साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेबकुफ अनुहारहरू !

अझैं कति छन् कति कुच्याउनुजस्ता अनुहारहरू ! तर यति गाली गरिसकेपछि तिनीहरू आफैं ठेगान लाग्लान् भन्ने मलाई आशा छ । ठेगान नलाग्ने जब्बर कोही बाँकी छौ भने ल आओ साले हो एकएक गरेर !

Nepal Telecom ad

कतै देख्नासाथ वा सम्झनासाथ मलाई झनक्क रिस उठ्ने यी अनुहारहरूका बारेमा लेख्न बस्ता यो रचनाको शीर्षक यी स्साला अनुहारहरू’ भनेर लेख्न मन लागेको थियाे । तर हाम्रो समाजले यी कुच्याउनुजस्ता अनुहारहरूलाई गाली गर्नुहुन्न, सम्मान गर्नुपर्छ भनेर मलाई बालकैदेखि घोकाएको हुँदा म अन्तर्हृदयको आवाजलाई दबाउँदै यो साला समाजको मर्यादा गर्छु र त्यो शीर्षक फिर्ता लिन्छु ।

शीर्षक फिर्ता लिए पनि म आफ्नो आक्रोश व्यक्त गर्ने क्रममा ठाउँठाउँमा स्साला शब्दको प्रयोग गर्छु र मनमा गुम्सिरहेको रिसको बादललाई तितरबितर बनाउने प्रयास गर्छु ।

रिसभन्दा पनि टिठलाग्दा एकजोर अनुहारबाट म प्रहारको प्रारम्भ गर्छु । किन त्यहीँबाट प्रारम्भ गर्छु भने मेरो प्रारम्भ नै त्यहीँबाट भएको हो । यो महामारी र महारोगहरूले भरिएको पृथ्वीमा आफैं दुःखको महासागरमा पौडिरहेको बेला थप दुःख थप्न मलाई किन जन्माएका होलान् मेरा बाआमाले ! यो एउटा आश्चर्यजनक प्रश्न लाग्छ मलाई । एउटा म नजन्मिँदैमा यो पृथ्वी रोकिने थिएन क्या रे ! के संसारमा अरबौँ–खरबौँको सङ्ख्यामा शुक्रकीट र डिम्बहरू नाश भएका छैनन् र ! त्यही नाश हुनेमध्येमा मलाई पारिदिएको भए त्यहीँबाट हाइसन्चो सुरु हुने थिएन त !

लौ भैगो, मेरो दुर्भाग्य, म जन्माइएँ रे ! नपढाइदिएको भए हुन्थ्यो नि ! मस्तको हरिलठ्ठक गोठालो बनाइदिया भए खाइलाग्दो हली हुन्थेँ, मानाको भात खान्थेँ, गोठ जान्थेँ, गोबर सोर्थेँ, दूध दुन्थेँ, मोइ पार्थेँ, घ्यू खान्थेँ, जिउ बनाउँथेँ । एउटी स्वास्नी भेट्टाउन २८–३० वर्ष कुर्नै पर्थेन, १५–१६ वर्षदेखि नै मोज गर्थेँ । यतिन्जेलमा ८–९ जना छोराछोरीको बाउ हुन्थेँ, सके हजुरबाउ नै भइसक्थेँ । चाउरी पर्थेँ, फुलिसक्थेँ, परिपक्क र मान्यजन भइसक्थेँ ।

स्याला ! ल हेर त मेरो फुकिढल ज्यान ! चालीस वर्ष उमेर पुग्दा ४० केजीभन्दा मास्तिर छैन । कमाइको नाममा एउटा एक हजारको लोठ ती बूढा बाबुआमाका हातमा राखिदिया छैन । स्वास्नीको नाकको फुली पनि बाँकी नराखी खाइसक्या छु । यस्तो पानीमरुवा कुपुत्रलाई पनि पढेलेखेको, जानेसुनेको, हाम्रो गौरव, हाम्रो सुपुत्र भन्दै चाउरी परेको छाती फुलाउँदै हिँड्ने बाआमालाई सम्झिएर म झोँक देखाऊँ कि सहानुभूति प्रकट गरूँ ?

मास्टरमास्टर्नीका नङ्ग्रयाउनुजस्ता अनुहारहरू पनि म सधैँसधैँ सम्झने गर्छु । कहिले कान तानेर, कहिले हात बानेर, कहिले कन्सिरी उखेलेर, कहिले कुखुरो बनाएर पढाए पड्केहरूले । कक्षामा तेस्रो–चौथो पनि हुन नदिई फुर्क्याएर, थपथप्याएर, पुरस्कार र प्रोत्साहन दिएर सधैँ प्रथम, द्वितीय हुने बनाए । दिन नबिराई स्कुल जाने र रिठ्ठो नबिराई पढ्ने लत बसालेर तिनीहरूले मलाई डरलाग्दो दुर्व्यसनमा फँसाए । तिनै चाउरे अनुहारहरूले गर्दा आज जुँगा फुल्न लाग्दा पनि लेख्ने, पढ्ने तिर्सना मेटिँदैन । बरु झन्झन् भोक बढिरहन्छ, झनझन् तिर्सना चढिरहन्छ ।

उसबेला पढ्न नजानेको भन्दै डिकलाल अधिकारीलाई जस्तै नानटुङ् झा सरले तिघ्रामा भाटैभाटाले हानेर लखेटेको भए यसबेला म पनि ऊजस्तै मलेसियाबाट भटाभट नोटका बिटा पठाइरहेको हुन्थेँ होला । लौ हेर त, कक्षाको प्रथम विद्यार्थी स्याला म लन्ठु एउटा पिलपिले जागिर खाएर मीठो खान माग्ने छोराछोरीको सातो खाइरा’छु । पाँच कक्षामा पाँचैपल्ट फेल भएर तिघ्रामा भाटाका पचपन्न डाम बोकेर पढ्न छोडेको डिकेले घरमात्रै पाँचवटा बनाइसक्यो । मलाई भिरको चिन्डो बनाउने ती मास्टरमास्टर्नीहरू… ! किट् किट् किट् किट् किट्!(सुन्नुभो, मेरा दाँत किटकिटाएको ?)

स्कुलको कुरा सम्झिँदा सम्झनायोग्य साथी हीराबहादुर लम्सालको सुमधुर सम्झना आउँछ । बरु उसले मलाई ठूलो उपकार गर्न खोजेको थियो । स्कुलको माछापोखरी सफा गर्ने क्रममा उसले हुत्याएर मलाई पोखरीमा डुबाइदिएको थियो । वास्तवमा उसले मेरा सारा झन्झट, दुःख र हैरानीहरूलाई डुबाइदिन खोजेको थियो, तर हरि इङ्नाम लगायतका केही उल्लू केटाहरूले मलाई पोखरीबाट निकालेछन्, पानी छदाएछन् र अस्पताल लगेर बचाएछन् । यिनै तथाकथित साथीहरूले मलाई धकेली–धकेली अप्ठ्यारा खोँचतिर हुलिरहेका छन् । तँ यस्तो, तँ उस्तो, तँ भलाद्मी, पढाइमा राम्रो, गुरुहरूको प्रिय पात्र, बाबुआमाको आज्ञाकारी भाइबहिनीको संरक्षक, कार्यालयको इमान्दार, गाउँटोलको सहयोगी, पत्नी छोराछोरीको प्राणप्यारो आदि..इत्यादि भनेर मलाई भड्खालाेतिर  धकेल्ने ती दुष्ट अनुहारहरूलाई के थाहा मेरा तिनै कथित गुणहरूका कारणले मेरो कुन दुर्गति भइरहेको छ आज । नपत्याए लौ सुन्नोस् घनश्याम दाइको कथा !

घनश्याम दाइ हाम्रो गाविसभरिमा फटाहाका राजा । न पढाइमा रुचि, न घरमा काम सघाउने, न बाबुआमाको डर, न गुरुहरूप्रति कुनै श्रद्धा । बाबुको कोटको गोजी छिँड पार्नेदेखि आमाको कानको ढुङ्ग्री उखेल्नेसम्मका शुभकार्यमा पटकपटक अग्रसर । बोराका चामल उघाउनेदेखि बाले बर्खाभरि कमाएर उधारोमा बेचेको धानको दाम उठाएर कहिले दिल्ली, कहिले दार्जिलिङको पर्यटनमा जानु उनका लागि दालभात खाएजस्तै सरल कर्म ।
लोहार बूढालाई कोदालाका बिँडले थला बसाएर झन्डैझन्डै मृत्युको मुखमा पुर्याएको घटनाको प्रत्यक्षदर्शी मैले पोल खोलेको भए म पनि आज यसरी उनकै कथा लेखिरहेको हुने थिइनँ सायद । भोलिपल्ट पुलिसले आएर खोजतलास गर्दा पनि अपराधी पत्ता लागेन । घनश्याम दाइले बूढालाई हिर्काएर फर्किँदा मलाई पनि पैनीपैनी पानीबाट दौडाएका थिए । पुलिसले पाइतालाको डाम नभेटोस् भनेर पो रैछ । बच्चैमा उनी सिद्धहस्त अपराधीजस्ता रहेछन् ।

उनको वीरताको कथा अब लामो छैन । कक्षा नौमा पढ्दै गर्दा कक्षा सातमा पढ्ने एउटी किशोरीलाई समात्ने प्रयास गरेको होम सरले रङ्गेहात पक्रेर गिट्टीमा तीन घण्टा घुँडा टेकाएपछि घनश्याम दाइको जीवनमा भयङ्कर परिवर्तन आयो । घुँडा टेकेकै दिन बेलुका स्कुल छुट्टी भएपछि घर जाँदै गरेका होम सरलाई एकान्त पारेर इँट्टाले घुँडा फुकालेर भागेका घनश्याम दाइलाई हामीले पन्ध्र वर्षपछि राजधानीमा फेला पार्यौँ, ठूला सून व्यापारीका रूपमा । ‘घनश्याम बाबु’ नामले प्रख्यात । होम सरका घुँडा फुकालेर दिल्ली पुगेको र दिल्लीमा एउटा ठूलो सुन पसलमा १२ वर्ष काम गरेको कुरा उनी गर्छन् तर उनले त्यहाँबाट फर्किँदा कसरी करोड रुपैयाँ ल्याए, त्यो चाहिँ भन्दैनन् । त्यस विषयमा थप कुरा सोध्ने आँट पनि कसैले गर्दैनन् घनश्याम बाबुलाई ।

अहिलेको कुरा एकदमै बेग्लै छ । हाम्रो परिवारका सबै सदस्यहरूको आतेजाते, खातेपिते, हाइहाइ सबै घन दाइतिर सरेको छ । ‘अपराधी घने’ भनेर बा पनि भन्दैनन् अचेल । अचेल सबैको माया उतै जान्छ । सेल, कुराउनी, चामल, तेल, गुन्द्रुक, सिन्की सबै उतै । चारजना छोराछोरीलाई अलपत्र पारेर दाजुसँग आएकी बिहारी भाउजू मेरी श्रीमतीका अगाडि कता हो कता देवी नै भएकी छन् ।

देख्यौ त साले अनुहार हो, पैसाको चमत्कार ? खूब मलाई असल, इमानदार, भलाद्मी, आज्ञाकारी भन्थ्यौ नि ! त्यसो भनीभनी मलाई लाटो, मरन्च्याँसे, गोबरगणेश र हरिलट्ठक बनायौ होइन, बेकुफ हो ?!

मलाई पोखरीमा घँचेट्ने हीराबहादुर दुई–दुईपटक सांसद् भएर क्या सानदारसँग ब्लडप्रेसर प्लस सुगर जस्ता खानदानी रोग बोकेर प्राडोमा गुडिरा’छ, आफैं स्साला भने ग्याँस्टिक जस्तो घटिया र सर्वहारा रोग अँठ्याएर पैदल उडिरा’छु ।

भड्खालाहरूमा जाकिने क्रममा अर्को एउटा भ्वाङमा खुट्टा परेछन् । साहित्यसिर्जना भन्ने एउटा उल्लू कर्म पनि हुँदोरहेछ यो संसारमा । त्यस भौडीमा फँसेपछिका कुरा झन् के गर्नु ! केही पाठकहरूबाट, केही सम्पादकहरूबाट, केही समालोचक र प्रशंसकहरूबाट म प्रताडित छु, आक्रान्त छु, आतङ्कित छु । तिनीहरू राम्रो लेख्छस्, लेख् लेख् भनेर जब उक्साउँछन्, मेरो निद्रा हराउँछ, भोक भाग्छ, आराम अस्ताउँछ, सुख सिद्दिन्छ, चयन चर्किन्छ, आनन्द अत्तालिन्छ, मथिङ्गल मडारिन्छ, टाउको टन्किन्छ । मध्यरातमा ब्युँझदा पनि नयाँ केही लेख्न नसकेकोमा, अरूको भन्दा राम्रो लेख्न नसकेकोमा असन्तोष र असन्तुष्टिले छटपटी भइरहेको हुन्छ । स्साला ! कस्तो कुलतमा फँसिएछ यस्तो ?!

मेरो छिमेकी ज्ञानबहादुर गुरागाईं बिहान नौ बजेसम्म लम्पसार परेर सुत्छ र टोलै थर्काएर घुर्छ । दिउँसो अफिसमा जागिर खान्छ, बेलुका भट्टीमा रक्सी खान्छ, राति ओछ्यानमा स्वास्नीलाई खान्छ र बिहानभरि समयलाई खान्छ । न बज्यालाई एक अच्छेर लेख्नुपर्छ न कुनै विकृति विसङ्गति देख्नुपर्छ । राजाले सत्ता लैजाओस् कि प्रधानमन्त्रीले सिरपेच लाओस्, कुनै नेताले आची खाओस् कि कुनै प्रशासकले घूस, ज्ञानबहादुरलाई बाल मतलब छैन । ऊ घुर्न छाड्दैन, मात्न छाड्दैन, चुरोट उडाउन छाड्दैन, तास खेल्न छाड्दैन, स्वास्नी कुट्न छाड्दैन । न कसैले उसलाई तेरो कविता राम्रो भएन भन्छ, न राम्रो व्यङ्ग्य लेखिस् यार भन्छ ।

मलाई पनि त कहिलेकाहीँ लम्पसार परेर सुत्न मन लाग्दो हो, कहिलेकाहीँ शूरवीर सुब्बाजस्तै बेस्कन मातेर झमझम पानी परिरहेको सडकमा ओल्लो छेउ र पल्लो छेउ गर्दै अर्धनग्न भएर गीत गाउँदैगाउँदै हिँड्न मन लाग्दो हो । गीत गाउँदैगाउँदै सधैँ एउटै घरमा कत्ति जानु, विपीन काकाजस्तो बेलाबेला गोप्य रूपमा राखिएकी अवैध कान्छी श्रीमतीका घरतिर गएर उतै रात बिताउन मन लाग्दो हो । यो अलि बढी भएको भए कम्तीमा पनि बिहानभरि थप्यानीका चियादोकानमा चिया र चुरोट तान्दै जर्ज बुसदेखि कमरेड प्रचण्डसम्मका भित्री योजनाका बारेमा ठूलाठूला गफ हान्न त मन लाग्थ्यो होला नि गाँठे हो !

त्यस्ता आनन्ददायक क्षणहरूको कल्पना गर्दागर्दै टुप्लुक्क एउटा पाठक मुन्टिन्छ र कुनचाहिँ एउटा कविताको प्रशंसा गर्न थाल्छ । अथवा अर्को कुनै प्रशंसक मर्छ र कुनै निबन्धले मन छोएको कुरा गर्छ । अथवा एउटा समालोचक आउँछ र कुनचाहिँ एउटा कथामा प्रयोग भएको कुनै एउटा शब्दप्रति आपत्ति प्रकट गर्न थाल्छ । बेकुफ अनुहारहरू ! एक मिनेट सुस्ताएर बस्न दिँदैनन्, एउटा मीठो कल्पनासम्म गर्न दिँदैनन् ।

यस्तैयस्ता थुप्रै रिसउठ्ता, झर्कालाग्दा, वाक्कलाग्दा, दिक्कलाग्दा, चिथोर्नुजस्ता, निचोर्नुजस्ता, कोपर्नुजस्ता अनुहारहरूले मलाई तर्साइरहन्छन् दिनरात । मलाई भुतुक्कै मर्न नदिएर बिस्तारै बिस्तारै मार्ने उद्धव, गणेश, अञ्जु, गोविन्द, श्रीहरि, पुरुषोत्तम, अनिरुद्र र विनयहरूका अनुहार सम्झ्यो कि क्रिकेट हान्ने मुङ्ग्राले हानेर किच्याइदिऊँ जस्तो लाग्छ । मलाई अलिकति समस्या पर्यो कि ‘कति चाहियो लैजा’ भन्दै जहिले पनि र जति पनि ऋण सहयोग गर्ने यिनीहरूले मलाई चयनले सुत्न दिएका छैनन् । पढ्न होस् कि बिहे गर्न, घर खर्च होस् कि बिरामी उठाउन, घडेरी उकास्न होस् कि घर बनाउन, व्याज पनि नमागी तमसुक पनि नलेखी सापटी दिने यिनीहरूले मलाई दिनमा भोक न रातमा निद्रा बनाएका छन् । म कल्पना गर्छु, टाउकामा एक पैसा पनि ऋण नभएको दिन कस्तो हुँदो हो ! तर त्यो दिन आउनेछैन, जबसम्म उल्लिखित प्रकारका उल्लू अनुहारहरूले मलाई छाड्नेछैनन् ।

मलाई जागिर दिने अड्डाका हाकिमहरूलाई म कसरी बिर्सन सक्छु र ! जसले एउटा इमानदार गधा सम्झेर मलाई अन्तर्वार्तामा उत्तीर्ण गराए र मलाई धोवीको गधा बनाए– घरको न घाटको । यिनीहरूले यो मरन्च्याँसे जागिरमा नअल्झाइदिएको भए सायद म अरब वा कोरिया वा जापानका धोवीहरूको गधा हुँदो हुँ । टन्न हरियो घाँस वा दाना खान पाउँदो हुँ । यसबेला मुकुन्दे गिरीले मलेसियाबाट मालामाल दाम पठाएजस्तो म पनि पठाउँथे होला । नभए पनि दुर्गा उप्रेतीले जस्तो यौन कथा र सेक्सी उपन्यास बेचेर घट्टेकुलोमा तीन तले घर बनाइसक्थेँ होला । मलाई पिलपिले जागिरमा फँसाउने स्साला नेपाली धोबीहरू !

अझैं कति छन् कति कुच्याउनुजस्ता अनुहारहरू ! तर यति गाली गरिसकेपछि तिनीहरू आफैं ठेगान लाग्लान् भन्ने मलाई आशा छ । ठेगान नलाग्ने जब्बर कोही बाँकी छौ भने ल आओ साले हो एकएक गरेर !

०००

(कार्तिक २९, २०७० मा पाेष्ट )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x