साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाकरी गर्ने तरिका

चाकरीकलालाई खार्न अलग्गै कोचिङ सेन्टर खोल्ने रहर हुँदाहुँदै पनि सरकारले स्वीकृति दिन आनाकानी गरेकोले मलाई पनि हल्का डिप्रेसनले छोइ सकेको निवेदन गर्न चाहन्छु ।

Nepal Telecom ad

चाकरी हाम्रा पुर्खादेखि चल्दै आएको घुसघुसेहरूको एउटा स्वतःस्फूर्त पेशा हो । चाकरीबाजले धेरै कुरा जानेको हुँदैन । सिर्जनशीलताको गुण उसमा हुने त कुरै भएन । उसलाई आउँछ त केवल मिठासपूणर् ढंगले चाकरी गर्न । चाकरीबाजले चाकरीको माध्यमबाट आफ्नो दुनो राम्ररी सोझ्याउँछ । चाकरीको भरमा उसले घर ठड्याउँछ । गाडी गुडाउँछ । मीठो मसिनो लुड्याउँछ ।

मीठो बोल्न जान्ने उसको अद्भूत कला हुन्छ । जसको चाकरी गरेको हो उसलाई पनि चाकरी गरेको हो भन्ने छनक दिंदैन । लिसो टाँसिए झै पावरवालाको भक्ति भजन गर्न पारङ्गत हुन्छ । पावरवालाको कुकुरलाइ सुम्सुम्याउँछ । हगाउँछ मुताउँछ । उसका छोराछोरीलाई उसका आमा बाउले दिन नसकेको माया खन्याउँछ । उसका करेसाबारीमा जान्छ । गोड्मेल गर्छ खनखोरस गर्छ । हरियो सागसब्जी फलाइदिन्छ । झोलुङ्गोको नानीलाई हल्लाइदिन्छ । अनि उसको मन जितिदिन्छ । कोही चाकरीवाला यस्ता पनि हुन्छन् जो पावरदारकी श्रीमतीको पेटीकोट पनि धोइ दिन्छन् । उनीहरू शोक सन्तापले रुँदा रोइदिन्छ्न । भकारोमा पुगेर गाई भैंसी दुही दिन्छ्न् ।

चाकरीबाजहरू के गर्दैनन् ! किचनमा पुगेर त्यहाँको वस्तुस्थिति नियाल्छ्न् । भाँडावर्तन धोइ पखाली गर्छन् । मालिक्नी रिझाउँछ्न । मालिकको ज्यान मालिस गर्छन् । थकान दूर गर्छन् । शारीरिक र मानसिक तनाव हटाउने भरमग्दुर प्रयास गर्छन् । भोलिको स्वर्णिम दिनको कल्पना गर्दै । चाकरी पनि अल्पकालिन पेशा हो । यो पेशाले आगामी दिनमा पैसाको छेलोखेलो गराइदिने सम्भावना प्रबल हुन्छ । अभाव र दरिद्रता भगाइदिन्छ । रोजीरोटीको व्यवस्था मिलाइदिन्छ ।

चाकरी गर्नु अपराध होइन । तर चाकरी गर्न लाज शर्म पचाउने पाचनप्रणाली भने अलि मजबुत हुनुपर्छ । लज्जावती झार झैं लजाउनेले चाकरी गर्नै सक्दैन । चाकरी गर्नेले शक्तिवालाको अपानवायुलाई पनि सुगन्धित अत्तर सम्झने ल्याकत राख्नुपर्छ । उसका हरेक वाक्यलाई होमा हो मिलाउन सक्ने हुनुपर्छ ।

चाकरीबाजलाइ कानुनले छुँदैन त्यसैले डराउनु पर्दैन । चाकरी अघोषित कानुनी मान्यता प्राप्त प्राबधान हो । त्यसैले यो संविधान भन्दा माथि छ अर्थात् सर्वोपरी छ भनेर ठोकुवा गर्दछु । वर्तमान परिप्रेक्ष्यमा यसको खेति असाध्यै मौलाएको छ । यो खेतीलाई सिंचाइको रूपमा अलिकता पसिना बगाए पुग्छ भने मल, खादको रूपमा अलिकता शीर झुकाए अनि कुकुर झुकाए पुग्छ । कसैकसैले घ्यू, मह अनि कसैले भाले बोकेर जाने चलन पनि छ चाकरीलाइ मूर्त रुप दिन । ज्ञापनपत्र बोकेर जानेले गेट भित्र छिर्न नपाउला तर लोकल भाले र घ्यू बोक्नेले शक्तिवालाको वैठक कोठामा मात्र होइन बेडरुमसम्म पुग्न सक्छ भनेर किटान गर्न सक्छु । यस्तो छ चाकरीबाजको तागत ।

सबै चाकरीले सफलता प्राप्त गर्छन् भन्ने छैन । कुनै बैगुनी शक्तिकेन्द्र परेछ भने चाकरीबाजलाई हातमा लायो सून्यको अवस्था हुन सक्छ । त्यस्ता चाकरीबाजहरू डिप्रेसनको सिकार भएर अस्पताल जाँदा भूलवस् अस्पतालले किड्नीको अप्रेसन गर्दा प्राणपखेरू उडेको सुन्ने गरेको छु । त्यसैले चाकरी जोखिमयुक्त पेशा पनि हो यो । त्यसैले जोखिम बहन गर्न सक्ने अद्भूत कला पनि हुनुपर्छ । हरेस खाइहाल्नु बान्छनीय हुँदैन ।

चाकरीकलालाई खार्न अलग्गै कोचिङ सेन्टर खोल्ने रहर हुँदाहुँदै पनि सरकारले स्वीकृति दिन आनाकानी गरेकोले मलाई पनि हल्का डिप्रेसनले छोइ सकेको निवेदन गर्न चाहन्छु ।

०००
२०७९ कार्तिक २८
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x