सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परिवारले बुझ्नुपर्छ पाका मान्छेमा परिवर्तन !

पाका मान्छेको ज्ञान, सिप र अनुभव समाज विकासका लागि आवश्यक भएकाले समाजका वयस्कले जीउँदो इतिहासको पुस्तान्तरण गर्न उमेरिने क्रममा आफ्ना पाका मान्छेलाई सकेसम्म रोग लाग्नै नदिऔँ !

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

उमेरिदै जाँदा मानिसहरूमा शारीरिक र मानसिक परिवर्तन हुँदै जान्छ । फरक उमेरसमुहमा सामाजिक परिवेश, आनीबानी र घटनाबारेमा प्राप्त अनुभव अनुसार फरकफरक धारणा स्वतअनुभूत हुन्छ भने क्षमतामा पनि परिवर्तन भइरहेको हुन्छ । एउटै दृश्य पनि उमेरसमुह अनुसार अर्थ लगाइएको पाइन्छ, जस्तो निलो आकाश, रङ्गिबिरङ्गी फक्रिएका फूलहरू, हरिया डाँडा र हिमाली टाकुरा देख्दा बाल-बालिका, किशोर-किशोरी, वयस्क र पाका महिला-पुरूषहरूले फरक-फरक ढङ्गका भावनात्मक अभिव्यक्ति दिइरहनु सामान्य कुरा हो । अनुभव, ज्ञान, सामाजिक प्रभाव र बँशाणुको गुणले उमेरिदा अभिव्यक्तिको विविधता भएको पाइन्छ तर के जैविक उत्पादनले प्रौढ-वयस्क महिला-पुरूषमा व्यक्तित्वमा परिवर्तन ल्याएको हुन्छ त ?

हार्वाड समाचारमा प्रकाशित डा. र्‍याण्डेल एस.का अनुसार पाका मानिसहरूले आफ्नो जीवन कालमा विविध भोगाई भएर त्यसका प्रभावलाई आत्मसात गर्दा मानसिक र शारीरिक परिवर्तन भएको पाइन्छ । शारीरिक परिवर्तनमा दृष्टि र श्रवण कमजोरी अनि धेरै ओखती सेवनले आएका विषालु प्रभाव प्रष्ट देखिने हुन्छन् भने मानसिकमा बिर्सने, उन्माद र आनीबानीमा परिवर्तन आउन सक्छ । पाका मान्छे द्रुत सामाजिक परिवर्तनले किंकर्तव्यविमूढ, एकोहोरा, रिसाहा, जिद्दिवाल र जीवनप्रति वाक्क भएको वितृष्णा राख्ने स्वभाव देखाउन सक्छन् । अनुभव र ज्ञानका धनी पाका मान्छेलाई ‘उमेरिदा यस्तै हो, बुढाबुढीको गनगन’ भनि बेवास्ता गर्ने होइन बरू विज्ञ चिकित्सकसँगको परामर्शले ठोस समस्याहरू र निराकरणका उपाय पहिल्याउन सकिन्छ ।

घरका वयस्क र पारिवारिक अरू सदस्यले आफ्ना प्रिय र आदरणीय पाका मान्छेमा आएका परिवर्तनलाई बिनापूर्वाग्रह देखिएका समस्यालाई बस्तुगत तथ्यका आधारमा निरोपण गर्नुपर्दछ । सामाजिक अलगाव चाहानु र एकान्तप्रिय हुनु हरेक दस अमेरिकीमा एक हुन्छन् । यो समस्या बिर्सने रोग लागेपछि हुन्छ । उमेरिदा लाखौँ घटना र मान्छेहरूसँग सङ्गत भइसकेर शारीरिक कमजोरी र तत्कालिन आवश्यक्ता फरक पर्दा मान्छेले धेरै सामान्य कुरा बिर्सने हुनसक्छ । तर दैनिक गरिने हरेक क्रियाकलाप निर्धारित ढङ्गले गर्न नसक्ने र नियमित भएन भने त्यो स्नायु बिग्रेर रोगकै रूपमा विकसित भएको हुन्छ ।

हुनसक्ने फरक आनिबानी :
पाका मान्छेका मन आफ्ना अनुभवले बेलाबेला तुलबुलिएको र निर्णय फेरिइरहेको पाइन्छ, अर्थात मूड चेन्ज । उहाँहरूका मनमा अनुभवका पूर्वाग्रहले नयाँ परिस्थितिमा आत्मसात गर्न नसक्दा नाफा-नोक्सानका हिसाबले छिनछिनमा व्यवहार र आनिबानी परिवर्तन भएका हुन्छन् । घरमा राखिएका हेरालु तथा पाका मान्छे बसेका ठाउँमा काम गर्ने सबैले हरेक पटक फरक स्वभाव देखाएको अनुभव गरेकै हुन्छन् । त्यस्ता व्यवहारमा सामान्यतया निम्नलिखित हुनसक्छन् :

सामाजिक एक्लोपन र कम चाख लिने : पाका मान्छे हालहुलबाट मात्र होइन विद्यमान सामाजिक प्रणालीबाट एक्लो महशुस गर्ने र अरू मान्छेहरूसँग सम्बन्ध राख्न अनिच्छुक हुन थाल्छन् । यस्तो व्यहोराले सामाजिक प्रणालीसँग आफ्नो सम्बन्ध छुटेर र हौसलाको अभावमा उहाँहरू बितृष्णाको सिकार हुने सम्भावना अति बढ्छ । हुलमुलमा जान नखोज्ने, धेरै मान्छे देखे आत्तिने, घरमा पनि सबै जम्मा भएको ठाउँमा नबस्ने, सामुहिक छलफलमा भाग नलिने स्वभाव हुनजान्छ । एक्लै बसेर के के नै गम्भीर कुरा सोचेझैँ कोठामा दलिन र खुला ठाउँमा आकाशतिर क्वारक्वार्ती हेरिरहने बानी बस्न थाल्छ । घरायसी चाडपर्व र सामाजिक जमघटमा कुनै आकर्षणनै नभएझैँ, मलाई कामलाग्ने होइन भनेझैँ बेवास्ता गर्ने अचम्भको आनीबानी देखापर्छ ।

अलमलिने र औँसीपूर्णे लाग्ने : दैनिक समय, गते, गर्नुपर्ने काम र ठाउँको बारेमा अलमलिने बानी देखापर्छ । क्षिण सँस्मरणको कारणले भर्खर राखेका सामान, गर्न खोजेको काम, भन्न खोजेको कुरा, गाउँठाउँका टोल अझ आफूलाई मनपर्ने कुरासमेत बिर्सिएर ट्वाल्ल परेको स्थिति हुन्छ । कहिले टोलाइरहने र कहिले के के न काम बितेझैँँ छुकछुक गरिरहने पनि हुनसक्छ । कतिपयमा साँझ पर्दै गएपछि बढि अलमल हुने र रातमा गर्नुपर्ने कामकार्वाही भुसुक्कै सबै बिर्सने वा अलमलिएर उल्टापाल्टा गर्ने हुनथाल्छ । त्यसो गर्नेले रात परेपछि कतै हिँड्न लागेझैँ सामान मिलाएर पोको पार्ने र केही सामान जिम्मा लगाउने पनि गर्ने स्वभाव देखाउँछन् । कसैमा कुनै दिन बिस्तुर नबिराई सबै सम्झने र कुनै दिन लागु लागेझैँ बिर्सने वा अलमलिएको लक्षण पनि देखिन्छ । सँस्मरण र बिर्सने औँसिपूणर्े भनेझैँ कहिले हुने कहिले नहुने भएको देखिन्छ भने कहिले प्रफुल्ल र कहिले रिसले मुर्मुरिएझैँ रातोपिरो भएको, मनमा कुरा खेलेर आन्तरिक सोचाईले हातका औँलाले पार लाएको व्यवहार हुनसक्छ ।

आक्रामक र शत्रुवत् व्यवहार : धेरै पाका महिला र पुरूष विभिन्न खालका आक्रामक र शत्रुवत् व्यवहार गर्न पनि सक्छन् । यस्तोमा रिसाउने, भूनभुनाउने, खोरमा थुनेको बाघझैँ फनफनी केही फतफताउँदै घुमिरहने, कहिले त् दार्‍हा किटदै हातले पारलाउँदै सराप्ने र अभद्र वाक्य भन्दै अमुकलाई चुनौती दिने हुनसक्छ । पहिले कहिल्यै नभनिएको अपशव्द र अति प्रशँसा पनि अमुकलाई गर्नथाल्ने स्वभावमा देखापर्छ । परिवारमा वा साथीभाईमा हिजोसम्म राम्रो मानेका सबै शत्रु भन्ने र नराम्राको गुण बखान गर्नथाल्ने पनि हुनसक्छ ।

मनमस्तिष्कमा आउने फेरबदलले पाकाको स्वभावमा भिन्न-भिन्न तरङ्ग चक्रबातझैँ विविध ढङ्गले देखा पर्नथाल्छ र छिनछिनमा स्वभावमा परिवर्तन भएको पाईन्छ । कोहीकोही कुनै दिशा देखाएर धारे हात लगाउने वा गाँठो फुकाउन खोजेझैँ बर्बराउँदै झर्कोफर्को गरिरहने हुन सक्छन् भने कोही गीत गाएझैँ एकोहोरो सरापिरहने पनि गर्न सक्छन् । नजिक परेकालाई डिम्काउने र नदेखिएकालाई बडो माया गरेझैँ अनुहार र बोलीले पार लगाउने हुन्छन् ।

ठिक बेठिक एक्कासी गर्ने : पाका मान्छेलाई अचम्भ पार्ने बरव्यवहार धेरैजसो असामान्य अवस्थामा पुगेका भर्खरका किशोर-किशोरीले देखाउन सक्छन्, सक्षम र वयस्क भएको देखाउन लत नभएकाले नशा सेवन गर्ने वा उटिङ्गेका काम गर्न सक्छन् । पाका मान्छे ‘बैँश उम्लेका, भुइँमा न भाँडाका, मैँ हुँ भन्ने उमेरका ठेटना’ भनि गिल्ला गर्छन् । अनुसन्धानले देखाएको छ कि ‘विपरित लाग्ने काम र कुचेष्टा लागेको स्वभावको उमेर’ पैँसट्ठी लागेपछि पाका मान्छेमा शिखरमा पुगेको जसरी उम्लेको देखिन पनि सक्छ । पाको भएपछि कतिपय रिस, आवेग र चिन्तालाई सन्तुलनमा राख्न पाका मान्छेले ईतरिएका काम गर्न सक्छन्, कोही कम लुगा लगाएर सार्वजनिक ठाउँमा जान वा सार्वजनिक ठाउँमा कुरैकुरामा गोप्य अङ्ग देखाउन वा बोल्न धक मानेजस्तो गर्दैनन् । मानसिकरूपमा पात्तिएको र लाज भनिने स्वभाव नभएजस्तो व्यवहार आकस्मिकरूपमा सहज किसिमले गर्छन् तर त्यो मानसिकता एक प्रकारको विकृत तरङ्गको उपज हो ।

त्यस्तै चाहिँदो-नचाहिँदो बस्तु ‘पछि काम लाग्छ’ भनेझैँ जम्मा गर्न थाल्छन्, जस्तो बाटोमा राम्रो किला देखे पनि भित्तामा ठोक्न काम लाग्छ भनि खल्तीमा हाल्छन् । त्यसरी जम्मा गर्ने बानी भएमा धेरै भद्रगोलमा साँचीकै चाहिने कुराचाहिँ बिर्सन थाल्छन् । पाका मान्छेका थन्क्याउने झोला वा गुठुरीमा जोगी झोला जस्तो जे पनि हुनसक्छ, र कतिपय कुरा आवश्यक परिहाल्छ भनि खल्ती वा राख्न हुने ठाउँमा घुसारेका हुन्छन् । यस्ता व्यवहार असामान्य हुन र कतिपय पाका मान्छेमा अरूलाई कारण उल्टोपाल्टो लागे पनि गरिरहेका भेटिएको त्यसैले हुन्छ ।

शङ्का गर्ने, दिग्भ्रम र अचम्भका कल्पना : हेरालु र परिवारकाले छुट्ट्याउन अति गाह्रो हुने स्वभावमा पाका मान्छे अपत्त्यारिलो कुरामा हो कि हो भनि जिद्दी गर्छन् वा कसैले आफूलाई हानीनोक्सान गर्न सक्छ भनि डराउन थाल्छन् भने सम्झाउन गाह्रो पर्छ । पाका मान्छे दिग्भ्रम भएर, नभएका मान्छे नजिकै भएको अनुमान गर्छन् र यतैहुँदो देखेको भन्ने कल्पनामा विश्वस्त हुन्छन् । कसैले कर्के आँखाले हेरेको देखेमा परम्परागत भनाई तेस्र्याई ‘दागा धरेको’ भन्ठान्छन् । झण्डैझण्डै ‘पृथ्वी कहिँ डुब्छ र आकाश खस्छ, अनि कता भागौँ ?’ भन्ने काल्पनिक कुरामा पुरापुर विश्वस्त भएझैँ डराउने र आत्तिने स्वभाव पाका मान्छेले राख्न थालेमा असामान्य र जटिल मानसिक रोगको आक्रमण हुन लागेको थाहा पाए हुन्छ ।

मस्तिष्कस्राव भएर मानसिक सन्तुलन गडबड भएका यस्तै समस्याका पाको मान्छे ‘राती शत्रु आई मार्नसक्छ भनि अस्पतालमा समेत सिरान मुनी खुकुरी राखिदेओ कि सानो बन्दुक ल्याइदेओ’ भनि हेर्न आउनेलाई भन्थे । नेपालमा सहकारी संस्थामा आफ्नो बचत राखी गुजारा गरेका धेरै पाका मान्छे कुनै ठाउँको सहकारी डुब्यो भनेपछि ‘अब कसरी बाँचौँ ?’ भनि सपनामा पनि बर्बराउने, एक्कासी सुतेको ठाउँबाट उठ्ने, आधारातमै कतैजान लागेझैँ हिँड्न खोज्ने, झगडा गर्ने र के के सम्झेर रून थाल्ने गरेको पाईन्छ । यस्ता क्रियाकलाप मानसिक चोटबाट उत्पत्ति भएका असामान्य व्यवहार हुन् भने उमेरिदा विविध कारणले पाकाले पनि गर्नसक्छन् ।

आकस्मिक व्यक्तित्व परिवर्तन किन हुन्छ ?
मानिसका जीवनस्तरमा प्रभाव पार्ने विभिन्न कारण हुन्छन् भने पाका मान्छेमा स्वभाविक उमेरिदा थुप्रिएका पूर्वाग्रही अनुभव, सामाजिक प्रणालीमा फेरबदल र परिवारको अमानवीय व्यवहारले विपरित प्रतिक्रिया भएको हुनसक्छ । बारम्बारको असामान्य व्यवहार र गतिविधि पाका मान्छेमा देखापरेमा हेरालु र आफन्तले तपशिलका कारणहरू पनि हुनसक्छ भनी खोजि गर्न बिचार गरौँ !

अनिद्रा र कम सुताई : जुनसुकै उमेरसमुहका मानिसहरूलाई यथेष्ठ मात्रामा निद्राको आवश्यक्ता हुन्छ । पर्याप्त निद्राले मानिसको शारीरिक-मानसिक स्वास्थ्यलाई तरोताजा र स्वस्थ्य बनाइरहन मद्दत पुग्दछ । जीवित प्राणीलाई आराम र निद्राको दैनिक आवश्यक्ता हुन्छ । हरेक प्राणी विशेषगरी ठूला प्राणीमा निद्राको अभावले दैनिक क्रियाकलाप र क्षणिक भए पनि स्वभावमा परिवर्तन आई फरक असामान्य क्रियाकलाप देखापर्न सक्छ । उमेरिएका पाका मानिसलाई ओखतीनै हो पर्याप्त सुताई र मस्त निद्रा त ! उहाँहरूलाई निद्रा कचमचिने कामकुरो हेरालु र परिवारजनले गर्नै हुन्न । पाका मान्छेलाई निद्रा नपुग्ने वा निद्रा नलाग्ने परिस्थिति बनाए त चाँडै गुमाउने बाटो खनेको जस्तै हो । अपुग निद्रानै धेरैजसो रिस, आक्रोस, झगडा, किचकिच, झर्कोफर्को र अनमेलता बढाउने कारक तत्व हो भनि सबैले बुझ्नै पर्छ ।

दिनभरी जेभए पनि साँझपख कोलाहल वा नकारात्मक वादविवाद घरपरिवारमा गर्नैहुन्न, अझ पाका मान्छे अघि त चुइँक्क नगर्नु राम्रो हुन्छ । उहाँहरू आफ्नै अनुभव र ज्ञानले थोरबहुत अहङ्कारी भएका हुनसक्छन्, त्यस परिस्थितिमा यदि अरूहरू र विशेषगरी आफन्तले बचन लगाए वा जान्ने भएर बोले भने त पाका मान्छेलाई असह्य पीडा हुनजाने मानसिकता बन्छ । आफ्नो घरपरिवारमा गर्व गर्ने र साह्रै आशामुखी पाका बाआमा त त्यस्ता कुरालाई बज्रपात भएको भन्ठान्छन् । त्यस्तो भएमा कि अवाक होलान् र एकोहोरो होलान्, कि धरधरी रोएर आफूले स्याहार्दा गरेका दुखजिलोबारे भन्लान् । कोही रूँदै, ठूल्ठूलो स्वरले कराएर प्रतिवाद गर्दै असामान्य अवस्थामा पुग्न सक्छन् । त्यसपछि मनथाम्न नसक्दा आफैँलाई वा भन्नेलाई विभिन्न धारिला बस्तु वा अगाडि भेटेका बस्तुले हानेर दुर्घटना गराउने, आत्महत्या गर्ने वा विक्षिप्त भएर एकसुरे हुँदै जान सक्छन् । रातबिरात शारीरिक र मानसिक कमजोरी भएका पाका मान्छे घरछोडी कतै हिँडिदिए आपत परेन भन्या ? कता खोज्न हिँड्नु ? सुन्दा र भन्दा पनि जोरीपारीमा अबगालको घर !

कान आँखाका समस्याः घरपरिवार र समाजमा दैनिक काम-कार्वाहीकालागि कम्तीमा कान र आँखाको स्वस्थ्य अवस्थामा रहनु अति आवश्यक हुन्छ । पाका मान्छेमा आउने कमजोरीमा श्रवण र दृष्टिको कमजोरी घरव्यवहार चलाउन गाहारो पार्ने मध्ये पर्छ । यी दुबै अङ्गहरूमा कमजोरी आएमा पाका मान्छे आफैँ निष्कृय हुने त छँदैछ, घरपरिवार र ईष्टमित्रका बिच पनि हिनताबोध भई सामाजिक काममा जान पाका मान्छे अनिच्छुक हुन्छन् । उहाँहरू कमजोरीको लघुताभासले सामाजिक हुनै चाहानु हुन्न । घरमै पनि भनेको नबुझ्ने, देखाएको नदेख्ने अवस्था आएमा त परिवारलाईनै समस्या पर्छ, सकेमा त एउटा हेरालुले छोडनै नमिल्ने हुनसक्छ । यस्ता पाका मान्छे आफ्नो दैनिकीको लागि पुरै परावलम्बी भएका हुन्छन्

ओखती आफैँ खान नसक्ने, चिजबिज छुट्ट्याउन नसक्ने र भनेको हेक्का राख्न नसुन्ने अवस्था त झन पीडादायक हुन्छ । त्यसमाथि दुष्टमतिका आफन्त भए त उल्टोपाल्टो भनेर गिल्ला गर्ने, नसुन्ने भनेर लाजभाँड कुरा भन्ने, नदेख्ने भनेर अगाडिनै लाजमर्दो काम वा ईसारा गर्ने भएमा पाका मान्छे बहुलाउनुबाहेक के बाँकी रहला र ? नेपाली समाजमा आँखाकानका समस्याले अमानवीय व्यवहार भोगेका थुप्रै पाका मान्छे भेटिन्छन् भने कतिपय परिवारमा पाका मान्छे अरुको खप्की खान मन नपरेर आँखा नदेख्ने र कान नसुन्ने बहाना बनाएर मन बुझाएका हुन्छन् । बेलैमा उपचार र सहयोगी बस्तुबाट पाकालाई आत्मनिर्भर र आफैँलाई सहयोगी बनाइराख्न वयस्कहरू अघि बढ्नै पर्छ ।

मानसिक स्वास्थ्यका समस्या : पाका मान्छेहरू विस्मृति, उन्माद र सघन दुखिहुने स्थिति सिर्जना भएमा एक्कासी बिस्फोट भएझैँ आक्रामक र गैह्रसम्वेदनशील भई घुक्र्याएर मुढोजस्तै लडिरहने हुन्छन् । मानसिक स्वास्थ्यको अर्को पाटो दोहोरो चरित्र निर्माण हुने दिशामा पाका मान्छे जान सक्छन् । एकअर्कामा चित्त दुख्ने गरेर काखा र पाखा लगाउने, अनावश्यक ओड ढाक्ने, कसैलाई ‘उठे सुख न बसे सुख’ गर्ने भने कसैको ‘गुहुमुत नै प्यारो’ भनि वर्णन गर्ने बानीलाग्न सक्छ । यस्तो व्यवहार गरेमा परिवारमा ईष्र्या, रिसारीस, रन्कारन्की र कलह बढ्न जान्छ । घर-परिवारका सदस्यहरू अराजक बन्ने, बेमेल बढ्ने साथै साना बालबालिकामा शिष्टता, सदाचारको सट्टामा घनघोर नकारात्मक प्रभाव परेर समाजका मात्र होइन परिवारकै कुलङ्घार बन्ने बाटोमा लाग्न सक्छन् । पाका मान्छेमा शारीरिक र मानसिक दुबै स्वास्थ्य अवस्था अनुकुल बनाइराख्ने र समस्या आएमा उचित उपचार थाल्नु परिवारनै तहसनहस हुनबाट जोगाउनु हो !

मुत्रनलीको संक्रमण : महिला र पुरुष वयस्क भएपछि पाको उमेर बढदै जाँदा मुत्रनलीको संक्रमण हुनु अनौठो होइन । महिला र पुरुष दुबैको शरीर भित्रका फोहोर झोल पदार्थ निश्कासन गर्न मुत्र प्रणाली हुन्छ र मिर्गौला मार्फत काम गरिरहेको हुन्छ । यस प्रणालीको कुनै भागमा शूक्ष्म किटाणुको सँक्रमण भएमा मुत्र रोगले दुखदिन थाल्दछ । खासगरेर यस समस्याले पिसाब पोल्ने, घरीघरी पिसाब हुनलागेझैँ हुने, तुरुतुरु वा थोपाथोपा गरेर आउने, एकै पटक ननिख्रने र सामान्य काममै पिसाब चुहिने हुनजान्छ । यस्तो रोगबाट ग्रसित महिला-पुरुषको व्यक्तित्वमै सामान्य र पहिलेभन्दा फरक आनीबानी देखिन थाल्छ । सामान्य कुरामा पनि रन्किने, उतर्सित हुने, दिक्क मान्ने, हरेक कुरामा झर्कोफर्को गर्ने, रिसाई हाल्ने, झोक्किने, अरुसँग नजिक पर्न नखोज्ने आदि स्वभाव देखाउन थाल्छन् ।

यस्तो भएमा महिलामा पाठेघरसम्म असर परेको हुनसक्छ भने पुरुषमा प्रोस्टेट ग्रन्थी र दुबैमा मिर्गौलामा पनि संक्रमण भई पाको उमेरमा दुख पाउने हुन्छ । पिसाब अनियन्त्रित भएको कारण लुगामा चुहिएर चाँडै फेर्न नसक्ने अवस्थामा नजिक पर्दा ह्वास्स गन्हाएर सामाजिक समारोहमा भाग लिन हिचकिचाउने र नजाने भई एक्लो पर्न थाल्छन् । बेलैमा गरिएको मुत्र प्रणालीको सफाई, आवश्यक पेयजल नियमित सेवन र ओखती गरेमा सहजै निको हुन पनि सक्छ । त्यसैले पाकाले समस्या लुकाएमा पनि हेरालु र घरका वयस्कले बेलैमा उपचार गराउनु पर्दछ ।

ओखतीको प्रत्युपादक असर : पाका मान्छेहरू ओखती सेवन नगर्ने त कमै हुन्छन्, उमेर बढ्दै गएपछि केही नभए रगत बाक्लो हुने, रक्तचाप घटबढ हुने, बाथ, दम र श्वासप्रश्वासका समस्या आदि हुनसक्छ । कतिपय बेला खाइरहेको ओखती समय- समयमा चिकित्सकको परामर्श नलिई खाइरहने र बेलाबेला सेवन गर्ने वा नगर्ने प्रवृत्ति उमेरिदै जाँदा स्वनिर्णय गर्ने बानी पाका मान्छेमा आएको हुन्छ । कतिजना आफूलाई भनेको ओखती खाँदाखाँदै ‘अमुकलाई फलानो ओखती खाँदा रोग दम्पच’ भन्ने हल्लामा विश्वास गरेर ती ओखती पनि सेवन गर्न थाल्दा नजँचाई थपेर ओखती होइन विष खाएसरह नोक्सान पुर्‍याइरहेका हुन्छन् । कतिजना चिकित्सक सम्पर्कको शुल्क लाग्छ भनी कयौँ वर्ष एकै प्रकारका ओखती खाँदा ओखतीले काम गर्नुको सट्टा बिगार गरिरहेको वा निस्प्रभावी भई रकममात्र खर्च भइरहेको हुन्छ ।

कतिपय निद्रा लाग्ने, लट्ठ्याउने, दुखाई कम गर्ने, किटाणु प्रतिरोधी ओखतीलाई भनिएको मात्रा र समयसम्म मात्र सेवन गर्नुपर्नेमा लामो समय सेवन गर्नाले सेवा लिनेकै आनिबानीमा उल्टो परिवर्तन आउन सक्छ । व्यवहारको फरक मात्र होइन त्यस्ता ओखतीले शरीरका अरु प्रणालीमा असर पुर्‍याउन सक्छ । दुबी जस्तो टाटापाटा आउने रोगको उपचार गराउने एक पाका मान्छेले ओखतीको अत्यधिक सेवन गरेकाले पछि कलेजो बेकम्मा, मिर्गौला कमजोर र आन्द्रामा घाउ भएर चाँडै (६७ वर्ष) साथीभाई र ईष्टमित्रसँग बिदा भए । ओखतीको ठिक्क प्रयोगले मानिस लामो समयसम्म बाँच्छ, गलत प्रयोग र प्रभावले चाँडै मर्न पनि सक्छ, बिचार गरौँ !

मस्तिष्क गाँठो : मस्तिष्कलाई असर पर्ने गरेर अबुर्दरोगमाझैँ मगज वरपर असामान्य तन्तु बृद्धिहुने, गाँठा आउने र मानसिक क्षमतालाई असर गर्ने मासुका लाम्टा विकसित भएमा पनि पाका मान्छेमा फरक व्यवहार गर्ने हुनसक्छ । ट्युमर भनिने यस्ता गाँठाले शरीरका अरु भागमा भए काटेर फाल्न जति सहज हुन्छ मगज छेउछाउ त्यति सजिलो पनि हुन्न । यसले सुरुवाती बेलामा टाउको दुखिरहने, बोली लरबराउने, आवाज ठूलो नहुने वा सुक्ने, जीउ अरट्ठिने, मण्टो बाङ्गिने, झोल्लिने र आनीबानीमा परिवर्तन आएको पाइन्छ । अति भएमा बिरामीको चाँडै मृत्युशैयामा पुग्नसक्छ भने विज्ञ स्नायु चिकित्सकले केही घण्टाको शल्यक्रियाले पाका मान्छेलाई गाँठोमुक्त पार्न सक्छन् । बेलैमा उपचार गरेर पाका मान्छेको अमूल्य जीवन बचाएर उहाँबाट धेरै सिप र ज्ञान पुस्तान्तरण गर्न ढिलो गर्नुहुन्न ।

मस्तिष्क कोष नोक्सानी : मस्तिष्कका कोषहरूको नोक्सानी वा अवाञ्छित बृद्धिले अनौठा रोगहरूले पाका मान्छेलाई घेरा हाल्न थाल्छन् । मस्तिष्कमा विभिन्न भागमा हुने असामान्य कारणलेनै बिर्सने, उन्माद, विस्मृति, अल्ज्हाईमर लगायतका ओखती हुने र नहुने रोगलाग्न सक्छन् । बेलैको प्रयासले बिग्रिएका वा बढेका कोशले ल्याएका रोगहरू पुरा निको पार्न नसकिए पनि रोग बढ्नबाट रोक्न सकिन्छ । त्यस्तै स्नायु प्रणालीका रोगको बेलैमा निदान भए थप नोक्सान हुनबाट पाका मान्छेलाई जोगाउन सकिन्छ ।

मस्तिष्क स्वास्थ्यका खतरा घण्टी :
नेपाल लगायत विकसित देशका मानिसहरू विभिन्न रोगबाट ग्रसित छन । शारीरिक रोगमा त बाहिरी किसिमले र विभिन्न ओखती र शल्यक्रियाबाट रोगमुक्त हुन सहजै सकिन्छ तर मानसिक स्वास्थ्य गडबडिएमा जटिल हुनजान्छ । विश्वव्यापी रोगका आँकडामा कम्तीमा २० प्रतिशत पाका मान्छे उमेरिदै जाँदा कुनै नकुनै मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगबाट ग्रसित भएको पाईन्छ । मानसिक बिभिन्न खालका रोग लाग्न थालेपछि पाका मान्छेमा केही लक्षणहरू सतर्क गराउन देखापर्न थाल्छन् । पाका मान्छेका हेरालु वा परिवारजनले ति लक्षणहरूको राम्रो हेक्का राख्नु पर्छ ।

मानसिक स्वास्थ्य गडबडीका लक्षहहरू : खाना रुचिमा अनियमितता, स्वस्वास्थ्य र सुघ्घर सफाईमा बेवास्ता, अनिद्राको सम्भावना र संस्मरणरहित हुनसक्ने बिर्सने रोगका लक्षण देखा पर्छन । दुई हफ्ता बढि एकोहोरो दुखिपना, निराशा, सामाजिक एक्लोपन, दैनिक काम बिगारी रहने बानी, अति शारीरिक थकाई लाग्ने, जतिखेर पनि दिग्भ्रमित र असामान्य उटिङ्गेको गतिविधि गर्ने हुनसक्छ । बिनाकारण कहीँ अति दुखेको, शरीरभित्र औडाहा भएको, सिल्का हानेको, विभिन्न अङ्ग र प्रणाली बिग्रिएको गुनासो गरिरहने र कसैले भनेकै विश्वास नगर्ने लक्षण देखापर्छ । हरेक क्षण एउटै कुरा गरिरहने, कसैले भनेकोमा वादविवाद भन्दा आक्रामक हुने, रिसाउने, दुर्वाच्य र अपशव्द बिनाधक प्रयोग गर्ने, सामाजिक मान्यता बिरुद्ध जे पायो त्यही गर्ने मानसिक स्वास्थ्य बिग्रिएका लक्षणहरू हुन् ।

अन्त्यमा,
शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य मानिसको जीवनमा महत्व राख्दछ । मानसिक स्वास्थ्य कतिपय उपचार गर्न नसकिने वा बढाउन मात्र रोक्ने खालका भएकाले सुरुवाती बेलामानै उपचारको व्यवस्था गर्न गराउन आवश्यक छ । पाका मान्छेको ज्ञान, सिप र अनुभव समाज विकासका लागि आवश्यक भएकाले समाजका वयस्कले जीउँदो इतिहासको पुस्तान्तरण गर्न उमेरिने क्रममा आफ्ना पाका मान्छेलाई सकेसम्म रोग लाग्नै नदिऔँ ! मानसिक रोगबाट टाढा राखौँ र लागिहालेमा बेलैमा ओखती गरी आफ्नो र मान्यजनको नोक्सानीबाट बचाऔँ !

०००
फागुन ४, २०८०
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाकाले हिँड्न नसक्नु नै सबथोक !

पाकाले हिँड्न नसक्नु नै...

डा. मुकेशकुमार चालिसे
पाकाप्रति परिवार, समाज र राज्यको दायित्व !

पाकाप्रति परिवार, समाज र...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा पिनासका समस्या !

पाका मान्छेमा पिनासका समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिदा नातागतको पिर र सतर्कता !

उमेरिदा नातागतको पिर र...

डा. मुकेशकुमार चालिसे
पाकाको गोडा, जुत्ता र व्यायाम !

पाकाको गोडा, जुत्ता र...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x