साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफको बान्की

अधिक मान्छेको तर्क वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने गफलाई वेवास्दा भन्दा शैलीगत भिन्नताको गोरेटो खनियो भने घाटा होला त ?

Nepal Telecom ad

पौने उपहास, आधा विरोध डेढ समर्थन र अढाइ बढाईचढाईको नाम हो भन्न सकिएला गफलाई । गफले शतप्रतिशत समर्थन पाउला या नपाउला ? हुन त ‘रोटी पनि हेर्नाका हुन्छन् नि राँड’ भन्ने लोकोक्तिले गफ पनि अनेक रुप र ढङ्गका हुन सक्नेतर्फ संकेत भएकै छ । म चाहिँ गफको न पूर्ण विरोधी न समर्थक । उही पौने, आधा र सवा नै होला । सत्यको नजिक पुर्‍याउने गफलाई गोदावरीको माला लगाइदिएर सिन्दुर पनि घसिदिन मन लाग्दछ । उस्तै खालका डोका न डालाका उडन्ते गफ उही काम न खाजाका पात्रहरूको समय कटनी प्लेट रित्याउने ध्येय मात्र हो ।

नुन, पीरो, जीरो मिलेमा अचार र तरकारी कति स्वादिलो हुन्छ नि ? ‘बाह्र मसला एउटै लसुन अन्तको ध्यान पढाइमा वसून’, भनिरहँदा तरकारीमा लसुनको भाउ कति कति । गफलाई रोचक आकर्षक, प्रभावकारी उत्प्रेरक वनाउन शैली, प्रस्तुति र विषयवस्तुको भूमिका अहम् रहने नै भयो । कसैलाई शैली र प्रस्तुतिले कसैलाई विष्यवस्तुले गज्जवले समाउँछ । अझ लाक्षणिक गफले त मानव समाजलाई क्षणमा उत्प्रेरकको काम गरिदिएको यो तुत्रे कानले कति पटक सुन्ने अवसर भेट्टाएको छ । गफाडीहरू ऐन मौकामा श्रोतालाई ए गाँठे ! भन्ने समेत बनाएको प्रमाण सायद मसँग मात्र होइन तपाईसँग पनि पक्कै होला ।

हिजो जिम्मल मर्‍यो आज म मरेँ । आफ्नै सुरमा गफ गरिरहेका व्यक्तिलाई देखेर उनको छेवैबाट हिँडेका गाउँले बटुवा एक्कासी दङ्ग पर्दछन् । हैन, यो कस्तो गफ हो ? जिम्मल त मर्‍यो नै होला तर तपाईं त गफ गरिरहनु भएको छ । कसरी नि ? हिजो जिम्मलको आज हाम्रो मकै बाँदरले भुसुक्कै भनिदिँदा त्यो खाले अर्थबोध भएपछि लडिबुडी गरि हाँसेछ त्यो बटुवा । यो प्रसङ्ग अझै कहिलेकाहीँ हाम्रा कान कानमा फुत्त छिर्दछ होटल पसलमा । गफाडीहरू ऐनमौका उछालिदिन्छन् अर्मपर्म, मेलापात र चिया देकानहरूमा । यस्ता रमाइला र घतलाग्दा सन्दर्भ नेपालका गाउँ गाउँमा किस्साको नामले परिचित छ नै । दुध पातलो भएमा गाई भैँसीले बढी पानी खाएछ भन्ने वोक्राेक्तियुक्त वाणीले मर्ने गरी हसाउँछन् । उन्नाइसमा एउटा मरे २० ओटा हुन्छ हैन बाजे ? भन्दै पुरोहितहरूको लोभी प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको गफले विरोध होइन भन्ने जान्दाजान्दै तातो तेलमा मेथी पड्केझैँ किन गर्नु पर्‍यो त तपाईंलाई ? चित्तले नमाने रुवा कानमा खाँदी दिए पुगि गो । न रहे बाँस न बजे बाँसुरी । कस्तो लाग्यो त महोदय ?

समर्थक र विरोधी जहाँ पनि हुन्छन् । उही प्रतिशत तौल र मात्रको केही तलमाथि मात्रै हो । गफ सामाजिक जीवनको ऐना हो भन्ने पात्रहरूको जनसंख्या पुग्दो छ अझैँ । गफ सुनेर तपाइँले मासिक न वार्षिक फि तिर्नु परोस् माइती र ससुरालीमा लैजानुपर्ने कोसेली जति पनि तिर्नुपर्दैन तपाईंलाई । हेर्दै गए कहिलेकाहीँ १/२ कप चियाको मेसो चैँ पर्न सक्छ । अझ कोही गफाडी त यत्ति सम्मका हुन्छन् कि गफ सुन्नेलाई समेत चिया अर्डर गरिदिन्छन् । उनीहरू उदारताको उच्चतम प्रदर्शन समेत गर्न हिचकिचाउँदैनन् । गफमा गफाडीको योग्यता मुताविक सत्र मसला, एक्काइस खिचिमिर्ची, सत्ताइस प्रसाद मिसाउँदा यसको इज्जत मर्यादा कसरी नजोगिएला त !

गफाडीको योग्यता त फरक फरक हुन्छ भन्ने तपाइँको तर्कमा मैले टाउको हल्लाएँ । तोलाको जिब्रो भन्दा कति उच्च छ यो टाउको हल्लाउने कार्य । बुझ्झकीहरू टाउको मिलाएर हल्लाउेलाई कला मान्छन् । गफाडीको योग्यता उच्च रहेछ भने काव्यात्मक, आख्यानात्मक गीति, नाटकीय जुनसुकै शैली वा वान्की फेला पर्दछ गफको । उखान टुक्काकाे प्रयोग त कति कति । दिन उजेली सुती बिताइ राज उजेली विस्कून सुकाइ । दुलहीको रातो न रहे बाँस नबजे बासुरी । विना शब्द कुकुर भुक्दैन मूलाको फेदमा हात्ती लुक्दैन जस्ता उखानहरू । सुइँकुच्चा ठोक्नु, कानमा तेल हाल्नु, सिलटिम्बुर खानु, बाउको विहे जस्ता टुक्काले तपाईँ जस्ताको गोवरगणेश वुद्धिमा समेत थोरवहुत ज्ञान घुस्न सक्छ । यो शैली कति महान छ भने फेरि व्यक्तिगत रुपमा प्रयोग गरिए पनि यसको अपनत्व सार्वजनिक हुनु विशेषता नै मान्नुपर्दछ । गायत्री मन्त्र दिने गुरु को ५ दिन आशौच बार्नु पर्‍यो । स्कुल कलेजमा पढाउने गुरु गुरुआमाको शोकसभामा सामेल हुनु परिहाल्यो । गुरुका छोराछोरी उस्तै परे तपाइँको घरमा बास हुँदैन । जागिर लगाइदेऊ, सालिक बनाउन अपुग रकम थपिदेऊ । शोकसमा भाषण ठोकिदेऊ । श्रद्धाञ्जली अङ्कका निम्त्रि लेखिदेऊ । सम्मरण पोजिटिभ याङ्गलबाट होस् । अब तपाइँको टाउको । अब विचरा होटल पसल विना फि का गफाडीदेखि तपाई किन नेगेटिभ ? तपाईंलाई उल्टी भर्‍याङबाट ओरालेर शीर्षासन नै गराउनुपर्ला जस्तो हुन्छ है ।

मेरा दौँतरीभन्दा अलि पृथक स्वभावको थिएँ म सानैदेखि । आलि आफूभन्दा उमेरले पाका गोठालासँग नै सम्पर्क बढ्याउँथे म । ती अनुभवी गोठालाका रमाइला आकर्षित गर्दथ्यो मलाई । पाका गोठालाका प्रिय पात्र नै थिएँ म । पुराणप्रसिद्ध कथादेखि प्रेमी प्रेमिकाका रोमाञ्चित घटना प्रसङ्गले यो बोधो दिमागलाई निकै थच्थच्याँउथ्यो । गोठालाहरू अदलवदल भइरहन्थे । बूढाका बुढीआमाहरू पनि सामेल हुन्थे कहिले त । मेरा साथीहरू भने उमेर मिल्दासँग बढी झ्यामिन्थे । एउटा काफलको रुखमा चढ्दा एउटी फेदमा बसेर माथि रुखतिर हेरिरहेकी हुन्थी । ऐँसेलु टिपेर धुर्सुलका पातमा हालेर ल्याइदिन्थी अर्की मोरो कुपुकुप स्वाद लिइ लिइ खान्थ्यो । अहिलेको जस्तो फोन, फेसवुक, मेसेन्जर विचरा विचरीहरूको त्यही ऐँसेलुको झाङ हाडे उन्यूको घारी र ओढार हुन्थे । म बुढापाकासँग पछि एकजना गोठाल्नी बुढीले उनकी छोरी नटक्र्‍याएको भए म जीवनभरिको नागो हुन्थें । कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको भन्ने उखानले थोरैतिनो फाइदा नै भयो ।

दूध गुनको वालक सङ्गत गुनको फल भनेझै म पनि उखान हालेर गफ गर्न सक्ने भइसक्या थें । जसले नया कथा, उखान टुक्का वा सन्दर्भ झिक्छ त्यसलाई थुपुक्क दिमागको एउटा कुनामा कोचिहाल्थें । उम्की सकेको कुरालाई जहिल्यै महान बनाइन्छ भन्ने सन्दर्भलाई बुझाउन बहुत व्यङ्ग्यात्मक तरिकाबाट बुझाउन उम्केको माछो, मरेको पाडो, पोहोरको मकै, यसपालिको जाडो भनिदिएपछि वक्ता मख्ख श्रोता खुत्रुक्कै । भोट गएँ मधेस गएँ कहीँ पाइन पोइ आइज आइज लुुरे पोइ तेरै गोडा धोइ भन्ने उखानले लवस्तरा र लवस्तर्नीहरूको झाँको झार्न कम मजाको हुँदैन । सुत्नेको राँगो उठ्नेको पाडीले विहानभरि ओच्छ्यान नछोड्नेको पिडौलो सोड्याउने गतिलो अस्त्र बन्यो गफ ।

उखान टुक्का, कथा र ठट्टाशैली सुन्दा पुग्दा मेरो दिमाग पनि त्यतैतिर डोरिन थाल्यो । खुव जान्ने पलिन अरुले प्रयोग गरेका उखान टुक्का र कथा प्रसङ्ग घाताङ्क थपेर दोब्बर, तेब्बर, चौबर बनाएर चिया दोकानहरूमा सुनाउन पाउँदा यो भू-खण्डको राजा नै हुँ भन्ने चुरीफुरी हुन्थ्यो मेरो । एक दुई उखानको सर्जक आफैँ हुँ भन्दै दम्भकी धुवाँ छोड्थे । धान खाने मुसो चोट पाउने भ्यागुतो आफैमा अर्थपूणर् नै थियो नि । बाली खाने कवासी कुटाइ खाने रत्नी भनेर मिलाइ टोपल्थें । बाह्र बर्ष रामायण पढ्यो, सीता कस्की जोईले दिन खोजेको सन्देश आफैमा अर्थपूणर् थिएन र । मेरो मै हुँ भन्ने स्वभावले यसलाई पनि तुकबन्दी बनाउन खोज्यो । बाह्र बर्ष रामायण पढ्यो सीता कसकी जोई, अठार वर्ष महाभारत पढ्यो अर्जुन कसको पोइ भन्दै बोल्न थालेपछि मेरो भानभाउ नै अर्के हुन थालिग्यो नि । अव अनुमान लगाउनुहोस त गफको विशेषता गफ लगाउने र सुन्ने दुवै मख्ख, कि कसो ?

गफको सकारात्मक नतिजापुराण सुनाउने दाउ मात्र होइन मेरो । बेला मौकाले तीतो व्यवहार पनि भोगेका छन् गफाडीहरूले । थेगोको प्रयोगमा ज्यादा हौसिदा कम्तीे विघ्नवाधा खेप्नु पर्दैन कहिले त । लसुन पिँधेर, कोदो कुटेर, हजुरको तपाईंको थेगोका प्रयोक्ताको पूर्पुरोमा फुरौला फल्न पनि बेर लाग्दैन । एकपटक एउटा सप्ताहामा एकजना भक्तले लसुन पिँधेर भन्ने थेगो उच्चारण गरेर पञ्चामृत मागेछन् । पञ्चामृत बाँड्ने बुढिआमाले सप्ताहाको प्रसाद माग्दा अभक्ष््य शब्दोचरण गर्ने ? भन्दै पञ्चामृत बाँड्ने कर्केनीले भाँचिने गरि दिइछन् पुर्पुरोमा । घाउ विसेक भए पनि खत अझै प्रमाणको रुपमा रहेछ तिनको । एक जना पुरोहित यजमानले नै त्यागेछन् । भएछ के भने उनको थेगो रहेछ कादो कुटेर । श्राद्धका दिनमा त्यही थेगोको प्रयोगले उनी त्यो घर गुमाउन बाध्य भएछन् । अव तपाइँको र हजुरको प्रयोगमा आउने विपत्ति कति कति ।

यति भएपछि गफलाई जावो भन्या अन्याय नै होला । गफलाई पनि प्रकार र किसिमको विल्ला मिराउन सकिन्छ । हरएक पात्रको गौडा गल्छेँडामा वारम्बर झुल्किने गफलाई लात मार्छु भनेर किमार्थ सकिन्न । बरु चिया गफ, दौतरी गफ, खान्दानी गफ, स्वाभाविक गफ, अस्वभाविक गफ, नाता गफ, नेता गफ, मौसमी गफ, विचौलिया गफ आदि इत्यादि भन्दा मानमा बढोत्तरी नै होला कि ?

चिया गफ-होटल पसलमा प्रायः परिचित अनुहारको जमघट हुने स्थानमा गिलासमा चिया छउन्जेल गरिने गफलाई चिया गफ भन्ने चलन छ । यस्तै छ, के गर्ने त ? भनने वाक्याँशको प्रायः प्रयोग हुने यो गफ अहिलेसम्मको लोकप्रिय गफको कोटीमा परेको छ । देवकोटाले निब्नधलाई टेवुल गफ भनी यही चिया गफकै पर्यायवाची बनाइदिएका होलान् ।

दौतरी गफ – समान उमेर समूहका व्यक्तिहरूका वीचमा चल्ने दौतरी गफ मनोवैज्ञानिक दृष्टिले फलदायी देखिन्छ । पीर, मर्का, व्यथा, खुसी साट्न सकिने दौतरी गफ स्वास्थ्यको दृष्टिमा अति उपयोगी सावित भएको छ । के गर्नु त अब ? खोइ के हो, के हो भन्दै मुखामुुख गरी शरीरको आन्तरिक दोष मिल्काउने वा विरेचन गर्ने गफको रुपमा आयुर्वेदले समेत करतल ध्वनिबाट अनुमोदन गरिसकेको छ । उत्साहका साथ उहिल्यैदेखि गरेकै हो ।

नेता गफ – टाउको हल्लाउने कला यसको मुख्य घटक तत्व हो । पात्रको योग्यता अनुसार मुसुक्क, हलल्ल, खितखित खित्तित्त गरी पौने, आधा, डेढी अढाइ मात्राको दम्भ मिसमास गर्न मिल्ने यो गफमा पारिवारिक समर्थन धेरै जुट्न सक्छ । भाञ्जाभाञ्जी, सालासालीको मन्द मुस्कान पनि थोरवहुत हेरेर नै चित्त बुझाउन पाइने हुनाले यसको इज्जत अलि बडेकै देखिन्छ ।

नातागफ – नयाँ पुराना नातेदारको भेटमा प्रकट हुने यो गफ बढी सोधखोजमा घुलमिल भएको देखिन्छ । आफ्नो पारिवारिक हैसियत उच्च देखुञ्जेल गफ झिकेको झिक्यै गर्न पाइने आफू कमजोर र तल पर्ने अवस्था आएमा विचमै चटक्क छोडेर गायव हुने छुट रहेको यो गफ थोरवहुत जलपानले पनि सम्बन्ध जोगाइ राख्न सक्ने ह्याउ राख्छ त ।

गफलाई अधिक नकारात्मक बनाउने चेष्टा गरिए पनि यो अरुभन्दा बढी मौलाएको छ । ‘वादवादे जायते तत्व बोध’को साख्खै कान्छो भाइ भएको हुँदा यसको अस्तित्व जसरी पनि जोगाउनै कर लाग्छ । अधिक मान्छेको तर्क वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने गफलाई वेवास्दा भन्दा शैलीगत भिन्नताको गोरेटो खनियो भने घाटा होला त ?

०००
२०७९ भाद्र २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x