साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्यु-विचार

अनि एकाएक नाथुराम गोड्सेको कर्तुतलाई सम्झें जसले सादा जीवन उच्च बिचारका धनी महात्मा गान्धीलाई कहिल्यै टाउको नदुख्ने गोली ख्वाएर सुतायो । ०००

Nepal Telecom ad

कहिलेकाहीं बिरक्त लाग्छ र सोंच्छु मेरो मृत्यु कसरी हुन्छ होला ! हुन त म मर्न भनेपछि हड्कम्प हुने अर्बौं खर्बौ जीव मध्येको एउटा मनुवा हुँ । मर्न डर लागेकै कारणले जाँड, रक्सी जस्ता घातक र मातक पदार्थ छुँदै छोइन त भन्दिन तर त्यसैको कारणले घरपरिवारमा अर्घेलो भइन । छिछि र दुरदुर भइन । सुर्ती, गुड्का खासै नजँचेपछि चटक्कै त्यागेकै हो । बिहे पार्टी भोज भतेरमा मासु र पुलाव प्लेटमा अलि बढीनै झोंके पनि अन्य आलुगोभी लगायतका सहायक परिकार कम गरेकै हो । ज्यानमा बोसे तत्वको खासै प्रभाव पर्न दिइन । ज्यानलाई कपास झैं हल्का बनाइरहें । योगाका अनेक आसनलाई उच्च प्राथमिकतामा राखें । कोरोनालाई छक्काएँ, डेङ्गीलाई किनारामा पनि पर्नै दिइन । जोरो आउँदा रुघा, खोकी लाग्दा सतर्क भैरहें । ज्वानो पानी, बेसार पानी, ओक्तो मुलो गर्न कुनै कसर बाँकी राखिन । साइकिल, बाइक, स्कूटी चलाउँदा चाहिने भन्दा ज्यादा सतर्क भैरहें ।

आफू चढेको गाडी दुर्घटनामा परि हाल्ला कि भनेर कहिल्यै भुसुक्क निंदाइन । अगाडिको सीटको पृष्ठ भागलाई बलियो गरि समाइरहें । प्लेनमा चढ्दा भने यदाकदा सम्झने भगवानलाई खुब सम्झेँ ।

यसरी मृत्युमाथि आजसम्म जीत हासिल गरेको म कसरी मर्छु होला भनेर कुरा धुत्न एक जना मन मिल्ने दौंतरीलाई सोधें । म कसरी मर्छु होला ? उसले भन्यो- तँ साहित्यकार परिस् । मदन पुरस्कार पाउने खबर सुन्नासाथ तँ हर्टअट्याक भएर मर्छस् । एकछिन दुबै जनाबीच हाँसोको फोहरा उठ्यो ।

कुनै दिन अर्को शुभ चिन्तकलाई सोधें । ए साथी ! म कसरी मर्छु जस्तो देखिछु नि ? उसले यसो मेरो अनुहार चेक जाँच गरी हाँस्दै भन्यो । तँ डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्छस् । मैले स्पष्टीकरण मागें । किन नि त्यसरी मर्छस् भनेको ?’ उसले सुसेली हाल्दै मलाई जिस्काउदै भन्यो- किनकी तँ यति हेन्सी भएर पनि फिलिममा हिरो बन्न गैनस् । त्यसैको पछुतो स्वरूप तँ डाडुमा पानी तताएर मर्छस् । यति मीठो आवाज हुँदाहँुदै पनि तँ गायक बन्न सकिनस् । त्यसैले तँ डाडुमा पानी तताएर मर्छस् ।

मलाई अलि खिल्ली उडाए झै लाग्यो उसले । उसले यसो भनिरहँदा कुनै एकजना धतुरे साथीले मलाई ए डल्लाकोटी ! यसो बेलाबेला झुण्डेर भए पनि अलि हाइट बढा न यार । यो जमाना अलि हाइटीको हो क्या । तँ त भीडमा जाँदा निसास्सिएर मर्ने जस्तो होंचो भइस् क्या ! हो, उसले भनेको यही कुरा याद आयो र भनें- म जस्तो यति होंचो कदको मान्छे कसरी फिलिममा हिरो बन्न सक्छु यार ! नचाहिंदो कुरा नगर् न । अनि उक्त साथीले यति राम्रो आवाज हुँदाहुँदै गायक बन्न सकिनस् भन्दा झन् पत्यार लागेन । किनकी एकपटक आफ्नै आवाजमा गीत गाएर फेसबुकमा पोस्ट्याएको एउटी झुम्सीले बब्बाल कला भनेर शङ्कास्पद प्रतिक्रिया पाउनु बाहेक अरुबाट सन्तोषजनक लाइक कमेन्ट पाउन सकिन । बरु कुनै कुनै महानुभावहरूबाट खित्कौली प्रतिक्रिया पाएँ ।

त्यसैले गायक बन्ने कुरामा म आफै विश्वस्त हुन सकेको थिइन । उक्त साथीले भनेको कुरा पनि व्यङ्ग्य झै लाग्यो र डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्छु जस्तो पटक्कै लागेन । कुनै शनिबारको दिन, अर्को चुस्की पार्ट्नरलाई च्या पसलमा सङ्गै बसेको बेला सुटुक्क सोधेँ- म कसरी मर्छु जस्तो देखिन्छु नि साथी । उसले हल्का लर्बराउदै भन्यो- तँ त सुकेनास लागेर मर्छस् कि क्या हो । सधै सुको छैन मात्र भन्छस् । उसको कुरा अलिअली त हो कि झैं लाग्यो र घोरिरहें ।

कार्यक्षेत्रमा रँदाको बखत अर्को हितैषीलाई सोधें- के तिमी मेरो मृत्यु बारे अनुमान गर्न सक्छौ ? उनले भने- तिमी मालिकलाई रिझाउने भन्दै यसरी प्राण फुस्कने गरी काममा जोतिरहन्छौ । त्यसैले तिम्रो काल यही हुन सक्छ । ती मित्रको कुरा हो जस्तै लागेर आफ्नो काम गर्ने शैलीमा केही अङ्कुस लगाएँ ।

एकदिन आफै बिचार गरें म कसरी मर्छु होला ! अनुमान गरें खासै पाप गरेको छैन त्यसैले ८४ कटेपछि अचानक टिकटके युवतीहरूको अभिनय हेर्दाहेर्दै भाउन्न भएर साइकलको टायरको हावा फ्यास्स फुस्के झै फुस्केर मर्छु र परमधाममा अलि गतिलै स्थान पाउने छु ।

कुनैदिन मृत्यु बिचारकै क्रममा यो बोध भयो कि मर्न त मर्छु नै तर यसरी मर्छु कि सबैलाई त्यसरी नै मर्ने हुटहुटी जागोस् । अर्थात त्यसरी मर्न पाए कति जाती हुँदो हो भन्ने लागोस् ।

एकदिन मैले मृत्यु बिचार गरिनै रहेको थिएँ- कुनै अदृष्य शक्तिले कानमा फुस्फुसाउदै भन्यो- “तँ मृत्युको किन व्यर्थ चिन्ता गर्छस् । तँ आफ्नो कर्म क्षेत्रमा तन्मयताका साथ लाग् । दुनियाँको निन्दो चर्चो गर्न छोड् । रिस, राग, छलकपट गर्न छोड् । स्वार्थी, अहंकारी, लम्पट बिकारी बन्न छोड्, मनको भिखारी बन्न छोड् । आफ्नो क्षमता हैसियत अनुसार जीवन जिउने मार्गमा लाग् । दया, प्रेम, परोपकारको भावनामा सम्झौता नगर् । कुर्सीको लागि मरिहत्ते नगर् । सबैको पृय बन् । लोभ त्याग्, मोह त्याग् । सादा जीवन, उच्च बिचार धारणा गर् । यति कुरा पालन गरिस् भने तेरो सहज मृत्यु सम्भव हुन्छ ।”

यति भन्दै अदृष्य शक्ति गायब भयो । म सून्यतर्फ हेरेर टोलाइरहें । अनि एकाएक नाथुराम गोड्सेको कर्तुतलाई सम्झें जसले सादा जीवन उच्च बिचारका धनी महात्मा गान्धीलाई कहिल्यै टाउको नदुख्ने गोली ख्वाएर सुतायो ।

०००
२०७९ मङ्सिर ३
९८६७२९१७४६
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x