साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटा : मानवतावादी काव्यका शिखर

देवकोटाका कवितामा सबै किसिमको भावको गहिराइ तथा कलाको उच्चता पाइन्छ । उनी मानवतावादी काव्यका शिखर पुरुष हुन् । उनको यात्री कविता मानवतावादको अत्यन्त सम्मानित दृष्टान्त हो ।

Nepal Telecom ad

निर्लज्ज नेतृत्वको निरस रसनाको रण्डीको नाच हेर !
जन अधिकारको डँडाल्नोको भाँच हेर !
हीराको नाममा बिकेका आजकालका फुटेका काँच हेर !

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित निकै चर्चित पागल कविताका यी कालजयी हरफहरूले राजनैतिक क्षेत्रको अर्थ नलगाउँदा पनि धेरै क्षेत्रको विकृतिलाई प्रहार गरेको छ । कुन क्षेत्रमा छैन र यस्तो विकृति ! आज साहित्यको राजनीति पनि यही देखिएको छ । अझ पुरस्कार र सम्मानको क्षेत्रमा जुन रुपमा पुरस्कार तथा सम्मानको मूल्यको स्खलन भइरहेको छ, त्यसलाई पनि कति गहिरो प्रहार गरेको छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । देवकोटा साहित्यका महान् प्रतिभा थिए भन्ने कुरामा अलिकति पनि शंका हुनुहुँदैन ।

प्रतिभा प्रकाशको जस्तै दगुर्न सक्छ र प्रकाशभन्दा पनि एक पाइला अगाडि बढेर अझ अनकन्टारभित्र पनि पस्न सक्छ । यसैले पनि भनिएको हुन सक्छ जहाँ नपुगे रवि त्यहाँ पुग्दछ कवि । महाकवि देवकोटाको पागल कविताकै यो अंशले उनीभित्रको चामत्कारिक प्रतिभाको परिचय बुझ्न केही मद्दत गर्दछ –

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई सम्वाद लिन्छु
आकाशभन्दा पातालका कुरालाई छुन्छु
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन ।

छोटो समयमा साहित्यिक जटिलता र दार्शनिक घनत्वसहितको महाकाव्य र कविता सिर्जना गर्न सक्ने विराट प्रतिभापुञ्जको जन्म औंसीको रातमा हुन्छ ।

ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको माथिको कविताको भाव देवकोटामा सबैभन्दा बढी लागू हुन्छ । औंसीको घनघोर अँध्यारो रातमा विराट साहित्यको प्रकाशपुञ्जको उदय भएको यथार्थबाट सम्पूणर् साहित्यजगत् आलोकित छ ।

ज्ञात छ : १९६६ कात्तिक २७ गतेको साँझ सबैतिर दीपावलीको उत्सव थियो । संस्कृति र परम्पराअनुसार हरेक घरमा लक्ष्मीको आह्वान हुँदै थियो । सोही समयमा समयले एक साहित्यिक महामानवको उद्भवको प्रतीक्षा गरिरहेको थियो । काठमाडौँमा तीलमाधव देवकोटाकी कान्छी पत्नी अमरराज्यलक्ष्मीको कोखबाट एक बालकको जन्म भयो । बालकको न्वारनको नाम त राखियो तीर्थमाधव देवकोटा तर यही बालकको वास्तविक नाम अमरज्योति बन्न पुग्यो लक्ष्मीप्रसाद देवकोटा ।

सबै किसिमको अभाव र शोकका साथै कठिनतम् कष्ठकर जीवन व्यतीत गरेका देवकोटामा प्रतिभाको जुन ज्वारभाटा थियो त्यो कुनै पनि वेगसित मापन वा तुलना गर्न सकिने नै थिएन ।

दश वर्षको उमेरमा देवकोटाले लेखेको कविताको एउटा टुक्रो-

घनघोर दुःख सागर संसार जान भाइ,
न्गरे घमण्ड कहिले मर्नु छ हामीलाई ।

साहित्यका चार विधा मानिन्छन् । साहित्यका चार विधामा नै कलम चलाउने देवकोटाले सबै विधामा साहित्यको मूल्य र मान्यतालाई अत्यन्त उच्च निर्वाह गरेका छन् र दिनुपर्ने सम्पूर्ण नवीनता पनि दिएका छन् । देवकोटाका करिब चार दर्जन कृति प्रकाशन भएबाट उनको प्रतिभाको सामान्य मूल्याङ्कन गर्न सकिन्छ । अभाव, दबाव र प्रभाव सबैमा लेखेका देवकोटाको मुखविधा कुन हो छुट्याउन सजिलो नभए पनि काव्यमा अत्यधिक रमाएको पाइएकाले नै उनलाई महाकवि भनिएको हुनुपर्छ । देवकोटामा महाकविमा हुनुपर्ने सम्पूर्ण गुण र प्रतिभा देखिन्छ । यसर्थ देवकोटाको जन्म नै काव्य सिर्जनाको लागि भएको थियो भनिन्छ ।

साँच्चिकै देवकोटाको जन्मको औचित्य साहित्यसेवामा नै सावित हुन्छ । यद्यपि जब उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए, त्यत्तिबेला त्रिभुवन विश्वविद्यालयको लागि जति जमिनको आवश्यकता पर्ने देखाएका थिए, त्यत्तिवेला धेरैले उनलाई खिल्ली उडाएका थिए तर आज त्यो खिल्ली पछुतोको घोर अन्धकारमा विलीन भइसकेको छ र देवकोटाको प्रस्ताव निरन्तर प्रकाशवान बन्दैछ । यसबाट साहित्यको लागि नै जन्मेका देवकोटामा अन्य दूरदर्शी प्रतिभा कत्तिको थियो भन्ने औचित्य देखिन्छ ।

देवकोटाका कवितामा सबै किसिमको भावको गहिराइ तथा कलाको उच्चता पाइन्छ । उनी मानवतावादी काव्यका शिखर पुरुष हुन् । उनको यात्री कविता मानवतावादको अत्यन्त सम्मानित दृष्टान्त हो । उनी यस कवितामा एक ठाउँमा भन्दछन् –

फर्क फर्क हे ! जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहर्‍याई रहेको घाउ
मानिसहरू भै ईश्वरको त्यो, दिव्य मुहार हसाऊ ।

महाकवि देवकोटा कतै आस्तिक छन् त कतै दार्शनिक छन् । देवकोटा प्रकृतिवादी कवि पनि हुन् र राष्ट्रवादको भावनाले ओतप्रोत कवि पनि हुन् । देवकोटाका क्रान्तिकारी कविताहरू पनि कला र क्रान्तिचेतले भरिपूर्ण छन् ।

प्रतिभाको निखार आउँदै गरेको अवस्थामा देवकोटाले लेखेको मुनामदन खण्डकाव्यलाई सम्पूणर् नेपाली साहित्यमा सर्वोत्कृष्ट कृति मानिएको छ । देवकोटालाई यस कृतिले अमरत्व प्रदान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नामले सबैले चिन्दछन्, देवकोटाको उपनाम नै महाकवि भइसकेको छ तर देवकोटाले लेखेको एक महाकाव्यको नाम उनलाई महाकवि भनेर चिन्नेहरूले बताउन मुस्किल हुन्छ । सर्वसाधारणको हकमा मात्र यो कुरा भनिएको हो । तर महाकविको मुनामदनको नाम नसुन्ने सायदै कोही होलान् । यसर्थ मुनामदन नै देवकोटाको प्रनिनिधि काव्य हो भन्ने भनाइ पनि छ । दश वर्षको उमेरमा देवकोटाले लेखेको माथिको कविताको टुक्राको भावसित मुनामदनको यो अंशको पनि केही अंशसम्म भाव मिल्न पुग्दछ –

मासुको फूल ओइलेर जान्छ मट्टिमा मिल्दछ
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ ।

देवकोटामा ईश्वरप्रति अगाध आस्था र विश्वास थियो । उनमा क्रान्तिकारी भावना भए पनि ईश्वरप्रति अविश्वास होइन बरु कतै कतै ईश्वरको अस्तित्वलाई स्वीकार गरेर नै विद्रोह गरेका छन् । अन्धविश्वास भन्दा पनि कर्ममा नै ईश्वर पनि देख्दछन् । एक ठाउँमा महाकवि लेख्छन् –

मनको बत्ति तनको बलि स्वर्ग छ प्रसाद
कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद ।

कहिले माग्नेभित्र ईश्वर देख्दछन् त कहिले सुख र सन्तोषको गीत गाउँछन् । उनले मुनामदनमा सुख र सन्तोषप्रति गरेको अभिव्यक्ति अहिलेसम्म जनजनमा व्याप्त रहेको छ । उनी भन्दछन् –

हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले

महाकाव्य लेख्दैमा कोही महाकवि भइहाल्ने होइन । आजभोलि महाकाव्यकार भनिन थालिएको छ । जनबोलीमा देवकोटा र महाकवि पर्यायवाची भइसकेको भए पनि माथि नै उल्लेख भइसकेको सन्दर्भले देवकोटाका शाकुन्तल, सुलोचना, प्रमीथस, वनकुसुम तथा महाराणा प्रताप महाकाव्यहरूका बारेमा कमैलाई थाहा छ तर मुनामदन खण्डकाव्यका कालजयी, भूगोलजयी, भाषाजयी तथा भावजयी कतिपय पङ्क्तिहरूले नै देवकोटालाई महाकवि प्रमाणित गरिसकेका छन् । देवकोटालाई महाकवि पत्याउन उनका महाकाव्यहरूको अध्ययन गरिरहन पर्दैन, केवल मुनामदनको पठन गरे पुग्छ ।

माथि नै भनिएको छ कि साहित्यका चार विधामध्ये एक काव्य हो । देवकोटाले महाकाव्य, काव्य र फुटकर काव्य पर्याप्त लेखेका छन् । उनले लेखेका सबै कविताको अध्ययन गर्न पनि सामान्य रुपले सम्भव छैन । फुटकर कविताको संख्या, गुणवता र व्यापकताको अर्थमा पनि देवकोटा आफैँमा महाकवि हुन् । देवकोटा साहित्यका महान् प्रतिभा हुन् भन्ने यथार्थलाई विश्वका सम्पूणर् नेपाली साहित्यकारले स्वीकार गरिसकेका छन् ।

कतिपयले यो पनि भनेका छन् कि नेपाली संस्कृतिमा पूजाको दिन जन्मेका देवकोटामा आध्यात्मिक भाव उनको जीवनभरका साहित्य सिर्जनामा आइरह्यो । पहिलो कवितामा नै धार्मिक भाव रहेको छ भने मुनामदनमा पनि यस भावको उत्कर्ष रहेको छ । देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा पनि अभिव्यक्त गरेको काव्यभावमा समेत यस भावको प्रबलता  पाइन्छ –

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ।।१।।

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।।२।।

महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ।।३।।

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ।।४।।

देवकोटाको जीवनको मूल उद्देश्य नै साहित्य सिर्जन रहेको देखिन्छ । उनले साहित्यको सेवा गर्नकै लागि अवतरित भएका थिए । छोटो समयमा आफूले जति गर्नुपर्ने काम गरेर गए । देवकोटाको कवित्व प्रतिभा र अन्य क्षेत्रमा अनेक अनुसन्धानहरू भएका छन् र यो निरन्तर भइरहनु आवश्यक पनि छ । देवकोटाको भौतिक शरीरको देहावसान भएको आधा शतकभन्दा धेरै बढी भइसकेको छ र पनि उनका काव्यिक प्रतिभाका कारण उनको लोकप्रियता अझै वृद्धि भइनै रहेको छ ।

०००
रौतहट

०सन्दर्भ स्रोत : नेपाली साहित्यको इतिहास, प्रतिभै प्रतिभा र नेपाली साहित्य, आलोचनाको वृत्त, मुनामदन खण्डकाव्य आदि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x