सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उमेरिएकाहरूमा टाउको दुख्ननाका कारणहरू !

अझ संयुक्त जीवनको चाहना राख्ने नेपाली पाकाहरू कम ज्ञानी छन र ? रिसयुक्त इखलाई सुझबुझकासाथ काम सल्ट्याउने जुक्तिमा परिवर्तन गरी सुरक्षित भएका देशको नोकरशाहीतन्त्र बुझेका ती अति पाका अमेरिकी दम्पतीलाई सलाम !

Nepal Telecom ad

डा. मुकेश चालिसे :

भर्खरका किशोरकिशोरी, वयस्कहरू र अचेलका पाकाहरू हिजोआज विभिन्न समस्याहरू देखाउँदै अनुहारमात्र झ्याउरो होइन बेलाबेला टाउको दुखेर बलिन्द्रधारा आँसु खसालिरहेका तथा जोकोहीसँग जेसुकै कुरामा उतर्सिएर झगडालु बन्न सक्छन् । यस्तो बन्नुको पछाडि उनीहरूमा आन्तरिक पीडा त भएकै हुन्छ अझ टाउकाको सबैतिर वा एकातिर टनटनी दुखेर मन्टो ठाडो ठड्याउन नसक्ने अवस्था भोगिरहेकाले हो । विश्व प्रसिद्ध पत्रिका नेचरले २०२४ जुलाईमा छापेको एउटा समाचारमुलक खबर अनुसार सबैभन्दा असह्य त टाउको दुख्ने माइग्रेन देखिन्छ र दिमाग खुस्केजस्तो अवस्था हुनेभएकाले त्यसबारेमा अलिअलि गुह्यकुरा पत्तो लागेको अध्ययनले देखाएको छ । टाउको अति दुख्ने र दिमागले काम गर्न छोड्ने दुखाइ बारेमा राम्ररी मान्छेमा अनुसन्धान नभए पनि मुसामा गरिएको अनुसन्धानले मेरुदण्डको ढुङ्ग्रोभित्र रहेको तरल पदार्थको अवयवलेनै दुखाइको स्रोत रहेको पत्ता लगाएको छ । संसारमा माइग्रेन पीडित भएकामध्ये एकतिहाई मानिसहरू टाउको दुख्नुअगाडि अचम्मको मगज खाली भएझैँ अनौठा बस्तुसाथै चित्रहरू दृष्टिगोचर हुनेखालका शून्यता महसुस् हुँदै बढ्दै गएर असह्य पीडा भएको बताउँछन् ।

संसारमा करोडौँ मानिसहरूले असहनीय दुखाइका साथै टनटन गर्ने टाउको दुखाइ भएको, वाकवाकी लागेर बिरामी अनुभूत हुने, आँखा धमिलो भई दृष्टिभ्रम भएर धमिलो देखिनु र थकान अनुभव भएको बताउँछन् । मस्तिष्कको क्रियाकलापलाई उत्तेजित पारेर कसरी यस्ता असहनीय दुखाइ अर्थात माइग्रेन हुन्छ भन्ने कारण बारेमा वैज्ञानिकहरूलाई धेरै अघिदेखि अचम्भित तुल्याएको थियो । तर यही जुलाई, २०२४ मा साइन्स पत्रिकामा प्रकाशित मुसामा गरिएको एक अध्ययनको लेखअनुसार स्नायुजन्य प्रतिक्रियात्मक प्रक्रियाद्वारा माइग्रेन हुनलाई उत्तेजित गर्ने रहस्योदघाटन गरेको छ । त्यसो हुँदा एकछिन भए पनि मस्तिष्क शून्य भएर अर्थात दिउँसै तारा देखेको अनुभूति भएर स्नायुजन्य गतिविधि बन्द हुन्छ, त्यस समयमा मगज र मेरुदण्डको भित्र रहेको लेस्याइलो पन्यालो झोलको गुणमा अस्थाई परिवर्तन हुन्छ भनि वर्णन गरिएको छ । त्यस्तोे फेरिएको गुण भएको झोलमा परिवर्तन हुँदा शरीरका संरचनामा मस्तिष्क र अन्य खाली ठाउँमा रहेका स्नायुमा पहिले थाहा नभएका प्रक्रियाबाट गएका हुन्छन् । यसो हुँदा पीडा र जलन गराउन सक्ने आकाङ्क्षी स्नायुलाई उत्तेजित गरिदिन्छन् र तीब्र टाउको दुख्ने हुन्छ ।

रिचार्डसनमा रहेको डालासस्थित टेक्सास विश्वविद्यालयका स्नायुवैज्ञानिक ग्रिगोरी डुस्सोरले ‘टाउको दुखाइको उत्पत्ति बारेमा हाम्रो परम्परागत सोचाइमा यस कार्यले स्थानान्तरण गरिदिएको ठम्म्याएका’ छन् । अझ जोड दिँदै उनी भन्छन्, ‘टाउको दुखाइ सामान्य रोग नभएको बरु मस्तिष्कभित्र तत्कालमा थुप्रै परिवर्तन भइरहेको सूचना दिने सामान्य लक्षणनै रहेको भन्न सकिन्छ’ । कोपेनहेगेन विश्वविद्यालयमा काम गर्ने लेखका सहलेखकका साथै अनुसन्धानकर्ता मेइकेन निदेरगार्ड त माइग्रेनलाई त्यस अर्थमा ‘वास्तवमा संरक्षण कर्ता दुखाइ भएको भन्छन् । दुखाइनै संरक्षण गर्न भएको अर्थमा किन पनि हो भने त्यसले दुख्ने मानिसलाई आराम गर्ने, पुनर्ताजगी ल्याउन निदाउने सङ्केत दिइरहेको हो ।’ अति टाउको दुखाइ भएर मानिस किंकर्तव्यविमूढ हुनसक्छ र मानसिक रुपले विक्षिप्त भई जथाभावी व्यवहार गर्नसक्छ भने पुराना काल्पनिक तथा सजीव चित्रहरू मिसमास भएर उसलाई वास्तविक लाग्नसक्छ । त्यसैले आराम गर्ने र सकेसम्म निदाउन कोशिस गरेमा दुखाइ कम भएर फेरि चाँडैनै सामान्य स्थिति आउने हुन्छ ।

मस्तिष्क दुख्दैनः
कतिपय मानिसहरू नराम्रो घटनाले ‘चित्त वा मन दुखेको, दिमाग रन्केको र सोच्नै नसक्ने गरी मगज टनटन भई खलबलिएको’ भन्छन् । तर वैज्ञानिक तथ्यचाहिँ के हो भने हाम्रो दिमाग वा मस्तिष्कमा दुखाइ अनुभूत गराउने र लिने तन्तुहरू हुँदैनन् । टाउको दुखेको अनुभूत गराउने संवेदनशीलता त दिमागको बाहिरपट्टी सक्रिय रहेको किनारी (पेरिफेरल) स्नायु प्रणालीबाट उत्प्रेरणा पाएर भएको हुन्छ । खास दिमाग र बाहिरी किनारी स्नायु प्रणालीसँग सोझै सम्बन्ध प्रत्यक्ष रुपले नहुँदा पनि टाउको दुखेको कसरी थाह हुन्छ त भन्ने तथ्य अतिकम जानिएकाले त्यस्तो दुखाइमा उपचार गर्न कठिन भएको छ । वैज्ञानिकहरूले मुसामा गरेको अनुसन्धानले विशेष प्रकारको टाउको दुखाइले सकारात्मक र नकारात्मक सोचाइका श्रृङ्खला मिसमास हुने निक्र्योल गर्छन् । त्यसैले वास्तविक लाग्नेगरी दृष्टिभ्रममा पर्ने मनोविज्ञान बन्न थाल्ने दुखाइलाई अनौठो खालको स्वभाव देखाउँने भनि अलग्गै वर्गीकरण गर्न पाएका छन् ।

एकतिहाई माइग्रेन पीडित भनिएका मान्छेले अनुभव गर्ने टाउको दुखाइ अघि देखाउने लक्षणहरूमा विशेषगरी मुख तम्तमिदो भएर बान्ता हुन खोज्ने, उज्यालो, चहकिलोतिर हेर्न नसक्ने, जिउ सबै वा कुनै अङ्ग लाटो भएको अनुभव गर्ने हुन् । यस्तो लक्षणहरू पाँच मिनेटदेखि एक घण्टासम्म रहन सक्छ । यस्तो हुँदा दिमागले आफ्नो महत्वपूर्ण बाहिरी भाग कोर्टेक्सबाट फैलिने निराशाको लक्षणसहित मस्तिष्क शून्य भएको र केहि पनि चिन्तन नभएको अनुभूत गर्दछ । त्यसो हुनमा त्यस बेला अनुभवकर्ता रोगीको स्नायु गतिविधि अल्पकालका लागि बन्द भएकोले हो ।

माइग्रेन हुँदा बेस्सरी टाउको दुख्ने किन हुन्छ भन्ने कारणमा अनुसन्धानले थाहा पाइएको अनुसार मस्तिष्कदेखि मेरुदण्ड सम्मको ढुङ्ग्रोमा मगजबाट भित्री जैविक झोल चुहिने भएर मस्तिष्क र मेरुदण्डको बचावट गर्ने तिनका बाहिरी पत्रहरूमा रहेका स्नायुहरू उत्तेजित बनाइदिन्छ । अनुसन्धाता लिडरगार्डको समुहले त्यो मस्तिष्क-मेरुदण्डीय जैविक झोलले खप्पर र अनुहारलाई संवेदनशील बनाउने तिनसूत्रे स्नायुलाई जस्तै, उस्तै चुहावट भएर हो कि होइन भनि शोध गर्न चाहेका छन् । यो तिनसूत्रे स्नायु खप्परको मुन्तिर गाँठो बन्न गई मेरुदण्डतिर जाने सबै स्नायुहरूलाई समेटेको हुन्छ । यो तिनसूत्रे सार्वजनिक चौबाटोजस्तै केन्द्र संवेदनशील जानकारीलाई अनुहार तथा बङ्गाराबाट मगजतर्फ लैजाने काम गर्छ भने त्यसमा भएका पीडा र औडाहाका शोलालाई अनुभूत गर्ने आकाङ्क्षी हुन्छ ।

स्नायुको मुठोः
मस्तिष्क-मेरुदण्डीय झोलको सर्ने चलखेल र त्यसमा निहित बस्तुलाई अनुसन्धानकर्ता लेखकहरूले मुसाको शरीरमा देखिएको भनेका छन् । त्यस्तो जैविक झोलमा कुनै कुनै प्रोटिन सामान्य अवस्थामाभन्दा आधाकम मात्राको स्तरमा सघनता भएको पाइयो भने अरु प्रोटिन र खास गरेर पीडा फैलाउने प्रोटिन त दोब्बर बढिमात्रामा विकसित भएको देखियो । माइग्रेनको ओखती गर्नको लागि तिनै प्रोटिनलाई तह लगाउनुपर्ने ठम्म्याई अनुसन्धाताहरूको छ । अनुसन्धानको अवधिमा त्यस तिनसूत्री स्नायु गाँठोको वरपरी पहिले थाह नभएको खाली ठाउँबाटनै त्यो जैविक मस्तिष्क-मेरुदण्डीय झोल सबैतिरका स्नायुहरूमा जाने पत्तो लाग्यो । त्यसपछि उनीहरूले मेरुदण्डमा फैलिएको फरक-फरक सघनतायुक्त प्रोटिनका जैविक झोलले ती परीक्षणमा राखिएका मुसाका तिनसूत्रे स्नायु गाँठोलाई कुन-कुनले कस्तो प्रतिक्रिया देखाउन सघाउँछ भनि परीक्षण गरेर हेरे ।

मस्तिष्क-मेरुदण्डीय जैविक झोल बढेसँगै तिनसूत्री स्नायु गाँठोको गतिविधि बढ्छ र टाउको दुख्ने संवेदनशिलता तिनै स्नायु कोशहरूले जानकारी पठाएर पीडा थाह हुने रहेछ । तर मस्तिष्क-मेरुदण्डीय जैविक झोल प्रशारित भएको अढाई घण्टापछि त्यो झोलले भने उस्तै असर गर्ने प्रतिक्रिया भने पाइएन । जेजस्तो गुण भएका पदार्थ आएको जैविक झोल त्यस्तो प्रक्रियापछि स्तर ह्रास हुने देखियो । टाउको अति दुख्ने त्यसैले क्षणिक वास्तविक प्रक्रिया हो भन्ने ठम्म्याई निडरगार्डको रहेको छ । साथै मगजमा आउने परिवर्तनको असर वरपर ढाकिएका भागमा कसरी प्रभाव पार्छ भनि यस्तो अध्ययनले ठोस प्रकारको साम्भाव्यतालाई प्रष्ट उजागर गरिएको निक्र्योल गरेको छ । किङ्क्स कलेज लण्डनका स्नायुविज्ञ वैज्ञानिक फिलिप होल्याण्ड भन्छन्, ‘यो परिस्थितिमा स्नायु प्रणालीको विभिन्न अवयवमा अनावश्यक संवेदनशिलता प्रशारण भएर झन स्नायु कमजोरी हुने सम्भाव्यता बढ्ने कुरामा हामी सतर्क हुनै पर्छ ।’

अनुसन्धान पश्चात डा. डुस्सोरले अनुमान गरेका छन्, ‘मेरुदण्डीय जैविक रसले त्रिसूत्रे स्नायु गाँठोलाई उत्तेजित गराएर अरुभन्दा बढि टाउको दुख्ने गराइ पीडा गराउँछ भन्ने चाहिँ मूख्य अनुसन्धानको विषय हुनुपर्छ । त्यसो भएमा हामी माइग्रेन र अति पीडादायक टाउको दुखाइको औषधोपचार ठिक ढङ्गले गर्न सक्षम हुनेछौँ ।’ साइन्स पत्रिकामा (अङ्क ३८५, २०२४) रास्मुस्सेन र साथीहरूले लेखेका लेखमा पनि यस्तै कुरालाई बेजोडले उठाइएको छ । त्यसैले सबै भाग, एक पाखो वा एक भागमा अति दुख्ने टाउकाको ठिक र ठ्याक्कै ओखती नभएर दुखाइको प्रक्रिया साथै अवधि हेरेर अप्रत्यक्ष ओखतीले आजसम्म काम चलाइएको छ । तर मानिससँग नजिक पर्ने प्राणी माथिको उचित, अनवरत अनुसन्धान र फाप-अफाप परिक्षणले भविष्यमा भए पनि यस्तो समस्याको समाधान हुनेछ ।

पाकाको रिसः
अमेरिकीे बर्तमान प्रणालीमा सर्वसाधारण साथै पाका मान्छेका बारेमा धेरै बेवास्ता हुने भएर पाकाहरूले आफू सुरक्षित हुन जुक्ति-बुद्धिका उपायहरू लगाउन बाध्य भएको अवस्था सामाजिक सञ्जालमा अचेल छ्याप-छ्याप्ती हुन थालेका छन् । त्यस्ता घटनाहरूमा एउटा बहुप्रचारित हाँसोउठ्दो संवाद हाम्रो नेपालको अवस्थामा सान्दर्भिक हुनसक्छ । नेपालमा पनि बेलामौकामा एम्बुलेन्स र बिरामीलाई चाहिने अतिआवश्यक रगत नपाइने वा पाउनलाई कतै चाकरी गर्नुपर्ने साथै असल कामलाग्दो कुराको लागि चिन्हेकै हुनुपर्ने नियमजस्तै बनेको छ । हुँदाहुँदा आफैँले राखेको रकम धेरै पछि निकाल्न जाँदा परिचयपत्र देखाउनै पर्ने, पाको उमेरमा शारीरिक कमजोरीले फरक पर्ने हस्ताक्षरमा अनावश्यक झण्झट कौलासेर बैङ्कले हैरान पार्ने घटना सामान्य हुन् । अचेल बृद्धभत्ता बुझ्नजाँदा नागरिकता उमेरलाग्दै चारदशक अघि लिएका पाका मान्छेलाई ‘फोटो मिलेन्, हस्ताक्षर पनि मिलेन’ भनेर अल्झाई दिने र कसैको भनसुनमा मिल्ने त्यस्तै परिघटनाले सरकारले छर्ने ‘पहेँला अक्षेता’ जत्ति एक महिनाको ओखती किन्न पनि अपुग रकम रोकिएको सर्बत्र्र पिरलो भएको चर्चा छ ।

पुरुष ८७ वर्ष र महिला ८३ वर्षकी अमेरिकी पाका उमेरका जोडी सहरको किनारी भागमा बस्दथे । छोराछोरी बाबुआमाबाट पाउने सम्पत्ति लिएर अरुनै सहरमा र कोही त बिदेशमा अवसरको खोजी गर्दै गएर आआफ्नो घरजम गरी बसेका थिए । यदाकदा फुर्सद भए आउँथे नत्र ‘के जानु बाबुआमाका थोत्रा गफ सुन्न ?’ भनि आउँदैन थिए । बिचरा अति पाका दम्पती आफैँ जेसकेको गर्थे नसके सुरक्षा निकायलाई खबर गर्थे, पाका मान्छेका हतारो तथा दुखलाई सहयोगी निकायहरू आफ्नो अनुकुल सहयोग गर्न आउँथे । त्यस क्रममा घटेको एउटा घटना चाखलाग्दो देखिन्छ । एक रात सुत्नुअघि श्रीमतीले भनिन्, ‘सुन्नोस् त, साँझ भएपछि मैले घर-कम्पाउण्डमा हेरेँ, हाम्रो खत्र्याकखुत्रुक र मोटर राख्ने ग्यारेजमा बत्ती बलेको देखेको थिएँ, तपाइँ गएर निभाएर आउन सक्नु होला कि ?’ पाका श्रीमान सकिनसकी ओच्छ्यानबाट उठे, त्यता जान नपर्ला कि भन्ने सोच्दै सुत्ने कोठाकै झ्यालबाट चिहाएर हेरे । ओहो, त्यहाँ त पाँच-छ जना चोरहरू ग्यारेजको ढोका फोर्न खोज्दै पो रहेछन् भन्ने देखे । पाको मान्छेले हत्तपत्त कोठैमा रहेको फोनबाट नजिकको पुलिस चौकीमा खबर गरे ।

उनले चौकीमा भने, ‘मेरो ठेगाना लेख्नुहोस् आफ्नो घरमा बुढाबुढीमात्रै रहेको र रेखदेख गर्ने कोही नभएकोले तुरुन्त आइदिनु पर्‍यो । यहाँ हाम्रो घरको ग्यारेजमा पाँच-छ जना चोरहरू आएर ढोका र ताल्चा फोर्न खोज्दैछन्, त्यसैले एउटा पुलिस टोली पठाइहाल्नु पर्‍यो ।’ उताबाट फोन उठाउने चौकीका मान्छेले ती पाका मान्छेको आग्रहलाई त्यति विश्वास नगरेको भावमा अलमल्याउने हिसाबले भने, ‘निश्चय देखेकै हो र ? कहीँ रातमा दोछायाँ परेर झुक्किएको त होइन नि बा ! फेरि यसैबेला हाम्रो चौकीका सबै जवान अति महत्वपूणर् संवेदनशील गस्तिमा गएका छन्, म मात्रै छु, । मैले सम्पर्कको लागि तपाइँको फोन र घर ठेगाना टिपेको छु, गस्तिका कुनै टोलीसँग सम्पर्क हुनासाथ तपाइँको घरकम्पाउण्डमा पठाइ हाल्छु, नआत्तिनु होस् है !’ यता डाँडाका उज्याला जून जस्ता अशक्त अति पाका जोईपोइ सकिनसकी झ्यालको करेप्ने चरबाट एक आँखाले चिहाउँदै घरतिर पनि आए भने के गर्ने होला भन्ने खासखुस गर्दै लुगलुग कामिरहेका थिए ।

चोरहरू लगातार ढोका उघार्ने उद्यम गरेर एक पाखो अलिअलि उघ्रन थालेको देखेर उमेर धेरै र कमजोर भए पनि रिसाउँदै सुरक्षा निकायको ढिलाइको व्यवहारमा पुरुषलाई जङ्ग चलेछ । उनले जोईलाई खासखुस गर्दै भने, ‘तिनलाई म काम लगाउन जान्दछु, तिमी मलाई नकराऊ है ।’ तिनले स्विकृतिको टाउको हल्लाइन्, अनि पोइले तुरुन्त प्रहरी चौकीमा फेरि फोन गरे र भने, ‘भैगो तपाइँहरू विशेष काममा खटिएको बेला किन दुख दिउँ भन्ने लाग्यो, त्यसैले आफ्नो बन्दुक निकालेर टोटा भरेर पाँच जना चोरहरूलाई मैले ठाउँको ठाउँ ढलाइदिएँ । अब आइरहनु पर्दैन, हामी सुरक्षित छौँ भन्ने जानकारी दिनमात्र फोन गरेको हो, अन्यथा नलिनु होला !’ चौकीमा जवानहरूको हल्ला र गरमागरम कुराकानी भएको आवाज यता पुरुषले सुने र ईशारा गर्दै जोईको कानतिर सुनाउन फोनको सुन्ने ह्याण्डल लग्दै मस्किए ।

फोन राखेको पाँच मिनेटभित्रै प्रहरीहरूको एक टोली साइरन बजाउँदै दुइवटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूसहित उनीहरूको घर-आँगनमा आइपुगे । पाँचै जना चोरलाई बाटो छेकी घेरा हाली समाते र गिरफ्तार गरे । चोरहरूलाई हतकडी लगाएपछि सुरक्षा टोली नेता विष्मयको भावमा पुरुषतिर गए र सोधे, ‘साँच्ची फोनमा त तपाइँले पाँचै जना चोरलाई गोली हानेर मारेको भन्नु भएथ्यो । हामीले त पाँचै जना चोरहरूलाई जिउँदै पक्रन सफल भयौँ त ? के हो यस्तो ?’ पुरुषले हाँस्दै भने, ‘होइन, मैले तपाइँलाई पहिलो पल्ट फोन गर्दा तपाइँले चौकीमा कोही छैनन् सबै जरुरी काममा गएका छन् त भन्नुभयो तर धेरै जनाको बिच गफ्फिएको कल्याङ्गकुलुङ आवाज मेरो फोनमै सुनेथेँ । मान्छे हुँदाहुँदै तपाइँले पनि सबै संवेदनशील काममा खटिएको भन्नुभएथ्यो । अनि अन्यत्र महत्वपूर्ण काममा गएका हुँदा यत्रा बिघ्न जवानहरू कहाँबाट जम्मा गर्नुभयो नि ? भन्ने पो कुतुहल लागेको छ ! जसरी तपाइँका नभएका जवानहरू आइपुगे, त्यसैगरी मैले पनि चोरहरू मारेको नि, बुझ्नु भो हजुर तपाइँले !’ प्रहरी टोली प्रमुख बाको चलाखीमा नाजवाफ भई रातो मुख लाउँदै लुत्रुक्क परेर चोरहरू लिएर चौकीतिर फर्किए ।

थप कुराः
आफूले चाहेको कुरा नहुँदा रिस उठ्न सक्छ, कुनै अभीष्ट प्राप्तिका लागि गर्न खोजिएको प्रयाश पर्याप्त नपुगेकोले उचित उर्जा र तरिका लागु गर्न रिसका साथ लागिपर्नुको परिणाम राम्रो हुन्छ । व्यक्तित्व र सामाजिक मनोविज्ञान नामक जर्नल (२०२३) मा छापिएको एक अनुसन्धानात्मक लेखका अनुसार मन नलाग्ने तर राम्रो काम पनि दुखी भएर, दोमन गरेर गरिएको भन्दा गर्न सक्छु भनि रिस गरेर कस्सिनु र त्यसअनुसार काम गरेमा सफलता प्राप्त गर्न सजिलो हुन्छ । टेक्सास विश्वविद्यालयका अनुसन्धाता प्राध्यापक डाक्टर हिथर लेञ्चको नेतृत्वमा गरिएको अध्ययनले रिसले मानिसलाई उत्प्रेरकको काम गरेको देखाएको छ । उनी थप्छन् ‘अभीष्टलाई प्राप्त गर्न कठिनाई भइरहेको अवस्थामा आफू किन असमर्थ भएको भनि आफैँप्रति रिसगरी कोशिस गरेमा सफलता प्राप्त गर्न सकिन्छ । तर सजिलो काममा पनि आरिस गरेर सुरु गरेमा राम्रो क्रियाशीलता हुने छैन ।’

प्रतिस्पर्धात्मक र उपलब्धि प्राप्ति गर्ने अभिलाशाले सम्भावित राम्रो नतिजा दिने काम गर्नसक्छु भनि कस्सिने रिसले आफ्नो जीवननै अग्रगामी बन्ने अनुभव धेरैको हुन्छ । मूख्य कुरा रिसले आफूलाई खाने गरेर नकारात्मक सोचाइ राखेमा प्रत्युत्पादक हुन्छ भने डा. टाफ्राटले भनेझैँ ‘रिसले अङ्गीकार गरेको क्रियाकलाप उपयुक्त नभएर छाड्ने वा फरक ढाँचामा गरिनुपर्ने पनि जनाउँछ ।’ परीक्षणको रुपमा अलमल्याउने खेलमा ‘उमेरको कारणले गर्न सक्तैनन्’ भनि इख्याएको झाेंकमा प्रतिस्पर्धामा सामेल हुने पाका मान्छेहरूले आफ्नो जुक्तिबुद्धिले गरेको काममा ‘हलो न बलोका सोझा, इख नभएका’ भन्दा ३९ प्रतिशतले बढि पाकाले सफलता प्राप्त गरेको पाइयो । इख लिएर काममा लागेका मानिसहरूमा कामप्रतिको दृढता अति प्रबल रहेको देखिन्छ भने सामान्य देखिने मान्छेले काममा कुनै सक्रियता नलिएको पाइन्छ । तर सोचविचार बिनाको इख र रिसले भने काममा खलबलि नै ल्याउँछ र सफल हुन सकिन्न ।

अन्त्यमा,
सामान्य टाउको दुख्नु खानपान, आराम, निद्रा र मौसमको कारणले पनि हुनसक्छ । उचित व्यवस्थापनले यस्तो समस्या सजिलै हल हुन्छन् तर स्नायुजन्य उत्तेजना र जैविक रसको प्रशारणले हुने अतिकडा दुखाइमा परीक्षण गरेर अप्रत्यक्ष उपायको भर गर्नु पर्ने हुन्छ । सांसारिक मायामोह र सन्तानको अति मायाले उनीहरूका गतिविधि चित्त नबुझेर हुने टाउको दुखाइ फरक मनोवैज्ञानिक तथा समाजिक साथै व्यक्तिगत कारणले हो । हरेक कुरामा रिस उठ्नु प्रतिस्पर्धात्मक मनोदशामा सकारात्मक भए पनि नकारात्मक तर्फ ढल्किएको भए आफूलाई निलोकालो गराइ कुरुप बनाउनु हो । ‘रिस खा आफू, बुद्धि खा अरु’ गर्नुहुन्न, बरु रिसलाई इखमा परिवर्तन गरेर काम गर्न हौसिने र सफलतामा टुङ्याउन सकेसम्म प्रयत्न गरिनु पर्छ ।

रिस त जाँगर चलाउन, काममा लागिरहन साथै आफ्नो र बहुजनको हितमा सर्वमान्य हुन गर्नु समाजकै हितमा हुन्छ । एक बारको जीवनमा खान, पिउन, मोज गर्न र एक कालखण्डमा मर्न त भुसुनाले पनि आफ्नो जीवनमा गरेकै हुन्छ । सबै जीवित प्राणीमा सबैभन्दा बढि मस्तिष्क क्षमता भएको मान्छे त्यसमा पनि अनुभवले सुसम्पन्न पाका मान्छेले त कवै गर्दैनन् । अझ संयुक्त जीवनको चाहना राख्ने नेपाली पाकाहरू कम ज्ञानी छन र ? रिसयुक्त इखलाई सुझबुझकासाथ काम सल्ट्याउने जुक्तिमा परिवर्तन गरी सुरक्षित भएका देशको नोकरशाहीतन्त्र बुझेका ती अति पाका अमेरिकी दम्पतीलाई सलाम !

०००
साउन २५,२०८१
चालिसे डाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उमेरिएकालाई गोडाको सकस !

उमेरिएकालाई गोडाको सकस !

डा. मुकेशकुमार चालिसे
पाकाहरूमा आँखाका चार प्रमुख समस्याहरू !

पाकाहरूमा आँखाका चार प्रमुख...

डा. मुकेशकुमार चालिसे
को मूर्ख ?

को मूर्ख ?

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x