डा. टीकाराम पोखरेलकुकुरजात्रा
सभानायकले भनेको सदस्यहरूले टेरेनन् । विवाद चर्कँदै जाँदा सभामै एकआपसमा हानाहान सुरु भयो । म भने ज्यान जोगाउन लुसुक्क सभाबाट निस्केँ र पत्तातोडले घरतिर दौडिएँ ।
भित्तामा भुुण्ड्याइएको क्यालेण्डरको पाना पल्टाउनासाथ गाईजात्रा लेखेको मितिमा आँखा पर्यो । गाईजात्रासँगै ‘उपत्यकामा मात्र बिदा’ पनि लेखिएको थियो ।
आफूले त गाउँमा मान्छे जात्रा देखेको हो, शहरमा चाहिँ गाईजात्रा पनि हुने रहेछ, त्यो पनि राजधानीमा । गाई गाउँतिर पनि हुने भए तापनि जात्रा देखाउने गाई भने शहरमा मात्र हुन्छन् क्यारे । त्यही भएर त होला गाईजात्राको बिदा शहरमा मात्र दिएको सायद ।
साँच्ची जात्रा मनाउने गाई कस्ता हुन्छन् कुन्नि ? ती गाई हेर्ने उत्सुकता जाग्यो मलाई ।
एकजना शहरवासीलाई सोधेँ- “यो गाईजात्रा कता हुन्छ हँ ?”
उसले भन्यो- “सडकमा । गाईजात्रा भनेकै सडकमा हुने त हो ।”
मैले गाउँमा त जात्रा मन्दिरमा लागेको देखेको थिएँ । शहरमा त जात्रा सडकमा पो लाग्दो रहेछ ।
फेरि सोधेँ- “कुन बेला लाग्छ यस्तो जात्रा ?”
“दिउँसै लाग्छ ।” उत्तर पाएँ ।
गाउँमा जात्रा राती लाग्थ्यो, शहरमा जात्रा दिउँसै लाग्दो रहेछ । गाउँमा जात्रा मानिसले लगाउँथे, शहरमा जात्रा गाईले पो लगाउने रहेछन् । शहरको विचित्रता देखेर अचम्मित भएँ म ।
यस्तै अनेकन कुरा सोच्दै गाईजात्रा हेर्न राजधानीको सडकतिर निस्केँ । तर राजधानीका सडकमा गाईहरू थिएनन् । गाई नै नभएपछि कताको गाईजात्रा देखाऊन् । बरु गाईको सट्टा सडकमा एकादुई साँढे देखिए, ती साँढेलाई पनि कुकुरले खाउँला झैँ गरी भुकेर आत्थुआत्थु पारिरहेका थिए ।
गाईजात्रा हेर्न नपाएकोमा निराश भएर घर फर्किन खोज्दै थिएँ, सडकको एक कुनातिर बसिरहेका कुकुरहरूको एउटा झुण्डमा मेरो आँखा पर्यो । म निराश भएर फर्केको देखेर होला सायद, कुकुरको झुण्डले मलाई आफूतर्फ बोलायो ।
“जात्रा हेर्न हिँडेको ?” झुण्डभित्रको प्रधान कुकुरले मलाई भन्यो ।
“हो ।” मैले भनेँ ।
“आजकल गाईहरूले जात्रा देखाउन बिर्सिसके । गाईबाट जात्रा देखाउने कला हामीमा ‘ट्रान्सफर’ भएको छ । हामी देखाउँछौँ जात्रा । हाम्रो जात्रा हेर्छौ ?” अर्को एउटा कुकुरले भन्यो, जुन कुकुरसभाको सभानायक थियो ।
“हेर्छु नि किन नहेर्नु ।” मैले उत्साहका साथ हेर्ने कुरा दोहोर्याएँ ।
झुण्डमध्येकै एक कुकुरले आफूलाई मुखिया कुकुरको रूपमा चिनाउँदै अगाडि सरेर भन्यो- “हाम्रो झुण्डभित्र पनि विभिन्न उपझुण्डहरू छन् । तँ ठूलो कि म ठूलो भन्ने वाकयुद्ध छ । हामीले भुकेर एकले अर्कालाई च्यालेन्ज गरिरहेका छौँ । हाम्रा पनि अहम् छन् । के यी सबै तिमी बुझ्छौ ? अहँ, तिमीहरू बुझ्दैनौ । अरु कोही पनि बुझ्दैनन् । यो सबै कुरा मात्र म बुझ्छु म । त्यसकारण सबैलाई मैले नै न्याय दिनुपर्छ ।” मुखियाले यसो भनिरहँदा आफूलाई अलि भिन्न संसारबाट आएको कुकुर हुँ झैँ प्रस्तुत गरिरहेको थियो ।
झुण्डको अर्को छेउतिर रहेको अर्को एउटा भुस्याहा कुकुर अगाडि सरेर मतिर फर्केर भन्न थाल्यो- “ए मनुवा ! यी टाउकेहरूका मात्र कुरा नसुन । बरु हामी आवाजविहिनहरूका आवाज सुन । यी टाउकेहरूले त टन्न खान पाएका छन्, सुत्न पाएका छन् । यिनको केही काम छैन, ठूला कुरा मात्र गर्छन् । बोसो घटाउन एक आपसमा झगडा गर्छन् । हामीले चाहिँ खान पनि नपाउने, बस्न पनि नपाउने । यिनले मासुमासु खाएर फालेका हड्डी मात्र हामीले चपाउनुपर्ने । खै हाम्रो गास, बास कपासको अधिकार ?” अधिकारको कुरा गर्दा भुस्याहा कुकुर पनि अलि चर्को स्वरमा बोल्यो ।
यत्तिकैमा अर्को एउटा जोशिलो युवा कुकुर बोल्न अगाडि सर्यो । भन्यो- “यहाँ हामी एकआपसमा शक्ति प्रदर्शन गर्ने कुरा नगरौँ, अरुसँग दयामायाको याचना पनि नगरौँ । शक्ति त लडेर पनि प्राप्त गरिन्छ । आप्mनो अधिकार त खोसेर पनि लिइन्छ । तर हामी आफ्ना लागि होइन, बरु हाम्रो क्षेत्रका लागि लडौँ, भूमिका लागि लडौँ । हाम्रो क्षेत्रमा अरुले आँखा लगाइसके, हाम्रो क्षेत्र अरुको अतिक्रमणमा पर्यो । हाम्रो क्षेत्रलाई आफ्नो क्षेत्र भनेर अरुले दाबी गरिसके, त्यसको संरक्षण गरौँ । तत्काल हाम्रो क्षेत्रको साँध सीमाना नापजाँच गरी नयाँ नक्सा जारी गरौँ ।”
युवा कुकुरले यति भन्न पाउँदा नपाउँदै नजिकै रहेको अर्को झुण्डको जखमले कुकुर गर्जेर भुक्यो । भन्यो- “खबरदार हाम्रो ‘एरिया’ आफ्नो नक्साभित्र पार्ने होइन । त्यसो गर्यौ भने तिमीहरूलाई हामी नाकाबन्दी लगाएर हाम्रो क्षेत्रमा छिर्नै दिँदैनौँ । त्यति मात्र होइन, तिम्रा प्रधान, नायक, मुखिया समेत सबै परिवर्तन गरिदिन्छौँ । हाम्रो शक्ति बुझेका छौँ ?”
पल्लो झुण्डको कुकुर यसरी गर्जिनासाथ ओल्लो झुण्डको युवा कुकुरको जोश सेलायो । ऊ टाङमुनि पुच्छर छिराएर लुत्रुक्क पर्यो ।
सडक गफ चल्दै थियो । सभानायक कुकुरले सडक गफलाई बिट मार्दै भन्यो- “हामीलाई यसरी सडकमा फाल्तु गफ गरेर समय फाल्ने छुट छैन । हामी सम्पूणर् कुकुरका प्रतिनिधि पात्र हौँ । सबै कुकुरको भावना अनुरूप हामीले काम गर्नुपर्छ । यस्ता कुरा हामीले सडकमा होइन, सभामा राख्नुपर्छ । बरु म सभा बोलाऊँ ?”
सभानायकको सभा बोलाउने प्रस्तावमा सबैको सहमति भयो । म उत्सुकतापूवक कुकुरसभा हेर्न बसेँ ।
कुकुरसभा सुरु भयो । सभामा सडकका खिच्चा कुकुर मात्र थिएनन् । घरमा पालिएका जर्मन सेफर्ड, जापानिज स्पिचदेखि तिब्बतीयन भोटे कुकुरसम्मका सबै कुकुर एकै ठाउँमा जम्मा भएका थिए ।
सभाको सुरुमै सभानायकसँग समय लिएर भुस्याहाहरूले भने- “हाम्रो गास, बास, कपासको सुनिश्चितता होस् । हाम्रो समस्यामा संसारका सम्पूणर् कुकुर जातिको ध्यानाकर्षण होस् ।”
जर्मन सेफर्डले भन्यो- “हामीले खान त पाएका छौँ, तर हामीलाई दिएको खानाको गुणस्तरमा हामीलाई शङ्का छ । हाम्रो स्वतन्त्रतामा पनि अङ्कुश छ । सुनुवाई होस् ।”
जापानिज स्पिचले भन्यो- मेरो शरीर सेतो छ । तर मालिकले मलाई ननुहाइदिएर धुस्रेमुस्रे छोडिदिए, उपियाँ र जुम्राहरूले हामीलाई टोके । कम्तिमा हप्तामा एक पटक नुहाइदिने व्यवस्था होस् । फेरि मान्छेले घरपालुवा अन्य प्राणीको तुलनामा हामीलाई त्यति मर्यादित व्यवहार नगरेको पो हो कि भन्ने पनि हामीलाई महसुस भएको छ । हामीमाथि मर्यादित व्यवहार होस् ।”
तिब्बतीयन भोटे कुकुरले भन्यो- “हाम्रो त पहिचान नै हराउन लाग्यो । आदिमकालदेखिको हाम्रो पहिचान कायम होस् । आधुनिकता र विकासका नाममा हाम्रा अधिकार कुण्ठित हुनु भएन ।”
सबै आआफ्ना तर्क गर्न लागे । सडकमा बस्ने निम्नवर्गीय कुकुरहरूले खानै नपाउँदा त्यस विषयमा आवाज उठाउनुपर्नेमा सुविधासम्पन्न कुकुरहरूले भने आफ्नै थप सुविधाका कुरा मात्र गरेकोमा भुस्याहाहरूले नियमापत्ति प्रकट गरे । एकै छिनमा सभास्थलमा एक आपसमा आरोप्रत्यारोप सुरु भयो । कुकुरहरू सिटबाट उठेर एक अर्कालाई खाउँला झैँ गरी न्वारानदेखिको बल निकालेर भुक्न थाले ।
“सभाका सदस्यज्यूहरू ! आआफ्नो स्थानमा आशन ग्रहण गर्नुहोस् । सभाको मर्यादा कायम राख्नुहोस् ।” सभानायकले भन्यो ।
सभानायकले भनेको सदस्यहरूले टेरेनन् । विवाद चर्कँदै जाँदा सभामै एकआपसमा हानाहान सुरु भयो । म भने ज्यान जोगाउन लुसुक्क सभाबाट निस्केँ र पत्तातोडले घरतिर दौडिएँ ।
घरमा पुगेर सोफामा बसेको मात्र थिएँ । मेरा आँखा फेरि उही भित्तामा झुण्ड्याइको क्यालेण्डरको त्यही मितिमा पर्यो जहाँ ‘गाईजात्रा’ लेखिएको थियो । कलम उठाएँ । गाई लेखेको ठाउँ चट्ट काटेर त्यसको ठाउँमा कुकुर थपिदिएँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































