साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाको शरीरलाई स्वस्थ राख्न जाडो याममा ध्यान पुर्याउने उपायहरू

जाडो मौसममा शरीरलाई स्वस्थ राख्न सही आहार, व्यायाम, योग र उचित जीवनशैली आवश्यक छ। उमेर बढ्दै जाँदा विशेष ध्यान दिनुपर्छ, किनभने शरीरको प्रतिरोध क्षमता घट्दै जान्छ ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

(यस लेखले इम्युनिटी पावर बढाउने उपायहरू, रुघाखोकीबाट बच्ने तरिकाहरू, बुढ्यौलीमा चिसो याममा ध्यान पुर्‍याउनु पर्ने कुराहरू र व्यक्तिगत अनुभव तथा प्राकृतिक जीवनशैलीको महत्त्व समेटेको छ ।)

आज माघ १६ गते, सहिद दिवसको सम्झनामा बिहान २:३० बजे नै आँखा खुले । ज्ञात-अज्ञात सहिदहरूको योगदान सम्झिएँ । बेलुकी कोरेका दुई लघुकथाहरूलाई कम्पोज गरी एउटा फित्कौली डट कमलाई पठाएँ, अर्को फेसबुकमा सेयर गरें । नित्यकर्म सिद्धयाएर ४:०० बजे रामकृपाल महतोलाई उठाउन फोन गरेँ र योगग्राम दगुरेँ । जाडो यामको चिसो हावा नाकबाट बगिरहेको इन्द्रावतीजस्तै कटक्क काट्दै थियो । खोकीले बेला-बेला उग्र रूप लिइरहेको थियो, तर मैले सहनु थियो । त्यसैले रातभर भिजाएको मेथी चपाएँ, लसुनका चार पिराे टुक्रा निलें । शरीरलाई भित्रैबाट बलियो बनाउन एक घण्टा योग गरेँ- भस्त्रिका, कपालभाँती, अनुलोम-विलोम ।

जाडो मौसममा शरीर कमजोर बन्न सक्छ, त्यसैले रोगप्रतिरोधात्मक शक्ति (इम्युनिटी) बढाउन आवश्यक हुन्छ । स्वस्थ जीवनशैली अपनाएर, उचित आहार लिएर र योग तथा प्राणायाम गरेर रोगहरूसँग जुध्ने क्षमता बढाउन सकिन्छ ।

अ) इम्युनिटी पावर बढाउने उपायहरू

स्वस्थ जीवनशैली, उचित आहार, व्यायाम, योग र सकारात्मक सोचले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सक्छ । खासगरी जाडो मौसममा शरीर कमजोर बन्न सक्छ, त्यसैले यसबेला विशेष ध्यान दिन आवश्यक हुन्छ ।

१. प्राकृतिक जडिबुटी र घरेलु उपायहरू

प्राकृतिक जडिबुटीहरू रोग प्रतिरोधात्मक क्षमता बढाउन अत्यन्त प्रभावकारी हुन्छन् । यी घरेलु उपायहरू अपनाउँदा शरीरलाई चिसोबाट जोगाउन सकिन्छ ।

(क) मेथी

मेथीमा एण्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटोरी गुण हुन्छ ।

रातभर पानीमा भिजाएको मेथी बिहान खानाले शरीरलाई तातो राख्छ र चिसोबाट जोगाउँछ ।

(ख) लसुन

लसुनमा अलिसिन नामक तत्त्व पाइन्छ, जसले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

बिहान खाली पेट लसुन खानाले जाडोमा शरीरलाई तातो बनाउँछ ।

(ग) अदुवा, बेसार, मह मिश्रण

यी तीन तत्त्वले शरीरलाई भित्रैबाट तातो बनाउँछ ।

अदुवा चिया, बेसार दूध, वा मह पानीको सेवनले स्वास्थ्य राम्रो हुन्छ ।

(घ) तुलसी र कालो मरिच

बिहान तुलसी चिया वा मरिच मिसाएको दूध सेवन गर्दा रुघाखोकी लाग्दैन ।

तुलसीको पातलाई महसँग मिलाएर खानाले घाँटीको दुखाइ कम हुन्छ ।

२. व्यायाम र योग

व्यायाम र योगले शरीरलाई तन्दुरुस्त राख्छ । जाडो मौसममा शरीरलाई सक्रिय राख्न निम्न योगासनहरू उपयोगी छन् ।

(क) भस्त्रिका प्राणायाम

यसले रक्तसञ्चार बढाउँछ ।

फोक्सोलाई स्वस्थ राख्छ ।

(ख) कपालभाँती प्राणायाम

पेटका रोगहरू हटाउन मद्दत गर्छ ।

शरीरको तापक्रम सन्तुलनमा राख्छ ।

(ग) अनुलोम-विलोम प्राणायाम

मानसिक शान्ति प्रदान गर्छ ।

फोक्सोको क्षमता बढाउँछ ।

आ) रुघाखोकीबाट बच्ने उपायहरू

जाडो मौसममा धेरैलाई रुघाखोकी लाग्ने समस्या देखिन्छ । यसबाट बच्न निम्न उपायहरू अपनाउनु आवश्यक छ ।

१. घाँटीलाई सुरक्षित राख्नुहोस्

न्यानो कपडा लगाउने, विशेष गरी घाँटी ढाक्ने ।

मनतातो पानी पिउने, चिसो पानीबाट बच्ने ।

अदुवा-चिया, मह मिश्रित पानी सेवन गर्ने ।

२. स्वस्थ आहारको सेवन

हरियो सागसब्जी, गेडागुडी, सुक्खा फलफूल खान आवश्यक छ ।

मसला युक्त खाना (अदुवा, बेसार, मरिच) प्रयोग गर्ने ।

३. पर्याप्त आराम र निद्रा

७-८ घण्टा राम्ररी सुत्ने ।

पर्याप्त आराम लिनाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ।

इ) बुढ्यौलीमा चिसो याममा ध्यान पुर्याउनुपर्ने कुराहरू

उमेर बढ्दै जाँदा शरीर कमजोर बन्ने हुन्छ । खासगरी जाडो मौसममा निम्न कुराहरू ध्यान दिनु आवश्यक छ ।

१. रक्तचाप सन्तुलित राख्ने उपायहरू

जाडो याममा ब्लड प्रेसर घट्न सक्छ, त्यसैले न्यानो कपडा लगाउने ।

मनतातो झोलिलो खाना (सुप, हरियो साग, जडिबुटी मिश्रित दूध) सेवन गर्ने ।

लसुन, बेसार, अदुवा, महको नियमित सेवन गर्ने ।

२. शारीरिक सक्रियता कायम राख्ने

बिहानको समयमा हल्का व्यायाम, ध्यान, र योग गर्ने ।

लामो समयसम्म एकै ठाउँमा नबस्ने, हल्का हिँडडुल गर्ने ।

दिनभरि हल्का-फुल्का शारीरिक गतिविधि गर्ने ।

३. मानसिक स्वास्थ्यको ख्याल राख्ने

सकारात्मक सोच राख्ने ।

ध्यान गर्ने, लामो सास फेर्ने अभ्यास गर्ने ।

मन खिन्न हुने वा तनाव महसुस भएमा नजिकका साथीभाइ वा परिवारसँग कुरा गर्ने ।

ई) प्राकृतिक नियम र मेरो जीवनशैली

म २०७७ सालदेखि पूर्णरूपमा शाकाहारी भएँ । शरीरलाई स्वस्थ राख्न, प्राकृतिक जीवनशैली अपनाएँ । तर, समय बित्दै जाँदा परिवारका सदस्यहरूले पुनः मासु खान सुझाव दिन थाले । मैले भने, “प्रकृतिले जे गर्न खटाउँछ, त्यही स्वीकार गर्छु ।”

यो जीवनशैलीले मलाई स्वस्थ राख्न सहयोग गरिरहेको छ । तर आज चिसोले जितेको कारण फरक वास्तविकतासँग मुकाविला भयो । सधैं झै करिव ६:०० घर भित्रिएँ । केहीबेर किताबमा आँखा डुले र कोचिङ कक्षा दगुरेँ । वातावरणमा अँध्यारो कायम नै थियो । जाँडोले उग्र पङ्ख फट्फटायो । पाठ पढाएर ७:२० मा सकेँ । एसइई परीक्षाको सन्दर्भ कोट्याएर विद्यार्थीलाई अझ बल प्रदान गर्ने मन हुँदै थियोे । म उभिएको धर्ती घुम्न थाल्यो । २०७४ कार्तिक १० गते पनि यसरी नै संसार एक्लै घुमेको थियो । परिणामतः दाहिने पाटो अर्पण गरेर एक छाने जीवन विताइरहेको छु ।

आमालाई पनि सुरुमा उच्च रक्तचाप थियो । पछि निम्न रक्तचापमा बदलियो । घटबढ हुँदाहुँदै २०७७ सालमा उहाँ ७७ वर्षको उमेरमा नै बिदा हुनुभयो । म ५१ मा हिँड्दै छु, सधैं १४०/८० भन्दा ओरालो नलागेको रक्तचाप के भयो ? मनमा अनेक कुरा आउँदै जाँदै गर्न थाले । लामोलामो सास फेरेमा मुटुमा धक्का दिन सक्तैन भन्ने सुनेको थिएँ । १५ मिनेट भस्त्रिका गरेँ । रिङ्गटाले छुट्ने नाम लिएको थिएन । अनुलोमविलोम सुरु गरेपछि जसोतसो चक्कर लाग्न बन्द भयो । डाक्टरकहाँ जाँच गराउँदा रक्तचापको अवस्था १०५/७५ थियोे । मेरो हंसले ठाउँ छाड्यो । निम्न रक्तचापका लागि २०७७ देखि नै पूर्णतः शाकाहारी भएँ । घर र ससुराली सबैको अनुरोधलाई दबाउँदै आफ्नै मनलाई कुल्चेँ ।

अब आएर थोरैथोरै सेवन गर्न आग्रह आउन थाल्यो । अब म भन्नेवाला छु, “तैंले खानै हुन्न भनेर बर्जित गर्न मलाई एक छाने मानिसको रूप दियो । मैले स्विकारेको कुरा कसरी कुल्चिनु ? जसलाई जे गर भनेर प्रकृतिले खटाउँछ, त्यसलाई स्वीकार गर्ने मेरो वचन छ । म वचनको पक्का छु । प्रकृतिलाई धोका दिएँ भने कुसमयमा आइस् भनेर परमधाममा आमा रिसाउनुहुन्छ ।”

धेरै कुरा बुझ्दै पनि कतै त्रुटि भए सर्वस्व जान सक्ने रहेछ भन्ने बुझेँ । अनुभव लुकाएर बाँच्ने हैन बाँडेर रमाउनाले मात्रै जीवन सार्थक हुँदोरहेछ ।

उ) निष्कर्ष

जाडो मौसममा शरीरलाई स्वस्थ राख्न सही आहार, व्यायाम, योग र उचित जीवनशैली आवश्यक छ। उमेर बढ्दै जाँदा विशेष ध्यान दिनुपर्छ, किनभने शरीरको प्रतिरोध क्षमता घट्दै जान्छ । प्राकृतिक उपायहरू अपनाएर, सकारात्मक सोच राखेर र उचित सन्तुलित जीवनशैली अपनाएर स्वास्थ्यलाई मजबुत बनाउन सकिन्छ ।

०००

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x