साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएका पाकाको पक्षमा गर्नसकिने कुरा !

नेपालमा भएका १०.४ प्रतिशत पाका महिला र पुरुष देशभित्रकै स्रोत साधनको सदुपयोगबाटै समृद्धि हुने आफ्ना छ दशक बढीको अनुभवले त्यत्ति गर्न गाह्रो छैन भनि ठोकुवा गर्छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

अहिलेका महिला र पुरुषहरूमा बालबालिका र पाका मान्छेहरू बाहेक सबै उमेरसमुहले पहिला नभए पनि अहिले आआफ्ना उमेरको स्वार्थमा स्वार्थन्ध भएर लाग्न सक्ने वातावरण नेपालीहरूले पाएका देखिन्छन् । नेपालमा संसदीय प्रजातन्त्र कराउन, लडभिड गर्न तथा समाजिक सम्बन्ध बढाउन सक्नेको नै व्यवस्था रहेछ । पछिल्लो कालखण्डमा ल्याइएको परिवर्तनले उफ्रिउफ्री भन्ने उपलब्धिका कुरा ‘कर्तव्यविहीन अधिकार’का नारामात्रै रहेछन् । निमुखा र अपहुँच भएका सर्वसाधारणका स्तरमा परिवर्तन ल्याउन होइन भन्नेनै हो भन्ने सन्देश अहिले पाका मान्छले पनि बुझ्दै छन् । साँच्चिकै प्रजातन्त्र भनिने पूँजीवादी देशमा भने जनताका समस्याले पिरोल्न सक्ने आँकलन गर्दै केही सुविधा बढाएर पैसाको लोभमा फँसाउने जाल चाहिँ लागु गरेका छन् । तर हाम्राजस्ता देशमा सायद समाजवादी किसिमको जनता पक्षीय निरङ्कुश शासन पो ठिक हुने देखिन्छ । त्यस्ता देशहरूमा पाका मान्छेका विरुद्ध गरिने हिंसामा कडा दण्ड दिनेमात्र होइन, बालबालिकाको उमेरदेखि विद्यालयमा आदर-मान र हितमा व्यवहार गर्न सिकाइन्छ, पढाइन्छ ।

भारतको स्थितिः
तेस्रो विश्वको देशमा गनिए पनि निकै राष्ट्रिय अहङ्कार र जातीय गौरवको फुइँ लगाउँदै अब विश्व स्तरमा आफू तेस्रो भएको घोषणा गर्ने इण्डिया ‘दुई ध्रुवीय होइन तीन ध्रुवीयमा बाँडिएको’ भनि विभिन्न मञ्चमा कुर्लिरहेछ । अनुसन्धाता डा. सयानी, डा. वरुण र डा. सुस्मिताले पाकाशास्त्र पत्रिकामा यही मे २०२४मा लेख छपाएका छन् । उनीहरूले इण्डियामा ग्रामीण क्षेत्रका उमेरिएका पाका मान्छे बारेमा शारीरिक स्तर र क्षमताको मूल्याङ्कनलाई ठिक किसिमले बुझ्ने कुरामानै कमजोरी रहेको भनी आँकलन गरेका छन् । आजसम्म गरिएका अध्ययनहरूको कमजोरी भनेको शारीरिक स्वास्थ्यको अवस्था केन्द्रित अध्ययन गरिएर ग्रामीण पाका मान्छेका व्यक्तिपरक स्तरलाई अनदेखा गरिएको पाइन्छ । यस्ता आँकडाले इण्डियाका पाका मान्छे बारेमा बेठिक डरलाग्दो प्रभावित गर्ने सूचनाहरू प्रवाह भएको छ । उहाँहरूको अनुसन्धानबाट समुदायमा बसोबास गरिरहेका ग्रामीण उमेरिएका मान्छेका कमजोरी र अभावलाई पाका मान्छे केन्द्रित कार्यक्रममा संलग्न तथा असंलग्न मान्छेका बिच तुलना गरेर प्रष्ट्याउन खोज्नु भएको छ ।

बहुप्रश्नावली भएको गुणस्तरीय सोधनी फारामबाट समूहगत तरिकामार्फत पश्चिम बङ्गालका गाउँमा ६०-८७ वर्षका पाका मान्छेसँग दुई वर्षको अवधिमा प्रत्यक्ष सोधपुछ गरियो । जम्मा गरिएका आँकडा र जानकारीलाई विषयगत आधारमा आँकडाको विश्वसनियता हुने गरेर विश्लेषण गरियो । उनीहरूको अनुसन्धानको सम्पूर्ण आँकडा विश्लेषण गर्दा तिन प्रमुख आग्रहहरू र विचार परिणामको निर्क्याैलमा देखा परे ।

१) उमेरिँदै जाँदा कमजोरी भन्ने कुराको आभाष, काम-कार्वाहीमा परनिर्भरता र विद्यमान मनोसामाजिक स्वस्थतासँग गाँसिएको हुन्छ ।
२) अमुक पाका मान्छेको वैचारिक घनिष्ठताको प्रभावहरू, उनको वैज्ञानिक चेतना सँगसँगै अनुभवका आधारमा निर्धारित भएको हुने देखिन्छ ।
३) हिँडाइको गति र टक्क अडिन सक्ने तागत कमजोरी जनाउने प्रमुख कारणहरूका अवयव मध्ये पर्दछन् । पाका मान्छेका हितमा विद्यमान कार्यक्रममा संलग्न र असंलग्न भएका उमेरिएका बिचमा बुझाइमा खासै भिन्नता उहाँहरूले यस अनुसन्धानबाट ननिक्लेको बताएका छन् ।

पाका-पाकीहरूले यसरी विविधता नअँगाल्नुमा विशेष गरेर कमजोरीको कारण बारेमा भिन्न आर्थिक-सामाजिक अवस्थारहेको अन्यत्र प्राप्त धारणालाई हाम्रो फरक परिस्थितिमा थोपर्ने भएकाले हो । हो, एउटा उल्लेखनीय कुरा के देखियो भने, उमेरिएकाहरूको हितकारी कार्यक्रममा अनुबन्ध भएकाहरूमा ज्येष्ठ नागरिकका बारेमा भनिएका परिभाषामा लचिलो मानसिकता रहेको पाइयो । त्यस्ता पाकाहरूमा आफ्नो उमेरसमूहलाई समग्र स्वास्थ्यको रक्षाका लागि नबुझे पनि अलिअलि फाइदा होला भन्ने सोचेर सक्रिय समर्थन गर्ने देखियो ।

यस अध्ययनले इण्डियाको परिप्रेक्ष्यमा यहाँको स्वास्थ्य प्रणालीमा यहीँको परिस्थिति भोगिएको आर्थिक-सामाजिक-चेतनाका आधारमा उमेरिएका प्रति गरिने ज्येष्ठ नागरिक सम्बन्धी हितकारी कार्यक्रम सञ्चालन गरिनुपर्छ । अहिलेसम्म विदेशीले जे जस्तो भन्छन् त्यही ठिक, उनीहरू जान्नेसुन्ने ठानेर सुगा रटाई जस्तो भएको र आफ्नो देश, समाज साथै स्थानीय विशेषतालाई अस्विकार गरी अन्धभक्त भएकाले गर्ने स्वभाव भयो । यस्तो तरिकालाई बदलेर विदेशीका राम्रा तथ्यहरूलाई आफ्नो परिस्थितिमा समावेशगरी संरचनामा लागु गरियो भने मात्र पूर्ण फलदायी हुनसक्छ ।

अमेरिकाको स्थितिः
अमेरिकामा पाका मानिसहरू फेरि काममा फर्किन थालेका छन् । त्यहाँ त वाणिज्य महासङ्घ जस्ता संस्थाले पनि अनुसन्धानमा लगानी गरी पाका मान्छेका गतिविधि र हैसियतबारे आँकडा सङ्कलन गरेर विज्ञहरू मार्फत देहको विकासमा सघाउँछन् । गत २०२३ को अन्त्यतिर प्रकाशित देशभरिमा सबैभन्दा बढी पाका मान्छेका कामदार जमातमा कुन शहर पर्छन् र कति प्रतिशत फेरि अर्थोपार्जन काममा सक्रिय हुन थालेका छन भन्ने तथ्याङ्क निकालेका छन् ।

उनीहरू काम गरिरहेको ठाउँमा सेवानिवृत्त उमेर ढिलो गरेर वा पाउने स्वेच्छिक अवकाश नलिएर वा फेरि काममा फर्किएर त्यस्तो सम्भव भएको छ । यस्तो परिस्थितिले पाका मान्छेलाई आफ्नो ज्ञान, सिप र अनुभव उपयोग गर्ने अवसर मिलेको छ भने उमेरिँदा पनि आर्थिक रुपले आत्मनिर्भर बन्न सघाएको छ । त्यसरी अमेरिकामा हरेक पाँचजना पाका मान्छेमा एक जना फेरि सक्रियताका साथ देश निर्माणमा योगदान दिन सक्षम छन् भन्ने देखिन्छ । यस्तो विचारलाई देश, समाज र व्यक्तिले आत्मसात गरेमा उमेरिएका मानिस आफू अझै उपयोगी भएको तथा समाजमा इज्जत रहेकोले सगर्व सक्रिय जीवन बिताउने छन् । समाजको सकारात्मक दृष्टिकोणबाट प्रोत्साहित भएर ‘पाको हुँदा निस्कृय र गनगने रोगी उमेर’ अस्विकार गर्ने मानसिकता बलियो भई आउँदा दिनहरूमा अझ सक्रिय उमेरिकाहरूको सङ्ख्यात्मक वृद्धि हुने आशा गर्न सकिन्छ ।

अमेरिकी श्रमिक तथ्याङ्क कार्यालयको जानकारी अनुसार यही स्थिति रहेमा सन २०३१ सम्ममा ६५-७४ वर्षको उमेर समुहका ३०.७% पाका मान्छेहरू सक्रिय कामदार भई अर्थोपार्जनले आत्मनिर्भर हुने भएकाले सरकारले वृद्धभत्ताको खर्च व्यहोरिरहनु पर्ने छैन । यसप्रकारको सोचाइले आवश्यक्ता अनुसार युवा कामदार आउँछन् नै साथै पाकाको भर्तीले ज्ञान सिपको सम्मानसहित अनुभवको पुस्तान्तरण गरिएको भन्न सकिन्छ ।

पाका मान्छे काममा फर्कने क्रम वृद्धि हुँदै गएको कारण सेवानिवृत्त योजना अनुसार जान इच्छा नगरी काम नियमित गर्न पाउने अवस्था आएकाले हो । कोरोना महामारीको बेला जीवनको मोह र सङ्क्रमणको डरले धेरै उमेर पुगेका मान्छेले काम छोडेका थिए । अहिले परिस्थिति सामान्य हुँदै गएकाले ठिक उल्टो सेवानिवृत्त नहुने कुराले ठाउँ पाएको छ । यसैबेला हिजो स्वेच्छिक अवकाश लिएका वा तत्कालिन नियमले अवकाशमा परेका पाका मानिसहरू काममा फर्किन चाहेमा मिल्ने नियमलाई अनुसरण गर्दै व्यक्तिगत साथै आर्थिक कारणले काम गर्नेको लहरमा मिसिएका हुनुहुन्छ । यस्तो आकर्षण लगातार थपिएर वृद्धि भएको छ भने यस्ले उमेरिएका कामदार मान्छेको सङ्ख्या त्यहाँ दिनदिनै उकालो लागेको छ ।

पाका मान्छेले सक्षम शारीरिक-मानसिक अवस्थामा काममा फर्किन खोज्नुले उमेरिँदा परनिर्भरता बढेको र आवश्यक आर्थिक व्यवस्था वचत नभएकाले इच्छा गरेका हुन् । यसरी धनी र विकसित भनिएको समाजमा पनि पाका मान्छेको अवस्था दयनीय भएको जनाउँछ भने बाँच्नका लागि सकिनसकी कमाउनुपर्ने बाध्यता रहेको देखिन्छ । केटाकेटी अवस्थामा बाध्यताले बाआमाको भर भएपनि तिनै बाबुआमा उमेरिँदा हेरिदिने परिवारमा कोही पाइन्न । यस्तो परिस्थितिमा सम्पन्न देशमा पनि देखिएकाले कुन शहरमा कति पाका मान्छे फेरि काममा फर्किएको तथ्यले प्रष्ट चित्र देखाउन मद्दत पुग्नेछ । अमेरिकामा ज्येष्ठ नागरिकहरू कहाँ-कहाँ काममा सक्रियतापूर्वक रहेका छन् भनि सबैभन्दा बढी भएका १७० शहरहरूको आँकडा तथ्याङ्क विभागले देखाए अनुरूप सूक्ष्मरुपले विश्लेषण गर्न अध्ययन गरियो ।

मुख्य उपलब्धिहरूः
देशभरिमा पाँचमा एकजना (२१%) पाका मान्छे ६५ वर्ष र नाघेका अझै काममा सक्रिय कामदार वर्गमा पर्दछन्, यो प्रतिशतले एक करोड अठार लाख सङ्ख्या हुन आउँछ । धेरै पाका मान्छेका पाँच ठूला शहरमा वासिङ्गटन डिसी राज्यका अलेक्सजेन्ड्रिया शहर एक नम्बरमा छ भने वासिङ्गटन डिसी शहर पाँचौमा पर्दछ । अन्यत्रका बिस वटा ठूला सहरमा डालास महानगरमा डालास र टेक्सास तेस्रोमा पर्दछन्, प्लानो टेक्सास छैठौँ नम्बरमा छ । टेक्सासकै अर्लिङ्गटन टेक्सास एघारौँ र फ्रिक्सो टेक्सास सत्रौँ स्थानमा देखिन्छन् । जनसङ्ख्यामा बढी भए पनि कुन शहरमा कामदार उमेरिएका मानिसहरू बढी छन् भनि हेर्दा वासिङ्गटन डिसीकै भित्र रहेका दुई ठूला शहरनै सूचीमा उपल्लो भागमा भेटिन्छन् । अलेक्सजेन्ड्रिया, भर्जिनिया देशको राजधानी शहरबाट आठ माइल दक्षिणतिर रहेका छन् र आफूलाई देशको सबैभन्दा बढी प्रतिशतमा उमेरिएका पाकालाई काम उपलब्ध गराएको दाबी गर्छन् ।

समग्रमा एकतिहाई (३६.८%) पाका मान्छेहरू अझै काममा संलग्न रहेको त्यो सहरको आँकडाले देखाउँछ । पाँच वर्ष अघिको २७.७% को तुलनामा ६५ वर्ष र माथिका उमेरिएका पाका मान्छे वासिङ्गटन डिसीमा अहिले २९.४% ले सक्रियतापूर्वक काममा लागेको देखिन्छन् । डालास महानगर भित्रका धेरै सहरहरू नयाँ नियमको परिधिमा रहेर सबैभन्दा बढि पाका मान्छे सिप, अनुभव र ज्ञानलाई उपयोग गर्न काम दिनेमा दावी गर्दछन् ।

डालास सहरमा मात्रै ३०% उमेरिएकाहरू ४४ लाख काममा सक्रिय रहेको पाकामा परेका छन् । डालासकै प्लानो टेक्सास सहरमा करिब २८.९% उमेरिएका पाकाले काम गरिरहेको देखिन्छ भने नजिकैको अर्लिङ्गटन, टेक्सासले पाकालाई झण्डै २७.१% काम दिएर एघारौँ स्थानमा रहेको छ । यस्तै फ्रिस्को टेक्सासले २६.२% पाका मान्छेलाई काम दिएर सत्रौँ स्थानमा परेको छ । ‘सधैँ घामलाग्ने शहर’ भनेर चिनिएको सेवानिवृत्तहरूको महत्वपूर्णर गन्तव्य रहेको फ्लोरिडा शहरले पाका मान्छेलाई काम दिने कुराको प्रवृत्तिमा छलाङ मारेर अघि आएको छ । तालाहास्से शहर बढी काम दिनेमा सूचीको दोस्रो स्थानमा छ र उमेरिएका पाका मान्छे काममा अझै सक्रिय रहेको ३०.९% देखिन्छ । यस प्रशङ्गमा पाका मान्छेलाई काममा लगाइएका पाँच वटा उपल्लो सूचीमा रहेका शहरमा अलेक्सजान्ड्रियामा जम्मा पाका मान्छे १९,७५० मध्ये ७,२७० पाकाले काम गरिरहेका छन्, जुन उमेरिएका कामदार मान्छेको सङ्ख्याको ३६.८% रहेको छ ।

दोस्रो सूचीमा परेको ताल्लाहास्से, फ्लोरिडामा रहेको सहरमा २४,४६० पाका मान्छेहरूमा काम गरिरहेका ७,५७० को सङ्ख्या ३०.९% हुन आउँछ । तेस्रो बढी पाका कामदारले सेवा गरिहेको सहर टेक्सासको डालासमा १,४५,२९७ पाका मान्छेमा सक्रिय काम गरिहेका पाका मान्छे ४४,३३२ भएकोले उमेरिएका पाकाको ३०.३% हुन आउँछ । चौथो स्थानमा क्यालिफोर्नियाको इर्भिन सहर आउँछ जहाँ ३१,९०५ पाका मान्छे बस्छन् र कामदार भई सक्रिय रहेका ९,६३९ छन जुन पाकाको ३०.२% हो । पाँचौ स्थानमा वासिङ्गटन डिसी ८५,६१५ पाका मान्छेको सहर देखिन्छ र २५,१८८ उमेरिएका पाकाहरू काममा सक्रिय छन् । पाकाले काम गरिरहेको प्रतिशत हिसाबमा २९.४ हुन आउँछ । प्रतिशतमा हिसाब आउँदा अरु शहरहरूमा पनि क्रियाशील उमेरिएका मान्छेको उत्साहजनक उपस्थिति पछिल्लो व्यवस्थाले गर्दा भएको पाइन्छ ।

पाका सक्रिय मध्ये कुन काममा सबैभन्दा बढी उमेरका मान्छेहरू छन् त भन्ने काैतुहल सबैलाई हुन्छ । त्यसैले उपरोक्त आँकडा निकाल्दै गर्दा अनुसन्धाताले पेसागत हिसाबले पनि विश्लेषण गरिएको थियो । श्रमिक तथ्याङ्क विभागको आँकडामा कृषि पेशामा संलग्न भएकाहरूको उपस्थिति उपल्लो तहमा मध्यम स्थानमा पाइन्छ । विशेषगरी किसानहरू, चरनको घाँसे मैदान चलाउने र अरु कृषिजन्य निर्देशक भएकाहरूको सङ्ख्या माथिल्लो तहमा मध्यम स्तरमा बढी भएर प्रतिशतमा यस्ता पाका मान्छेहरू ५६.२ रहेको देखिन्छ । अन्य व्यवसायमा अझै काम गरिरहेका पाका मान्छेहरूमा सार्वजनिक यातायात र विद्यालयका चालक, न्यायाधीश, भवन निर्माणका निरिक्षक, अचल सम्पत्ति वा ठूला उद्योगका सञ्चालकका साथै धार्मिक गुरुहरू प्राय पचास वर्ष माथिकानै उमेरअनुसारको प्रतिशतमा मध्यउच्चतम् तहमा स्थान ओगटेको पाइन्छन् ।

आर्थिक निर्भरता र व्यक्तिगत चाहनाका आधारमा नै कहिले कामबाट सेवानिवृत्त हुने भनेर सबैले आफैँ निर्धारण गर्ने हो । यस परिस्थितिमा मसक्क निर्णय गर्नु अगाडि वचत सम्पत्ति, सामाजिक सुरक्षा भत्ता, खर्च गर्नुनै पर्ने दैनिक आवश्यकता, आर्थिक तरलता र सेवानिवृत्त पछि सामाजिक जीवन बिताउने सोचमा गम्भीर रूपले विचार गर्नै पर्छ । अनुसन्धाताहरूले यस्तो खालको निचोड निकाल्न देशका १७० शहरमा बढी आवादी रहेका ६५ वर्ष र माथिका उमेरका पाका मान्छेका २०२१ को आँकडालाई आधारमा गरेका थिए । पाकाहरू मध्ये विगत बाह्र महिनादेखि सक्रिय कामकाजमा रहेका उमेरिएका कामदार महिला-पुरुषको वाणिज्य महासङ्घको अनुसन्धानकोे तथ्याङ्क विश्लेषण गर्न ध्यान दिएका थिए । पाका मान्छेको पक्षमा वकालत गर्ने संस्था ग्रे प्यान्थरले उल्लेखित तथ्याङ्कलाई उपयोग गरेर भनेका छन्, ‘उमेरिएकाहरूको साँस्कृतिक मनोभाव र सेवानिवृत्त हुँदाको अवस्था तथा एक्काइसौँ शताद्विमा अमेरिकीहरूको फेरिएको जीवन-चक्रको असरले आर्थिक क्षेत्रमा न्याय नभएकाले पाकाहरूको सुखमय हुने सकिरहेको छैन ।’

उपरोक्त कारणले अमेरिकीहरू धेरैले पाका मान्छेकालागि करमुक्त व्यवस्था सरकारले गर्नुपर्छ भन्ने विचारको प्रवल आस्थालाई स्विकार गरी आन्दोलनको रूप दिन खोज्दैछन् । यदि सरकारी गैरसरकारी संस्थाले ठूलो मात्राको लगानी गरेको छ भने कर्ताले आफ्नो व्यवसायमा वृद्धि गर्न करमा छुट वा आफ्नो तर्फबाट बेहोर्ने सुविधा दिनैपर्छ । यस्तो गरेमा कामदारहरूले अझ मिहेनत साथ कर्तव्य पालन गर्ने छन् र आफ्नो साथै सरोकारवालाको स्वर्ग पृथ्वीमै ओराल्ने छन् भन्ने सर्वसाधारणको रहेको पाइन्छ । तर जसरी किशोकिशोरीहरूले विद्यार्थी ऋण माफी गर्ने र शिक्षामा शुल्क वृद्धिको बढ्दो भार बारेमा आवाज उठाउन लाज मान्दैनन् त्यसै गरेर पाकाहरूले पनि आफ्नो हितमा आवाज उठाउन र अरु उमेरसमूहलाई समर्थनमा आउन आग्रह गर्ने सवालमा धक मान्नु हुँदैन । पाका भएकाले ‘के किशोरकिशोरी जस्तो उरन्ठेउलो हुनु ?’ भनि पछि पर्ने गर्नुहुन्न, समयअनुसार आफ्नो हक हितमा बोल्नैपर्ने व्यवस्थामा परम्परागत अदवयुक्त गम्भीरता काम नलाग्ने चरित्र हो । सरकारले नै मानवीय आधारमा व्यवस्था गरेका राजनीतिक प्रणालीमा भएका पाका मान्छेहरूले यस्तो टण्टा गरिरहनै पर्दैन किन बेफ्वाँकमा कोशिस गर्नु, होइन त ?

अमेरिकी पार्कभिल्लेका रिपब्लिकन सिनेटर टोनी लुइटेमिएरले पाका नागरिकहरूले तिर्नुपर्ने सबै कर माफी हुने प्रस्ताव राखेका थिए । दोस्रो वर्षमा दुवै सदनबाट प्रस्तावित विधेयक स्विकार गरी सरकारको ध्यानाकर्षणको लागि पेश गरियो । पछिल्लो वर्ष ६२ वर्षदखि माथिका पाका मान्छेका ठोस समस्या र कानुनीरूपमा मान्यता दिनुपर्ने सहुलियत बारेमा निर्णय गर्नुपर्ने बुँदा पहिल्याउन आग्रह गरियो । जेफर्सन सहरमा ज्येष्ठ नागरिकलाई उनीहरूको चलअचल सम्पत्तिमा करमुक्त गर्ने उपायकोरुपमा जति करलाग्ने आकलन गरिन्छ त्यो रकम सरकारले तिरीदिने प्रावधान हुनुपर्ने प्रस्ताव गरियो ।

यस प्रस्तावलाई नगरपालिका र वडा तहदेखि लागु गरेर तथा आन्तरिक राजश्व कार्यालयको सहमति भएको हुनैपर्छ । नभए त सरकारी विद्यालय र सार्वजनिक जनहितमा स्थापित प्रतिष्ठानहरूको आय कट्टी भएर बन्द हुने अवस्था पुग्नसक्ने खबरदारी पनि मनन् गर्नुपर्छ भनियो । बढी पाका मान्छे भएका अरु अमेरिकी शहरहरूमा ज्येष्ठनागरिकलाई करमुक्त गर्नेबारेमा तीव्र बहस तथा उपायबारेमा कोही त निर्णयमा पुगेका छन् ।

नेपालको स्थितिः
नेपाल पहिलेदेखि अन्तरराष्ट्रिय प्रभावबाट मुक्त छैन, आफुले नसक्ने र हैसियत नभएको कुरामा त विदेश घुम्न पाइने भएर सन्धिमा हस्ताक्षर गर्न हतार गर्छ भने पाका मान्छेका कुरामा अघि बढी हाल्छ । अहिले पाका मान्छे बारेमा अङ्ग्रेजीका सिनियर सिटिजनको रुपान्तरण गरी ज्येष्ठ नागरिक लोकप्रिय बनाएको छ । मन्त्रालय खडा गरी बेलाबेला तारे होटलमा चुनिएका मान्छे जम्मा गरी पाका मान्छे र पहुँच नपुगेका गरिब बुढाबुढीबारे अनुदान आएमा ‘यसो गर्छाैँ उसो गर्छाैँ’ भन्ने बक्तव्य बेलाबेला सुनिन्छ ।

शहर, बजारमा र मैदानी भागमा त सरकारी भत्ता लिन सहज होला भौगोलिक कारणले ८५% भन्दा बढी धरातल पहाड भएको नेपालमा सदरमुकाम जान सजिलो होला त ? यसैले कति ठाउँमा भत्ता लिन गएका र लिएर आएका पाका मान्छे लुटपाटमा परेका वा दुर्घटना परेका समाचार कति छन् कति । सबै ठाउँमा अधिकार होइन दान लिन गएझैँ भत्ता पाउन सकस भोगेकाले ‘वडावडामा घरघरमा गई वितरण गरौँ’ भन्ने पाकाहरूको सुझावलाई सुनेको नसुनैझैँ गर्न जनप्रतिनिधि तथा वडा कार्यालयले लाज मानेको देखिन्न । आग्रहलाई पञ्छाउन भनिएको ‘नयाँ नेपाली व्यवस्थामा’ पनि हाम्रा करबाटै जीविका चलाउने ठेट्ना-ठेट्नीले ‘माथि भन्नोस्, नियमले मिल्दैन’ भनि ओठे जवाफ लगाउँदा छ दशक पार गरेका पाका मान्छे निराश हुनुबाहेक के होला र !

‘नियमकानुन छ, हामीले यस्तो गरेका छौँ’ भनि भाषणमा जति उर्ले पनि नेपालमा अहिले तीसभन्दा बढि पाका बाआमाको बेवारिसे लाश महिनैसिच्छे भेटिएको खबर सामान्य भइसक्यो । हिजोआज त झन, उमेरिएका पाका मानिस बेलाबेला सुनसान जङ्गल र अपरिचित ठाउँमा लगि विभिन्न बहानामा छोडिदिने निर्दयी सन्तानहरू पो जन्माइरहेछ, निम्नपूँजीवादी सोचाइले ! गज्जबको निष्ठूर तथा मानवीय संवेदनारहित चिन्तन प्रणाली विकसित भइरहेछ प्रणालीका मालिकहरूको उल्क्याहटमा, के गर्न खोजेको होला ? बरू सामन्ती प्रणालीमा ‘बाबुआमालाई दुःख दिए पाप लाग्छ, जोरीपारीमा लाज हुन्छ !’ भनेर पाका बाआमा अलि असजिला भए पनि सहेर घरमै राख्थे, सकेको सेवा गर्थेँ । हिजो आज त आफ्नो व्यस्तता र अवसरको डिङ हाँक्दै सक्नेले पैसा तिरेर आश्रमतिर नसक्नेले सदावर्ते वृद्धाश्रमतिर पो घँच्याड्छन् बा ! होइन नेपाली समाज कता जाँदैछ ?

केही थप नगरेपनि पाका उमेरिकाहरूको कुरा सुनिदिए लाख हुन्छ नि ! मुख फर्काएर किन चित्त दुखाउनु ? सहयोग गर्न नसके उहाँहरूले दश नङ्ग्री खियाएर आर्जेको सम्पत्तिको आश नगरे हुन्छ नि, उहाँहरू सेखापछि सकेको सन्तानलाई छोड्न मन अमिलो पारी दान गर्ने मनस्थिति बनाउने अवस्थामा पुर्‍याउने अवस्थामा नपारे हुन्छ नि ! किन ‘खप्लक्क एकै पटक सबै खान सुनको फुल पार्ने कुखुरी जस्ता ज्ञान, सिप र अनुभवका खानी पाका बा-आमालाई’ अनावश्यक झण्झट ठान्छन् हँ ? समाजमा चिन्तन प्रणालीमा खोटा विचार हुल्नेलाई पाए अहिलेका पाका मान्छेले ‘नाङ्गेझार बनाई, बहुजन चिताएको समाज बनाउन आफ्ना हाड दधिचीलेझैँ घोटन छोड्थे र ?’ उहाँहरू परिवर्तन भनिएको कुरा सामाजिक व्यवहारमा हेर्न चाहानु हुन्छ, भाषणमा उलङ्घन होइन । एउटै कुरा उहाँहरू सदभाव र उमेरजन्य समान व्यवहार समाजमा रहोस अनि सबै उमेरसमूह निश्चिन्त रहने सम्मानसहितको समतामुलक स्थितिको आवश्यक्ता ठान्नुहुन्छ । के यस्तो सोच्ने पाका मान्छको चिन्तन खराब हो र ?

अन्त्यमा,
आजका पाका मान्छहरू शान्ति, समृद्धि र सामाजिक सदभाव चाहनु हुन्छ । भिक्षा दानजस्तो टपरे दक्षिणा होइन, समाज र परिवारको हितमा सकेको आफूले गरेकाले सेवानिवृत्त र अशक्त अवस्थामा सुखमय दिन चाहनु हुन्छ । पारिवारिक व्यवहारमा नरम आदरयुक्त हवस् भन्ने चाहनु हुन्छ, कम्तीमा आफ्नो कुरा नमाने पनि सुनिदिऊन् भन्ने खोज्नु हुन्छ । परिवारले ‘वचनमा दरिद्रपना नदेखाउन र उहाँहरू भोगेका राम्रा नराम्रा कुराबाट शिक्षाबाट सिकून्’ भन्ने चाहनु हुन्छ । यत्ति त गर्न सकिन्छ है, किन दुर्मुखा हुनु, उहाँकै सन्तान दरसन्तानले ? सकेको राम्रो पक्षतिर जोड गरे घाटा त पक्कै लाग्दैन बरु सन्ताष बढछ, बुझौँ ।

सरोकारवाला र तहबिलमा पहुच भएकाले दयालु भएको स्वाङ होइन, आफैँले बोलेका कुरा पुरा गरौँन, बोट तान्न धतुरे गफ नगरौँ । लोकलाज र आफ्नो हितमा विश्वले पत्याएका नियम सकार्ने मात्र होइन, देश भित्र ती कुरा कसरी कार्यान्वयन गर्ने भनी अध्ययन अनुसन्धान गराई व्यवहारमा पुरा गरौँ । त्यसो भए पो कोही जनताले नभोगेको तथा नगएको चुनावी झुट भाषणमा ‘काठमाडौँ मेलम्चीले पखाल्ने, स्विटजरल्याण्ड र सिङ्गापुर स्तरको बनाउने सपना’ बाँडिरहनै पर्दैन ।

नेपालमा भएका १०.४ प्रतिशत पाका महिला र पुरुष देशभित्रकै स्रोत साधनको सदुपयोगबाटै समृद्धि हुने आफ्ना छ दशक बढीको अनुभवले त्यत्ति गर्न गाह्रो छैन भनि ठोकुवा गर्छन् । कम्तीमा भोलि हरेक मानिस उमेरिएर पाको र अति पाको बन्छ, सबै उमेरसमूह पुग्ने जैविक प्रक्रिया अहिलेदेखि सोचे हुन्न ? टाठाबाठा र हाइहुकुमत भएका अहिलेका दलीय ठालु तथा साधारणको करमा बाँचेका सधैँ भिख माग्न मात्र जान्ने सरकारियाले, बेलैमा बुझे तिनको पनि भलाई हुन्छ, पाका नेपालीले त बुझिसके, ढिला नगर्दा नै राम्रो !

०००
साउन ३२, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x