कमल भैरवेलीमृत्यु-विचार
अनि एकाएक नाथुराम गोड्सेको कर्तुतलाई सम्झें जसले सादा जीवन उच्च बिचारका धनी महात्मा गान्धीलाई कहिल्यै टाउको नदुख्ने गोली ख्वाएर सुतायो । ०००

कहिलेकाहीं बिरक्त लाग्छ र सोंच्छु मेरो मृत्यु कसरी हुन्छ होला ! हुन त म मर्न भनेपछि हड्कम्प हुने अर्बौं खर्बौ जीव मध्येको एउटा मनुवा हुँ । मर्न डर लागेकै कारणले जाँड, रक्सी जस्ता घातक र मातक पदार्थ छुँदै छोइन त भन्दिन तर त्यसैको कारणले घरपरिवारमा अर्घेलो भइन । छिछि र दुरदुर भइन । सुर्ती, गुड्का खासै नजँचेपछि चटक्कै त्यागेकै हो । बिहे पार्टी भोज भतेरमा मासु र पुलाव प्लेटमा अलि बढीनै झोंके पनि अन्य आलुगोभी लगायतका सहायक परिकार कम गरेकै हो । ज्यानमा बोसे तत्वको खासै प्रभाव पर्न दिइन । ज्यानलाई कपास झैं हल्का बनाइरहें । योगाका अनेक आसनलाई उच्च प्राथमिकतामा राखें । कोरोनालाई छक्काएँ, डेङ्गीलाई किनारामा पनि पर्नै दिइन । जोरो आउँदा रुघा, खोकी लाग्दा सतर्क भैरहें । ज्वानो पानी, बेसार पानी, ओक्तो मुलो गर्न कुनै कसर बाँकी राखिन । साइकिल, बाइक, स्कूटी चलाउँदा चाहिने भन्दा ज्यादा सतर्क भैरहें ।
आफू चढेको गाडी दुर्घटनामा परि हाल्ला कि भनेर कहिल्यै भुसुक्क निंदाइन । अगाडिको सीटको पृष्ठ भागलाई बलियो गरि समाइरहें । प्लेनमा चढ्दा भने यदाकदा सम्झने भगवानलाई खुब सम्झेँ ।
यसरी मृत्युमाथि आजसम्म जीत हासिल गरेको म कसरी मर्छु होला भनेर कुरा धुत्न एक जना मन मिल्ने दौंतरीलाई सोधें । म कसरी मर्छु होला ? उसले भन्यो- तँ साहित्यकार परिस् । मदन पुरस्कार पाउने खबर सुन्नासाथ तँ हर्टअट्याक भएर मर्छस् । एकछिन दुबै जनाबीच हाँसोको फोहरा उठ्यो ।
कुनै दिन अर्को शुभ चिन्तकलाई सोधें । ए साथी ! म कसरी मर्छु जस्तो देखिछु नि ? उसले यसो मेरो अनुहार चेक जाँच गरी हाँस्दै भन्यो । तँ डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्छस् । मैले स्पष्टीकरण मागें । किन नि त्यसरी मर्छस् भनेको ?’ उसले सुसेली हाल्दै मलाई जिस्काउदै भन्यो- किनकी तँ यति हेन्सी भएर पनि फिलिममा हिरो बन्न गैनस् । त्यसैको पछुतो स्वरूप तँ डाडुमा पानी तताएर मर्छस् । यति मीठो आवाज हुँदाहँुदै पनि तँ गायक बन्न सकिनस् । त्यसैले तँ डाडुमा पानी तताएर मर्छस् ।
मलाई अलि खिल्ली उडाए झै लाग्यो उसले । उसले यसो भनिरहँदा कुनै एकजना धतुरे साथीले मलाई ए डल्लाकोटी ! यसो बेलाबेला झुण्डेर भए पनि अलि हाइट बढा न यार । यो जमाना अलि हाइटीको हो क्या । तँ त भीडमा जाँदा निसास्सिएर मर्ने जस्तो होंचो भइस् क्या ! हो, उसले भनेको यही कुरा याद आयो र भनें- म जस्तो यति होंचो कदको मान्छे कसरी फिलिममा हिरो बन्न सक्छु यार ! नचाहिंदो कुरा नगर् न । अनि उक्त साथीले यति राम्रो आवाज हुँदाहुँदै गायक बन्न सकिनस् भन्दा झन् पत्यार लागेन । किनकी एकपटक आफ्नै आवाजमा गीत गाएर फेसबुकमा पोस्ट्याएको एउटी झुम्सीले बब्बाल कला भनेर शङ्कास्पद प्रतिक्रिया पाउनु बाहेक अरुबाट सन्तोषजनक लाइक कमेन्ट पाउन सकिन । बरु कुनै कुनै महानुभावहरूबाट खित्कौली प्रतिक्रिया पाएँ ।
त्यसैले गायक बन्ने कुरामा म आफै विश्वस्त हुन सकेको थिइन । उक्त साथीले भनेको कुरा पनि व्यङ्ग्य झै लाग्यो र डाडुमा पानी तताएर त्यसैमा डुबेर मर्छु जस्तो पटक्कै लागेन । कुनै शनिबारको दिन, अर्को चुस्की पार्ट्नरलाई च्या पसलमा सङ्गै बसेको बेला सुटुक्क सोधेँ- म कसरी मर्छु जस्तो देखिन्छु नि साथी । उसले हल्का लर्बराउदै भन्यो- तँ त सुकेनास लागेर मर्छस् कि क्या हो । सधै सुको छैन मात्र भन्छस् । उसको कुरा अलिअली त हो कि झैं लाग्यो र घोरिरहें ।
कार्यक्षेत्रमा रँदाको बखत अर्को हितैषीलाई सोधें- के तिमी मेरो मृत्यु बारे अनुमान गर्न सक्छौ ? उनले भने- तिमी मालिकलाई रिझाउने भन्दै यसरी प्राण फुस्कने गरी काममा जोतिरहन्छौ । त्यसैले तिम्रो काल यही हुन सक्छ । ती मित्रको कुरा हो जस्तै लागेर आफ्नो काम गर्ने शैलीमा केही अङ्कुस लगाएँ ।
एकदिन आफै बिचार गरें म कसरी मर्छु होला ! अनुमान गरें खासै पाप गरेको छैन त्यसैले ८४ कटेपछि अचानक टिकटके युवतीहरूको अभिनय हेर्दाहेर्दै भाउन्न भएर साइकलको टायरको हावा फ्यास्स फुस्के झै फुस्केर मर्छु र परमधाममा अलि गतिलै स्थान पाउने छु ।
कुनैदिन मृत्यु बिचारकै क्रममा यो बोध भयो कि मर्न त मर्छु नै तर यसरी मर्छु कि सबैलाई त्यसरी नै मर्ने हुटहुटी जागोस् । अर्थात त्यसरी मर्न पाए कति जाती हुँदो हो भन्ने लागोस् ।
एकदिन मैले मृत्यु बिचार गरिनै रहेको थिएँ- कुनै अदृष्य शक्तिले कानमा फुस्फुसाउदै भन्यो- “तँ मृत्युको किन व्यर्थ चिन्ता गर्छस् । तँ आफ्नो कर्म क्षेत्रमा तन्मयताका साथ लाग् । दुनियाँको निन्दो चर्चो गर्न छोड् । रिस, राग, छलकपट गर्न छोड् । स्वार्थी, अहंकारी, लम्पट बिकारी बन्न छोड्, मनको भिखारी बन्न छोड् । आफ्नो क्षमता हैसियत अनुसार जीवन जिउने मार्गमा लाग् । दया, प्रेम, परोपकारको भावनामा सम्झौता नगर् । कुर्सीको लागि मरिहत्ते नगर् । सबैको पृय बन् । लोभ त्याग्, मोह त्याग् । सादा जीवन, उच्च बिचार धारणा गर् । यति कुरा पालन गरिस् भने तेरो सहज मृत्यु सम्भव हुन्छ ।”
यति भन्दै अदृष्य शक्ति गायब भयो । म सून्यतर्फ हेरेर टोलाइरहें । अनि एकाएक नाथुराम गोड्सेको कर्तुतलाई सम्झें जसले सादा जीवन उच्च बिचारका धनी महात्मा गान्धीलाई कहिल्यै टाउको नदुख्ने गोली ख्वाएर सुतायो ।
०००
२०७९ मङ्सिर ३
९८६७२९१७४६
भैरहवा
Subscribe
Login
0 Comments
Oldest





































