उमेरिँदाको अनौठो आन्द्रे रोग !
विकसित मस्तिष्क भएको मानिसले अरुको त हेरचाह गर्न सक्छ भने आफ्नै प्रजाति, आफन्त तथा आफ्नै हितमा काम गर्न, भन्न र सकेसम्म सुविधामा रहनसक्ने इच्छा राख्नु अनौठो होइन ।
डा. मुकेश चालिसे :
उमेरिएका पाका र अतिपाका मान्छेका आन्तरिक स्वास्थ्य प्रणाली कमजोर भयो भने सबै कुराले मज्जाले दपेटन सक्छ । होइन के गर्नु ? साह्रै कमजोर र निश्चल हुँदा झिँगाले त पाखुरा सुर्किसुर्की निदाएको बेलामा अनुहारमा घरी यता घरी उता बसिदिएर हैरान पार्छ । त्यसै हो र, हर्केको सेवक बाँदरले जति गर्दा पनि मालिकलाई सुत्न नदिने झिँगाले नछाडेपछि नाकमा बसेको बेला काटिदिनु परेको ? कमजोर भएको वा हुँदै गएको अनुभूति भएपछि घरपालुवा र वन्यजन्तुले दिक्क भएको व्यवहार देखाउँछन् भन्ने यो सटिक उदाहरण हो । मान्छेले परिणामको सोचले गर्नुपर्नेमा धेरैजसो छिपछिपे कुरामा विश्वस्त हुँदै उल्लिँदै गर्छन् र ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेजस्तै भोग्न विवश हुन्छन् । त्यसैले अहिलेको विज्ञान र प्रविधिको युगमा हरेक राजनीतिक र सामाजिक समस्यालाई तथ्यका आधारमा वैज्ञानिक हिसाबले उजागर तथा समाधानका प्रयास गरिनु पर्छ ।
रगत बलियो हुन्छ भनेर फलामका किलाकाँटा खानु, प्रोटिनले तन्तुहरू नयाँ निर्माण र विकास गर्छ भनेर मासुबाहेक नखानु यस्तै डेढअक्कली कुरा हुन् । त्यस्तै, आँखा तेजिला र भिटामिन-डि बन्छ भनेर सूर्यतिर क्वरक्वार्ती सोझै हेरेर बस्नु र शरीर कालो हुनेगरी टट्टिनु त्यस्तै अनौठा अल्पबुद्धिका नमुना हुन् । हरेक समस्या मान्छेमा अल्पज्ञान, देखावा र ठस्साले उत्पन्न भइरहेको हुन्छ । अझ पाका महिला-पुरुषले वास्तविकतामा मात्र भरगरेर आफ्नो शरीर अनुकूल प्रमाणित कुरा मात्र प्रयोग गर्ने गर्नुपर्दछ । यो उमेर अब खेलाँचि गरेर हेर्ने समय होइन बरू अनुभव र ज्ञानले निर्देशित भएर चल्ने उमेर हो, है, त्यसमा विकसित यान्त्रिक र भौतिक विज्ञानका पद्धति-प्रविधिलाई आवश्यक भएमा, चाहेको प्रयोग गर्न पनि सिक्नै पर्दछ । पाको उमेरमा पहिले कहिल्यै नभोगिएका मात्र होइन, नसुनिएका रोग आफैँलाई पनि लाग्न सक्छ र थलापारेर मर्नु नबाँच्नुको अवस्थामा पुग्न सकिन्छ, सामाजिक राजनीतिक प्रणाली अमिल्दो भएका देशका रैति सरहका सर्वसाधारणले के के भोग्न बाध्य हुन्छन्, के ठेगान ?
आन्द्रे रोगः
पाचन प्रणालीको स्वचालित उत्प्रेरणाको गतिलाई बिग्रहमा पारी दुःख दिने आन्द्रे रोगलाई सेलियाक रोग भनिन्छ । यस रोगले पाचन प्रणालीको तल्लो भागमारहेका आन्द्रालाई उत्तेजित बनाएर असम्बन्धित लाग्ने अरु विभिन्न रोग लगाउन मलजल गर्छ । यसो हुनुमा प्रोटिनको लोभमा गहुँ, राई र बार्लीका परिकारमा हुने ग्लुटेन प्रोटिन नफाप्ने पाकाहरूले आफ्नो भोजनमा खानाले हो । भातको तुलनामा मकै राम्रो भनि एकोहोरो मकैमात्र खानेले लामो अवधि सेवन गरेमा शरीर र पिँडुलामा बिरालीपर्ने रोग लागेझैँ त्यस्ता खाना बढि खानेलाई यो आन्द्रे रोगले हैरान पार्दछ । ग्लुटेनले सानो आन्द्रामा पुगेपछि सोस्सिएर ए्रक प्रकाारको प्रतिरोधि क्रिया सुरुगर्ने हुन्छ । त्यस्को सोस्सिने प्रक्रियाले प्रतिक्रिया अझै बल्झाएर आन्द्राको भित्री सतहमा नोक्सान पुर्याउन सुरुगर्छ । यस्ले सानोआन्दाको पाचन प्रणालीको असाद्ध्य समस्याले प्रतिरक्षा प्रणालीमा बिगार आउने जटिलता सुरुगरी दिन्छ ।
प्राकृतिक खाद्य बस्तुमै पाइएको ग्लुटेन भएका बजारिया पाउरोटी, पातलो नुनिलो पापडी जस्ता रोटी (पस्ता), झुरुम-झुरुम बिस्कुट, केक र बार्ली, गहुँबाट बनेका अरु अल्पाहार वा शहरिया खाजा भनिएका खाद्यवस्तुमा पनि पाइन्छ । त्यसैले प्रोटिनयुक्त भनिएका भए पनि बजारी वस्तुले राम्रो होइन, नराम्रो गर्ने बुझेर कम्पनीको विज्ञापनको विश्वासको भरपरेर स्वास्थ्य बिगार्ने तिर नलागौँ । आन्द्राको भित्रीभागको घाउ र नोक्सानीले पखाला, थकान, तौल घट्ने र रक्तअल्पताहुने सम्भावना हुन्छ भने त्यस्ता बोलीका रोगका कारण प्रचलित ओखतीले निको नभएर समस्या भएका पाका मान्छे ओखती फेर्दाफेर्दा निको नभएर हैरान हुन्छन् । यस रोगको किटानी निकोपार्ने ओखती अझै पाइएको छैन, तर समस्या भएका मान्छेले ग्लुटेन प्रोटिन नभएका खानेकुरा सेवनगर्न थालेमा बिभिन्न हैरानी व्यवस्थित हुँदै जान्छन् । आन्द्राका घाउ र रोग बल्झिएको भाग निको हुँदै जान्छ ।
सामान्य लक्षणहरूः
बेलैमा व्यवस्थापन नगरिएको यो आन्द्रे रोगले पाचन प्रणालीलाई त गडबडी निश्चयरुपले तलमाथी पार्छ, पार्छ ! साथसाथै त्यसैको कारण शरीरका अरु अङ्ग र प्रणालीमा पनि बेठिक प्रभाव पार्न थाल्दछ । यो गडबडिया रोग बिस्तारित हुँदै पोल्ने कारण बन्छ भने यसैको प्रतिफल आन्द्रामा आइपुगेको खाना पचाएर पोषक पदार्थहरू सोसिन कमभएको कारणले कुपोषण हुनजान्छ । यस्तो भएको अवस्थामा थप ग्लुटेनयुक्त खाद्यले मानिसमा हुने स्वरक्षा प्रणालीलाई सजिलै आकर्षित गर्छ र उस्को प्रतिरक्षात्मक क्रियाकलापमा व्यवधान गराउन सक्छ । यसलाई हेलचेर्क्याइँ गरेमा समय बित्दै जाँदा सानो आन्द्राको भित्री सतह सबै बिगार्छ साथै पचाइएर शरीरमा सोसिन तयारी सबै प्रकारका पोषक तत्वहरू सोसिन नसक्ने स्थिति बन्न जान्छ । यस्तो नाकाबन्दीले शरीरमा कस्तो असर पर्ला ? के सबै प्रणालीमा कुप्रभाव नपार्ला त ? आन्द्रे रोग खाइकुफत भएर विविधप्रकारका स्तरमा खासै तोकिएको लक्षणमात्रै नहुने हुनाले कसैमा यो रोग दुःखदायी, असाध्य हुन्छ र कसैलाई सामान्य र कुनै लक्षण नै पनि नदेखाउने हुन्छ । त्यसैले चिकित्सकले बेलैमा उपचार र नियन्त्रण गर्न अलमलमा भई विभिन्न ओखतीको परीक्षण गर्दै प्रयास गर्नुपर्ने हुन्छ ।
पाचन सम्बन्धीः
यस आन्द्रे रोगबाट पाचन प्रणालीका अनेक एकअर्काका विपरित पनि समस्या हुनसक्छन् । यसको समस्या पाका मान्छेलाई मात्र होइन बालबालिकाहरूमा पनि देखिन सक्छ । कम उमेरकालाई ग्लुटेनयुक्त खाना लगातार केहिदिन ख्वाउनाले विभिन्न स्तर र लक्षणहरू भएको देखिन्छ भने पाकालाई शारीरिक कमजोरी र पाचनका समस्या हुँदा ग्लुटेन भएका खाद्यपदार्थको नियमित सेवनले हुनथाल्छ । प्राय पाका मान्छेमा देखापर्ने आन्द्रे रोगले विभिन्न प्रकारका पखाला चल्नु सामान्य लक्षण हो । ठाउँ न कुठाउँ, बेला न कुबेला पेट र आन्द्राले विद्रोह गरेर पचका लाग्ने वा अपचले अँचेटेर कता दिसा बसौँ ? भनेर खलखली पसिना काढ्ने गराउँछ । अनि पुरै पाचन प्रणाली हावाले भरिएर पेट दमाहा जस्तो बनाउन बेरै लाग्दैन अनी छटपटिएर थप आतुसले के गरौँ, कसो गरौँ ? को स्थितिमा पाका मान्छेले अटेसमटेस गरिरहेका देखिन्छन् ।
विभिन्न परिस्थितिमा आफूलाई लागेको प्वाक्क भनिहाल्न धक मानेर, नसक्ने पाका मान्छे बेलाबेला गुहुमुत जाङ्घेमा नै चुहाउन बेर लगाउन्नन् । वासस्थानमै घरीघरी शौँचालय धाइरहेका पाइन्छन् भने कहिले साँच्चै दिसा लागेर र कहिले चुर्ना परेको बेला गुँद्वार सगबगाई आए-आएझैँ भएकोजस्तो यस रोगमा पनि भएर त्यसो हुनसक्छ । यस्तो अवस्था भएका पाको उमेरिएकाले बारम्बार दिसाको दौडधुपको धपेडी र पौष्टिक पदार्थ नसोसिएको हुँदा कमजोर भई लखतरान पर्नु स्वभाविक नै हो । त्यसैले पाका मान्छे यो रोग लागेमा सधैँभरि थकाई लागेर शरीर फतक्क गलेको गुनगुनाई सानो काममा पनि पछि हट्छन् । शरीरको तौल दिन परदिन घटदै गइरहेको पाका मान्छे ठान्छन् र पातलो शारीरिक छवि देखिन लागेको परिवारले चाल पाउन थाल्छन् ।
बेलाबेला अपचले डम्म पेट फुलिरहेको देखिन्छ भने लगातार गन्हाउने अपान वायु विभिन्न गति र ध्वनिमा भइरहेको सुनिन्छ ।
त्यतिमात्रै होइन, पेटको तल्लो भाग सँधै कुटुकुटु दुखिरहेको, पोलेको र वायु चलखेलले ठाउँठाउँ सरेर दुखेको अनुभव भइरहेको हुन्छ । नाइटो तलमाथि दुखेर वाकवाकी लाग्ने र वायु भरिएर त्यो वायु घाँटीमा गुँडिल्कीएर हुक्कहुक्क भई बान्ताहुन खोजेको लक्षण देखापर्न थाल्छ । एकातिर अपचको पखाला लागिरहेको हुन्छ भने फेरी धेरै लागेको केही समयपछि दिसा बन्द भई एक्कै पटकमा कब्जियत भएर दिसा गर्न गाह्राे हुने अवस्था हुन पुग्छ । कतिपयलाई दुग्ध पदार्थले पेटका समस्याहरू समाधान गर्दछ भने, यो रोगको सिकारभएका पाका मान्छेलाई दुध मात्र होइन दुग्धजन्य पदार्थ कुनै नपच्ने र खाद्य विषाक्ततताले कुफतभएको जस्तै लक्षणहरू देखापरेको पाइएको छ । यसै रोगमा फेरी कहिले आउँमासी परेकोझैँ अति चिप्लो, च्यापच्यापलाग्ने दिसा पनि हुनसक्छ । अर्कोथरी लक्षणमा पखाला पनि पानीजस्तो, घरीघरी अपानवायु सामान्य छोडदा पनि चुहिने, कि एक्कैपटक भैँसीको गोबरझैँ थुप्रो गएर सञ्चोलाग्ने र कुहिएकोझैँ अति गन्हाउने दिसा लाग्ने हुन्छ । यस्ता लक्षणले निश्चय नै आन्द्रे रोगले च्याप्न थालेको सङ्केत गर्दछ भने विविध दिसाको कारण खासभएको के हो ? भन्ने अलमल सबैलाई हुनजान्छ ।
अप्रत्यक्ष लक्षणहरूः
पाचन प्रणालीको अस्तव्यस्तता नै आन्द्रे रोगका प्रमुख दुखदिने ठाउँ र लक्षण हुँदाहुँदै अरु विभिन्न असम्बन्धित लाग्ने लक्षणहरू देखिन पनि सक्छन् । यो प्रतिक्रियात्मक रोग लागेपछि पाचन प्रणालीभन्दा फरक पौष्टिक आहारा सोसिन कम भएकाले आधाभन्दा बढीे निम्नलिखित अनौठा लक्षणहरू देखापर्छन् ।
रक्तअल्पताः
यस्तो रोगलागेमा आन्द्राले पौष्टिक तत्व नसोस्नेभएर लौहतत्व पनि सोस्दैन र सामान्यतया रक्तअल्पता हुने गर्छ ।
हाड खिइनेः
पौष्टिक तत्व क्याल्सीयम लगायतको सोस्ने कमभएर हाड खिइने र कलिला बन्न थाल्ने ओष्टियोपोरोसिस रोग लाग्न सक्छ । प्राय जोर्नीमा भएर असाद्ध्य दुख्ने रोगबाट दुबै महिला पुरुष आक्रान्त बन्ने भएपनि महिलालाई बढी हुन्छ ।
छाला रोगः
चिलाइरहने, डाबर उठने, दरफर्याएको जस्तो राँटा देखिने, छेपारी कत्ला पलाउने जस्ता छालाका रोग हुनसक्छ । शरीरका छाती, पेट, पातो, ढाड र कोखामा देखिने डाबरहरू तिघ्रा, हातगोडातिर पनि ठाउँठाउँमा छुनासाथ देखा पर्छन् ।
घाउः
मुख भित्रबाहिर पोलेको, उकल्चेको र जुठो उथ्रेको जस्ता घाउहरू ओठ, गिजा, गाला र जिब्रोमा पलाउने हुन्छन् । पाचन प्रणालीको गडबडिले अति थकाईलाग्ने र टाउको रनक्क चिसोले दुखेझैँ दुख्ने भइरहने हुनसक्छ ।
स्नायुप्रणालीको क्षतिः
स्नायुप्रणाली फैलिएका विभिन्न भागमा विभिन्न स्तरको क्षति भएको पाइन्छ । विशेष गरेर हातगोडामा लाटोपना, रमरम पोल्ने, झम्झमाउने, सिरिङ्ग-सिरिङ हुने, झट्किने, हिँडाईमा असन्तुलन र वस्तुलाई नठम्याउने हुनसक्छ । नियमित यस्तो भइरहेमा आन्द्रे बाहेक स्नायुजन्य अरु वा हाडजोर्नीका रोगहरू सल्किने पनि सम्भावना रहन्छ ।
जोर्नी दुखाईः
यस रोगको असरले फियोको क्रियाशिलता घटने गर्दछ भने कलेजोले उत्पन्नगर्ने जीवरस (हर्मोन) बढाइदिन्छ । यसले गर्दा धेरै कुप्रभाव भएमा मादक पदार्थ सेवन नगर्नेलाई पनि कलेजोको सिरोसिस रोग लाग्न सक्छ । त्यस्तो दुखाई हाडजोर्नीका अङ्कुस र संयोजन गर्ने तन्तुमा समेत असर परेर खिइने साथै हाडनै जोडिने अवस्थाआई अतिदुख्ने हुन्छ ।
तौल कमीः
आन्द्रे रोगले विभिन्न समस्या निम्त्याउने तथा पोषक तत्व शरीरमा लाग्ने मौका नै नदिने भएर दिनदिनै शारीरिक तौल घटिरहेको देखिन्छ । धेरैनै तौल घटेमा शारीरिक कमजोरीले अन्य रोगको सङ्क्रमण सहजै हुनसक्ने अवस्था आउँछ । त्यो कमजोरीले आन्तरिक उर्जा घटेको र सङ्कलित मांसपेशी बिस्तारै घटेर लुलो तथा काम गर्न नसक्ने हुन सक्छन् ।
बाथरोगः
हातखुट्टाका जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने, हिँडन, बसउठ गर्न गाह्रो हुने रोगलाई आमबाथ, गठिँया, खडजुरो, र बाथ भनिन्छ । विश्वभरीमा तिन अरब पचास करोड मानिसमा बाथ रोगको कुनै नकुनै प्रकारको भएको छ भन्ने आँकडा छ भने पाका मान्छेमा उमेर धेरैहुन थालेपछि सामान्यतया जिउ, हात र गोडाका ससाना जोर्नी दुख्ने गुनासो नेपालमा सामान्य हुन्छ । आन्द्रे रोगले शरीरको धेरै चल्ने जोर्नीका हाड खिइने हुनाले बाथ रोगले समस्या आउन सक्ने पनि हुन्छ ।
उन्मादः
आन्द्रे रोगले पाका मानिसमा लगातारका शारीरिक दुर्बलताले मानसिक चिन्ता बढने, दिक्कलाग्ने, झर्को लाग्ने, बेला- बेला मानसिक स्थिति परिवर्तन भई घरी हाँस्ने र घरी उदास हुने अवस्था देखिन्छ । लगातारको आन्द्रे रोगको असरले शारीरिक मात्र होइन, मानसिकरुपले पनि कमजोर र तनावग्रस्त बनाएको हुन्छ भने बिर्सने रोगलाग्ने सम्भावना पनि हुन्छ ।
मैनावारीः
महिलाहरूमा आन्द्रे रोगको प्रकोप छ भने उमेरमै पनि मैनावारी गडबडिएर कहिले चाँडै हुने कहिले ढिलो ढिलो हुने गर्दछ । कहिले गर्भवती भएझैँ रोकिने वा बिचबिचमा नहुने पनि भएको देखिन्छ । पोषण तत्वको कमीले जैविक प्रक्रियामा बाधा पुर्याउन थालेको सूचना यसले दिएपछि रोगलागेका महिलाहरू अझ सतर्कभएर उपचारमा लागिहाल्नु पर्छ । पाका महिलामा बेलाबेला कमजोरीले सेतो कालो पानी देखिने, बग्ने र जीउ गलेर खिर्लिक्क देखिने अनुहार हुन्छ ।
प्रजननः
आन्द्रे रोगले च्यापेको बेलामा प्रजनन् क्षमतामा ह्रास आएर महिला-पुरुष दुवैमा प्रजनन हुने र गर्भ नबस्ने हुन्छ । यदि गर्भ रह्यो भने पनि पोषणको अभावले महिलाको अधिग्रो बारम्बार जाने समस्या धेरैमा पाइन्छ । आन्द्रे रोग लागेका र ढिलो निको भएका महिलामा गर्भ सुरक्षित नै रहे पनि बिभिन्न लक्षणको कुप्रभावले शिशुको जन्म बेलामा आमा शिशु दुवैले निकै दुख पाउने र असामान्य स्थिति हुनसक्छ । यसो हुनुमा कुपोषण र शरीरको आन्तरिक रक्षा प्रणालीमा ग्लुटेन प्रोटिनले प्रभाव पारेर नै भएको हुन्छ । त्यसबाहेक वयस्कको उत्तरार्ध नपुग्दै महिलाहरू रजोनिबृत्त हुनु यहि रोगको कारणले हुने गर्छ ।
असजिलो समयः
ग्लुटेनको आन्तरिक प्रतिक्रिया भई असर शुरु हुने समय सबै व्यक्तिमा फरक समय र तरिकाले हुनेगर्छ । कोही शारीरिक क्षमता सन्तुलित र दुरुस्त हुनेलाई ग्लुटेनको खाद्यले केही नहुन सक्छ । कसैलाई केहीदिन पछि र कसैलाई भोलिपल्ट नै मात्र देखापर्न सक्छ । कसैलाई ग्लुटेनको प्रभाव सहनै नसक्ने भएर त्यस्तो पदार्थ सन्निहित खाद्य सेवनको दुइतिन घण्टामा देखिन थाल्छ । फेरि ग्लुटेनको शारीरिक प्रतिक्रिया पनि व्यक्तिपिच्छे फरक-फरक चरित्र र लक्षणहरू भएको देखिएको छ ।
उपचारः
यो आन्द्रे रोगलाई आफैँ जान्नेभएर यस्तै हो भन्दै सोच्ने गल्ती गर्नुहन्न । यस्तो डेढअक्कली स्वभावले धेरै खतरामा पर्न सकिन्छ । आफ्नो र परिवारको खाइकुफतमा अनौठा खालका अमिल्दा लक्षणहरू देखिन थाले साथै विशेषगरी पाचन प्रणालीको गडबडी पछि ती सुरुभएका छन भने आन्द्रे रोग होकि भनि निक्र्योल गरी उपचार गर्न चिकित्सकलाई भेटनै पर्छ । सामान्य अपचको समस्या भनेर गाउँघरमाझैँ ‘उल्टा एक मात्रा खाएर भाग्छ’ भनी हेलचेर्क्याइँ गर्नुहुन्न । हार्वार्ड मेडिकल स्कूलको ‘उत्तेजना सहितको दुखाई विरुद्ध सङ्घर्ष’ बारेको अध्ययनभएको विशेष प्रतिबेदनबाट जानकारी लिनु लाभकारी हुनेछ । यस आन्द्रे रोगको सोझो तोकिएको ओखती नभएकाले यसलाई हुन नदिनु नै प्रमुख निराकरणको उपाय हो । त्यसकालागि चिकित्सकको सल्लाहमा रोग भएका बिरामीले खाने वस्तुमा ग्लुटेन नभएका खाद्यसामग्री प्रयोग गर्ने बानी बसाल्ने नै प्रमुख ओखति भएको देखिन्छ । ग्लुटेन नभएको खाद्यपदार्थको सेवनले विभिन्न लक्षणहरू बिस्तारै सुधारहुँदै जान्छन् र रोगनै हराई निमिट्यान्न खलास हुन सक्छ । तर ‘अब केही हुन्न’ भनि ग्लुटेनयुक्त खानामा मुखथाम्न नसकी लोभिएमा फेरि आन्द्रे रोगले पुरानै सकसले दुखदिन सक्छ । एक पटक भएर दुख पाएकाले चिकित्सकलाई समेत अलमलमा पार्ने यो रोगको जीवनभरिको निदान भनेको ग्लुटेनयुक्त खाद्यको सधैँलाई वहिस्कार गर्नुमात्र देखिन्छ । एकफेर चेतेपछि उमेरिएका पाका मान्छेले त सिक्नैपर्छ, जीवन धेरै छैन है, खानाकै कारणले त के जीवन सक्नु ? बानी सच्च्याउने र ‘जीब्राको बश पर्नुहुँदैन भन्ने लोकोक्तिबाट सिक्न पाका मान्छे उम्दाछन’ भन्ने पार्नैपर्छ !
ग्लुटेनरहित खाद्यः
आन्द्रे रोगको जड भनेकै ग्लुटेनभएको खाना भएकाले त्यो प्रोटिनरहित खान खोज्नु निकै गाह्रो परीक्षा आफैँ हो भने सिमित वस्तुमा रहनुपर्ने बाध्यता पनि हो । त्यो खराब प्रतिक्रिया सुरु गराउने प्रोटिन नभएका धेरै स्वस्थकर र स्वादिष्ट खाद्यवस्तुहरू प्राकृतिकरूपमै पाइन्छन् । खर्चबर्चको हिसावले किफायती र स्वास्थको हिसावले सुरक्षित ग्लुटेनरहित प्राकृतिकरूपमा पाइने खानामा निम्न समुहका खानेकुरा रोज्नु फाइदा पुग्ने हुन्छ । ताजा सबै मौसमी फलहरू, हरिया सबै सागपात र तरकारीहरूमा ग्लुटेन नपाइने हुनाले स्वस्थकर हुन्छन् । चौपाया र हाँस-कुखुराको मासु सिमित मात्रामा खानु अन्य समस्यामा जस्तै राम्रो मानिन्छ । माछा र समुद्री झ्याउका खाद्यसामाग्रीमा ग्लुटेन नहुने हुनाले सेवन गर्दा रोग उब्जाउने कारण बन्दैन ।
फाप्नेले सिमित दुग्धजन्य वस्तुका सेवन केही गर्नाले समस्याले अप्ठ्यारो हुन्न तर बढिले बिगार्न सक्छ । सुरक्षित अरु अन्नमा दुइदलीय बियाँ हुने गेडागुडी, सिमी, बोडी, चना, भटमास, केराउ, राज्मा, दलहन, आदि सुरक्षित वस्तु थप समस्या नभए जत्ती सेवन गर्न सकिन्छ । त्यस्तै बदाम, पेस्ता, ओखर, कटुस, लगायत गुदी खाने बियाँहरू स्वस्थकर ग्लुटेनरहित खाद्य सामाग्रीमा पर्छन् । भर्खरका कलिला मुण्टाका स्तरमा पुगेका गहुँ र जौका घाँस-पालुवामा ग्लुटेन हुँदैन, त्यसैले विभिन्न तरिकाले खाएमा फाइदा लिन सकिन्छ तर तिनका गेडामा ग्लुटेन हुने हुनाले गेडालाई सिङ्गै वा पिँधेर बनाइएका विभिन्न मिठा परिकारले बेफाइदा गर्ने हुन्छ । धेरै प्रक्रियाबाट बनाइएका ती गेडाका परिकार कहिलेकाही खान त हुन्छ तर लगातार खानाले ग्लुटेनको मात्रा बढन गई रोग बल्झिन सक्छ ।
दानेदार प्राकृतिक/कृषि उपजमा थरीथरीका ग्लुटेनरहित अन्नहरू हाम्रै वरपर भेटिन्छन् । आफुलाई अप्ठ्यारो पर्दा कम खेती हुने र उत्पादन भएर कम मात्रामा पाइए पनि बजारका खाद्यान्न पसल वा कृषि हाटबजार वा गाउँघरतिरबाट सोधिखोजी गरी किनेर ल्याई खानाको जोहोगर्न सकिन्छ । ती अन्नलाई विविध तरिकाले पकवान बनाएर स्वादिष्ट तरिकाले खाएर पौष्टिक आहारको आपूर्ति हुन सक्दछ । निम्नलिखित अन्न उपयोग गरेमा ग्लुटेनको पिडादायी समस्या भोग्न नपर्ने हुन सक्छ । सबै किसिमका केराउ र अरु दुइदलीय गेडागुडी सहित माड निस्कने, स्टार्च भएका अन्नहरूमा ग्लुटेन पाइन्न र समस्यामा उपयोगले रोगबाट उम्कन सजिलो हुन्छ । त्यस्ता अन्नमाः लट्टे, पानीफल (स्वादविहीन साना तरुलजस्तो), दलहन, मस्याङ, भटमास, फापर, च्याँख्ला, कसावा, मकैको माड, चिउरा, जै, कोदो, ग्लुटेनरहित जौ, विभिन्न बियाँ, सेतो र खैरो चामलको ग्लुटेनरहित पिठो, आलु, कोदो, जुनेलो, चिनु, बाजरा, सावदाना, युक्का आदि खानाले यो रोगलाग्ने सम्भावना कम हुन्छ र भएमा निको हुन्छ ।
अन्त्यमा,
उमेर छिप्पिँदै जाँदा नियमित व्यायाम र उचित खानपानको अभावले विभिन्न शारीरिक रोगव्याध सङ्क्रमणको सम्भावना बढ्दै गएको हुन्छ । बेलैमा परिवारको शारीरिक र मानसिक समस्याको निदान तथा उपचारमा ध्यान दिई हुर्काउनु पर्छ । साथै परिवार फैलिँदै जाँदा पाका भएका अग्रजहरूलाई लाग्न सक्ने रोगहरूबारे चनाखो रहने काम घर चलाउने जिम्मेवारले लिनैपर्छ । खानाको रूपमा परम्परादेखि प्रयोग भइरहेका खाद्यपदार्थहरूले गर्न सक्ने अप्ठयारोलाई समन गर्न परिकार नहिचकिचाई फरक गर्नुपर्ने भएमा सचेत रहनुपर्छ । शरीरका विभिन्न प्रणालीको समस्या पर्न थालेका छन् भने सकेदेखि आवधिक जाँच-परिक्षण गराएर हुनसक्ने रोगमा पूर्वसतर्क रहनुपर्छ । भइरहेका रोगव्याधको नियमित, आवश्यक उपचारको व्यवस्था तथा औषधिमूलोको प्रयोग नछुटाई गर्न रेखदेख गरिरहनु पर्छ ।
बदलिँदो परिस्थितिमा खानपान र ओखतिमा समेत नकारात्मक असरगर्ने अखाद्य पदार्थ मिसाइने अपराध सार्वजनिक भइरहेको अवस्थामा छ । सकेसम्म परिवारले नै नसके उमेरिएका पाका मान्छेका लागि भए पनि जैविक र प्राकृतिकरूपले उब्जाइएका खाद्य उत्पादनहरू प्रयोग गराउन कोशिश गरिएको हुनुपर्छ । त्यस्तै खानपानको तालिकामा नियमितता र अटुट व्यवस्था भएमा पाका मान्छेलाई अप्ठ्यारो नपर्ने भइ स्वास्थको बचावट हुने तथ्य घरव्यवस्था मिलाउनेले हेक्का राख्नै पर्छ । नियमित उचित व्यायाम साथै चलखेल, उज्यालो बस्ने कोठा र घामको पउल पाउने व्यवस्था गरिदिनै पर्छ । घरमा सौहार्द, आशावादी वार्तालाप र चलखेलले उमेरिएका पाका महिला-पुरुषमा बाँच्ने रहर तथा आपसी स्नेह बढ्ने भएर आयु लम्बिन सक्छ साथै कलह नबढेर सबै पारिबारिक सदस्यहरूको सुस्वास्थ, प्रगति र दीर्घायु हुने अवसर पाउने हुन्छ ।
जीवित, सबैभन्दा विकसित प्राणी मानिसलाई रोगव्याध र असजिलो आउँछन, जान्छन् । विकसित मस्तिष्क भएको मानिसले अरुको त हेरचाह गर्न सक्छ भने आफ्नै प्रजाति, आफन्त तथा आफ्नै हितमा काम गर्न, भन्न र सकेसम्म सुविधामा रहनसक्ने इच्छा राख्नु अनौठो होइन । आफ्ना अवैज्ञानिक पूर्वाग्रहको घनचक्करको भूँवरीमा रुमल्लिने होइन बहुजनहितमा आफ्नो बल, बुद्धि र सदिच्छा राख्न नबिर्सनुहोस् । आफूभन्दा उमेरमा सानाले भनेको मान्नुहुन्न भन्ने छैन वा सानाले कुनै विषयमा विज्ञता हासिलगरेको भए पनि सबै कुरामा जान्ने हुन्छ भन्ने पनि छैन । ‘फोहोरबाट पनि मोहोर हुन्छ, अर्ती भनेको सानाको पनि लिनुपर्छ’ भन्ने लोकोक्ती त्यसै चलेको छैन, गम्भिरतापूर्वक गुह्य मर्मसहित बनेको छ । उमेरिँदा लाग्ने रोग र सम्पूर्ण समस्याका समाधान पाका मान्छे र विज्ञहरूबाट लिन सकिन्छ है ! अनुभवसिद्ध तथा विज्ञबाट भनिएका सल्लाह अक्षरस पालन गरौँ, अचेल शताव्दि दिव्य महिला-पुरुष बन्नेको हारमा हामी पृथक किन बस्नु हँ ? हामी त तयारीकासाथ जीवन सङ्घर्षमा पछि हटनेमा पर्ने कुरै छैन नि, होइन र ?
०००
चालिसे डाँडा, ललितपुर
मङसिर ५, २०८१
Subscribe
Login
0 Comments
Oldest