साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिँदाको अनौठो आन्द्रे रोग !

विकसित मस्तिष्क भएको मानिसले अरुको त हेरचाह गर्न सक्छ भने आफ्नै प्रजाति, आफन्त तथा आफ्नै हितमा काम गर्न, भन्न र सकेसम्म सुविधामा रहनसक्ने इच्छा राख्नु अनौठो होइन ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

उमेरिएका पाका र अतिपाका मान्छेका आन्तरिक स्वास्थ्य प्रणाली कमजोर भयो भने सबै कुराले मज्जाले दपेटन सक्छ । होइन के गर्नु ? साह्रै कमजोर र निश्चल हुँदा झिँगाले त पाखुरा सुर्किसुर्की निदाएको बेलामा अनुहारमा घरी यता घरी उता बसिदिएर हैरान पार्छ । त्यसै हो र, हर्केको सेवक बाँदरले जति गर्दा पनि मालिकलाई सुत्न नदिने झिँगाले नछाडेपछि नाकमा बसेको बेला काटिदिनु परेको ? कमजोर भएको वा हुँदै गएको अनुभूति भएपछि घरपालुवा र वन्यजन्तुले दिक्क भएको व्यवहार देखाउँछन् भन्ने यो सटिक उदाहरण हो । मान्छेले परिणामको सोचले गर्नुपर्नेमा धेरैजसो छिपछिपे कुरामा विश्वस्त हुँदै उल्लिँदै गर्छन् र ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेजस्तै भोग्न विवश हुन्छन् । त्यसैले अहिलेको विज्ञान र प्रविधिको युगमा हरेक राजनीतिक र सामाजिक समस्यालाई तथ्यका आधारमा वैज्ञानिक हिसाबले उजागर तथा समाधानका प्रयास गरिनु पर्छ ।

रगत बलियो हुन्छ भनेर फलामका किलाकाँटा खानु, प्रोटिनले तन्तुहरू नयाँ निर्माण र विकास गर्छ भनेर मासुबाहेक नखानु यस्तै डेढअक्कली कुरा हुन् । त्यस्तै, आँखा तेजिला र भिटामिन-डि बन्छ भनेर सूर्यतिर क्वरक्वार्ती सोझै हेरेर बस्नु र शरीर कालो हुनेगरी टट्टिनु त्यस्तै अनौठा अल्पबुद्धिका नमुना हुन् । हरेक समस्या मान्छेमा अल्पज्ञान, देखावा र ठस्साले उत्पन्न भइरहेको हुन्छ । अझ पाका महिला-पुरुषले वास्तविकतामा मात्र भरगरेर आफ्नो शरीर अनुकूल प्रमाणित कुरा मात्र प्रयोग गर्ने गर्नुपर्दछ । यो उमेर अब खेलाँचि गरेर हेर्ने समय होइन बरू अनुभव र ज्ञानले निर्देशित भएर चल्ने उमेर हो, है, त्यसमा विकसित यान्त्रिक र भौतिक विज्ञानका पद्धति-प्रविधिलाई आवश्यक भएमा, चाहेको प्रयोग गर्न पनि सिक्नै पर्दछ । पाको उमेरमा पहिले कहिल्यै नभोगिएका मात्र होइन, नसुनिएका रोग आफैँलाई पनि लाग्न सक्छ र थलापारेर मर्नु नबाँच्नुको अवस्थामा पुग्न सकिन्छ, सामाजिक राजनीतिक प्रणाली अमिल्दो भएका देशका रैति सरहका सर्वसाधारणले के के भोग्न बाध्य हुन्छन्, के ठेगान ?

आन्द्रे रोगः
पाचन प्रणालीको स्वचालित उत्प्रेरणाको गतिलाई बिग्रहमा पारी दुःख दिने आन्द्रे रोगलाई सेलियाक रोग भनिन्छ । यस रोगले पाचन प्रणालीको तल्लो भागमारहेका आन्द्रालाई उत्तेजित बनाएर असम्बन्धित लाग्ने अरु विभिन्न रोग लगाउन मलजल गर्छ । यसो हुनुमा प्रोटिनको लोभमा गहुँ, राई र बार्लीका परिकारमा हुने ग्लुटेन प्रोटिन नफाप्ने पाकाहरूले आफ्नो भोजनमा खानाले हो । भातको तुलनामा मकै राम्रो भनि एकोहोरो मकैमात्र खानेले लामो अवधि सेवन गरेमा शरीर र पिँडुलामा बिरालीपर्ने रोग लागेझैँ त्यस्ता खाना बढि खानेलाई यो आन्द्रे रोगले हैरान पार्दछ । ग्लुटेनले सानो आन्द्रामा पुगेपछि सोस्सिएर ए्रक प्रकाारको प्रतिरोधि क्रिया सुरुगर्ने हुन्छ । त्यस्को सोस्सिने प्रक्रियाले प्रतिक्रिया अझै बल्झाएर आन्द्राको भित्री सतहमा नोक्सान पुर्‍याउन सुरुगर्छ । यस्ले सानोआन्दाको पाचन प्रणालीको असाद्ध्य समस्याले प्रतिरक्षा प्रणालीमा बिगार आउने जटिलता सुरुगरी दिन्छ ।

प्राकृतिक खाद्य बस्तुमै पाइएको ग्लुटेन भएका बजारिया पाउरोटी, पातलो नुनिलो पापडी जस्ता रोटी (पस्ता), झुरुम-झुरुम बिस्कुट, केक र बार्ली, गहुँबाट बनेका अरु अल्पाहार वा शहरिया खाजा भनिएका खाद्यवस्तुमा पनि पाइन्छ । त्यसैले प्रोटिनयुक्त भनिएका भए पनि बजारी वस्तुले राम्रो होइन, नराम्रो गर्ने बुझेर कम्पनीको विज्ञापनको विश्वासको भरपरेर स्वास्थ्य बिगार्ने तिर नलागौँ । आन्द्राको भित्रीभागको घाउ र नोक्सानीले पखाला, थकान, तौल घट्ने र रक्तअल्पताहुने सम्भावना हुन्छ भने त्यस्ता बोलीका रोगका कारण प्रचलित ओखतीले निको नभएर समस्या भएका पाका मान्छे ओखती फेर्दाफेर्दा निको नभएर हैरान हुन्छन् । यस रोगको किटानी निकोपार्ने ओखती अझै पाइएको छैन, तर समस्या भएका मान्छेले ग्लुटेन प्रोटिन नभएका खानेकुरा सेवनगर्न थालेमा बिभिन्न हैरानी व्यवस्थित हुँदै जान्छन् । आन्द्राका घाउ र रोग बल्झिएको भाग निको हुँदै जान्छ ।

सामान्य लक्षणहरूः
बेलैमा व्यवस्थापन नगरिएको यो आन्द्रे रोगले पाचन प्रणालीलाई त गडबडी निश्चयरुपले तलमाथी पार्छ, पार्छ ! साथसाथै त्यसैको कारण शरीरका अरु अङ्ग र प्रणालीमा पनि बेठिक प्रभाव पार्न थाल्दछ । यो गडबडिया रोग बिस्तारित हुँदै पोल्ने कारण बन्छ भने यसैको प्रतिफल आन्द्रामा आइपुगेको खाना पचाएर पोषक पदार्थहरू सोसिन कमभएको कारणले कुपोषण हुनजान्छ । यस्तो भएको अवस्थामा थप ग्लुटेनयुक्त खाद्यले मानिसमा हुने स्वरक्षा प्रणालीलाई सजिलै आकर्षित गर्छ र उस्को प्रतिरक्षात्मक क्रियाकलापमा व्यवधान गराउन सक्छ । यसलाई हेलचेर्क्याइँ गरेमा समय बित्दै जाँदा सानो आन्द्राको भित्री सतह सबै बिगार्छ साथै पचाइएर शरीरमा सोसिन तयारी सबै प्रकारका पोषक तत्वहरू सोसिन नसक्ने स्थिति बन्न जान्छ । यस्तो नाकाबन्दीले शरीरमा कस्तो असर पर्ला ? के सबै प्रणालीमा कुप्रभाव नपार्ला त ? आन्द्रे रोग खाइकुफत भएर विविधप्रकारका स्तरमा खासै तोकिएको लक्षणमात्रै नहुने हुनाले कसैमा यो रोग दुःखदायी, असाध्य हुन्छ र कसैलाई सामान्य र कुनै लक्षण नै पनि नदेखाउने हुन्छ । त्यसैले चिकित्सकले बेलैमा उपचार र नियन्त्रण गर्न अलमलमा भई विभिन्न ओखतीको परीक्षण गर्दै प्रयास गर्नुपर्ने हुन्छ ।

पाचन सम्बन्धीः
यस आन्द्रे रोगबाट पाचन प्रणालीका अनेक एकअर्काका विपरित पनि समस्या हुनसक्छन् । यसको समस्या पाका मान्छेलाई मात्र होइन बालबालिकाहरूमा पनि देखिन सक्छ । कम उमेरकालाई ग्लुटेनयुक्त खाना लगातार केहिदिन ख्वाउनाले विभिन्न स्तर र लक्षणहरू भएको देखिन्छ भने पाकालाई शारीरिक कमजोरी र पाचनका समस्या हुँदा ग्लुटेन भएका खाद्यपदार्थको नियमित सेवनले हुनथाल्छ । प्राय पाका मान्छेमा देखापर्ने आन्द्रे रोगले विभिन्न प्रकारका पखाला चल्नु सामान्य लक्षण हो । ठाउँ न कुठाउँ, बेला न कुबेला पेट र आन्द्राले विद्रोह गरेर पचका लाग्ने वा अपचले अँचेटेर कता दिसा बसौँ ? भनेर खलखली पसिना काढ्ने गराउँछ । अनि पुरै पाचन प्रणाली हावाले भरिएर पेट दमाहा जस्तो बनाउन बेरै लाग्दैन अनी छटपटिएर थप आतुसले के गरौँ, कसो गरौँ ? को स्थितिमा पाका मान्छेले अटेसमटेस गरिरहेका देखिन्छन् ।

विभिन्न परिस्थितिमा आफूलाई लागेको प्वाक्क भनिहाल्न धक मानेर, नसक्ने पाका मान्छे बेलाबेला गुहुमुत जाङ्घेमा नै चुहाउन बेर लगाउन्नन् । वासस्थानमै घरीघरी शौँचालय धाइरहेका पाइन्छन् भने कहिले साँच्चै दिसा लागेर र कहिले चुर्ना परेको बेला गुँद्वार सगबगाई आए-आएझैँ भएकोजस्तो यस रोगमा पनि भएर त्यसो हुनसक्छ । यस्तो अवस्था भएका पाको उमेरिएकाले बारम्बार दिसाको दौडधुपको धपेडी र पौष्टिक पदार्थ नसोसिएको हुँदा कमजोर भई लखतरान पर्नु स्वभाविक नै हो । त्यसैले पाका मान्छे यो रोग लागेमा सधैँभरि थकाई लागेर शरीर फतक्क गलेको गुनगुनाई सानो काममा पनि पछि हट्छन् । शरीरको तौल दिन परदिन घटदै गइरहेको पाका मान्छे ठान्छन् र पातलो शारीरिक छवि देखिन लागेको परिवारले चाल पाउन थाल्छन् ।

बेलाबेला अपचले डम्म पेट फुलिरहेको देखिन्छ भने लगातार गन्हाउने अपान वायु विभिन्न गति र ध्वनिमा भइरहेको सुनिन्छ ।
त्यतिमात्रै होइन, पेटको तल्लो भाग सँधै कुटुकुटु दुखिरहेको, पोलेको र वायु चलखेलले ठाउँठाउँ सरेर दुखेको अनुभव भइरहेको हुन्छ । नाइटो तलमाथि दुखेर वाकवाकी लाग्ने र वायु भरिएर त्यो वायु घाँटीमा गुँडिल्कीएर हुक्कहुक्क भई बान्ताहुन खोजेको लक्षण देखापर्न थाल्छ । एकातिर अपचको पखाला लागिरहेको हुन्छ भने फेरी धेरै लागेको केही समयपछि दिसा बन्द भई एक्कै पटकमा कब्जियत भएर दिसा गर्न गाह्राे हुने अवस्था हुन पुग्छ । कतिपयलाई दुग्ध पदार्थले पेटका समस्याहरू समाधान गर्दछ भने, यो रोगको सिकारभएका पाका मान्छेलाई दुध मात्र होइन दुग्धजन्य पदार्थ कुनै नपच्ने र खाद्य विषाक्ततताले कुफतभएको जस्तै लक्षणहरू देखापरेको पाइएको छ । यसै रोगमा फेरी कहिले आउँमासी परेकोझैँ अति चिप्लो, च्यापच्यापलाग्ने दिसा पनि हुनसक्छ । अर्कोथरी लक्षणमा पखाला पनि पानीजस्तो, घरीघरी अपानवायु सामान्य छोडदा पनि चुहिने, कि एक्कैपटक भैँसीको गोबरझैँ थुप्रो गएर सञ्चोलाग्ने र कुहिएकोझैँ अति गन्हाउने दिसा लाग्ने हुन्छ । यस्ता लक्षणले निश्चय नै आन्द्रे रोगले च्याप्न थालेको सङ्केत गर्दछ भने विविध दिसाको कारण खासभएको के हो ? भन्ने अलमल सबैलाई हुनजान्छ ।

अप्रत्यक्ष लक्षणहरूः
पाचन प्रणालीको अस्तव्यस्तता नै आन्द्रे रोगका प्रमुख दुखदिने ठाउँ र लक्षण हुँदाहुँदै अरु विभिन्न असम्बन्धित लाग्ने लक्षणहरू देखिन पनि सक्छन् । यो प्रतिक्रियात्मक रोग लागेपछि पाचन प्रणालीभन्दा फरक पौष्टिक आहारा सोसिन कम भएकाले आधाभन्दा बढीे निम्नलिखित अनौठा लक्षणहरू देखापर्छन् ।

रक्तअल्पताः
यस्तो रोगलागेमा आन्द्राले पौष्टिक तत्व नसोस्नेभएर लौहतत्व पनि सोस्दैन र सामान्यतया रक्तअल्पता हुने गर्छ ।

हाड खिइनेः
पौष्टिक तत्व क्याल्सीयम लगायतको सोस्ने कमभएर हाड खिइने र कलिला बन्न थाल्ने ओष्टियोपोरोसिस रोग लाग्न सक्छ । प्राय जोर्नीमा भएर असाद्ध्य दुख्ने रोगबाट दुबै महिला पुरुष आक्रान्त बन्ने भएपनि महिलालाई बढी हुन्छ ।

छाला रोगः
चिलाइरहने, डाबर उठने, दरफर्‍याएको जस्तो राँटा देखिने, छेपारी कत्ला पलाउने जस्ता छालाका रोग हुनसक्छ । शरीरका छाती, पेट, पातो, ढाड र कोखामा देखिने डाबरहरू तिघ्रा, हातगोडातिर पनि ठाउँठाउँमा छुनासाथ देखा पर्छन् ।

घाउः
मुख भित्रबाहिर पोलेको, उकल्चेको र जुठो उथ्रेको जस्ता घाउहरू ओठ, गिजा, गाला र जिब्रोमा पलाउने हुन्छन् । पाचन प्रणालीको गडबडिले अति थकाईलाग्ने र टाउको रनक्क चिसोले दुखेझैँ दुख्ने भइरहने हुनसक्छ ।

स्नायुप्रणालीको क्षतिः
स्नायुप्रणाली फैलिएका विभिन्न भागमा विभिन्न स्तरको क्षति भएको पाइन्छ । विशेष गरेर हातगोडामा लाटोपना, रमरम पोल्ने, झम्झमाउने, सिरिङ्ग-सिरिङ हुने, झट्किने, हिँडाईमा असन्तुलन र वस्तुलाई नठम्याउने हुनसक्छ । नियमित यस्तो भइरहेमा आन्द्रे बाहेक स्नायुजन्य अरु वा हाडजोर्नीका रोगहरू सल्किने पनि सम्भावना रहन्छ ।

जोर्नी दुखाईः
यस रोगको असरले फियोको क्रियाशिलता घटने गर्दछ भने कलेजोले उत्पन्नगर्ने जीवरस (हर्मोन) बढाइदिन्छ । यसले गर्दा धेरै कुप्रभाव भएमा मादक पदार्थ सेवन नगर्नेलाई पनि कलेजोको सिरोसिस रोग लाग्न सक्छ । त्यस्तो दुखाई हाडजोर्नीका अङ्कुस र संयोजन गर्ने तन्तुमा समेत असर परेर खिइने साथै हाडनै जोडिने अवस्थाआई अतिदुख्ने हुन्छ ।

तौल कमीः
आन्द्रे रोगले विभिन्न समस्या निम्त्याउने तथा पोषक तत्व शरीरमा लाग्ने मौका नै नदिने भएर दिनदिनै शारीरिक तौल घटिरहेको देखिन्छ । धेरैनै तौल घटेमा शारीरिक कमजोरीले अन्य रोगको सङ्क्रमण सहजै हुनसक्ने अवस्था आउँछ । त्यो कमजोरीले आन्तरिक उर्जा घटेको र सङ्कलित मांसपेशी बिस्तारै घटेर लुलो तथा काम गर्न नसक्ने हुन सक्छन् ।

बाथरोगः
हातखुट्टाका जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने, हिँडन, बसउठ गर्न गाह्रो हुने रोगलाई आमबाथ, गठिँया, खडजुरो, र बाथ भनिन्छ । विश्वभरीमा तिन अरब पचास करोड मानिसमा बाथ रोगको कुनै नकुनै प्रकारको भएको छ भन्ने आँकडा छ भने पाका मान्छेमा उमेर धेरैहुन थालेपछि सामान्यतया जिउ, हात र गोडाका ससाना जोर्नी दुख्ने गुनासो नेपालमा सामान्य हुन्छ । आन्द्रे रोगले शरीरको धेरै चल्ने जोर्नीका हाड खिइने हुनाले बाथ रोगले समस्या आउन सक्ने पनि हुन्छ ।

उन्मादः
आन्द्रे रोगले पाका मानिसमा लगातारका शारीरिक दुर्बलताले मानसिक चिन्ता बढने, दिक्कलाग्ने, झर्को लाग्ने, बेला- बेला मानसिक स्थिति परिवर्तन भई घरी हाँस्ने र घरी उदास हुने अवस्था देखिन्छ । लगातारको आन्द्रे रोगको असरले शारीरिक मात्र होइन, मानसिकरुपले पनि कमजोर र तनावग्रस्त बनाएको हुन्छ भने बिर्सने रोगलाग्ने सम्भावना पनि हुन्छ ।

मैनावारीः
महिलाहरूमा आन्द्रे रोगको प्रकोप छ भने उमेरमै पनि मैनावारी गडबडिएर कहिले चाँडै हुने कहिले ढिलो ढिलो हुने गर्दछ । कहिले गर्भवती भएझैँ रोकिने वा बिचबिचमा नहुने पनि भएको देखिन्छ । पोषण तत्वको कमीले जैविक प्रक्रियामा बाधा पुर्‍याउन थालेको सूचना यसले दिएपछि रोगलागेका महिलाहरू अझ सतर्कभएर उपचारमा लागिहाल्नु पर्छ । पाका महिलामा बेलाबेला कमजोरीले सेतो कालो पानी देखिने, बग्ने र जीउ गलेर खिर्लिक्क देखिने अनुहार हुन्छ ।

प्रजननः
आन्द्रे रोगले च्यापेको बेलामा प्रजनन् क्षमतामा ह्रास आएर महिला-पुरुष दुवैमा प्रजनन हुने र गर्भ नबस्ने हुन्छ । यदि गर्भ रह्यो भने पनि पोषणको अभावले महिलाको अधिग्रो बारम्बार जाने समस्या धेरैमा पाइन्छ । आन्द्रे रोग लागेका र ढिलो निको भएका महिलामा गर्भ सुरक्षित नै रहे पनि बिभिन्न लक्षणको कुप्रभावले शिशुको जन्म बेलामा आमा शिशु दुवैले निकै दुख पाउने र असामान्य स्थिति हुनसक्छ । यसो हुनुमा कुपोषण र शरीरको आन्तरिक रक्षा प्रणालीमा ग्लुटेन प्रोटिनले प्रभाव पारेर नै भएको हुन्छ । त्यसबाहेक वयस्कको उत्तरार्ध नपुग्दै महिलाहरू रजोनिबृत्त हुनु यहि रोगको कारणले हुने गर्छ ।

असजिलो समयः
ग्लुटेनको आन्तरिक प्रतिक्रिया भई असर शुरु हुने समय सबै व्यक्तिमा फरक समय र तरिकाले हुनेगर्छ । कोही शारीरिक क्षमता सन्तुलित र दुरुस्त हुनेलाई ग्लुटेनको खाद्यले केही नहुन सक्छ । कसैलाई केहीदिन पछि र कसैलाई भोलिपल्ट नै मात्र देखापर्न सक्छ । कसैलाई ग्लुटेनको प्रभाव सहनै नसक्ने भएर त्यस्तो पदार्थ सन्निहित खाद्य सेवनको दुइतिन घण्टामा देखिन थाल्छ । फेरि ग्लुटेनको शारीरिक प्रतिक्रिया पनि व्यक्तिपिच्छे फरक-फरक चरित्र र लक्षणहरू भएको देखिएको छ ।

उपचारः
यो आन्द्रे रोगलाई आफैँ जान्नेभएर यस्तै हो भन्दै सोच्ने गल्ती गर्नुहन्न । यस्तो डेढअक्कली स्वभावले धेरै खतरामा पर्न सकिन्छ । आफ्नो र परिवारको खाइकुफतमा अनौठा खालका अमिल्दा लक्षणहरू देखिन थाले साथै विशेषगरी पाचन प्रणालीको गडबडी पछि ती सुरुभएका छन भने आन्द्रे रोग होकि भनि निक्र्योल गरी उपचार गर्न चिकित्सकलाई भेटनै पर्छ । सामान्य अपचको समस्या भनेर गाउँघरमाझैँ ‘उल्टा एक मात्रा खाएर भाग्छ’ भनी हेलचेर्क्याइँ गर्नुहुन्न । हार्वार्ड मेडिकल स्कूलको ‘उत्तेजना सहितको दुखाई विरुद्ध सङ्घर्ष’ बारेको अध्ययनभएको विशेष प्रतिबेदनबाट जानकारी लिनु लाभकारी हुनेछ । यस आन्द्रे रोगको सोझो तोकिएको ओखती नभएकाले यसलाई हुन नदिनु नै प्रमुख निराकरणको उपाय हो । त्यसकालागि चिकित्सकको सल्लाहमा रोग भएका बिरामीले खाने वस्तुमा ग्लुटेन नभएका खाद्यसामग्री प्रयोग गर्ने बानी बसाल्ने नै प्रमुख ओखति भएको देखिन्छ । ग्लुटेन नभएको खाद्यपदार्थको सेवनले विभिन्न लक्षणहरू बिस्तारै सुधारहुँदै जान्छन् र रोगनै हराई निमिट्यान्न खलास हुन सक्छ । तर ‘अब केही हुन्न’ भनि ग्लुटेनयुक्त खानामा मुखथाम्न नसकी लोभिएमा फेरि आन्द्रे रोगले पुरानै सकसले दुखदिन सक्छ । एक पटक भएर दुख पाएकाले चिकित्सकलाई समेत अलमलमा पार्ने यो रोगको जीवनभरिको निदान भनेको ग्लुटेनयुक्त खाद्यको सधैँलाई वहिस्कार गर्नुमात्र देखिन्छ । एकफेर चेतेपछि उमेरिएका पाका मान्छेले त सिक्नैपर्छ, जीवन धेरै छैन है, खानाकै कारणले त के जीवन सक्नु ? बानी सच्च्याउने र ‘जीब्राको बश पर्नुहुँदैन भन्ने लोकोक्तिबाट सिक्न पाका मान्छे उम्दाछन’ भन्ने पार्नैपर्छ !

ग्लुटेनरहित खाद्यः
आन्द्रे रोगको जड भनेकै ग्लुटेनभएको खाना भएकाले त्यो प्रोटिनरहित खान खोज्नु निकै गाह्रो परीक्षा आफैँ हो भने सिमित वस्तुमा रहनुपर्ने बाध्यता पनि हो । त्यो खराब प्रतिक्रिया सुरु गराउने प्रोटिन नभएका धेरै स्वस्थकर र स्वादिष्ट खाद्यवस्तुहरू प्राकृतिकरूपमै पाइन्छन् । खर्चबर्चको हिसावले किफायती र स्वास्थको हिसावले सुरक्षित ग्लुटेनरहित प्राकृतिकरूपमा पाइने खानामा निम्न समुहका खानेकुरा रोज्नु फाइदा पुग्ने हुन्छ । ताजा सबै मौसमी फलहरू, हरिया सबै सागपात र तरकारीहरूमा ग्लुटेन नपाइने हुनाले स्वस्थकर हुन्छन् । चौपाया र हाँस-कुखुराको मासु सिमित मात्रामा खानु अन्य समस्यामा जस्तै राम्रो मानिन्छ । माछा र समुद्री झ्याउका खाद्यसामाग्रीमा ग्लुटेन नहुने हुनाले सेवन गर्दा रोग उब्जाउने कारण बन्दैन ।

फाप्नेले सिमित दुग्धजन्य वस्तुका सेवन केही गर्नाले समस्याले अप्ठ्यारो हुन्न तर बढिले बिगार्न सक्छ । सुरक्षित अरु अन्नमा दुइदलीय बियाँ हुने गेडागुडी, सिमी, बोडी, चना, भटमास, केराउ, राज्मा, दलहन, आदि सुरक्षित वस्तु थप समस्या नभए जत्ती सेवन गर्न सकिन्छ । त्यस्तै बदाम, पेस्ता, ओखर, कटुस, लगायत गुदी खाने बियाँहरू स्वस्थकर ग्लुटेनरहित खाद्य सामाग्रीमा पर्छन् । भर्खरका कलिला मुण्टाका स्तरमा पुगेका गहुँ र जौका घाँस-पालुवामा ग्लुटेन हुँदैन, त्यसैले विभिन्न तरिकाले खाएमा फाइदा लिन सकिन्छ तर तिनका गेडामा ग्लुटेन हुने हुनाले गेडालाई सिङ्गै वा पिँधेर बनाइएका विभिन्न मिठा परिकारले बेफाइदा गर्ने हुन्छ । धेरै प्रक्रियाबाट बनाइएका ती गेडाका परिकार कहिलेकाही खान त हुन्छ तर लगातार खानाले ग्लुटेनको मात्रा बढन गई रोग बल्झिन सक्छ ।

दानेदार प्राकृतिक/कृषि उपजमा थरीथरीका ग्लुटेनरहित अन्नहरू हाम्रै वरपर भेटिन्छन् । आफुलाई अप्ठ्यारो पर्दा कम खेती हुने र उत्पादन भएर कम मात्रामा पाइए पनि बजारका खाद्यान्न पसल वा कृषि हाटबजार वा गाउँघरतिरबाट सोधिखोजी गरी किनेर ल्याई खानाको जोहोगर्न सकिन्छ । ती अन्नलाई विविध तरिकाले पकवान बनाएर स्वादिष्ट तरिकाले खाएर पौष्टिक आहारको आपूर्ति हुन सक्दछ । निम्नलिखित अन्न उपयोग गरेमा ग्लुटेनको पिडादायी समस्या भोग्न नपर्ने हुन सक्छ । सबै किसिमका केराउ र अरु दुइदलीय गेडागुडी सहित माड निस्कने, स्टार्च भएका अन्नहरूमा ग्लुटेन पाइन्न र समस्यामा उपयोगले रोगबाट उम्कन सजिलो हुन्छ । त्यस्ता अन्नमाः लट्टे, पानीफल (स्वादविहीन साना तरुलजस्तो), दलहन, मस्याङ, भटमास, फापर, च्याँख्ला, कसावा, मकैको माड, चिउरा, जै, कोदो, ग्लुटेनरहित जौ, विभिन्न बियाँ, सेतो र खैरो चामलको ग्लुटेनरहित पिठो, आलु, कोदो, जुनेलो, चिनु, बाजरा, सावदाना, युक्का आदि खानाले यो रोगलाग्ने सम्भावना कम हुन्छ र भएमा निको हुन्छ ।

अन्त्यमा,
उमेर छिप्पिँदै जाँदा नियमित व्यायाम र उचित खानपानको अभावले विभिन्न शारीरिक रोगव्याध सङ्क्रमणको सम्भावना बढ्दै गएको हुन्छ । बेलैमा परिवारको शारीरिक र मानसिक समस्याको निदान तथा उपचारमा ध्यान दिई हुर्काउनु पर्छ । साथै परिवार फैलिँदै जाँदा पाका भएका अग्रजहरूलाई लाग्न सक्ने रोगहरूबारे चनाखो रहने काम घर चलाउने जिम्मेवारले लिनैपर्छ । खानाको रूपमा परम्परादेखि प्रयोग भइरहेका खाद्यपदार्थहरूले गर्न सक्ने अप्ठयारोलाई समन गर्न परिकार नहिचकिचाई फरक गर्नुपर्ने भएमा सचेत रहनुपर्छ । शरीरका विभिन्न प्रणालीको समस्या पर्न थालेका छन् भने सकेदेखि आवधिक जाँच-परिक्षण गराएर हुनसक्ने रोगमा पूर्वसतर्क रहनुपर्छ । भइरहेका रोगव्याधको नियमित, आवश्यक उपचारको व्यवस्था तथा औषधिमूलोको प्रयोग नछुटाई गर्न रेखदेख गरिरहनु पर्छ ।

बदलिँदो परिस्थितिमा खानपान र ओखतिमा समेत नकारात्मक असरगर्ने अखाद्य पदार्थ मिसाइने अपराध सार्वजनिक भइरहेको अवस्थामा छ । सकेसम्म परिवारले नै नसके उमेरिएका पाका मान्छेका लागि भए पनि जैविक र प्राकृतिकरूपले उब्जाइएका खाद्य उत्पादनहरू प्रयोग गराउन कोशिश गरिएको हुनुपर्छ । त्यस्तै खानपानको तालिकामा नियमितता र अटुट व्यवस्था भएमा पाका मान्छेलाई अप्ठ्यारो नपर्ने भइ स्वास्थको बचावट हुने तथ्य घरव्यवस्था मिलाउनेले हेक्का राख्नै पर्छ । नियमित उचित व्यायाम साथै चलखेल, उज्यालो बस्ने कोठा र घामको पउल पाउने व्यवस्था गरिदिनै पर्छ । घरमा सौहार्द, आशावादी वार्तालाप र चलखेलले उमेरिएका पाका महिला-पुरुषमा बाँच्ने रहर तथा आपसी स्नेह बढ्ने भएर आयु लम्बिन सक्छ साथै कलह नबढेर सबै पारिबारिक सदस्यहरूको सुस्वास्थ, प्रगति र दीर्घायु हुने अवसर पाउने हुन्छ ।

जीवित, सबैभन्दा विकसित प्राणी मानिसलाई रोगव्याध र असजिलो आउँछन, जान्छन् । विकसित मस्तिष्क भएको मानिसले अरुको त हेरचाह गर्न सक्छ भने आफ्नै प्रजाति, आफन्त तथा आफ्नै हितमा काम गर्न, भन्न र सकेसम्म सुविधामा रहनसक्ने इच्छा राख्नु अनौठो होइन । आफ्ना अवैज्ञानिक पूर्वाग्रहको घनचक्करको भूँवरीमा रुमल्लिने होइन बहुजनहितमा आफ्नो बल, बुद्धि र सदिच्छा राख्न नबिर्सनुहोस् । आफूभन्दा उमेरमा सानाले भनेको मान्नुहुन्न भन्ने छैन वा सानाले कुनै विषयमा विज्ञता हासिलगरेको भए पनि सबै कुरामा जान्ने हुन्छ भन्ने पनि छैन । ‘फोहोरबाट पनि मोहोर हुन्छ, अर्ती भनेको सानाको पनि लिनुपर्छ’ भन्ने लोकोक्ती त्यसै चलेको छैन, गम्भिरतापूर्वक गुह्य मर्मसहित बनेको छ । उमेरिँदा लाग्ने रोग र सम्पूर्ण समस्याका समाधान पाका मान्छे र विज्ञहरूबाट लिन सकिन्छ है ! अनुभवसिद्ध तथा विज्ञबाट भनिएका सल्लाह अक्षरस पालन गरौँ, अचेल शताव्दि दिव्य महिला-पुरुष बन्नेको हारमा हामी पृथक किन बस्नु हँ ? हामी त तयारीकासाथ जीवन सङ्घर्षमा पछि हटनेमा पर्ने कुरै छैन नि, होइन र ?

०००
चालिसे डाँडा, ललितपुर
मङसिर ५, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x