साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आसन ग्रहण

अहिले कवि, गजलकार, र साहित्यकार कति छन् कति भनेर साध्य छैन । यस पालीको जनगणनामा म बसेको वार्डको जनसङ्ख्या तीनहजार रहेको देखिन्छ भने गजलकार र कविको सङ्ख्या मात्र तीनहजार तीनसय तेर रहेको पाइयो ।

Nepal Telecom ad

आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ —

१. पारिवारिक आसनग्रहण—
नेपालको इतिहासमा यो आसनग्रहण महत्त्वपूणर् मानिन्छ । यस आसनग्रहणका घटक तथा उप-घटक धेरै भएतापनि मुख्य चारवटा घटकहरूको मात्र यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ, जस्तै—

१.१ पाहुनेज्वाइँ र घरज्वाइँको आसनग्रहण—
पारिवारिक आसनग्रहणमा पाहुनेज्वाइँ सर्वश्रेष्ठ आसनग्रहणकर्ता हो । पहिलो पटक ससुराल पुगेको ज्वाइँलाई बहुमूल्य आसनमा आसनग्रहण गराइन्छ । पञ्चायत कालका राजा र गणतन्त्र कालका राष्ट्रपति/प्रधानमन्त्री भन्दा पनि उच्च तहको आसनग्रहण गराइन्छ उसलाई । घरज्वाइँले नवागन्तुक ज्वाइँलाई ससम्मान आसनग्रहण गराउनु पर्छ । घरज्वाइँ कुनै काममा व्यस्त रहेका बेला एकदिने ज्वाइँ आयो भने पनि आइपुग्नासाथ सासूद्वारा उसमाथि आदेशको वर्षा हुन्छ— ए ज्वाइँ ! घराँ ज्वाइँ ठाकुर आइस्या देखेनौ ? तिम्रा आँखा फुटे कि क्या हो ? थपक्क खाटाँ गलैंचा बिछ्याएर उहाँलाई राज गराऊ । बिचरा अभागि घरज्वाइँ धोबीको लुते गधामा स्वतः रूपान्तरित हुन्छ । ऊ आफ्नो आसनग्रहणको त कल्पना पनि गर्न सक्दैन । मिठो रासनग्रहणका लागि पनि ऊ मरुभूमिको काकाकुल हुन्छ गणतन्त्रात्मक नेपालका गरिब जनता जस्तै ।

अचेलका च्याउ उम्रेसरी संघसंस्थाहरूका कथित सभासमारोहमा उपस्थित प्राज्ञिक तर स्वतन्त्र व्यक्तिको आसनग्रहणको हालत र घरज्वाइँको आसनग्रहणको हालत उस्तै उस्तै हुन्छ । घरज्वाइँले आफूसमेत लागेर आफूभन्दा अयोग्य र अशिक्षित साडुभाइको अथवा साडु दाजुको आसनग्रहण गराएर आफू उपेक्षित हुनुपर्छ भने आफ्नै अगाडि आफैँले पढाएको एस.एल.सी. फेलसंघको सभापति समेतलाई आसनग्रहण गराई आफूलाई वास्तै नगर्ने कार्यले प्राध्यापक एवं शिक्षक सबैले उपेक्षित हुनुपर्छ; तर दोस्रो, तेस्रो पटक ससुराल आउने ज्वाइँको आसन ग्रहणमा यो नियम लागु हुँदैन । कस्तो नियम लागु हुन्छ ? भन्ने प्रश्नको उत्तर थाहा पाउन परबाट आयो नरे थापा भन्ने खालको ज्वाइँकविता अध्ययन गर्नुपर्छ । सो कविता यसप्रकार छ—
पहिलो पटक ससुराल जानु,
जे जे खान मन लाग्छ तेही तेही खानु;
दोस्रो पटक ससुराल जानु,
घिउको दुनु सानु;
तेस्रो पटक ससुराल जानु,
दालभात मात्र खानु;
चौथो पटक ससुराल जानु, किन आइस् कानु !

यस अध्ययनद्वारा आसनग्रहणको सूचिबाट चौथोपटक ससुराल जाने ज्वाइँ र घरज्वाइँको नाम स्वतः हटेको कुरा थाहा पाउन सकिन्छ । यी दुई ज्वाइँरूपी जन्तुहरू आसनग्रहण गर्ने भाग्यमानीमा होइन आसनग्रहण गराउने अभागी कालिदासको श्रेणीमा पर्दछन् ।

१.२ मितको आसनग्रहण—
यस आसनग्रहण अन्तर्गत मित मात्र भएका घरमा आगन्तुक मितको आसनग्रहण पर्दछ । यसलाई आसनग्रहणको सिद्धान्तले त्यति महत्व दिएको पाइँदैन । ए मितज्यू, लु एता आँटतिर बसम् ! भनेर थोत्रे गुन्द्रीमा बस्न सङ्केत गरिन्छ, आफूलाई पकाएको सिधोपिठो ख्वाइन्छ अनि सहरतिर भए थोत्रे खाटमा र गाउँतिर भए थोत्रे गुन्द्रीमा सुताइन्छ ।

१.३ मितिनी र मितको आसनग्रहण—
यसलाई महत्त्वपूणर् आसनग्रहणका रूपमा लिइन्छ; किनभने मित मात्र भएका घरमा आगन्तुक मितिनी र मितिनी मात्र भएका घरमा आगन्तुक मितको आसनग्रहण हो यो । आफ्ना घरमा छैन भने पनि खोजीमेली गरेर मितिनी अथवा मितलाई मिठोमसिनु नै ख्वाइन्छ । सहरतिर भए आफ्नै कोठामा सुताइन्छ भने गाउँतिर भए आफू कतै सुतेर आफ्नै ओछ्यानमा सुताइन्छ मित अथवा मितिनीलाई । आगन्तुकको इच्छानुसार जति दिन बसे पनि घरवाला खुसी नै हुन्छन् । देशको प्रधानमन्त्रीलाई गाउँलेले गँगटाको सत्कारद्वारा गराइएको आसनग्रहण भन्दा ठूलो आसनग्रहण हो यो । यसलाई एउटै पार्टीको एक्लो नेताको घरमा नेती र नेतीको घरमा नेता (रात बस्नेगरीे) पाहुना लाग्नुभन्दा पनि उच्चकोटीको आसनग्रहण मानिन्छ । माथि बताइए अनुसारको आसनग्रहणमा मित/मितिनीको आसनग्रहण तिब्बतबाट शरणार्थीका रूपमा नेपाल भित्रिएको अनुमान गरिन्छ भने नेता/नेतीको आसनग्रहण टुरिष्ट भिसामा युरोप/ अमेरिकाबाट नेपाल आएर यतै बसेको ठानिन्छ ।

२. पार्टीगत आसनग्रहण—
यसअन्तर्गत जनताका कार्यक्रममा नेताको आसनग्रहण र नेताका कार्यक्रममा जनताको आसनग्रहण पर्दछ । आसनग्रहणको इतिहासमा पहिलो कार्यक्रमको आसनग्रहण महत्त्वपूणर् मानिन्छ; किनभने यस कार्यक्रममा छुट्याइएको समयमध्ये असी प्रतिशत समय आसनग्रहणमा लाग्छ । यसमा आफ्ना पार्टीका सबै खाले चवर्गीय (चम्चे, चलखेले, चाटुकार, चाराने, चुतिया, चुसाहा, चोर, च्याँसे) नेतालाई आसनग्रहण गराउनु पर्छ । सम्बन्धित पार्टीबाहेक अन्य पार्टीका वरिष्ट नेताहरू समेत आसनग्रहणको कोटामा पर्दैनन् । चवर्गीय कोटा चाहिं कसैगरी छुट्नु हुदैन । कथं छुटेमा सभापति र उदघोषकको दोहोलो काडिन्छ । यस क्रममा कुनै मन्त्री र सभासद्ले समारोह नै बहिष्कार गरेको समाचार हामीले सुन्दै आएका छौँ । समारोह बहिष्कार गर्न नसक्ने र आसनग्रहणको कोटामा पनि नपर्ने बिचरा वरिष्टहरू अर्को सभामा जाने बहानामा ओठ कलेँटी पार्दै उठ्छन् र सभापति र उदघोषकतिर पुलुकपुलुक हेर्दै बिस्तारै सभाहलबाट बाहिरिन्छन् । यस्तो लाग्छ ढोकाबाट बाहिरिँदासम्म पनि आसनग्रहणबाट वञ्चित बिचरा अभागीहरू आसनग्रहणको आस गर्दै हुन्छन् । यी बाहिरिने नेताको अवस्था र तथाकथित जनपक्षीय एवं धनपक्षीय नेताका छोरा+छोेरीको बर्थडे पार्टीमा खान पाइन्छ कि भनेर आसले आएका तर ढोकाभित्र पस्नै नपाई फर्किएका गरिब जनता र उनका छोराछोरीको अवस्था उस्तैउस्तै हुन्छ ।

आसनग्रहणको इतिहासमा लेखिएको एउटा चाख लाग्दो घटना यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ । मेरा एकजना मित्रलाई आसनग्रहण-फोबिया भएको रहेछ । आसनग्रहणकै लोभमा उनी पूर्वमा सिलिगुडी, पश्चिममा इटहरी, दक्षिणमा महाभारा, गौरीगन्ज, डिगलब्याङ्क र उत्तरमा इलाम, पाँँचथर, ताप्लेजुङसम्मका सभा समारोहमा पनि पुग्दा रहेछन् । बरु नेताहरूको काली कुत्तिम्ले समेत महा उत्तिम् भएर आसनग्रहण पाउँदो रहेछ, तर रामोराम उनले चाहिँ सुकुलमा समेत आसनग्रहण भेटेका रहेनछन् । आफ्नो गोजी मात्र होइन श्रीमतीको थैलीसमेत रित्याएछन् उनले । कुनै समारोहमा पनि आसनग्रहण नगराएपछि उनले एउटा जुक्ति नगरी छाड्दिन भन्ने बिचार गरेछन् । कुनै एउटा कार्यक्रममा सबै हिंडिसकेपछि हजुर कुन पार्टीमा हुनुहुन्छ ! भनेर उदघोषकलाई सुटुक्क सोधेछन् । उदघोषकले आपूु रा.प्र.पा.मा आबद्ध भएको कुरा गरेछ । उनी स्वतन्त्र व्यक्ति भए पनि आसनग्रहणकै प्रयोजनका लागि उनले भोलिपल्टै सो पार्टीको टिकट काटेर अर्को कार्यक्रममा त्यही चाराने टिकट लिएर गएछन् । त्यस पटक चाहिँ उनी आसनग्रहण गर्न पाउनेमा विश्वस्त भएछन्, तर उनको विश्वास लोकतन्त्रमा विश्वास गर्ने गरिब नेपाली जनताको जस्तै भएछ; किनभने अस्तिको उही उदघोषक यसपालि कांग्रेस भएर आएको रहेछ । मोराले छानीछानी कांग्रेसीलाई मात्र आसनग्रहण गराएछ । उनका घरमा काम गर्ने कालुले पनि अग्रस्थानमा आसनग्रहण पाएछ । उनलाई उदघोषकले हेर्दा पनि हेरेनछ । थुक्क ! भन्दै निधारमा हात राखेर मेरा मित्र घर फर्किएछन् ।

एक महिनापछि पहिलेकै ठाउँमा अर्को समारोह हुने निश्चित भएछ । उनले पनि हत्त न पत्त जयनेपालको टिकट लिएछन् र समारोहका दिन समयअघि नै समारोह स्थलमा उपस्थित भएछन् । भाग्यले साथ नदिएपछि कसको के लाग्छ । त्यसपटक पनि उनको इच्छा पूरा भएनछ; किनभने अस्तिको उदघोषक कट्टर एमाले भएर आएको रहेछ त्यसपालि । असफलता नै सफलताकी जननी हुन् भन्ने कुरा मेरा मित्रले तेन्जिङ नोर्गेबाट सिकेका रहेछन् । उनले पटक्कै हरेस खाएनछन् र अर्को पटक पनि प्रयास गरेछन् एमालेको पार्टी सदस्य भएर । तर आसनग्रहणरूपी सगरमाथा विजय गर्न उनी यसपटक पनि असफल भएछन्, किनभने अस्तिको उदघोषकले यसपालि एमाओवादीको चस्मा लगाएर आएको रहेछ । मेरा मित्रले पनि एमाउवादीकै चस्मा किनेछन् अर्को पटकको आसनग्रहणका लागि । तर अफसोच त्यस पटक उदघोषकले बिमाओवादीलाई मात्र आसनग्रहण गराएछ । उनी आफ्नो अभियानबाट कत्ति पनि विचलित भएनछन् र बिमाओवादीतिर लेपासिएछन् सुटुक्क । उनी सधैंझैं समारोहमा गएछन् । त्यहाँ पुग्दा मात्र उनले थाहा पाएछन् उदघोषकले आरवादीको बिल्ला लगाएको छ भनेर । उपस्थिति पनि राजावादीको मात्र थियो । त्यसपटक रजिस्टरमा सही गर्नेजति सबैको आसनग्रहण भएछ । मेरा मित्रले सही गर्न भुलेको हुनाले उनको आसनग्रहण भएन छ त्यहाँ पनि । उनी हेर्याहेर्यै भएछन् ।

एमाओवादीको टिकट लिंदा चाहिं उनकी श्रीमती निकै खुसी भएकी थिइन् अरे; तर आफ्ना लोग्नेले बिमाओवादी र आरवादीको टिकट लिएर पनि आसनग्रहणको मौका नपाउँदा चाहिं उनको चित्त सारै दुख्यो अरे । एक त सत्तामा नरहेको त्यसमा पनि कार्यकर्ता थोरै भएका पार्टीको कार्यक्रममा समेत आसनग्रहण नभेट्टाउनेले डाडुमा पानी तताएर हाम्फाल्नु नि ! भनिछन् रिसका झ्वाँकमा । धन र धर्म दुबैतिर नाश भनेको यही होला ! अब अर्को समारोहको आसनग्रहणमा तै उनको चिठ्ठा पर्छ कि हेर्नु छ ।

३. अत्याधुनिक आसनग्रहण
प्रस्तुत आसनग्रहण अन्तर्गत धेरै आसनग्रहण पर्छन् । तिनमध्ये निम्नलिखित आसनग्रहण महत्त्वपूणर् मानिन्छन् :

३.१ नाकगत आसनग्रहण—
यो आसनग्रहण नेपालको मौलिक आसनग्रहण हो । संसारको कुनै कुनामा पनि यस्तो आसनग्रहण छैन । यसको पूणर् आविष्कार भुइँमुनि भएको हो भने आंशिक आविष्कार घना जङ्गलभित्र भएको हो । वर्तमान समयमा नेपालको कुनाकुनामा नाकगत आसनग्रहण गराइन्छ । नेपालमा गन्नु हो भने अढाइ करोड जति नाक होलान् र अनुसन्धानात्मक हिसाबमा नाकका प्रकार पनि त्यति नै हुन सक्छन् । गडुरनाके, गिद्धनाके, बाँदरनाके, सुगानाके, चिम्प्यान्जीनाके, बङ्गुरनाके बिरालानाके, बाघनाके, सगरमाथानाके, झापाको केचनानानाके कति हो कति भनेर र गनेर साध्य छैन नेपाली नाकका प्रकार; त्यसैले यहाँ मोटामोटी रूपमा चुचे र थेप्चे नाकको मात्र वणर्न विश्लेषण गर्ने प्रयास गरिएको छ । यी दुई नाकको इतिहास त्यति लामो छैन । नेपालमा गणतन्त्र आएपछि मात्र यी दुई नाकको टुप्पामा द्वन्द्वात्मक भौतिकवाद, समाजवाद, र राष्ट्रवादको चित्र देखिएकोे हो र आसनग्रहणको इतिहासमा यी नाकको नाम लेखिएको हो । अहिले कुनै समारोहमा थेप्चे नाकले चुचे नाकलाई देख्यो भने उसलाई नाक लाग्छ । थेप्चेको कार्यक्रममा थैप्चे नै उदघोषक पर्यो भने त विचरा चुचे आसनग्रहणमा मात्र होइन भाषण श्रवणमा समेत उपेक्षित हुन्छ । सो समारोहमा निहुर्मुन्टी न भएर सबैभन्दा पछाडिको लहरमा बस्नुबाहेक अरु उपाय हुँदैन उसका लागि । मेरा अर्का एकजना मित्रले आसनग्रहणकै लागि ढुङ्गाले हिर्काएर आफ्नो नाक थेप्चो बनाउँदा पनि आसनग्रहण गर्न पाएनन् थेप्चेको कार्यक्रममा । पछि अनुसन्धान गर्दा पत्ता लाग्यो खाल जग्गामा उनका आँखा नभएकोे कारणबाट उनले आसनग्रहण नभेटेका रहेछन्, तर चुचेले आयोजना गरेको कुनैकुनै समारोहमा चाहिँ उपस्थित हुने जति सबैले आसनग्रहण भेट्छन् कार्यक्रम सकिने बेलासम्म भए पनि । सत्ते होला यहाँ चुचे नाकको पक्ष किमार्थ लिइएको होइन ।

३.२ रङ्गगत आसनग्रहण—
यस आसनग्रहणमा दलीय, जातीय, लिङ्गीय, नाकीय, धार्मिक, साम्प्रदायिक कुनै किसिमको भेदभाव नराखी रङका आधारमा मात्र आसनग्रहण गराइन्छ । संसारभर सेता, राता, पँहेला र काला गरी चार रङका मानिसहरू रहेका पाइन्छन् भने नेपालमा मूलतः छिपछिपे काला र गहुँगोरा मानिस मात्र छन् । एउटा रङ भएका मानिसको कार्यक्रममा अर्को रङ भएका मानिसलाई आसनग्रहण गराऊन् त मरिजाऊँ । चाहे अर्को रङको मान्छे जतिसुकै ठूलो ओहोदाको किन नहोस् अथवा चार दल भित्रकै किनहोस् किमार्थ आसनग्रहण पाउँदैन । तर आफ्नो रङका उम्रेदेखि खुम्रेसम्म सबैले आसनग्रहण पाउँछन् । यतिसम्म कि आफ्नो रङको छ भने उदघोषकको जारै भए पनि उसले आसनग्रहण पाउँछ ।

३.३ जातगत आसनग्रहण—
नेपालमा सबैभन्दा पक्षपातरहित आसनग्रहण यही नै हो । मानिस मर्यो भनेर हेर्न आ’को ता बाहुन् पो मर्या रैछ, मानिस मर्यो भन्थे तर लिम्बू पो मरेको रहेछ भन्ने जस्ता गणतन्त्रात्मक आदर्श वाक्यले यस आसनग्रहणको महत्त्वलाई अझ स्पष्ट पारेको छ । यो कुरा विश्वास नगर्नेले लोकतन्त्रको इतिहास पल्टाएर हेर्दा हुन्छ । भाइ फुटे गँवार लुटे भन्ने हिन्दीको उक्तिलाई साकार पार्न यस किसिमको आसनग्रहण गराइन्छ । सयौं जातजाति भएको हाम्रो देशमा यो आसनग्रहण विदेशीलाई हँसाउन मात्र होइन थपडी बजाएर नचाउन पनि सफल भएको छ । एउटै पार्टीका मेरा दुई जना साथीको जात फरक फरक छ । ती दुबै जनाले आआफ्ना जातीय कार्यक्रममा आसनग्रहणको आस देखाएर एक आपसमा निम्ता पनि गर्छन् तर आसनग्रहण गराउने बेलामा एक अर्कालाई खैनी खुवाइदिन्छन् दुबैले । मेरा अर्का एकजना मित्रको बानीबेहोरा अचम्मको छ । जोसुकैले बोलाओस् उनी पुगेकै हुन्छन् कार्यक्रममा । तर उनलाई आसनग्रहण चाहिं हुनैपर्छ । सामान्य अतिथिका रूपमा आसनग्रहण भेट्दा आधाघन्टा जति मात्र बसेर उनी सुटुक्क भाग्छन् । विशिष्ट अतिथिको आसन पाउँदा कार्यक्रमभरि बस्छन् र प्रमुख अतिथि बन्ने सौभाग्य पाए भने त उनी यति गद्गद हुन्छन् जसले गर्दा उनलाई बिस पच्चिस हजार चन्दाको घोषणा गरेको थाहै हुदैन । यति हुँदाहुँदै पनि किन हो कोनि उनी आफुभन्दा इतर जातिका कार्यक्रममा अचेल पटक्कै जाँदैनन् !

३.४ स्थानगत आसनग्रहण—
मन मखु मर्स्या ख, ए मानिस नहीं है पहाडिया है, धोती चोर देश छोड, टोपी चोर मधेस छोड भन्ने महत्त्वपूणर् लोकतन्त्रे भनाइको अर्थलाई यस आसनग्रहणले पुष्टि गरेको छ । साँच्चै नढाँटी भन्ने हो भने पहाडेहरूका कार्यक्रममा हाम्रा देशका मधेसे राष्ट्रपति र उपराष्ट्रपतिले समेत आसनग्रहण पाउँदैनन् भने मधेसेहरूका कार्यक्रममा पहाडे शक्तिशाली प्रधानमन्त्रीलाई पनि आसनग्रहण पाउन हम्मेहम्मे पर्छ । हाम्रा देशका जनतालाई दसआने र सोरआने बनाउने प्रमुख कलाकारहरूको पनि आसन ग्रहणमा हबिगत देखिएकै हो ।

एक पटक मेरा टोपीवाल मित्रले आसनगहणका आसमा टोपी फ्याँकेर धोती लगाएछन् र गएछन् धोतीवालका कार्यक्रममा । त्यस पटक चैँ आसनग्रहण गर्न पाउनेमा उनी ढुक्क थिए रे, तर आसनग्रहण पाउनुको साटो उनले उपहासग्रहण मात्र पाएछन् । यसको कारण पछि पत्ता लागे छ उनी श्रीमतीको धोती पो लगाएर अन्भरिएछन् । थुक्क नहुने बेलामा गनाउने मुख !

३.५ धर्म संप्रदायगत आसनग्रहण—
हम्रो देशका छयासी प्रतिशत जनता हिन्हू धर्ममा आबद्ध छन्, तर यिनका दल चाहिँ कति छन् कति । यी दलहरूलाई अबको संविधानमा धार्मिक पार्टीको मान्यता दिंदा राम्रो हुन्छ होला । धार्मिक दलहरू अनगिन्ती भएका कारण यहाँ चर्चा परिचर्चा गर्न असजिलो भएको हुनाले मूलतः यिनलाई दुई दलमा विभाजन गरिएको छ— चन्दन दल र चन्दनेतर दल । यिनमा चन्दनेतर दल फुटेको देखिएको छैन तर चन्दन दल फुटेर तीन टुक्रा भएको छ । यिनीहरू अचेल होरिजन्टल, भर्टिकल र सर्कल चन्दनदलका नामले परिचित छन् । यी तीनमा होरिजन्टल चन्दनदलका नेता र कार्यकर्ता त्यति कट्टर रहेका पाइदैनन् भने भर्टिकल चन्दन दलका नेता कार्यकर्ता सारै कट्टर देखिन्छन् । भर्टिकल पनि फुटेर टुक्राटुक्रा भएको छ, जसमा दुई धार सक्रिय देखिएका छन्— भर्टिकल टु र भर्टिकल थ्री । एउटा कट्टर र अर्को अति कट्टर । एकपा माउवादी र नेकपा माउवादी जस्तै । सर्कल चन्दनदलमा आबद्ध व्यक्तिहरूको दलीय गतिविधि एकदमै न्यून रहेको पाइन्छ किनभने यिनीहरूले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दलको स्वीकृति पाइसकेका छैनन् । अर्को कुरा यो दल भर्टिकल टु र भर्टिकल थ्रीबाट सारै उपेक्षित देखिन्छ । ती दुई महाशक्तिले सर्कल चन्दनदललाई दक्षिणपन्थी, पुनरुत्थानवादी, यथास्थितिवादी भनेर तथानाम गाली गरेको पनि सुनिएको छ । भर्टिकल थ्रीले आयोजना गरेका धार्मिक कार्यक्रममा भर्टिकल टुलाई समेत आकाशको फल हुन्छ आसनग्रहण पाउन भने अरु दलका मान्छेले त कार्यक्रमस्थलभित्र पसेर आसनग्रहणको कल्पना गरी थुक निल्न सम्म पनि पाउँदैनन् । अँ टुले चाहिँ आफ्ना दलका मान्छे कम हुँदा अरूलाई पनि आठपाँच पछाडिपटि नै किन नहोस् आसनग्रहण गराउँछन् । बरू होरिजन्टल, सर्कल र चन्दनेतर पार्टीका मानिसहरूले चाहिँ नातावाद र कृपावादबाहेक अलिक कमै भेदभाव गरेको पाइएको छ आसनग्रहणमा ।

४. साहित्यिक आसनग्रहण
अहिले कवि, गजलकार, र साहित्यकार कति छन् कति भनेर साध्य छैन । यस पालीको जनगणनामा म बसेको वार्डको जनसङ्ख्या तीनहजार रहेको देखिन्छ भने गजलकार र कविको सङ्ख्या मात्र तीनहजार तीनसय तेर रहेको पाइयो । त्यसमा पनि कवि साहित्यकारहरूको आआफ्नै सिन्डिकेट रहेको हुन्छ । आसनग्रहणको सम्पूर्ण व्यवस्था सम्बन्धित सिन्डिकेटले मिलाउँछ ।

यस आसनग्रहणमा पनि नातावाद र कृपावादले जरो गाडिसकेको छ । प्रगतिशील साहित्यकारहरूका कार्यक्रममा अगतिशील साहित्यकारहरू छायामा पर्ने र अगतिशील साहित्यकारहरूका कार्यक्रममा प्रगतिशील साहित्यकारहरू छायामा पर्ने कुराले कवि साहित्यकारहरूमा पनि बर्ड फ्लु लागेको कुरा छर्लङ्ग भएको छ । जे जस्तो भए पनि साहित्यिक कार्यक्रम चाहिं अरूका कार्यक्रम भन्दा राम्रै हुन्छ, किनभने यसमा दश बजे सुरु हुने कार्यक्रम झन्डै बार सत्ताइसमा सुरु हुन्छ । अनि अर्को राम्रो मान्नै पर्ने पक्ष के हो भने यसले आसनग्रहणलाई सारै थोरै समय छुट्याएको हुन्छ – सात मिनेट मात्र, तर गर्दै भन्दै जाँदा थप सातहजार सातसय सात सेकेन्ड बितेको पत्तै हुँदैन । यसका अरु पनि महत्त्वपूणर् विशेषताहरू छन् । तिनमा एउटा हो आफ्नो रचना सुनाएपछि त्यहाँबाट तुरुन्त हिंडिजाने, अरुलाई भिड नगर्ने । यसो हुँदा अन्तिम अन्तिमतिर पालो आउनेलाई सारै खुला हुन्छ । सभापतिले पनि सारो बोल्नु पर्दैन । यसबाहेक आफ्नो पालो आउन्जेल निष्क्रिय नबस्ने, बिहारिले भने झैं हल्लागुल्लामा सक्रियता देखाउने पनि साहित्यिक आसनग्रहणका उज्याला पक्ष हुन् ।

समग्रमा अचेल नेपालको आसनग्रहणलाई गिनिजबुकमा लेखाउँछु भनेर एकजना महाकाव्यकार राजधानीतिर जाँदै आउँदै गरेको देखिन्छ । जय आसनग्रहण !!!

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x