कमल भैरवेलीचाकरी गर्ने तरिका
चाकरीकलालाई खार्न अलग्गै कोचिङ सेन्टर खोल्ने रहर हुँदाहुँदै पनि सरकारले स्वीकृति दिन आनाकानी गरेकोले मलाई पनि हल्का डिप्रेसनले छोइ सकेको निवेदन गर्न चाहन्छु ।

चाकरी हाम्रा पुर्खादेखि चल्दै आएको घुसघुसेहरूको एउटा स्वतःस्फूर्त पेशा हो । चाकरीबाजले धेरै कुरा जानेको हुँदैन । सिर्जनशीलताको गुण उसमा हुने त कुरै भएन । उसलाई आउँछ त केवल मिठासपूणर् ढंगले चाकरी गर्न । चाकरीबाजले चाकरीको माध्यमबाट आफ्नो दुनो राम्ररी सोझ्याउँछ । चाकरीको भरमा उसले घर ठड्याउँछ । गाडी गुडाउँछ । मीठो मसिनो लुड्याउँछ ।
मीठो बोल्न जान्ने उसको अद्भूत कला हुन्छ । जसको चाकरी गरेको हो उसलाई पनि चाकरी गरेको हो भन्ने छनक दिंदैन । लिसो टाँसिए झै पावरवालाको भक्ति भजन गर्न पारङ्गत हुन्छ । पावरवालाको कुकुरलाइ सुम्सुम्याउँछ । हगाउँछ मुताउँछ । उसका छोराछोरीलाई उसका आमा बाउले दिन नसकेको माया खन्याउँछ । उसका करेसाबारीमा जान्छ । गोड्मेल गर्छ खनखोरस गर्छ । हरियो सागसब्जी फलाइदिन्छ । झोलुङ्गोको नानीलाई हल्लाइदिन्छ । अनि उसको मन जितिदिन्छ । कोही चाकरीवाला यस्ता पनि हुन्छन् जो पावरदारकी श्रीमतीको पेटीकोट पनि धोइ दिन्छन् । उनीहरू शोक सन्तापले रुँदा रोइदिन्छ्न । भकारोमा पुगेर गाई भैंसी दुही दिन्छ्न् ।
चाकरीबाजहरू के गर्दैनन् ! किचनमा पुगेर त्यहाँको वस्तुस्थिति नियाल्छ्न् । भाँडावर्तन धोइ पखाली गर्छन् । मालिक्नी रिझाउँछ्न । मालिकको ज्यान मालिस गर्छन् । थकान दूर गर्छन् । शारीरिक र मानसिक तनाव हटाउने भरमग्दुर प्रयास गर्छन् । भोलिको स्वर्णिम दिनको कल्पना गर्दै । चाकरी पनि अल्पकालिन पेशा हो । यो पेशाले आगामी दिनमा पैसाको छेलोखेलो गराइदिने सम्भावना प्रबल हुन्छ । अभाव र दरिद्रता भगाइदिन्छ । रोजीरोटीको व्यवस्था मिलाइदिन्छ ।
चाकरी गर्नु अपराध होइन । तर चाकरी गर्न लाज शर्म पचाउने पाचनप्रणाली भने अलि मजबुत हुनुपर्छ । लज्जावती झार झैं लजाउनेले चाकरी गर्नै सक्दैन । चाकरी गर्नेले शक्तिवालाको अपानवायुलाई पनि सुगन्धित अत्तर सम्झने ल्याकत राख्नुपर्छ । उसका हरेक वाक्यलाई होमा हो मिलाउन सक्ने हुनुपर्छ ।
चाकरीबाजलाइ कानुनले छुँदैन त्यसैले डराउनु पर्दैन । चाकरी अघोषित कानुनी मान्यता प्राप्त प्राबधान हो । त्यसैले यो संविधान भन्दा माथि छ अर्थात् सर्वोपरी छ भनेर ठोकुवा गर्दछु । वर्तमान परिप्रेक्ष्यमा यसको खेति असाध्यै मौलाएको छ । यो खेतीलाई सिंचाइको रूपमा अलिकता पसिना बगाए पुग्छ भने मल, खादको रूपमा अलिकता शीर झुकाए अनि कुकुर झुकाए पुग्छ । कसैकसैले घ्यू, मह अनि कसैले भाले बोकेर जाने चलन पनि छ चाकरीलाइ मूर्त रुप दिन । ज्ञापनपत्र बोकेर जानेले गेट भित्र छिर्न नपाउला तर लोकल भाले र घ्यू बोक्नेले शक्तिवालाको वैठक कोठामा मात्र होइन बेडरुमसम्म पुग्न सक्छ भनेर किटान गर्न सक्छु । यस्तो छ चाकरीबाजको तागत ।
सबै चाकरीले सफलता प्राप्त गर्छन् भन्ने छैन । कुनै बैगुनी शक्तिकेन्द्र परेछ भने चाकरीबाजलाई हातमा लायो सून्यको अवस्था हुन सक्छ । त्यस्ता चाकरीबाजहरू डिप्रेसनको सिकार भएर अस्पताल जाँदा भूलवस् अस्पतालले किड्नीको अप्रेसन गर्दा प्राणपखेरू उडेको सुन्ने गरेको छु । त्यसैले चाकरी जोखिमयुक्त पेशा पनि हो यो । त्यसैले जोखिम बहन गर्न सक्ने अद्भूत कला पनि हुनुपर्छ । हरेस खाइहाल्नु बान्छनीय हुँदैन ।
चाकरीकलालाई खार्न अलग्गै कोचिङ सेन्टर खोल्ने रहर हुँदाहुँदै पनि सरकारले स्वीकृति दिन आनाकानी गरेकोले मलाई पनि हल्का डिप्रेसनले छोइ सकेको निवेदन गर्न चाहन्छु ।
०००
२०७९ कार्तिक २८
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































