प्रभास घिमिरेकलियुगका पञ्चमुखी हनुमान
उर्ध्वगामीमुख हनुमान जनताहरूलाई आसै असमा त नाश गराउन समर्थवान्, बाहुवली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, गणतन्त्रको रखवालाको मजेत्रो ओढेको हुन्छ ।

जब त्रेतामा प्रभु श्री रामको दूत बनेर अन्जनीको गर्भबाट हनुमानको जन्म भएको थियो । उनलाई पञ्चमुखी हनुमानको नामले पनि चिनियो । त्यसैगरी नेपाल राज्यमा पनि नयाँ पुराना दलको गुट र तिनको फुटको निर्माणमा हनुमानको जन्म भएको छ । यी हनुमानका कारण परापूर्वकालिन हनुमानलाई लाजैमर्नु भएको पनि होला ।
पञ्चमुखी हनुमानले बाल्यकाल हुँदा सूर्य खान लाए झैँ कलियुगको हनुमानको पनि स्वभाव नेता, पार्टी, जनता, देश सबै खाने नै देखिन्छ । आधुनिक हनुमानका ५ मुखको विशेषता यस्ता रहेका छन् ः
हनुमानको पूर्वतर्फको मुख ढेउबाको जस्तै रूप भएका हनुमान करोडौँ रूखहरूको जस्तो छहारी भएका कुच्चिएको वा टेढो अनुहार भएका छन् । महारोगी झैं बेलाबेलामा देशै खान र्याल चुहाइरहन्छन् ।
हेर्दा उनी म जस्तो कोही छैनन् भन्दै सत्ताको स्वाद लिने जिब्रोको स्वाद कोपिला हराउँदा पनि कुर्सीका सट्टामा बरू ओछ्यानै राखेर भए पनि सुतिसुती सत्ता चलाउन चाहन्छन् । यसरी आफ्नो आसन जमाउन आफ्नो ५ स्वरूप धारण गरेर कुर्सीमा बुर्कुसी मारेर बसेका छन् । यी हनुमान हरामचन्द्रका गुरु पनि हुन् ।
हनुमानको दक्षिणतर्फको मुख चण्ड रूपको छ अगाडि अर्कै नाम थपेर । यस्तो मुख भएका हनुमान अद्भुत स्वरूप भएका उत्पत्तिकालदेखि नै जङ्गल पसेका, जोगी झैं खरानी घसेका आरनमा हतियार बनाउन सिपालु एकदम उग्र स्वभावका, आफ्नो सत्ताको आसन पटक पटक जमाएका त्यसै बेलामा छोरी, बुहारी, आफ्ना आफन्तमा कृपादृष्टि बर्षाइरहने प्रजालाई तर्साइरहन सक्ने महारुपी छन् । छेपाराले पनि यिनैबाट रङ फेर्ने ट्युसन लिएका हुन् झैं लाग्ने हुन्छन् ।
हनुमानको पश्चिमतर्फको मुख टुटफूटा दलका नेताको रूप झैं हुन्छ । यस्ता हनुमान बाङ्गो चुच्चो भएका, आफ्ना अस्त्रको रूपमा थेगोलाई मात्रै लिने पश्चिम् हावाको नक्कल गर्ने शनि झैं अवतारको सम्पूणर् बल र तागतहरू देशी विदेशी ढेउवामा छ भन्दै हिँड्ने अत्यन्त चाप्लुसी जानेका, मुख चुच्चो अनि छुच्चो भएका, विकारै विकारले सुसज्जित, सर्पहरूलाई सफेराले नचाए झैं जनतालाई नचाउने आश्वासनमा फसाउने आकाशको फूल झार्ने गरे झैँ शत्रुलाई ठेक्कामा हेक्का गर्ने हुन्छन् ।
कलीका हनुमानको उत्तरतर्फको मुख छिमेकीसँग आगो सापटी मागेर आफ्नै घरमा आगो ओकल्ने खालका हुन्छन् । यस्ता रूप भएका हनुमान देशी विदेशी, राजदूत, खरिदार, सुब्बा आइपुग्दा माला लिएर स्वागतमा जान्छन् ।
सत्ता प्राप्तिका लागि आफ्ना नीतिलाई लिदीमा मिसाउन सक्ने आफ्ना क्षेत्रका प्रजालाई पाताल लोकमा पठाउन समर्थ, कहिले सरकार हल्लाउने त कहिले संविधान जलाउने, कहिले जुट्ने कहिले फुट्ने हुन्छन् । कलीका यी हनुमानको माथितर्फ फर्किएको भारी बोक्दाबोक्दा थाकेको टाँगा जस्तो छ । यस्तो रूप भएका उर्ध्वगामीमुख हनुमान जनताहरूलाई आसै असमा त नाश गराउन समर्थवान्, बाहुवली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, गणतन्त्रको रखवालाको मजेत्रो ओढेको हुन्छ ।
यसरी कलियुगको हनुमानको चाला अनि कार्यशाला भने घाम खाने अनि सत्तामा जाने रहेको छ यस्तो हनुमान कलियुगमा दर्शन गर्न सुयोग्य भएकाले उनको प्रतिमा अनि फोटो बोकेर उनका गण घरघरमा नमस्कार गर्दै आइरहेका छन् ।
बोलो कलियुगे पञ्चमुखी हनुमानकी- गए ।
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































