नन्दलाल आचार्यखाइजात्रे पुराण
पत्नीको मनमा खोके काकालाई घाट पुर्याएर आएको भन्ने रहेछ । मेरो मनमा पाँच वर्षको व्रतको सद्गती गरेर फर्केको सम्झना भयो । जता भए पनि र जसरी सम्झे पनि साँच्चै म त मलामी पो गएर आएको रहेछु ।

जीवनका अन्य व्रत जेजति टुटाए पनि टुटाउनुस् । म सलाम गर्दे भन्छु- कृपया यो पाँच वर्षे व्रत चाहिँ बन्दै नटुटाउनुस् । किनभने पाँच वर्षे व्रत तोड्ने भुलले पाँच सय वर्ष नरकमा जाकिनुपर्छ ।
मेरो भुल तपाईँको सूल बनोस् । यही कामनाका साथ मेरो खाइजात्रे पुराण सुरुआत गर्ने अनुमति चाहन्छु-
“आउनुस्, आउनुस् । भाग लिनुस् । जीवनको मौका लुट्नुस् । चाम्रो पेट बेस्कन उकाल्नुस् ।”
सडकसडकमा माइकिङ भएको थियो ।
त्यो दिन मेरो व्रतको दिन थियो । खान बोलाउँदा मुख रसाउँदै थियो । म भने मनलाई थुम्थुम्याएर बसाउनै व्यस्त थिएँ ।
“लौ आउनुस्; नेताजीको दोहोरो उत्सवमा सहभागी बन्नुस् । आजैका दिन नेताको जन्मदिन; आजै सांसदको टिकट पाएको दिन । उड्नेदेखि गुडाएर ल्याउनेसम्मका पशुपंछीको मासु ठोसीठोसी कोच्नुस् । आजैदेखि चुनावको दिनसम्म स्वादमाथि स्वाद फेर्दै जानुस् ।”
यस्तो माइकिङले मेरो मन नै अपहरण गर्यो । पशुपंछीको मासु भनेपछि चिहानबाट पनि ‘हँ, खै’ भन्दै उठ्ने म आवाज सुन्दैमा चेत गुमाइहालेँछु ।
उड्ने; घिस्रने, दगुर्ने, हिँड्ने सबैखाले हाम गरिहालेँछु । बाहुनको छोरो भएर मोरोमा परिणत नहोऊँ भनी जनै फुकालेर गोजीमा खाद्नचाहिँ भुलिनछु ।
भँगेरे पेट लिएर गएको मान्छे अर्ना पेट लिएर कोठा फर्केँ । हत्तपत्त पत्नी खरानी र गङ्गाजल छर्कन सामुमा खडा हुँदा पो झसङ्ग भएँ ।
पत्नीको मनमा खोके काकालाई घाट पुर्याएर आएको भन्ने रहेछ । मेरो मनमा पाँच वर्षको व्रतको सद्गती गरेर फर्केको सम्झना भयो ।
जता भए पनि र जसरी सम्झे पनि साँच्चै म त मलामी पो गएर आएको रहेछु ।
०००
२०७९।४।२८
गोलबजार, सिरहा
Subscribe
Login
0 Comments
Oldest








































