साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिँदा रमाउने, एक्लिने होइन !

। आफूमात्र काम नलाग्ने ठानेर एक्लिन खोज्ने र मानिसभएर मानिसकै सङ्गतगर्नबाट बञ्चित गराउने मनोवृत्ति रोग लागेको लक्षण हो, सामाजिक प्राणी मानिस उद्देश्यमुलकरूपले एकान्त खोजे पनि एक्लोपन उसको प्राकृतिक स्वभाव होइन ।

Nepal Telecom ad

डा. मुकेश चालिसे

मानिस सामाजिक प्राणी हो र एकल बस्ने प्रजाति होइन । त्यसैले मानिसका बच्चा बाँच्नसमेत सहयोगीको अत्यन्त आवश्यक्ता रहेको हुन्छ । जवान हुँदा साथी चाहिन्छ भने पाको उमेरमा धेरै उमेरिँदा सँगै बस्ने खालको फेरी सहयोगीनै चाहिन्छ, अभरमा मद्दत गर्ने साथी । पुराना कथा र शास्त्रमा उमेरिँदा बानप्रस्थ भनेर जोडी वा समुह एकान्त खोज्दै हिँडेको ठिकठिकै होला, एकल मानिस गएको चाहिँ पत्याउने आधार कम देखिन्छ । त्यतिखेर मांसाहारी र शाकाहारी वन्यजन्तु त प्रशस्त थिए होलान, आहारा पर्याप्त पाइए पनि आफ्नो प्रतिस्पर्धामा भर्खरै विकसित मानव प्रजातिप्रति सहिष्णु हुनुपर्ने आधार के थियो होला ? शारीरिक अवस्था कमजोर मानिसका पाका बुढाबुढीलाई एकातिर घुस्मुण्ट्याउन कुनै पनि मध्यम र ठूला वनैया प्राणीलाई तिनका खुर, पञ्जा, सिङ र दाँतनै काफि हुन्छन भने त्यतिखेर कसरी बानप्रस्थ सहज हुन्थ्यो होला र ? त्यसमाथि भिमकाय मांसाहारी चरा प्रजातिको दपेटामा पर्ने पनि उत्तिकै सम्भावना रहन्छ, अचेल त गिद्ध प्रजातिका विभिन्न आकारका पंक्षिले पहाडतिर कोक्राका बच्चा च्यापेर ककारोमा खसाली खाएका घटना सुनिन्छन् भने त्यतिखेर चरा प्रजातिको साम्राज्यनै थियो नि ! एउटा कुरा चाहीँ प्रष्ट हुन्छ, मानव प्रजातिमा निष्क्रिय जीवन समाजमा बसेर गरिनुहुन्न बरू समाजबाट टाढा कसैको बोझ नबनि सकेको सक्रिय रहन र गरिएका कर्मको विश्लेषणसहित भेट भएका बिचमा आफ्नो ज्ञान बाँडन उत्प्रेरित गर्नेतर्फ लाग्नु पर्छ ।

एक्लोपनः
मानिसले भौतिकरूपमा एक्लो पर्दा र एक्लीनुमा दुखित हुने मनोभाव अभिव्यक्त हुँदा एक्लोपनाले दुःख दिन सक्छ । यो मानसिक अवस्थामा पीडित मानिसले जम्माजाल भएको परिवारमा पनि एक्लो बस्न खोज्ने, भिँडभाडमा पनि आफु फगत एक्लो अनुभव गर्ने र मन पराएका कथा, गीत र सङ्गीतहरू प्रायः निराशावादी साथै वियोगान्त खालको देखिन्छ । धौले घरको ठूलो परिवारको सदस्य भएपनि धुम्धुम्ती एक्लै कोठामा बस्न खोज्ने, अरुको टिकाटिप्पणीबाट डराएर घरमै आफू भए नभएको जानकारी नदिने, कोही पाहुनापासाको अगाडि देखिन नखोज्ने साथै व्यक्तिगत शारीरिक र मानसिक उन्नतिमा ध्यानदिन छोडने स्वभाव विकसित हुन्छ । लामो समय यस्तो चरित्र रहेमा कुनैपनि उमेरसमुहमा चिन्ता, उन्माद र बिर्सने मानसिक समस्या देखापर्न सक्छ, निरुद्येश्य एक्लोमा रमाउने मान्छेमा परन्तुमा त्यस्ता रोगले घर गर्छन भने पाका मान्छे त यदि शारीरिक दुर्वल अवस्थामा हुँदा त झन थलानै पार्न सक्छ । लखनऊ मेडिकल अस्पतालका मनोवैज्ञानिक पाका मान्छेका चिकित्सक डा. तिवारी अनुसार कारणका आधारमा एक्लोपनले ग्रसित मानिस मोटामोटी तिन प्रकारका पाइन्छन् ।

१. परिस्थितिजन्य एक्लोपनः
सामाजिक-आर्थिक र सांस्कृतिक नौलो वातावरण एक्कासी भोग्नुपर्दा परिस्थितिजन्य एक्लोपन अनुभूत हुनजान्छ । दुःखदायी अनुभव, आफ्ना आधारभूत आवश्यक्तामा आफ्नै स्तरका विभिन्न व्यक्तिमा पक्षपातपूणर् व्यवहार, भेटघाटमा समानस्तरका हुँदा पनि भेदभाव, आफुजस्तै हैँसियतका धेरै परिवारको स्थानान्तरण, व्यक्ति-व्यक्तिबीचमा अनावश्यक द्वन्द्व, वैमनश्यता, ठूलो दुर्घटना, प्राकृतिक प्रकोपले परिवार छिन्नभिन्न, अकाल भई हरेक कुरामा अभावग्रस्त अवस्था आदिले पाको उमेरमा निराशाको घना बादलले एक्लोपनको मनोदशा निर्माण गर्दछ । ओखति विज्ञानको विकास, हरेक देशका पुरातन संस्कृति र लैङ्गिक व्यवहारमा पछिल्लो समय आएको परिवर्तनले महिलाहरूको सरदर आयु लम्बिएको छ, त्यसकारण उमेरिएका पाका एकल महिलाको सङ्ख्यात्मक वृद्धि भएको छ । बढदो उमेरिएका महिलाहरूको अवस्थाले लैङ्गिक असन्तुलनमात्र होइन विविध समस्या पनि नितान्त महिलानै भएका कारण पाको उमेरमा बढिभएको पाईन्छ । विकसित र प्रजातान्त्रिक भनिए पनि महिलाप्रति हेरिने दृष्टिकोणमा केही देशहरू बाहेक समग्ररूपले सबै ठाउँमा समाजको अन्तरकुन्तरमा रहेको लैङ्गिक विभेदले उमेरिँदा एकल पुरुषको दाँजोमा एकल महिला विविध प्रकारको हिंसाको शिकार भएका पाइन्छन् । यसले गर्दा एकल महिलामा परिस्थितिजन्य एक्लोपनको मानसिक समस्या पुरुषको दाँजोमा बढी खप्न बाध्य भएका छन् ।

२. विकासजन्य एक्लोपनः
सामाजिक प्राणी हरेक मानिसले जुनसुकै वणर्, रङ्ग, जातजाती, समुदायको भए पनि उस्तै-उस्तैका बीचमा साथी बनाउने तथा आवश्यक पर्दा मित्रभावले नजिकिने जन्मजात गुण लिएर आएको हुन्छ । मानिस प्रजातिमा अरु वन्यजन्तुमा भन्दा फरक अभिव्यक्ति, विवेक र सहिष्णुताको क्षमता बढी विकसित भएको हुन्छ । त्यसैले त ऊ बाँडेर खान, अरुलाई मद्दत गर्न, पुरानो रिसले बदला लिन मात्र होइन विकासको नाममा नाना भाँतीका अप्राकृतिक काम गर्नसक्छ र व्यभिचारको हद नाघ्न सक्छ । उसमा विकसित मष्तिस्क क्षमताले अरु प्राणीभन्दा धेरै फरक स्वजातीय र अन्तरजातिय फाइदा हुने भौतिक विकासका अनौठा काम पनि गरिरहेको छ । यस्तो कुरा संसारमा रहेका जीवहरूमा केवल मानिस प्रजातिले गर्नसक्छ र अतिविकसित मस्तिष्कको कारणले मान्छेले मात्र गर्नसक्ने क्षमताराख्छ । यस्ता आवश्यकीय कुराबाहेक मानिस प्रजातिमा व्यक्तिवादी प्रवृत्ति पनि अत्यधिक मात्रामा उच्चस्तरको भएको देखिन्छ, यसैको हुटहुटीले त मानिस विभिन्न अठोटेका काम, पद र प्रतिष्ठा जिप्ट्याउने गर्दछ ।

उपरोक्त त्यस्ता फलदायी इच्छामा मानिस एकान्तप्रिय हुनसक्छ र एकान्तको फल आफ्ना उद्येश्य अनुरूप प्राप्तगर्न पनि सक्दछ । मनोवाञ्छित उपलब्धि साथसाथै सामाजिक हुनलाई व्यक्तिगत र सामुहिक जिम्मेवारीका दायित्वलाई सन्तुलनमा राखी अघि बढ्दामात्र साँच्चिकै उन्नति भएको हुन्छ । परापूर्व कालमा ऋषिमुनीका हज्जारौँ वर्षका तपस्या यस्तै उद्देश्य लक्षित सर्वसाधारणलाई सुनाउने एक्लोपनका उच्चतम उपमा होलान् (?) त्यसप्रकारको सन्तुलन कायमगर्न नसक्दा एउटा मानिसले आफ्नो जीवनको लक्ष्यप्रति विमूख भई संसार आफ्ना लागि अर्थहीन देख्न थाल्छ र जीवन फगत शून्यशून्यले भरिएको भन्ठानेर आफुलाई एक्लो अनुभूत गर्न थाल्छ । आफ्नो व्यक्तिगत आत्मलघुता, प्रगति विमूख निष्क्रियता, आहत हुने छुट्टि-भिन्नको अवस्था, सामाजिक परित्यक्तपन, गरिबी, न्यूनस्तरको जीवनयापन र भौतिकरूपले मनोदशाको अपाङ्गता आदिले विकासजन्य एक्लोपन निम्त्याउँछ र व्यक्ति असहाय अनुभुत भई निराशाको बादलमा रुमल्लिन थाल्दछ ।

३. आन्तरिक एक्लोपनः
एक्लै परिएको छ वा कतिपय समय एक्लै बिताउँदैमा एक्लोपनको मनोविज्ञानले पिरोल्ने होइन । एकान्तमा समय काट्दा पनि यदि आफ्नो उद्येश्य र लक्ष्यप्रति चिन्तनशिल छ भने उस्मा एक्लोपनको ठाँगेले छुन सक्दैन, बरू झन जब्बर उर्जावान भई अघि बढ्ने आत्मविश्वास बटुल्न सक्छ । हेर्नोस् न, दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला र नेपालका सच्चा जीवित र मृत शहीदहरू कष्टपूर्ण लामो कारावास पछि झन प्रखर चम्किला स्पातजस्ता भई निस्केका थिए ! आफ्नो आत्मविश्वास गुमाएका र स्वाभिमान नभएका कैयौँ मानिसहरू सामान्य लोभ-लालचमा अठोटेको सुन्दर संसार निर्माणको बलिबेदीबाट विमूख भई आफ्नै वर्गमित्र विरूद्धमा आततायीहरूसँग मिली गुप्तीपुलिसको काम गरेकाले अन्त्यमा विभत्स मृत्यु भोगेका थिए ! हिटलर र अरु तानाशाहहरूको अन्त्य के राम्रो भएको थियो र ? फगत एक्लो भएका ती एक्लोपनको शिकार भई आत्महत्याको भूमरीमा परेर समूल नाश भए ।

आन्तरिक एक्लोपनको मारमा प्राय मनोवैज्ञानिकरूपले क्षिण विचार भएका, मानसिकरूपले लघुताभास अनुभूत गर्ने, हीनभावनाले ग्रसित व्यक्तित्व लिएका मानिसहरू पर्दछन् । केटाकेटीदेखि वयस्क हुँदासम्म आफ्नो नूर झरेका पाका मान्छे मानसिक रोगको जटिल समस्या परेर हरेक नव आगन्तुकसँग डराउने र नयाँ कुरामा तर्सिएर चुइँक्क बोल्न पनि सक्दैनन् । यस्तो व्यक्तित्वको भएमा बोलीमा सन्तुलन राख्न नसक्ने, मानसिक चिडचिडाहटले सङ्कट निम्त्याउने, आत्मविश्वास र स्वाभिमान गुमेको, सबै कुरामा आफ्नै कमजोरी ठान्ने, आफु बेकामे र मूल्यहीन प्राणीमात्र अनुभव गर्ने, फरक परिस्थितिमा प्रतिरोध गर्न र पार पाउन नखोज्ने, हुँदाहुँदा सित्तैको अक्सिजन नभए चाँडै मरिन्थ्यो, आनन्दै हुन्थ्यो भन्नेसम्मको कल्पनामा चित्त दुखाउने हुन्छन् । मानसिकरूपले विक्षिप्त हुने दिशामा मेरा थुन दौडको गतिमा अघि बढेका यस्ता पाका मानिस आन्तरिक एक्लोपनको शिकार भई आफ्नो मात्र हितमा त काम गर्न सक्दैनन् भने परिवार र समाजको दायीत्व पूरा गर्ने प्रश्नै आउँदैन ।

एक्लोपन नियन्त्रणः
मानसिकरूपले एक्लोपन अनुभूत गर्नु मानसिक स्वास्थ्य बिग्रन लागेको सङ्केत हो भने सामाजिकरूपले वहिस्कृत सम्झनुले समाजको अहितमात्र होइन अमुक व्यक्तिको बिग्रन लागेको स्वास्थ्यमा थप नकारात्मक भाग बढाउनु हो । सामान्यतया विविध उमेरसमूहमा मात्रात्मक र गुणात्मक फरक स्तरको एक्लोपन हुनसक्छ तर पाका मान्छेमा देखापर्‍यो भने उमेरिएको अवस्थामा अझ कमजोर शारीरिक स्वास्थ्य छ भने त झन विकराल बन्न सक्छ । पाका मान्छेमा देखापर्ने समस्याले परिवारमात्र होइन अरु विभिन्न सम्बन्धितलाई पनि दायित्वभित्र पारेर हानीनोक्सानी गराउन सक्छ । त्यसैले पाका मान्छेका सर्वाङ्गिण हितमा दशक अघिदेखि काम गरिरहेका अन्तरराष्ट्रिय पुरस्कार प्राप्त के.एम.काँठे आफुले उमेरिएका मानिसकालागि निम्न बुँदाहरू कार्यान्वयन गर्नसकिने भनि व्यापक प्रचारगरेको गर्वसाथ प्रस्तुत गर्नुहुन्छ ।

१. आवश्यक हुँदा बोलाउने साथीः
हरेक मानिसका आफ्नो स्वभाव, परिस्थिति, सामाजिक बनावट र समुदाय अनुसार विभिन्न उमेरसमूहमा नजिक भनिएका साथी हुन्छन्, साथी नभएका त को होलान् मानव समाजमा ? आफन्तहरू बाहेक साथ लाग्ने र नजिक परेका कोही नकोही उही उमेरसमूह हाराहारीका साथी भएकै हुन्छन् । साथीहरू विविध प्रकारका हुनसक्छन्, भलोसाथी, हलोसाथी, चलोसाथी, ढलोसाथी, आओसाथी, खाओसाथी, गाओसाथी, ठूलोसाथी, सानोसाथी, बाटोसाथी, घाटोसाथी, हाटोसाथी, लुटोसाथी, छुटोसाथी, आदिआदी तर कतिपय साथी साँच्चिकै आफुलाई अभर पर्दा मद्दत गर्न आउने कति होलान् ? हेक्का गर्नुभएको छ ? त्यसैले भनिन्छ नि, ‘सुखमा सबै साथी, दुःखमा कोही नकोही’ भन्ने स्थितिमा त हुनुहुन्न ? विचार गर्नोस्, जस्का विभिन्न आपदविपद्मा सम्झँदा काम लाग्ने र बोलाउँदा आउने चारपाँचजना साथी छन्, उसलाई एक्लोपनको आभाष कम हुन्छ । अचेलको सुविधा प्रयोग गरी फोनको भरमा हरर आइपुग्छन् दुःखको ललरी गाएर चिठी पठाइरहनै पर्दैन । तपाईंलाई विसञ्चो भएको थाह हुनासाथ सोधपुछ गर्न उत्सुकमात्र होइन नसक्ने भए पनि कुर्न र कुर्ने पालो दिन आइपुग्छन् भने ती साँच्चै साथी हुन् ।

प्रसिद्ध रुसी लेखक लियो टाल्सटाय भन्छन्, तपाईं मरेको सुन्नासाथ सयौँ काम छोडेर दुःख मनाउ गर्न आउने साथी साँच्चैका साथी हुन् । आउनु पर्‍यो भनि खबर पाउनासाथ कुनै कारण नसोधी भेट्न आउने साथीनै सबैभन्दा महत्वपूर्ण साथी हुन् । पर्दा कारण नसोधी तपाईंले खबर गर्दा आउने र लायक साथी कतिजना बनाउनु भएको छ ? तपाईंको मनले खाएका त्यस्तो योग्यता भएका भरपर्दा साथी छन ? छन् भने कति छन् ? यदि हातमा गन्न सकिनेभन्दा बढी छन् भने तपाईंलाई एक्लोपनले सताउनै पाउँदैन, अझ चिन्ता, नैराश्यता, मानसिक रोग लाग्ने सम्भावनानै हुँदैन । तर हातमा गन्ने पनि छैनन् वा एकदमै थोरै छन् भने तपाईं उमेरिँदै जतिजति जानुहुन्छ, उतिउति एक्लोपनले सताउँदै जान्छ र मानसिक रोगले गाँज्न थाल्छ । एकदम नै धेरै साथी छन् भन्ने भ्रममा पनि नपर्नोस् किनकी धेरैमा गुणस्तर फितलो हुने र अभरमा काम लाग्ने पाउन मुस्किल पर्छ, सबैको प्रिय कोही हुन सकिन्न, त्यस्तै अतिकम साथी छन्भने पनि राम्रो होइन, अभर परिस्थिति पर्दा सहयोगीको कमी हुनसक्छ । त्यसैले कम्तीमा आधा दर्जन बढी मिल्ने र बिना प्रश्न भन्नासाथ आउने साथी बनाउनु होस्, तपाईं हिँडडुलनै गर्न नसके पनि दिनको एक जनासँग कुरा गर्न त सक्नुहुन्छ र तपाईं फरकफरकसँग कुरागरी हप्ता दिन सजिलै बिताउन सक्नुहुन्छ ।

२. दैनिक सामाजिक सम्बन्धः
दैनिक आफ्नो नियमित काम र कर्तव्य पूरा गरे पछि सामाजिक सम्बन्ध कायम राख्न साथै बढाउन कम्तीमा एकदेखि तिन घण्टा नातागोता, ईष्टमित्र र चिनजानकाबिच सम्बन्ध नवीकरण गर्नुहोस् । यसरी हप्तामा घटीमा सात घण्टा बढीमा एक्काइस घण्टा वा आवश्यक थप समय सम्बन्ध बिस्तारले तपाईंलाई सामाजिक प्राणी भएको मानसिक सन्तुष्ठी दिनेछ । एक रिपोर्ट अनुसार सफल मानिसले समाजमा अशल तरिकाले उन्नति गर्नुमा कम्तीमा दैनिक सरदर चौँतिस मिनेट सामाजिक सम्पर्क र सम्बन्ध कायम गरेको देखाएको छ । यदि तपाईं पनि एकदेखि तिन घण्टा सामाजिक काममा लाग्नु भयो वा विचार मिल्नेसँग विभिन्न कार्ययोजनाकालागि गफ्फिन पाउनुभयो भने तपाईंमा एक्लोपन रहने छैन र मानसिक रोग थपिने सम्भावनानै हुँदैन ।

उपरोक्त तथ्य तादात्म्यसहित मानव ईतिहासमा पहिला पशुपालन र संयुक्त परिवारमा बस्ने सदस्यहरूले समुहमा घुलमिल हुने बानीले मानसिक चिन्ता र रोगहरू कम भएको घटनाका अनुसन्धानले पनि प्रमाणित गरेको छ । त्यस्ता परिवार समूहमा बस्ने र संयुक्त भलाईमा समुदायको हितमा बढी समय बिताउने भएर रोगको कमीलाई अहिले स्वास्थ्यविज्ञहरू हप्ताको चौबिस घण्टे सामाजिक सम्बन्ध बिस्तारलाई दिँदा बदलिएको परिस्थितिमा सापोनापो मिल्ने भन्दछन् । कसैलाई पाको उमेरमा हिँडडुल र अरु विभिन्न कारणले सार्वजनिक काममा अप्ठ्यारो पर्ला तर उहाँहरू परिवारनै कामबाट फर्किएर आउँदा, खाना खाँदा सँगै भेट हुँदा र कुनै घरायसी कामकाज बारे कुरा उठ्दा सहभागी भएर पूरा गर्न सक्छन् । अचेल त वाईफाई र टेलिफोनको सुविधा प्रयोगगरी आफन्त, चिनारु तथा कुरा मिल्नेसँग फक्किन सकिहालिन्छ नि, बोलीमात्र होइन सात समुद्र पारी बसेकासँग ओल्लो कोठो पल्लो कोठोका मान्छे जस्तै अनुहार हेरीहेरी कुरा गर्न पाई हालिन्छ । आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न त्यति सुविधा पाका मान्छेले नरम भएर सकारात्मक कुराकानीमा बिताउन परिवारका जिम्मेवारलाई मनाउनै पर्छ । परिवारलाई थप मानसिक रोगको खर्च बचाउन र तपाईंको हितमा योनै सरल र सहज उपायभनि अरुलाई बुझाउन तपाईं पाको मान्छे पक्कै सक्नुहुन्छ । उमेरिँदा तपाईंले बोल्नै नपाउने परिवार परे त उनीहरूलाईनै नोक्सान पर्ला भनि सामाजिक सम्बन्धका स्वास्थ्यमा फाइदाबारे सबैले देख्ने गरेर पोष्टर बनाई घर वरपर टाँस्ने वा आफ्नो कोठामा टाँस्नुहोस्, कुनै दिन त आँखा पर्ला अरिष्टहरूको !

३. आफन्तलाई प्राथमिकताः
उमेरिँदा सबै पाका मान्छेका उस्तै भौतिक, शारीरिक र मानसिक परिस्थिति नहुन सक्छ, कतिपयलाई आफ्ना मन हलौँ पार्न दुःख पोखेर समय काट्ने उही उमेरसमूहका साथी भेट्न जान वा सम्पर्क गर्न गाह्रो वा अनुकुल नपर्न सक्छ । सम्बन्ध पनि कोहीसँग घनिष्ठ र कोहीसँग छिपछिपे हुनसक्छ, त्यसकारण सामाजिकीकरणमा बढी समय बिताउने भनेको घनिष्ठ साथी र आफ्नै परिवार सदस्यहरूसँग हो । तपाईं त्यस्ता मनमिल्ने घरका आफन्त र साथीसँग हुरुक्कै भए घाटा लाग्दैन, उमेरिँदा फेरी विविध कुरामा बाउँटिएर ‘घरकाभन्दा बाहिरका राम्रा, छोराभन्दा ज्वाइँ राम्रा, बुहारीभन्दा अर्काघर गएकी छोरी राम्रा’ भन्ने गल्ती नगर्दा बाँकी पाको जीवन गुजार्न सहज होला । सधैँ साथै रहनेले तपाईंका पनि राम्रा नराम्रा गुण थाहा पाएकाले एक छिन भेट हुनेले जस्तै औपचारिकमात्र नहुन सक्छन् र राम्रो लागेको हुनसक्छ, ‘चुरा लगाएको हातमा दुईभन्दा बढी लगाएमा बेलाबेला बज्छ’ भन्ने पनि नबिर्सनु होस् ।

हो, उमेरिँदा कैयौँ तपाइँका अहम् र तुज्रुक अब शारीरिक-मानसिक कारणले कायम नराखी मनभित्रै राख्नु तपाईंको हितमा फलदायी हुन्छ, भन्ने पनि मनयोगले स्विकार्नुहोस् । तपाईंबाट घरपरिवार र मिल्ने साथीले घोचपेच, छिर्के र बाङ्गा कुरा होइन, हरेक कामकुरामा ममतामयी, मान सहितको कृतज्ञता र सकारात्मक मुल्याङ्कनको आशा राखेका हुन्छन् । तपाईंका मुखबाट निस्केका हरेक बोलीवचन उनीहरूका कानका लागि उत्साह जगाउने र थप दया गर्ने कणर्प्रिय ध्वनी बनून्, यसमानै तपाईंको भलाई छ । फरक परिस्थितिमा अभ्यस्त हुन समय लाग्ला, तर तपाईं निरन्तर यही कोशिसमा लागिरहनु पर्छ, किनकी तपाईंको उमेरमा अब थप जगेर्ना गर्ने परिवार सदस्यहरू र साथीहरू बनाउन उमेरिएकाले सम्भव नहोला, जे छ त्यसैलाई राम्रो पार्ने मात्र होइन र !

४. सम्बन्धको विविधताः
घनिष्ठ सम्बन्ध मात्र होइन ‘कतिपय बेला नपत्याएको खोलाले बगाउँछ’ भनेझैँ सामान्य सम्बन्ध राखिएका मानिसले पनि बेला उस्तैपर्दा सहयोग पुर्‍याउन सक्छन । कोरोना कालमै कम्तिमा आफुले खोप लगाएपछि भिँडभाडको डरले घरमै बसेकालाई ‘हामीले त फलानो चौकीमा सजिलै लगायौँ, त्यता गए हुन्छ नि’ भन्ने सल्लाह चिनजानकैले दिएका हुन् । आफुले भुकम्पको राहत भित्र्याई सकेपछि ‘फलानो ठाउँमा यो यो कुरा यसरी वितरण गरेको भनेर’ जानकारी दिने पनि चिनारु साथीभाइनै हुन् । त्यसैले हलुका सम्बन्ध भएका केही साथीभाइसँग पनि आवधिक सुमधुर सम्बन्ध कायम राख्न छोड्नु हुँदैन, यसले कहिलेकाहीँ गज्जबको सहयोग पुग्न जान्छ र ‘हाम्रा को छन् र भलो चिताउने ? एक्लै परियो नि’ भनि एक्लोपनको आभाषले चिसा आँसु बगाउन पर्ने छैन । टोल-छिमेकमा कामनै नपरे पनि भेटघाटमा सामान्य अभिवादन र कुशलक्षेम सोधपुछको वातावरण रहोस्, यसले छिमेकीपन, सौहार्दता र सामुदायिक भावना जगाउने अध्ययनले देखाएको छ । एक्लो धुम्धुम्ती परेर हिँडने, मनमा विविध कुरा खेलाएर ‘गुफ्लाको लहरो बटारिएझैँ बटारिएर बोल्ने’ मान्छेसँग न परिवार न बाटोघाटोमा सहयात्री राम्रो मान्छन् । बरू अल्पकालिन भेटघाटमा पनि सान्दर्भिक कुरा गर्ने हँसमुख मान्छेलाई धेरैले मन पराउँछन् उस्तैपर्दा चिनजाननै नभएका सहयोगी भई तपाइकै हितमा काम पैट्याईदिन सक्छन् ।

आफ्नो कार्यथलोमा प्रत्यक्ष असहयोग भए पनि सम्बन्ध राख्न सके अनावश्यक चुक्लीबाट बचेर कामको चिन्ता कम हुने, थोरै भए पनि सामुहिक भावनाले बाहिरीया नकारात्मक प्रभावबाट बच्न सकिने, निशूल्क सूचनाहरू थाह पाउने भएर विविध खालको सहयोग पाउन सकिन्छ । काममा एकोहोरो हुँदा र समस्या आफ्नो मात्र हो भनि मन कुढ्याउँदा कालान्तरमा अन्तरमूखी भएर मानसिक समस्यामा पर्ने साथै एक्लोपनको शिकार हुन कुनै आइतबार पर्खनै पर्दैन । मन फुकाएर आवश्यक सम्बन्ध कायम गर्न पछि हट्ने र धकमान्ने गर्नु हुँदैन, ‘बगेको पानी धेरैजसो चोखो मानिन्छ, जमेको कुवाको पानी भ्यागुताको शौच’ भनि हियाउने नेपाली उखानमा केही नकेही गुह्यअर्थ पक्कै होला ! एक्लोपनबाट मुक्त हुन ‘वाकपटुता हुनैपर्छ, तर कुरा गर्न थाले पछि धोती फुस्केको पनि थाह नपाउने गरी’ होइन, चाहिँदो कुरा चाहिने ठाउँमा गर्न नचुक्नु भनेको मात्र हो । नचिनेका मान्छेसँग पनि हार्दिकतासाथ कुराकानी गर्न सक्नु गुण हो भने एक्लै मन अमिलो पारेर बस्नु एक्लोपनको शिकार हुँदै जानु हो, यसले मानिस बिस्तारै सामाजिक नभई मानसिक रोगी हुँदै जाने सम्भावना रहन्छ भने पाका मान्छे त थला पर्न सक्छन् ।

५. एकालकाँटेका खतराः
एकलकाँटे स्वभावले मानिसलाई बिस्तारै असामाजिक बनाउँदै लैजान्छ, अध्ययनले देखाएको छ, एक्लो बस्न रुचाउने उमेरिएका पाका मानिस विशेषगरी एकल महिलाको तुलनामा एकल पुरुषहरू बढी स्वास्थ्य समस्याको विकराल अवस्था भोग्न सक्छन् । नेपाली समाजमा यसै अनुभवको सार खिचिएर भनेको होला, ‘पाका मान्छेको श्रीमती आफू अघि नमरोस्, बालखको आमा दुध ख्वाउँदै गर्दा नमरोस् !’ एक्लै बस्दा विभिन्न घरायसी कारण र अनुभवले प्राकृतिकरूपमा बलिया तथा संवेदनशील महिलानै बलिया वंशाणुका उपज भएकाले पनि पुरुषको दाँजोमा महिला खपालु तथा समस्या भोग्न सक्षम छन् । पुरुषको दाँजोमा महिलाप्रतिको सम्बेदनशिलता सँसारका सबै मानवसमुदायमा बढिरहेकोनै देखापर्दछ, समाज विकासक्रमले पनि हरेक समाजमा सृष्टिको स्रोत महिलाको हरेक कुरामा सुरक्षित रहनुपर्ने मनोविज्ञानले समाजमा सहानुभूतिपूर्ण स्थान हुनगएको कसैले नकार्न सक्तैन ।

त्यसैले उमेरिएका पुरुषको दाँजोमा उस्तै सामाजिक र पारिवारिक परिस्थितिमा महिलाहरू सहजै समस्या हल गर्छन् तर पुरुष एकल अनुभूत गरेर एक्लोपनको मानसिक शिकार हुन जान्छन् । यसको अर्थ एकल महिलाको तुलनामा एकल पुरुषले स्वस्थ भएर बाँच्न बढी सामाजिक सम्बन्ध राख्नु पर्ने हुन्छ । लैङ्गिक आधारमा पनि एकल पुरुषको दाँजोमा एकल महिला घरायसी काममा व्यस्तरहन सक्छन् तर पुरुष तुलनात्मकरूपमा स्वास्थ्यकै कारणले पनि कम काम गरेको पाइन्छ । परिवारका सदस्यहरू पनि नौ महिना गर्भधारण गरी दुइतिन वर्ष जस्को दुध खाएर हुर्किए उनलाई सामाजिकरूपले अभिभावक भएको पुरुषप्रति भन्दा बढी मान्ने गरेको हरेक मानव समुदायमा देखिन्छ । त्यसकारण, मातृस्नेहको अगाडी पितृकर्तव्य कमजोर भएको हुनाले एकल उमेरिएका पुरुषले भोग्न बाध्य समस्यामाथि जीत हासिल गर्न बढीभन्दा बढी सामाजिक सम्बन्ध कायम गर्नु एक्लोपनबाट छुटकारा पाउने सरल उपाय हो ।

६. पुराना र नयाँ साथीः
समाज विकाशको गति र मानिसको प्रवृत्ति हेर्दा अचेल हरेक समयलाई पूँजिको मापदण्डबाट आङ्कलन गर्ने पूँजीवादी दृष्टिकोण छ्याप्छ्याप्ती पाइन्छ, फलस्वरूप धेरै वयस्क मानिसहरू ‘थोत्रा पुराना कुरा सुन्न किन पाका मान्छेको सङ्गत गर्नु’ भन्न सक्छन । त्यसैले सबैभन्दा राम्रो तरिका आफ्नै उमेरसमुहमा रहेका पुराना साथीभाइ, सहपाठी र इष्टमित्र सम्झेर सम्पर्क बढाउनु पर्छ र सम्पर्कमा छन् भने सम्बन्ध कायमनै राखिरहनु उमेरिएका मानिसका लागि सहज र सफल होइन क्रियाकलाप हो । तपाईं यस उमेरमा आइपुगुञ्जेल सँगसँगै कामगरेर नजिक भएका धेरै साथी भए होलान्, तपाईंको खोजपडतालले पत्ता लागेमा सम्पर्क गरेमा पक्कै खुसी हुने छन् । अझ शारीरिक-सामाजिक अवस्था उस्तै रहेमा त सबैभन्दा घनिष्ठ बन्न सक्छन्, किनकी तपाइ दुवैको भोगाई सरदरमा उस्तै होला र अहिले दुवै असल साथीको खोजीमै हुनुहोला । यस्तो भेट भएमा दुईतिन चरण आफ्ना विगत कोट्ट्याउँदैमा बित्छ भने थप फलदायी कामगर्न दुवैको अनुभव अद्यावधिक भएर साझा कार्यक्रम बनाउन सकिन्छ ।

विचार, विज्ञता, विगत पेशा र शारीरिक अवस्था अनुसार उमेरिएका र एक्लो अनुभूत गरेका पाका मान्छेले नयाँ साथीहरू पनि बनाउन कोशिस गर्नुपर्छ । नयाँ साथीबाट उत्सुक र जाँगरिलो भएमा आफुले नभोगेका अद्यावधिक जानकारी पाउने अवसर अमूल्य हुन्छ भने नयाँ साथीले उमेरिएकाले भोग्न विवश स्थितिबारेमा जानकारी भई सम्बन्धित विषयमा ऐतिहासिक ज्ञान सहजै पाई लाभान्वित हुन पाउँछन् । एकअर्कालाई आआफ्ना अनुभव र ज्ञानका आधारमा जीवन्त सम्बन्ध राख्न हौस्याउने यस्तो सम्पर्कलाई बिना पूर्वाग्रह, एकअर्कालाई सघाउने हिसाबले अघिबढाउन सकेमा सामाजिकरूपले पनि महत्वराख्ने सम्बन्ध हुन्छ ।

७. एकान्तको महत्वः
सबैको आआफ्नै तरिकाबाट समयको महत्व र आवश्यक्ता हुन्छ नै, तर हरेकलाई आफ्नो स्वविवेचना र आत्म परीक्षण गर्न एकान्त समय पनि चाहिन्छ । शान्त भएर आफुले गरेका काम कार्वाहीमा परिक्षण र समीक्षा गर्दै अघि बढ्ने बाटो निर्दिष्ट गर्नु सफलताको सूत्र हो । यस्तो प्रक्रियाको लागि एकान्त समय खोज्नु स्वास्थ्यको हिसाबले र मानसिक सन्तुष्टिका लागि हरेक मानिसलाई आवश्यक छ । हरेक बेलामा अरु मानिस पछि लागिरहनु कतिपय सक्रिय मानिसका लागि हानिकारक हुनसक्छ भने शारीरिक र मानसिकता समान हेरेरमात्र साथी बनाउन कोशिस गर्नुपर्छ । विपरित सक्रियता र फरकफरक निष्क्रियताको स्वभावमा पनि सँगसँगै जाने संयोग कम रहन्छ, तर आफ्ना नियमित काम पछि फूर्सदमा विपरित पेशाका मानिस बिचमा पनि मैत्रिपूर्ण सम्बन्ध हुनसक्छ । विविधता बिच एकता खोज्दा पनि फरक ज्ञान आर्जन हुने हिसाबले एक्लोपन हटाउन मद्दत पुगेको धेरै देखिन्छ ।

अन्त्यमा,
उपरोक्त केही जुक्ति मार्फत मानसिक र शारीरिक समस्यामा समान भोगाईका उस्तै उमेरसमूहका बिच दीगो सम्बन्धले तपाईंको स्वास्थ्य सुदृढ र भलाईको काम हुनसक्छ । आफूमात्र काम नलाग्ने ठानेर एक्लिन खोज्ने र मानिसभएर मानिसकै सङ्गतगर्नबाट बञ्चित गराउने मनोवृत्ति रोग लागेको लक्षण हो, सामाजिक प्राणी मानिस उद्देश्यमुलकरूपले एकान्त खोजे पनि एक्लोपन उसको प्राकृतिक स्वभाव होइन । संसारमा देखिएको अप्राकृतिक एक्लोपनको मानसिक समस्या विकसित भएको भनिएको समाजको अतिरिक्त गलत उत्पादन हो, यसलाई पाका मान्छेले अनुभवका आधारमा तृण बराबर नठानी आफुलाई सामाजिकीकरण मार्फत नेपाली गाउँघरमा ‘साउन महिनामा लुत्तो फालेको अगुल्टो फालेझैँ’ त्याग्न सक्छन, उहाँहरूबाट सबै उमेरसमुहले सिकौँ ।
०००
चालिसे डाँडा, ललितपुर
जेठ १६, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x