साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोज्याङ्ग्रेका एकैपटक छ वटा कृतिहरूको विमोचन

नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको अध्यक्षता र वरिष्ट हास्यव्यङ्ग्य लेखक रामकुमार पाँडेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पाँडेले नेपाली हास्यव्यङ्ग्य क्षेत्रले विस्तारै गति लिँदै गएको बताउनु भयाे ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुुस १५ । हास्यव्यङ्ग्य लेखक एवम् कवि माधव पोखरेल गोज्याङ्ग्रेका एकै पटक छ थान पुस्तक सामुहिक रूपमा विमोचन गरिएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको अध्यक्षता र वरिष्ट हास्यव्यङ्ग्य लेखक रामकुमार पाँडेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पाँडेले नेपाली हास्यव्यङ्ग्य क्षेत्रले विस्तारै गति लिँदै गएको र नयाँ पुस्ताका लेखकहरूले पनि हास्यव्यङ्ग्य लेखनलाई रूचिका अघि बढाउदै गरेको बताउनु भयो ।

वरिष्ट साहित्यकार एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष तगा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले आधुनिक नेपाली हास्यव्यङ्ग्य लेखन भैरव अर्यालबाट शुरू भएर अहिलेको अवस्थासम्म आइपुग्दा धेरै खुड्किला पार गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा वरिष्ट हास्यव्यङ्ग्यकार तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेलले गोज्याङ्ग्रेद्वारा लिखित ‘मद्यशाला’ व्यङ्ग्य काव्यको समीक्षा प्रस्तुत गर्नु भएको थियो । समीक्षक जीवनाथ अधिकारीले ‘सिहदरबारका नरसिंहहरू’, डा. देवी क्षेत्री दुलालले ‘भ्रष्टपाल’, सूर्यप्रसाद लाकोजुले ‘भ्रष्टपति’ हास्यव्यङ्ग्य कृतिहरूको समीक्षा प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी चेतनाथ धमलाले ‘अथःनेता देवायै नमः’ र नवराज रिजालले ‘अवगाल’ कथासङ्ग्रहको समीक्षा गर्नु भएको थियो ।

विमोचित पुस्तकहरूमा चारवटा हास्यव्यङ्ग्य, एउटा कथासङ्ग्रह ‘अवगाल’ र अर्को व्यङ्ग्य काव्य ‘मद्यशाला’ रहेको छ । सो कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, प्राज्ञ मातृका पोखरेल, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा मधुसुदन गिरी लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।

उदयपुरको गाईघाट निवासी साहित्यकार गोज्याङ्ग्रेका यसअघि ‘मुसालाई मुद्दा’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ भने दर्जनौं फुटकर हास्यव्यङ्ग्य सिर्जना फित्कौली डटकम, साहित्यपाटी लगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । गोज्याङ्ग्रेले ‘नव सिर्जना’ साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आउनुभएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x