ठाकुरप्रसाद अधिकारीदलाली खेती
यो खेतीमा खनिएर लाग्ने दलालहरूलाई यथेस्ट सहयोग अनुदानको बजेट व्यवस्था गर्नु पर्यो । भ्रष्ट मति र दलाली प्रवृतिको उन्नतिमा मात्रै यो देशले अग्रगति लिनसक्छ । यो गुढ कुरा सरकारका कानमा छिर्नु पर्यो ।

दलाली खेती भन्ने बित्तिकै तपाईंलाई झनक्क रिस उठ्ला । रिस उठे पनि उठिरहोस्, तपाइँको रिसले केही लछारपाटो लाउँछ जस्तो लाग्दैन । आज हरेक हाँसोको हरकमा पनि दलालीको गन्ध ह्वास्स आउँछ । कसैलाई नङ्ग्याउनदेखि बङ्ग्याउनसम्म र भट्टीदेखि टट्टीसम्मका लन्ठुरामहरूको कुम उचाल्न पनि दलाली गर्छन् । यो भनेकै दलालीवाद हो ।
दलालीले के के सिध्याउँछ, सिध्याउनेवाला छ, कुनै अत्तापत्तो छैन । जाबो एक खिल्ली चुरोट सल्काउन पनि दलालीको कुरा आउँछ । हाम्रो दुर्भाग्य घरको गाह्रो उठाउनदेखि सरकारी कुर्सी जोगाउनसम्म दलालीकै भर पर्नुपर्ने अवस्था छ । खेतबारीको आँठोदेखि पाठो मिलाउन । विवाह गर्न केटा होस् वा केटी मिलाउनसमेत दलालीमै भरपर्नु पर्ने बेला हो यो । घरजग्गा जोड्न होस् वा सरकारी वा तरकारीको तिरो तिर्न अफिसमा छिर्न दलाली चाहिन्छ । राजनीतिको साँचो यिनीहरूकै हातमा हुन्छ । हुँदाहुँदा चिनिया गुन्द्रुक किन्न पनि दलालीको लोगो चाहिने । लोग्ने स्वानीको घरझगडा मिलाउन पनि उही चाहिने । दलालीको तागत न्वारनको बल भन्दा ठूलो हुँदै गएको छ ।
दलाल पनि कोही स्वघोषित छन् । कोही अघोषित छन् । गाउँदेखि नाउँसम्म । नाउँदेखि ठाउँसम्म दलेको तागत देख अनदेखमा पनि देख्न जरुरी छ । दलालहरूले हलालको यज्ञ गर्न थालेको धेरै वर्ष पुरानो भयो । यहाँ त दलाल भए पनि दादा भएर जन्मन्छन् दादै भएर मर्छन् ।
यस लोकको मान्छेले परलोकको भगवानलाई पुज्न पनि दलाली नगरि हुन्न । दाँते ओख्खर खान नसक्ने बूढाहरूलाई बैशले गिज्याए पनि यो नयाँ ढाँचाको र टाँचा लाउने गज्जबको खेती हो । लौरी टेक्न नसक्ने पनि दलेखेती गर्ने भएका छन् । मामा घर जाउँ कि ससुराली जाउँ वा जन्त अन्त जाउँ जतापनि दलालीकै दाउ । कतै जान पर्दैन घरभित्र तताएको दुधमा पनि दलाली लाग्ने गरेको छ । सुनिन्छ स्यालको विहेमा समेत दलालले र्याल काड्न पल्केको छ । पाए अन्त नपाए लखन थापाको जन्त भन्ने उखानले पनि दलालीकै पौरख पोखिरहेको छ ।
कोही देशकै दलाली खेतीमा रमाउँदा छन् । कान्तिपुरदेखि अन्तपुर जहाँ जाउँ तेलबेसार घस्ने दलाली भेटिन्छन् । दलालीकै भरमा मास्टरी गरेको धाकको उकेरा लाउने पनि छन् । यो धाकवादी सिद्धान्त हो । प्रत्येक दलालीको भाडोले भन्छ- म अरुजस्तो झुट कुरा गर्ने मान्छे होइन । गुड फर नथिङ भने झैं प्रत्येक दलालीको राजा बनेको नेतोले भन्छ- म अरूजस्तो विदेशीसित मिलेर राज्यलाई ठग्ने दलाली नेता होइन । युवाहरूको दलाली पनि झ्यासझुसे छैन । दिनहु सत्ता र शक्तिको जुत्ता चप्पल चाटिरहको दलाल पनि आफूलाई पाइनदार इमान्दार बताइरहेको हुन्छ । दलेको खेती रिठ्ठादेखि गिठ्ठासम्म जताततै देखिन्छ । उसको खेती फलेर चालेको चनाजस्तो चलेको चल्यै छ ।
जस्तै टाठाबाठा पनि दलाललको फन्दामा नफसी सुखै छैन । सुकेको गालाले पनि दलाली गर्दो रहेछ यहाँ यश कमाउन । दलाली गर्न जनमत पनि नचाहिने हुँदा दलेहरू दैलो दैलोमा भेटिन्छन् । दलाली गर्न टुँडिखेल जत्रो चौर चाहिँदैन इटुम्बाहल जत्रो चोक भए पनि पुग्छ ।
सरकारी र तरकारी काम ओझेलमा परेपनि झेल र जालमा फड्को मार्ने हुँदा दलालीहरू खल्ती भरेरै समाज परिवर्तन गर्न चाहन्छन् । हाम्रो देश दलालीको धनी देश हो । टोल टोलमा र मोल तोलमा दलालहरू छन् । यो जमिनको दबिएको जनधन झिक्न दलालीलाई खजाना भजाउनु पर्छ । हो, दलाली खेती भनेको नै यहि हो । दलाली होड मोड मोडमा हुनेहुँदा यो राज्य नै दलाली राज्य हो । दलाल नभए ओरको सिन्को पर सर्दैन । प्राज्ञ पड्काउनदेखि जिएम सड्काउनसम्म दलालीको भूमिका निणर्यक हुनेको गरेको छ ।
मुम्बई पुगे पनि बम्बई भने पनि दलालीको भाउले आकाश छोएको छ । त्यसैले राजनीतिको गन्धमा पनि दले रस आउला । यसको खेती गर्नेलाई कुनै उमेरको हदम्याद चाहिँदैन । कुनै उजुरबाजुरको कित्ता समाउनु पर्दैन । कुनै हात्तिघोडामा सवार हुनु पर्दैन । हेलिकप्टर नचडे पनि स्कुटरर भ्याटभ्याटे किन्न पर्दैन । त्यसैकारण मेरो मस्तिस्ककको पर्दामा दले नाम गुन्जिरहन्छ । ऊ स्वच्छन्द हिँड्ने भएकोले दलेको नाम पनि पुरेतबाजेले अचम्मै राखी दिएका छन् । घ्याप्पे, ट्याम्के, पानीआन्द्रे, हाब्रे, चाउरे, भ्याकुते, सुइखुट्टे, सेते, गोरे, काले, ध्वाँसे, छेपारे, वेसारे, कैले, टाटेपाटे आदित्यादि ।
दुई पाग्रे साइकल चड्न नसक्ने दलाली षडानन्द स्वादको दलाली खेती गरेर कुलको इज्जत थामिरहेका छन् । उनको अपमान गर्न खोजेको हैन । दलाली खेतीले नै उनी अहिले दलको नेता बनेका छन् । त्यो पनि चानचुने पद हो र वरिष्ट । यो दलाली पेशामा लाग्ने मान्छेले फुङ्कार गरेर चाकडीको तक्मा भिर्नु पर्दैन । यो खेती गर्न कागजको चौतारी चाहिन्छ । यो टाइम टाइमको बात हो । यसको मतलब कसैको खेत हड्पेर खाएर अघाएको दलाली भन्छ खोला मुनिको खेत खाऊ । दलालीकै मलजलले देशका युवालाई खाडीतिर पठाउने र यता आफू साँढेको झैं जुरो बनाउनेहरू धेरै छन् । दलालीबाट आउने आयस्ता सात पुस्तालाई पुग्ने गरि कमाउनु दायाँ हातको खेल हो । त्यसैले दलेको खेती गरौँ लाग्छ ।
खडेरीमा पनि घर खडेरी जोड्न सकिने पेशा हो यो । न त हाकिमको चाकरी गर्नुपर्ने । न त बारी कान्ला खनखान गरेर रोप्नपर्ने । न त बर्कौला डोब्नुपर्ने । कति सजिलो मनसुन भन्दा सजिलो भनसुन, भनसुन भन्दा पनि सजिलो दले खेती हो । यो दलहन जस्तै लयालु हुन्छ । निम्नस्तरको भान्छा पनि सभ्रान्तको जस्तो बन्न थाल्छ दले खेती समालेपछि । दलेको खेतीको विशेषता भनेको यहि हो । यिनीहरू चिठ्ठी चपेटा गर्न नसके पनि हुलाकी हुन्छन् । उस्तै परे यमराजको दैलासम्म पुर्याउँछन् ।
नेपाली सोमाजमा दल-दलमा कमाउ धन्दा कृतिमा होइन विकृतिमा बढ्दो छ । कोही चुनावमा भोट तान्ने दलाली खेल । कोहि खोलामुनिको खेत विकाउको धन्दामा खेलिने दलाली खेती । अरु खेती भन्दा चर्को छ । दलाली स्वरमा स्वर मिलाउन खोज्छन् । लेखनमा खप्पिस साहित्यकारहरू पनि यसमा पिस भएर फसेकै देखिन्छ । दलाली खेतीको वारेमा गीत नघन्काउने कोही होला जस्तो लाग्दैन । यो त दलालीले पाएको सम्मान हो । उसलाई सोमाजले चाँदीको जुत्ता के कुरा आलु तक्मा दिन सकेको छैन । बणर्मालाको अक्षर बिर्सेर विचारको पोखरीमा बरबराउन थाल्नु दलाली खेती गर्नेको उम्दा योग्यता हो । तरकारी कट्मा दौडिदै घुस्यानमा पौडिनु उसको दिमागको परीक्षण हो । घोत्लिनु उक्लिनु चम्किनु तन्किनु र फड्कार्नु उसको सफलता हो । ज्ञानगुनमा गनगन उसलाई मन पर्दैन । ऊ त दलालीमै लसफलता चुमिरहेको छ ।
के पहाड के मधेश के तराई तीन शहरका सबै ठाउँमा आज भोलि भलिभाँतीसँग दलालीकै विगविगी र छलकपट मडारिँदो छ । उहिले राणाको पालमा अतुलनिय पद पाउने छुट रहेछ । हुक्के बैठके सुब्बा जमदार हवदार अमलदार कमलदार आदि त सुनिएको थियो तर दले नामको आधुनिक पद पो खास्साको रहेछ । नूनदेखि सुनसम्म किन्दा होस कि बेच्दा दलाली हुने गरेको छ आजकल । दलालहरूको जीवन घरव्यवहारमा पनि यसरी नै चलेको सुनिन्छ ।
ससुराली जाँदा पात्रोमा दलाली, मलामी जाँदा कात्रोमा दलाली, बिहामा दलाली, ब्रतबन्धमा दलाली, माइत जाँदा दलाली, मामा भान्जामा दलाली । आमातिरको नाना न बाबुतिरको छाना जता पनि दलाली । कसले बिर्सन्छ लगौटीको दलाली । कामै दलालीको भएपछि दलको पद पनि धरापमा परेको छ आजकल ।
कुरोको चुरो नै कुरा गर्ने हो भने दलालीमा लाग्न साउँअक्षर चिन्नुपर्छ भन्ने छैन । जसलाई निमय कानून थाहा छैन उही कानूनमन्त्री बनिरहेका छन् मुलुकमा । जसलाई ठेक्काको ठ पनि थाहा हुँदैन उहि ठेकेदार बन्छ । जसको आँखा छैन उसको नाउँ नेत्रप्रसाद । जसको एक पित्को बुद्धि छैन उसको नाउ बुद्धिबहादुर । जसलाई डाडुपन्यू चलाउने चाँजोपाँजो थाहा छैन उही भान्छेको मान्छे भएर बस्छ । तर के गर्नु फुटवल खेलमा रेफ्रीलाई छक्काउन र छलाउन जान्नेले गोल गर्ने हो । त्यसैले ताइ न तुइका मान्छे नै दलाली खेतीवालाका मास्टर बनेका छन् । कोहिले त प्रिन्सिपल नै पड्काएका छन् । जसले अरुको घाटी अँठ्याउन जानेको छ उनै असली दलाल हो । उसैको गोजीमा अपार धन हुन्छ । दले हुन शहिदको जस्तो गोली पनि खान पर्दैन ।
पुरानो सुसंस्कृत सभ्यता भत्काएर नयाँ खिचडी फत्काउ दलाली खेतीको रोचक पक्ष हो । यस्तो दले प्रवृतिमाथि प्रतिवन्ध लगाउन नसक्नु सरकारको विशेषता । बरु दलालहरूलाई घर माइत गर्न सजिलो होस् भनेर सिंहदवार नै दाइजो दिँदा वेस हुन्थ्यो कि ! जान्नेहरू आरोप खेपिरहेका हुन्छन् । दलाली नजान्नेहरू बाहिर फुटबल खेलमा जस्तो रेडकार्ड पाएर आउट भएका छन् । अचम्मको लबस्तरो कुरा भन्छु- आजकालमा साँढेहरू पनि विजन विनाको खेती दलाली खेतीतर्फ लहसिएका छन् । लौ न मेरो सरकार हरेक ठाउँ र क्षेत्र निर्वाध रुपले प्रवेश गरेको यो दलाली दुस्प्रवृत्तिलाई अझै प्रोत्साहित गर्ने नीति र योजना ल्याउनु पर्यो । धान गहुँ खेतीका लागि समयमा मल बिउ उपलब्ध नगराए पनि यो खेतीमा खनिएर लाग्ने दलालहरूलाई यथेस्ट सहयोग अनुदानको बजेट व्यवस्था गर्नु पर्यो । भ्रष्ट मति र दलाली प्रवृतिको उन्नतिमा मात्रै यो देशले अग्रगति लिनसक्छ । यो गुढ कुरा सरकारका कानमा छिर्नु पर्यो । नत्र त उही हो !
०००
काठमाडौं
२०७९ माघ ३
Subscribe
Login
0 Comments
Oldest








































