ठाकुरप्रसाद अधिकारीमान्छे आलु कि आलु मान्छे ?
गलगिद्ध आलु खाए पनि कुनै साहित्यकारले अर्को आलु निबन्ध लेखेको मेरो जानकारीमा छैन । ती सबै आलु साहित्यकार हुन् जो आलु खानमा माहिर छन् तर आलु खाएको कुरा लेख्न चाहँदैनन् ।

भैरव अर्यालले धेरै पहिले एउटा ‘आलु’ निबन्ध लेखेका थिए । अब पुरानै कुरा मात्र गरेर काम पूरा हुने कुरा सम्भव छैन । बिसको दशकमा लेखिएको ‘आलु’ले असीको दशकमा काम चलाउन खोज्नु मनासिव पटक्कै हुन्न । आठ दशक नाघेर असीको सेरोफेरोमा आइपुग्दा हामीकहाँ पाइने आलुले नै पनि रुपरङ्ग र ढङ्ग धेरै फेरिसकेको छ । आलुको आकार प्रकार, स्वाद अनि परिकारमै पनि परिवर्तन आइसकेको हुँदा यसको महत्वबारे नयाँ ढङ्गले व्याख्या विश्लेषणको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । सम्झनोस् यो भैरव अर्यालकै आलुको अर्को समसामयिक संस्करण पनि हो ।
बारी बुकुरा र आलीतिर मात्रै फल्ने गरेको आलु अहिले त साहित्यमा पनि फल्न थालेको छ । यस्तो आलुसाहित्यको भाउ खूब मौलाउने मौसम हो यो । यस्तै आलुकोव्यापार अपार किसिमले बढेकाे छ, यो अझै बढ्दै जानु पर्छ । म त आलुलेखकहरूको गालामा पुक्कपुक्क झुण्डिएर आलु नै आलु फल्नुपर्छ भन्छु । अनि हुन्छ आलुको जयजयकार ।
म पनि एउटा आलुलेखक नै हुँ । मैले लेखेका सबै सिर्जना आलु सिर्जना हुन् । जुन बेला पनि आलुकलम घुमाइरहने मेरो बानी छ । हरक्षण तानाबाना बुनिरहने मेरो अद्भूतको कला नभए पनि गला छ । तपाईलाई आश्चर्य र अचम्म लाग्ला । एकाथरि भन्छन् यो आलुलेखन फरियाको फेरमा पनि बिक्ने, चाँदीको जुत्तामा पनि झुत्तिने आलु पो आलु साहित्य हुन्छ । हो, भने हो त । म र मेरा समकालीन सबै लेखकहरू अहिले आलुलेखनमै बेफुर्सत छन् ।
पिँडालु र सख्खरखण्ड भन्दा भिन्न रुपमा मौलाउने र प्याज लसुन सरह ड्याङमा फल्न रचाउने आलु अहिले गमला र ड्रममै फलाउने गरिएको छ । उपत्याकाको आलु फल्ने माटोमा अहिले सिमेन्टेड घर फलेका छन् । अब आलु खाने मन गर्नेहरूले गमलामा नफलाएर केमा फलाउन् त । आलु झण्डै झण्डै कुखुराको अण्डा आकारको हुन्छ । ‘लामो लामो अण्डा पुलिसको डण्डा’ भन्थ्यौँ हामी ससाना हुँदा । यो आलुचिन्तनकै सुरुवाती दर्शन पो रहेछ । म बल्ल थाहा पाउँदैछु ।
आजकल मान्छेले आलु खान छाड्यो बरु आलुले मान्छे खाँदै गरेको देख्छु म । आलु खाने मान्छे अन्तर्मुखी हुन्थ्यो, आलुले खाएको मान्छे वहिर्मुखी हुँदै गएको छ । आलुका परिकारभन्दा एउटै मान्छेको स्वभाव बढि देखिन्छन् आजकाल । आलुले खाएर खिनौटिएको मान्छेको लाच शरम पचिसकेको हुन्छ । यसो मनले अध्ययन गरेर हेर्दा पनि हो जस्तो लाग्छ मलाई । मेरै बुद्धि पनि आलुले सिध्याएछ कि क्या ! आलु अनुभवले सिर्जित ज्ञान विज्ञान ठूलै पिण्ड जस्तो देखिन्छ ।
ताजा आलु चुसेकै कारण मान्छेले अनेकौँ कुरा सोच्न पाएका छन् । नयाँनयाँ प्रविधि भित्र्याउन पाएका छन् । चोरले चौतारो मुठ्याउन पाएका छन् । कसैले कसैको गाला चाट्न र कसैले त्यही गाला चड्काउन पनि पाएका छन् । आलु खाएकै कारणले कैंयौँ विद्यार्थीको दाम चाट्ने सुखद अवसर शिक्षकहरूले पाएका छन् । प्रहरी र चोर अथवा चोर र प्रहरी आपसमा मिलेर पनि आलु फलाउने गरिएको कुरा अखबारमा आइरहेको देख्न पढ्न पाइँदैछ ।
यो फेसबुकको दुनिया हो । सारा आलुमान्छे यसैमा झुत्ती खेलिरहेका भेटिन्छन् । ठुलठूला भोजमा साहुजीले एक बोरा आलु फ्याँकेर आफ्नो जन्मदिनको स्तुतिगान फेसबुकमा मनाउने गरेको पनि मैले देखेको छु । यो आलुको सम्मान हो कि आलु मान्छेको ? मैले पटक्कै बुझ्न सकेको छैन । साँच्चै आजकल मान्छेले आलु ज्युनार गर्दैछ कि आलुले मान्छे ज्युनार गर्दैछ ? आलु खाएका मान्छेबाट अपराध र दुर्घटना रोक्ने होइन, गराउने हो । उदाहरणको लागि- डइभरले दुर्घटना गर्यो कि उसको आलु लाइसेन्सले ? प्राय हरेक दुर्घटनापछि मान्छेले सोध्ने गरेको प्रश्न हो यो ।
भूतमा भन्दा वर्तमानमा आलुको महत्व झनै बढेको छ । हरेक भोजमा मानिसले आलुकै आस गर्ने गरेका छन् । बोइलरभन्दा यो महँगो छ, र आलु खाँदा मुखमा अमिलो पानी आएर डकारे पनि स्वादिलै हुन्छ । अनि आलुलाई जे भनेर सम्बोधन गरे पनि ऊ रिसाउँदैन । कहिल्यै रिसाएको छैन । जसो गरे पनि महाशय, महोदय, हजुर हजुरिया, श्रीमान् जे भनेर संबोधन गरे पनि आलु आलु नै हो । आखिर आलुको जात, धर्म, सम्प्रदाय, नाता सबै आलु नै हो भनेर भैरवले भनेकै थिए । अहिले चाहिँ म भनिरहेको छु आलुको नाम दल वा पार्टी, आलुको जात नेता तथा कार्यकर्ता, आलुको धर्म फोस्रा भाषण, आलुको नाता राष्ट्रसेवक कर्मचारी, आलुको सम्प्रदाय जातीय जागरण, आलुको धर्म बोरामा एउटा सडेपछि मुलुकै सडाउनु । बस् ।
आजभोलि घरको धुरीमा आलुको धुवाँ आउँछ । वास्तवमै भन्ने हो भने आलुको राग नभएको भन्साघर नै हुँदैन । पिकनिकमा आलु, बिहा भोजमा आलु, चमेना गृहमा आलु, क्यान्टिनमा आलु, होटलमा आलु, रेष्टुराँमा आलु, अझै भन्नुपर्दा सांसद र मन्त्रीहरूले खाने भान्सामा पनि त्यै आलु । जस्तो खायो मान्छेको बुद्धि त्यस्तै हुँदै जाने त हो । अनि उठेदेखि सुतेसम्म आलु खानेको बुद्धिले आलु नखाए के खान्छ त ?
हरेक आलु खाने मान्छेले अनेक सपना बोकेर बाँचेका हुन्छन् । राती ओछ्यानमा जे जे सोचेर सुते पनि भोलिको भविष्य आलु नै देखेका हुन्छन् । त्यसैले आजको मान्छेको अर्को नाम हो आलु । आलु तारेर फ्राइ गरेर लुगामा रफ्फु भरेझै बफाएर, झोल हालेर, झानेर उसिनेर जे गरेर खाए पनि उसको नाम आलु नै भनिन्छ ।
मानिसले जति जति आलु खाँदैजान्छ उसको वर्कत र बुद्धि पनि आलुलिँदै जाने भो । आलु मान्छेले जति जति क्यालेन्डरको पातो पल्टाउँछ, उति उति मान्छेको आलु खाने धोको पनि मडारिँदै जान्छ । जति खावस् न पिँडालु खाएर समाजलाई आलुको धाक लाउन कसैले सकेको छैन ।
आलुको पनि आफ्नै संस्कार छ । उसको आफ्नै परम्परा छ । त्यो भनेको आलुवाद हो । मान्छे आलु खाएर जहाँकहिँ जावस् उसैको हाई हाई । कसैले प्रश्न गोब्राउने आँटै गर्दैन । बाँचुजेल जति आलु खाए पनि मरेपछि जाने घाट नै हो । त्यो घाट भने आलुघाट हुँदै हैन ।
एक पटक मेरो गाउँमा पल्लो घरकी बुढीआमैले कसैलाई गाली गर्दा भनेको कुरा मलाई सम्झना छ- तेरो बाउ आलु, तेरी आमा आलु, तेरो छोरा आलु, तेरी छोरी आलु, तेरो भाइ आलु, तेरो माया आलु, तेरा साखा सन्तान सबै आलु । धेरै वर्षपछि आज पो मैले उनको गालीमा आएको आलुको सही अर्थ खुट्याउँदै छु । आलु भनेको आलु नै रहेछ ।
आलु भन्छ पकाएर आजै खानू । भोलिलाई नराख्नू । भोलि खाने आलु आजै पकाउनु हुँदैन । आलुको बिशेषता यही हो । आलु खाने प्रचलन जहिलेदेखि चलेको होस् एक्लो अर्यालबाहेक कुनै कविले आलुको कविता लेखी आलुगान गरेको मलाई थाहा छैन । गलगिद्ध आलु खाए पनि कुनै साहित्यकारले अर्को आलु निबन्ध लेखेको मेरो जानकारीमा छैन । ती सबै आलु साहित्यकार हुन् जो आलु खानमा माहिर छन् तर आलु खाएको कुरा लेख्न चाहँदैनन् ।
एक जमानामा एकजना रत्ने नाम गरेका किसान थिए । उनकी श्रीमती र उनी साहुको घरमा बन्धकी बसेका थिए । उनकी श्रीमती मरेपछि अर्को जिम्वालको घरमा बसेकी पूणर्िमासित बिहे गर्ने धुनमा थिए उनी । मालिकहरू ज्याद्रै थिए । जिम्मुवालले भनेछ- तँ मर्दा तेरी स्वास्नी विधुवा हुन्थी, बाँचुन्जेल तेरै सतमा बस्थी, अब तेरी स्वास्नी मरी तँ पनि उसैको सतमा बस्नु पर्छ । स्वास्नी मरेपछि अर्की स्वास्नी बिहे गर्न खोज्ने त आलु लोग्ने हो । बिचरा उसले आफूलाई आलु लोग्ने हुनबाट जोगाउन अर्की बिहे नगरी बसेछ । यस्तो कुरा गर्ने त्यो जिम्वालको आलु बुद्धि होइन त ?
आलु महलदेखि, झुप्रोसम्म, जिद्धिवाला जितछिरिजङ्गको अजङ्गको आँगनदेखि ओडारसम्म दौडिन सक्छ । आज मान्छे सबैको भुँडी फुल्नाको कारण यही जय आलु हो । किन कि आलु नपाइने ठाउँ यो संसारमा कहीँ छैन । न्यूयोर्कमा फलेको आलु हाम्रो न्यूरोडसम्म सहजै आइपुगेको छ । कालीमाटीको तर्कारी बजारमा आलुको व्यापार गर्ने आलुब्यापारीले दुई तीन वर्षमै काठमाडौंमा चारतले घर बनाउँछ । अरुलाई आलु ख्वाएर आफू ठालु हुने कलाको अर्को नाम हो आलुव्यापार । यो व्यापार पनि अपारकै छ, भनेर वा लेखेर पार लाग्ने कुरै हैन यो ।
आलुको वारेमा भन्ने कुरा धेरै छन्, लेख्दै गयो भने यो झन लामो हुँदै जानेछ र छाप्ने बेलामा सम्पादकले यो निबन्धलाई आलु ख्वाउँदै रद्धीको टोकरीमा या कम्प्युटरकै ट्रयासमा हालिदिने खतरा देखेर छोट्याउनतिर लागेँ । निस्कर्षमा भन्नु पर्दा आजको मान्छे आलु खान खोज्दैन, बरु आलुले मान्छे खाने गरेको छ । आलुद्वारा नखाइएको मान्छे आइस्लेन्डमा सर्प खाजेजस्तै हो । विश्व राजनीति आलु, देशको राजनीति आलु, अहिले बहाल रहेको गणतन्त्र आलु, आलुले सिद्रा बनाएकै उमेद्वार जितिरहने निर्वाचन आलु, सरकार, संसद र न्यायालय सबै आलु । यता आफूलाई मन्त्री प्रधानमन्त्री र सांसद बताउने सबका सब आलु ।
अब तपाइँ आफैं भन्नुस् त, मान्छे आलु हुँदै गएको हो कि आलु चाहिँ मान्छे हुँदै आएको हो ?
०००
हालः सिड्नी अस्टेलिया
२०७९ भाद्र ३०
Subscribe
Login
0 Comments
Oldest









































