी निद्रा खुल्ने आदि ।

अलमलिने लक्षण :
अम्लको कारण हुने वाकवाकी रोग अम्लपित्तलाई कहीँ कसैले हृदयघात वा मुटु रोगसँग अलमलिएर बढी आत्तिएको पनि देखिन्छ । यो रोगमा पनि छातीको केन्द्रतिर असजिलो हुने, दुख्ने र सर्दै मास्तिर घाँटीतिर जाने हुन्छ तर हृदयघातमा जस्तो कुम, गर्धन र पाखुरातिर दुखाई सर्दैन । त्यस्तै, वाकवाकीमा मुख तमतमिदो हुने र निहुरिदा वा पल्टँदा झन् बढि दुखाई बढ्दैन । अमेरिकामा हरेक वर्ष करिब असि लाख मान्छे छाती दुखेर अत्तालिएर अस्पतालको आकस्मिक कक्षमा आएको देखिन्छ, त्यसमा आधाभन्दा बढी त यही अम्लपित्तको कारणले आएका डा. मिकेल डोग्न्युको भनाई छ । धेरै पाका मान्छे उमेरकै कारण हृदयघात सम्बन्धी शङ्कामा आएकोमा त्यो नभई अम्लपित्त भएकोमा खुसी भई फर्कन्छन् । अम्लपित्त धेरैजसो धेरै मसला भएको खानेकुरा खाने बानीले, एकै पटक धेरै खाने र धेरै समय भोको बस्ने अवस्थामा हुने गर्छ तर हृदयघात शारीरिक अति थकान र चिन्तासाथै रक्तसञ्चारको अनियमितताले हुनसक्छ । मुटु रोगबारेमा यस अघि लेखककै मुटुसम्बन्धी लेख अध्ययन गर्नु पनि फाइदाजनकनै होला । धेरै अलमल भएमा विज्ञ चिकित्सकसँग सम्पर्क गर्नु सुरक्षित हुने सबैभन्दा राम्रो उपाय हो ।

जटिल लक्षण :
सधैंभरी वाकवाकी लाग्ने, मुखमा तमतमिदो भईरहने, छाती र पेट पोल्ने साथै खाना खान र निल्न कष्ट हुने भएमा योग्य चिकित्सकसँग सम्पर्क गर्नु र भनेअनुसार उपचार गर्नु ठिक हुन्छ । विशेषगरी खानपानमा परिवर्तन र पेटको अम्लपित्त बिरुद्धका झोल वा चक्की ओखतीले प्रारम्भिक दिनमा सञ्चो लाग्नसक्छ, तर रोग पुरानिएमा विभिन्न जटिलता थपिन जान्छ । थप समस्यामाः छाती अति दुख्ने, भोक नलाग्ने, लगातार बान्ता भइरहने, घाँटीबाट पानी निल्न पनि गाह्रो हुने, निल्न बलगरे किलकिलेमा दुख्ने, पाचन प्रणालीका अङ्गहरू खाना नली, पेट, सानो आन्द्रा, ठूलो आन्द्रा, मलासय र मलद्वार समेतमा घाउ हुनेगर्छ । दिसामा रगत देखा पर्ने, रगत बढि चुहिएमा दिसा पूरै कालो अलकत्राजस्तो वा कफी रङको हुने, वान्तामा पनि यस्तै रङ मिस्सिएको पानी निस्कने हुनसक्छ । एक्कासी पेटमा आगो बले जस्तो हुने, बेलाबेला चिटचिट पसिना आई सिथिल हुने, दिसा गरेपछि उठ्दा पनि गाह्रो हुने, भाउन्न चल्ने, हातगोडा पहेँला देखिन थाल्ने, गिजामा लालीमा घट्ने, पेटमा गुजुगुजु गरेर केही छडकिएको जस्तो पनि लाग्न सक्छ ।

बिरामीलाई खानेकुरामा मन नगएर कुनै खाना पनि खान नखोज्ने र अलि दिनमा शरीरको तौल अप्रत्यासित रुपले घटेको हुनसक्छ । कतिपय बेला रगतको कमीले रक्तचापमा तलमाथि हुने र मुटुको ढुकढुकी पनि अनियमित हुनसक्छ । अति भएमा पेटमा रगत धेरै गएको बाहिर थाह नभए पनि बिरामीले कालो दिसा गरेपछि वा खैरो बान्ता गरेपछि ऊ बेहोस हुने गरेर रगत गएको थाह हुन्छ । पेट कराउने, अपच हुने, कब्जियत हुने, बेलाबखत असमान दिसा लाग्ने, अपानबायु निरन्तर चल्ने, मुखले ढ्याउढ्याउ गरिरहने तथा अनौठो आवाजमा घाँटी र पेट कराउने पनि हुनसक्छ । कतिपयलाई हृदयघात भएको भन्ठानेर मुटुसम्बन्धी चिकित्सक कहाँ लैजान पनि खोजिन्छ तर बदमासी अम्लपित्तबाट भएको हेक्का राख्नु आवश्यक छ । अमेरिकामा यसरी अम्लपित्तबाट ग्रसित कुल जनसङ्ख्याको बिस प्रतिशतभन्दा बढिरहेको आँकडा छ । यस समस्यामा पाका मान्छे, बढि मोटाई भएका अति पाका मान्छे, गर्भवती महिला र अरु उमेरसमुहका मान्छे पर्दछन् । नेपालमा खानपानको अव्यवस्थित तरिका र रसायन मिस्सिएका बढ्दो बजारिया खाना खाने बानीले धेरैकम उमेरका मानिसमा पनि यसको समस्या देखिएको छ ।

उपचार :
सामान्यतया खानामा पथपरहेज र उचितमात्रामा पानी दैनिक पिउनाले यो समस्या प्रारम्भमै रोक्न सकिन्छ । बेफुर्सदी भई स्वास्थ्यको हेरबिचारमा वास्ता नगरी घरकोभन्दा बजारका चटपटे खानेकुरा खानाले पेटसम्बन्धी अरु समस्या थपिन्छन् । अम्लपित्तमात्र रोक्न त आफूलाई भएको कस्तो प्रकारको हो थाह पाउन सके बिरामी आफैँ उचित उपाय अपनाउन सक्छ । जस्तो कसैलाई दुग्धजन्य पदार्थले बढने हुन्छ भने कसैलाई घटने हुन्छ सोही अनुसार खानपानमा दुध बढाउने कि खाँदै नखाने तय गर्नु र बिरामी अडिग हुनुपर्दछ । एकजना अम्लपित्तले पेटमा घाउ भई अल्सर भएका बिरामी शल्यक्रिया पछि पनि निकै वर्ष रगत बेलाबेलामा गएर दुःख पाएका थिए । उनले विभिन्न खानाको परीक्षण आफैँ गर्न थाले र खानामा दुधदहीको मात्रा थप्न थालेपछि उनको रोग नियमन भएको भन्थे । अर्का बिरामी दुग्धजन्य पदार्थ मनपराउने शाकाहारी थिए, उनलाई अम्लपित्तले फत्र्याकफत्र्याक र रुवाबासीनै गराएको थियो । जति ओखती गरे पनि सुविस्ता भएन भनि सधैंभरी गनगन सुनिन्थ्यो । उनले दुग्धजन्य पदार्थ खान छोडे, खानामा गेडागुडी, सागपातको मात्रा बढाए र तागतका लागि बरु कुखुराको ताजा फुलमा जोड दिए । अहिले उनका समस्या हल भएका छन् र स्वस्थ्य भएको भनि अरुलाई सिकाउँछन् । धेरैलाई बिहान खाली पेटमा मनतातो पानी पिउनाले पनि व्यथा बिस्तारै समन भएको भन्छन् ।

अम्लपित्त बिरुद्धका आयुर्वेद र आधुनिक ओखतीहरूले राम्रै काम गरेको पाइन्छ । योगराज गोग्गुल, पाचक, बिभिन्न नामका एण्टाएसिड चक्की र झोल ओखतीले फाइदा पुर्‍याएको अनुभवी पाका मान्छे भन्दछन् । खानपानको फाप अफापको निर्धारण, विविधिकरण, उपयुक्त समयमा थोरैथोरै खानपान गरेमा पेट खालीहुन नपाई अम्लले दुख नदिन सक्छ । पाको उमेरमा पचाउन समस्या पर्ने अति तैलिय र मसलाजन्य खाना, बढि पिरो र अमिलो बार्नसके अम्लपित्तले पाको उमेरमा दुःख नदिने हुन्छ । समस्या अति भई पाचन प्रणालीमा घाउभई रगत देखिन थालेमा अचेल चिकित्सकहरूले माथिल्लो भागको लागि बिरामीको मुखबाट नली भित्र छिराई घाउ टाल्ने प्रविधि पनि अस्पतालहरूमा प्रयोग गर्दछन् । बिरामीको पाचन प्रणालीको तल्लो भागतिर समस्या भएमा मलद्वारबाट नली छिराई जाँच गर्ने र उपचार गर्ने गरिन्छ । घाउको आकार ठूलो भएमा र एक अर्को घाउको नजिक धेरै छन भने पाचन प्रणालीको प्वाल परेका भाग काटेर तलमाथि जोडेर सुचारु गराउने पनि गरिन्छ । शल्यक्रिया पश्चात केही दिन कडा पदार्थ खाँदा खाना पचाउन असहज हुनसक्छ भने पेटमा वायु चल्दा र कोचेर खाँदा पेटमा कष्ट हुनसक्छ तर बिस्तारै पाचन प्रणालीले आफ्नो रैथाने स्वभाव देखाउन थालिहाल्छ, चिन्ता गर्नु पर्दैन ।

अन्त्यमा,
नेपालजस्तो देशमा हावापानीको विविधताका कारण पनि कसैलाई फापअफाप भएर पेटसम्बन्धी समस्या हुनसक्छ । पेटमा हुने अम्लीय निस्काशन मानिसहरूलाईनै फाइदाको लागि प्रकृतिप्रदत्त जैविक रस हो । यसले पाचन क्रियामा महत्वपूणर् मद्दत गरिरहेको हुन्छ भने खाइने खानामा परेका शूक्ष्मजीव र आकस्मिक भित्रिएका किटाणुलाई निशेध गर्दछ । त्यसैले कतिपय गरम हावापानी भएको ठाउँमा खाना पछि तुरुन्त पानी नखानु भनिएको हो । हरेक मानिस विशेषगरी पाका मान्छेले नियमित खानपान स्वास्थ्यलाई फाप्ने र फाईदा गर्ने मात्र गरेर पाको उमेरमा सतर्क हुनुपर्छ । खानपानको अनियमितता, पुरानिएको शरीरको प्रणालीमा घात पर्ने गरेर जथाभावी लापलाप लिपलिप गर्नु हुँदैन । मौकाले पाएको भन्दै पाको उमेरमा भोजभत्तेरमा तयार पारिएका गरिष्ट पदार्थ हालिएका चखिला खानेकुरा र पेय पदार्थ नखाएकै राम्रो हुन्छ । कैयौँ पाका मान्छे ठूल्ठूला जमघट र भोजभत्तेर पछि धेरै दिन पाचन प्रणालीको गडबडीले ओछ्यान परेका सुनिन्छन् र देखिन्छन् । पाका मान्छेले ‘जीब्राको बश पर्नु हुँदैन भन्ने माछाबाट सिकेँ’ भन्ने भनाईको तात्पर्य बुझ्नैपर्छ ।

यही जैविक रस अम्ल बढि भएमा वा कमी भएमा यसले उल्टो असर गर्नथालेको हुन्छ । अम्लीय रस अति संवेदनशील भई बेला नकुबेला उत्पादन भएर खाली पेटमा छचल्किन थाल्यो भने यसले पाचन प्रणालीको भित्री तहमा रहेको लिउन लागेजस्तो ढकनीसतह पाछ्ने, ताछ्ने र एकै ठाउँमा बढि असर गरी घाउ र प्वाल बनाई दिनसक्छ । त्यसपछि अम्लपित्तको असर अल्सर भएको वा पाचन प्रणालीको घाउकोरुपमा चिनिन्छ । सुरुवातमा सामान्य ओखतीमूलोले निको हुने अम्लपित्त अति सास्तीको स्तरमा भएपछि शल्यक्रिया गरी निको बनाउन सकिन्छ । त्यसपछि पनि खानपिनमा बारना गरी थपदुख नपाउने उपाय निर्धारण गर्नै पर्दछ, अन्यथा बल्झिएको अम्लपित्त र अल्सरले पाको उमेरमा अरु रोगसँगै रगत कम हुने झञ्झट आइलागी जीवननै खतरामा पर्नसक्छ । हरेक पाका मान्छेले आर्थिकरुपमा कमजोर भए पनि आफूले जोर्नसक्ने खाद्यपदार्थ र यथेष्ट मात्रामा मनतातो पानी दैनिक नियमित थोरथोरै मात्रामा सेवन गरी यस्तो सामान्य लाग्ने तर जघन्य रोगबाट बच्न सकिन्छ ।

०००
माघ १९, २०८०
चालिसेडाँडा, ललितपुर

सन्दर्भ पुस्तक :
१) डा. मुकेशकुमार चालिसे (२०८०ं) डाँडाका उज्याला जून (पाका मान्छेबारेमा पाठ्यसामग्री), फित्कौली अनलाइन मिडिया, कलङ्की, काठमाडौँ ।
२) डा. मुकेशकुमार चालिसे (२०७९) मानिला मान्छेका धामा (पाका नागरिक लागि स्वास्थ्य प्रयाश), इण्डिगो प्रकाशन, बागबजार, काठमाडौँ ।
३) डा. मुकेशकुमार चालिसे (२०७९) पाका मान्छेका कुरा (ज्येष्ठनागरिक मनोविज्ञान), भूँडीपुराण प्रकाशन, बागबजार, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x