साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरजात्रा

सभानायकले भनेको सदस्यहरूले टेरेनन् । विवाद चर्कँदै जाँदा सभामै एकआपसमा हानाहान सुरु भयो । म भने ज्यान जोगाउन लुसुक्क सभाबाट निस्केँ र पत्तातोडले घरतिर दौडिएँ ।

Nepal Telecom ad

भित्तामा भुुण्ड्याइएको क्यालेण्डरको पाना पल्टाउनासाथ गाईजात्रा लेखेको मितिमा आँखा पर्‍यो । गाईजात्रासँगै ‘उपत्यकामा मात्र बिदा’ पनि लेखिएको थियो ।

आफूले त गाउँमा मान्छे जात्रा देखेको हो, शहरमा चाहिँ गाईजात्रा पनि हुने रहेछ, त्यो पनि राजधानीमा । गाई गाउँतिर पनि हुने भए तापनि जात्रा देखाउने गाई भने शहरमा मात्र हुन्छन् क्यारे । त्यही भएर त होला गाईजात्राको बिदा शहरमा मात्र दिएको सायद ।

साँच्ची जात्रा मनाउने गाई कस्ता हुन्छन् कुन्नि ? ती गाई हेर्ने उत्सुकता जाग्यो मलाई ।
एकजना शहरवासीलाई सोधेँ- “यो गाईजात्रा कता हुन्छ हँ ?”
उसले भन्यो- “सडकमा । गाईजात्रा भनेकै सडकमा हुने त हो ।”

मैले गाउँमा त जात्रा मन्दिरमा लागेको देखेको थिएँ । शहरमा त जात्रा सडकमा पो लाग्दो रहेछ ।
फेरि सोधेँ- “कुन बेला लाग्छ यस्तो जात्रा ?”
“दिउँसै लाग्छ ।” उत्तर पाएँ ।

गाउँमा जात्रा राती लाग्थ्यो, शहरमा जात्रा दिउँसै लाग्दो रहेछ । गाउँमा जात्रा मानिसले लगाउँथे, शहरमा जात्रा गाईले पो लगाउने रहेछन् । शहरको विचित्रता देखेर अचम्मित भएँ म ।

यस्तै अनेकन कुरा सोच्दै गाईजात्रा हेर्न राजधानीको सडकतिर निस्केँ । तर राजधानीका सडकमा गाईहरू थिएनन् । गाई नै नभएपछि कताको गाईजात्रा देखाऊन् । बरु गाईको सट्टा सडकमा एकादुई साँढे देखिए, ती साँढेलाई पनि कुकुरले खाउँला झैँ गरी भुकेर आत्थुआत्थु पारिरहेका थिए ।

गाईजात्रा हेर्न नपाएकोमा निराश भएर घर फर्किन खोज्दै थिएँ, सडकको एक कुनातिर बसिरहेका कुकुरहरूको एउटा झुण्डमा मेरो आँखा पर्‍यो । म निराश भएर फर्केको देखेर होला सायद, कुकुरको झुण्डले मलाई आफूतर्फ बोलायो ।
“जात्रा हेर्न हिँडेको ?” झुण्डभित्रको प्रधान कुकुरले मलाई भन्यो ।
“हो ।” मैले भनेँ ।

“आजकल गाईहरूले जात्रा देखाउन बिर्सिसके । गाईबाट जात्रा देखाउने कला हामीमा ‘ट्रान्सफर’ भएको छ । हामी देखाउँछौँ जात्रा । हाम्रो जात्रा हेर्छौ ?” अर्को एउटा कुकुरले भन्यो, जुन कुकुरसभाको सभानायक थियो ।
“हेर्छु नि किन नहेर्नु ।” मैले उत्साहका साथ हेर्ने कुरा दोहोर्‍याएँ ।

झुण्डमध्येकै एक कुकुरले आफूलाई मुखिया कुकुरको रूपमा चिनाउँदै अगाडि सरेर भन्यो- “हाम्रो झुण्डभित्र पनि विभिन्न उपझुण्डहरू छन् । तँ ठूलो कि म ठूलो भन्ने वाकयुद्ध छ । हामीले भुकेर एकले अर्कालाई च्यालेन्ज गरिरहेका छौँ । हाम्रा पनि अहम् छन् । के यी सबै तिमी बुझ्छौ ? अहँ, तिमीहरू बुझ्दैनौ । अरु कोही पनि बुझ्दैनन् । यो सबै कुरा मात्र म बुझ्छु म । त्यसकारण सबैलाई मैले नै न्याय दिनुपर्छ ।” मुखियाले यसो भनिरहँदा आफूलाई अलि भिन्न संसारबाट आएको कुकुर हुँ झैँ प्रस्तुत गरिरहेको थियो ।

झुण्डको अर्को छेउतिर रहेको अर्को एउटा भुस्याहा कुकुर अगाडि सरेर मतिर फर्केर भन्न थाल्यो- “ए मनुवा ! यी टाउकेहरूका मात्र कुरा नसुन । बरु हामी आवाजविहिनहरूका आवाज सुन । यी टाउकेहरूले त टन्न खान पाएका छन्, सुत्न पाएका छन् । यिनको केही काम छैन, ठूला कुरा मात्र गर्छन् । बोसो घटाउन एक आपसमा झगडा गर्छन् । हामीले चाहिँ खान पनि नपाउने, बस्न पनि नपाउने । यिनले मासुमासु खाएर फालेका हड्डी मात्र हामीले चपाउनुपर्ने । खै हाम्रो गास, बास कपासको अधिकार ?” अधिकारको कुरा गर्दा भुस्याहा कुकुर पनि अलि चर्को स्वरमा बोल्यो ।

यत्तिकैमा अर्को एउटा जोशिलो युवा कुकुर बोल्न अगाडि सर्‍यो । भन्यो- “यहाँ हामी एकआपसमा शक्ति प्रदर्शन गर्ने कुरा नगरौँ, अरुसँग दयामायाको याचना पनि नगरौँ । शक्ति त लडेर पनि प्राप्त गरिन्छ । आप्mनो अधिकार त खोसेर पनि लिइन्छ । तर हामी आफ्ना लागि होइन, बरु हाम्रो क्षेत्रका लागि लडौँ, भूमिका लागि लडौँ । हाम्रो क्षेत्रमा अरुले आँखा लगाइसके, हाम्रो क्षेत्र अरुको अतिक्रमणमा पर्‍यो । हाम्रो क्षेत्रलाई आफ्नो क्षेत्र भनेर अरुले दाबी गरिसके, त्यसको संरक्षण गरौँ । तत्काल हाम्रो क्षेत्रको साँध सीमाना नापजाँच गरी नयाँ नक्सा जारी गरौँ ।”

युवा कुकुरले यति भन्न पाउँदा नपाउँदै नजिकै रहेको अर्को झुण्डको जखमले कुकुर गर्जेर भुक्यो । भन्यो- “खबरदार हाम्रो ‘एरिया’ आफ्नो नक्साभित्र पार्ने होइन । त्यसो गर्‍यौ भने तिमीहरूलाई हामी नाकाबन्दी लगाएर हाम्रो क्षेत्रमा छिर्नै दिँदैनौँ । त्यति मात्र होइन, तिम्रा प्रधान, नायक, मुखिया समेत सबै परिवर्तन गरिदिन्छौँ । हाम्रो शक्ति बुझेका छौँ ?”

पल्लो झुण्डको कुकुर यसरी गर्जिनासाथ ओल्लो झुण्डको युवा कुकुरको जोश सेलायो । ऊ टाङमुनि पुच्छर छिराएर लुत्रुक्क पर्‍यो ।

सडक गफ चल्दै थियो । सभानायक कुकुरले सडक गफलाई बिट मार्दै भन्यो- “हामीलाई यसरी सडकमा फाल्तु गफ गरेर समय फाल्ने छुट छैन । हामी सम्पूणर् कुकुरका प्रतिनिधि पात्र हौँ । सबै कुकुरको भावना अनुरूप हामीले काम गर्नुपर्छ । यस्ता कुरा हामीले सडकमा होइन, सभामा राख्नुपर्छ । बरु म सभा बोलाऊँ ?”

सभानायकको सभा बोलाउने प्रस्तावमा सबैको सहमति भयो । म उत्सुकतापूवक कुकुरसभा हेर्न बसेँ ।
कुकुरसभा सुरु भयो । सभामा सडकका खिच्चा कुकुर मात्र थिएनन् । घरमा पालिएका जर्मन सेफर्ड, जापानिज स्पिचदेखि तिब्बतीयन भोटे कुकुरसम्मका सबै कुकुर एकै ठाउँमा जम्मा भएका थिए ।

सभाको सुरुमै सभानायकसँग समय लिएर भुस्याहाहरूले भने- “हाम्रो गास, बास, कपासको सुनिश्चितता होस् । हाम्रो समस्यामा संसारका सम्पूणर् कुकुर जातिको ध्यानाकर्षण होस् ।”
जर्मन सेफर्डले भन्यो- “हामीले खान त पाएका छौँ, तर हामीलाई दिएको खानाको गुणस्तरमा हामीलाई शङ्का छ । हाम्रो स्वतन्त्रतामा पनि अङ्कुश छ । सुनुवाई होस् ।”
जापानिज स्पिचले भन्यो- मेरो शरीर सेतो छ । तर मालिकले मलाई ननुहाइदिएर धुस्रेमुस्रे छोडिदिए, उपियाँ र जुम्राहरूले हामीलाई टोके । कम्तिमा हप्तामा एक पटक नुहाइदिने व्यवस्था होस् । फेरि मान्छेले घरपालुवा अन्य प्राणीको तुलनामा हामीलाई त्यति मर्यादित व्यवहार नगरेको पो हो कि भन्ने पनि हामीलाई महसुस भएको छ । हामीमाथि मर्यादित व्यवहार होस् ।”
तिब्बतीयन भोटे कुकुरले भन्यो- “हाम्रो त पहिचान नै हराउन लाग्यो । आदिमकालदेखिको हाम्रो पहिचान कायम होस् । आधुनिकता र विकासका नाममा हाम्रा अधिकार कुण्ठित हुनु भएन ।”

सबै आआफ्ना तर्क गर्न लागे । सडकमा बस्ने निम्नवर्गीय कुकुरहरूले खानै नपाउँदा त्यस विषयमा आवाज उठाउनुपर्नेमा सुविधासम्पन्न कुकुरहरूले भने आफ्नै थप सुविधाका कुरा मात्र गरेकोमा भुस्याहाहरूले नियमापत्ति प्रकट गरे । एकै छिनमा सभास्थलमा एक आपसमा आरोप्रत्यारोप सुरु भयो । कुकुरहरू सिटबाट उठेर एक अर्कालाई खाउँला झैँ गरी न्वारानदेखिको बल निकालेर भुक्न थाले ।

“सभाका सदस्यज्यूहरू ! आआफ्नो स्थानमा आशन ग्रहण गर्नुहोस् । सभाको मर्यादा कायम राख्नुहोस् ।” सभानायकले भन्यो ।
सभानायकले भनेको सदस्यहरूले टेरेनन् । विवाद चर्कँदै जाँदा सभामै एकआपसमा हानाहान सुरु भयो । म भने ज्यान जोगाउन लुसुक्क सभाबाट निस्केँ र पत्तातोडले घरतिर दौडिएँ ।

घरमा पुगेर सोफामा बसेको मात्र थिएँ । मेरा आँखा फेरि उही भित्तामा झुण्ड्याइको क्यालेण्डरको त्यही मितिमा पर्‍यो जहाँ ‘गाईजात्रा’ लेखिएको थियो । कलम उठाएँ । गाई लेखेको ठाउँ चट्ट काटेर त्यसको ठाउँमा कुकुर थपिदिएँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x