साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलाली खेती

यो खेतीमा खनिएर लाग्ने दलालहरूलाई यथेस्ट सहयोग अनुदानको बजेट व्यवस्था गर्नु पर्‍यो । भ्रष्ट मति र दलाली प्रवृतिको उन्नतिमा मात्रै यो देशले अग्रगति लिनसक्छ । यो गुढ कुरा सरकारका कानमा छिर्नु पर्‍यो ।

Nepal Telecom ad

दलाली खेती भन्ने बित्तिकै तपाईंलाई झनक्क रिस उठ्ला । रिस उठे पनि उठिरहोस्, तपाइँको रिसले केही लछारपाटो लाउँछ जस्तो लाग्दैन । आज हरेक हाँसोको हरकमा पनि दलालीको गन्ध ह्वास्स आउँछ । कसैलाई नङ्ग्याउनदेखि बङ्ग्याउनसम्म र भट्टीदेखि टट्टीसम्मका लन्ठुरामहरूको कुम उचाल्न पनि दलाली गर्छन् । यो भनेकै दलालीवाद हो ।

दलालीले के के सिध्याउँछ, सिध्याउनेवाला छ, कुनै अत्तापत्तो छैन । जाबो एक खिल्ली चुरोट सल्काउन पनि दलालीको कुरा आउँछ । हाम्रो दुर्भाग्य घरको गाह्रो उठाउनदेखि सरकारी कुर्सी जोगाउनसम्म दलालीकै भर पर्नुपर्ने अवस्था छ । खेतबारीको आँठोदेखि पाठो मिलाउन । विवाह गर्न केटा होस् वा केटी मिलाउनसमेत दलालीमै भरपर्नु पर्ने बेला हो यो । घरजग्गा जोड्न होस् वा सरकारी वा तरकारीको तिरो तिर्न अफिसमा छिर्न दलाली चाहिन्छ । राजनीतिको साँचो यिनीहरूकै हातमा हुन्छ । हुँदाहुँदा चिनिया गुन्द्रुक किन्न पनि दलालीको लोगो चाहिने । लोग्ने स्वानीको घरझगडा मिलाउन पनि उही चाहिने । दलालीको तागत न्वारनको बल भन्दा ठूलो हुँदै गएको छ ।

दलाल पनि कोही स्वघोषित छन् । कोही अघोषित छन् । गाउँदेखि नाउँसम्म । नाउँदेखि ठाउँसम्म दलेको तागत देख अनदेखमा पनि देख्न जरुरी छ । दलालहरूले हलालको यज्ञ गर्न थालेको धेरै वर्ष पुरानो भयो । यहाँ त दलाल भए पनि दादा भएर जन्मन्छन् दादै भएर मर्छन् ।
यस लोकको मान्छेले परलोकको भगवानलाई पुज्न पनि दलाली नगरि हुन्न । दाँते ओख्खर खान नसक्ने बूढाहरूलाई बैशले गिज्याए पनि यो नयाँ ढाँचाको र टाँचा लाउने गज्जबको खेती हो । लौरी टेक्न नसक्ने पनि दलेखेती गर्ने भएका छन् । मामा घर जाउँ कि ससुराली जाउँ वा जन्त अन्त जाउँ जतापनि दलालीकै दाउ । कतै जान पर्दैन घरभित्र तताएको दुधमा पनि दलाली लाग्ने गरेको छ । सुनिन्छ स्यालको विहेमा समेत दलालले र्‍याल काड्न पल्केको छ । पाए अन्त नपाए लखन थापाको जन्त भन्ने उखानले पनि दलालीकै पौरख पोखिरहेको छ ।

कोही देशकै दलाली खेतीमा रमाउँदा छन् । कान्तिपुरदेखि अन्तपुर जहाँ जाउँ तेलबेसार घस्ने दलाली भेटिन्छन् । दलालीकै भरमा मास्टरी गरेको धाकको उकेरा लाउने पनि छन् । यो धाकवादी सिद्धान्त हो । प्रत्येक दलालीको भाडोले भन्छ- म अरुजस्तो झुट कुरा गर्ने मान्छे होइन । गुड फर नथिङ भने झैं प्रत्येक दलालीको राजा बनेको नेतोले भन्छ- म अरूजस्तो विदेशीसित मिलेर राज्यलाई ठग्ने दलाली नेता होइन । युवाहरूको दलाली पनि झ्यासझुसे छैन । दिनहु सत्ता र शक्तिको जुत्ता चप्पल चाटिरहको दलाल पनि आफूलाई पाइनदार इमान्दार बताइरहेको हुन्छ । दलेको खेती रिठ्ठादेखि गिठ्ठासम्म जताततै देखिन्छ । उसको खेती फलेर चालेको चनाजस्तो चलेको चल्यै छ ।

जस्तै टाठाबाठा पनि दलाललको फन्दामा नफसी सुखै छैन । सुकेको गालाले पनि दलाली गर्दो रहेछ यहाँ यश कमाउन । दलाली गर्न जनमत पनि नचाहिने हुँदा दलेहरू दैलो दैलोमा भेटिन्छन् । दलाली गर्न टुँडिखेल जत्रो चौर चाहिँदैन इटुम्बाहल जत्रो चोक भए पनि पुग्छ ।

सरकारी र तरकारी काम ओझेलमा परेपनि झेल र जालमा फड्को मार्ने हुँदा दलालीहरू खल्ती भरेरै समाज परिवर्तन गर्न चाहन्छन् । हाम्रो देश दलालीको धनी देश हो । टोल टोलमा र मोल तोलमा दलालहरू छन् । यो जमिनको दबिएको जनधन झिक्न दलालीलाई खजाना भजाउनु पर्छ । हो, दलाली खेती भनेको नै यहि हो । दलाली होड मोड मोडमा हुनेहुँदा यो राज्य नै दलाली राज्य हो । दलाल नभए ओरको सिन्को पर सर्दैन । प्राज्ञ पड्काउनदेखि जिएम सड्काउनसम्म दलालीको भूमिका निणर्यक हुनेको गरेको छ ।

मुम्बई पुगे पनि बम्बई भने पनि दलालीको भाउले आकाश छोएको छ । त्यसैले राजनीतिको गन्धमा पनि दले रस आउला । यसको खेती गर्नेलाई कुनै उमेरको हदम्याद चाहिँदैन । कुनै उजुरबाजुरको कित्ता समाउनु पर्दैन । कुनै हात्तिघोडामा सवार हुनु पर्दैन । हेलिकप्टर नचडे पनि स्कुटरर भ्याटभ्याटे किन्न पर्दैन । त्यसैकारण मेरो मस्तिस्ककको पर्दामा दले नाम गुन्जिरहन्छ । ऊ स्वच्छन्द हिँड्ने भएकोले दलेको नाम पनि पुरेतबाजेले अचम्मै राखी दिएका छन् । घ्याप्पे, ट्याम्के, पानीआन्द्रे, हाब्रे, चाउरे, भ्याकुते, सुइखुट्टे, सेते, गोरे, काले, ध्वाँसे, छेपारे, वेसारे, कैले, टाटेपाटे आदित्यादि ।

दुई पाग्रे साइकल चड्न नसक्ने दलाली षडानन्द स्वादको दलाली खेती गरेर कुलको इज्जत थामिरहेका छन् । उनको अपमान गर्न खोजेको हैन । दलाली खेतीले नै उनी अहिले दलको नेता बनेका छन् । त्यो पनि चानचुने पद हो र वरिष्ट । यो दलाली पेशामा लाग्ने मान्छेले फुङ्कार गरेर चाकडीको तक्मा भिर्नु पर्दैन । यो खेती गर्न कागजको चौतारी चाहिन्छ । यो टाइम टाइमको बात हो । यसको मतलब कसैको खेत हड्पेर खाएर अघाएको दलाली भन्छ खोला मुनिको खेत खाऊ । दलालीकै मलजलले देशका युवालाई खाडीतिर पठाउने र यता आफू साँढेको झैं जुरो बनाउनेहरू धेरै छन् । दलालीबाट आउने आयस्ता सात पुस्तालाई पुग्ने गरि कमाउनु दायाँ हातको खेल हो । त्यसैले दलेको खेती गरौँ लाग्छ ।

खडेरीमा पनि घर खडेरी जोड्न सकिने पेशा हो यो । न त हाकिमको चाकरी गर्नुपर्ने । न त बारी कान्ला खनखान गरेर रोप्नपर्ने । न त बर्कौला डोब्नुपर्ने । कति सजिलो मनसुन भन्दा सजिलो भनसुन, भनसुन भन्दा पनि सजिलो दले खेती हो । यो दलहन जस्तै लयालु हुन्छ । निम्नस्तरको भान्छा पनि सभ्रान्तको जस्तो बन्न थाल्छ दले खेती समालेपछि । दलेको खेतीको विशेषता भनेको यहि हो । यिनीहरू चिठ्ठी चपेटा गर्न नसके पनि हुलाकी हुन्छन् । उस्तै परे यमराजको दैलासम्म पुर्‍याउँछन् ।

नेपाली सोमाजमा दल-दलमा कमाउ धन्दा कृतिमा होइन विकृतिमा बढ्दो छ । कोही चुनावमा भोट तान्ने दलाली खेल । कोहि खोलामुनिको खेत विकाउको धन्दामा खेलिने दलाली खेती । अरु खेती भन्दा चर्को छ । दलाली स्वरमा स्वर मिलाउन खोज्छन् । लेखनमा खप्पिस साहित्यकारहरू पनि यसमा पिस भएर फसेकै देखिन्छ । दलाली खेतीको वारेमा गीत नघन्काउने कोही होला जस्तो लाग्दैन । यो त दलालीले पाएको सम्मान हो । उसलाई सोमाजले चाँदीको जुत्ता के कुरा आलु तक्मा दिन सकेको छैन । बणर्मालाको अक्षर बिर्सेर विचारको पोखरीमा बरबराउन थाल्नु दलाली खेती गर्नेको उम्दा योग्यता हो । तरकारी कट्मा दौडिदै घुस्यानमा पौडिनु उसको दिमागको परीक्षण हो । घोत्लिनु उक्लिनु चम्किनु तन्किनु र फड्कार्नु उसको सफलता हो । ज्ञानगुनमा गनगन उसलाई मन पर्दैन । ऊ त दलालीमै लसफलता चुमिरहेको छ ।

के पहाड के मधेश के तराई तीन शहरका सबै ठाउँमा आज भोलि भलिभाँतीसँग दलालीकै विगविगी र छलकपट मडारिँदो छ । उहिले राणाको पालमा अतुलनिय पद पाउने छुट रहेछ । हुक्के बैठके सुब्बा जमदार हवदार अमलदार कमलदार आदि त सुनिएको थियो तर दले नामको आधुनिक पद पो खास्साको रहेछ । नूनदेखि सुनसम्म किन्दा होस कि बेच्दा दलाली हुने गरेको छ आजकल । दलालहरूको जीवन घरव्यवहारमा पनि यसरी नै चलेको सुनिन्छ ।

ससुराली जाँदा पात्रोमा दलाली, मलामी जाँदा कात्रोमा दलाली, बिहामा दलाली, ब्रतबन्धमा दलाली, माइत जाँदा दलाली, मामा भान्जामा दलाली । आमातिरको नाना न बाबुतिरको छाना जता पनि दलाली । कसले बिर्सन्छ लगौटीको दलाली । कामै दलालीको भएपछि दलको पद पनि धरापमा परेको छ आजकल ।

कुरोको चुरो नै कुरा गर्ने हो भने दलालीमा लाग्न साउँअक्षर चिन्नुपर्छ भन्ने छैन । जसलाई निमय कानून थाहा छैन उही कानूनमन्त्री बनिरहेका छन् मुलुकमा । जसलाई ठेक्काको ठ पनि थाहा हुँदैन उहि ठेकेदार बन्छ । जसको आँखा छैन उसको नाउँ नेत्रप्रसाद । जसको एक पित्को बुद्धि छैन उसको नाउ बुद्धिबहादुर । जसलाई डाडुपन्यू चलाउने चाँजोपाँजो थाहा छैन उही भान्छेको मान्छे भएर बस्छ । तर के गर्नु फुटवल खेलमा रेफ्रीलाई छक्काउन र छलाउन जान्नेले गोल गर्ने हो । त्यसैले ताइ न तुइका मान्छे नै दलाली खेतीवालाका मास्टर बनेका छन् । कोहिले त प्रिन्सिपल नै पड्काएका छन् । जसले अरुको घाटी अँठ्याउन जानेको छ उनै असली दलाल हो । उसैको गोजीमा अपार धन हुन्छ । दले हुन शहिदको जस्तो गोली पनि खान पर्दैन ।

पुरानो सुसंस्कृत सभ्यता भत्काएर नयाँ खिचडी फत्काउ दलाली खेतीको रोचक पक्ष हो । यस्तो दले प्रवृतिमाथि प्रतिवन्ध लगाउन नसक्नु सरकारको विशेषता । बरु दलालहरूलाई घर माइत गर्न सजिलो होस् भनेर सिंहदवार नै दाइजो दिँदा वेस हुन्थ्यो कि ! जान्नेहरू आरोप खेपिरहेका हुन्छन् । दलाली नजान्नेहरू बाहिर फुटबल खेलमा जस्तो रेडकार्ड पाएर आउट भएका छन् । अचम्मको लबस्तरो कुरा भन्छु- आजकालमा साँढेहरू पनि विजन विनाको खेती दलाली खेतीतर्फ लहसिएका छन् । लौ न मेरो सरकार हरेक ठाउँ र क्षेत्र निर्वाध रुपले प्रवेश गरेको यो दलाली दुस्प्रवृत्तिलाई अझै प्रोत्साहित गर्ने नीति र योजना ल्याउनु पर्‍यो । धान गहुँ खेतीका लागि समयमा मल बिउ उपलब्ध नगराए पनि यो खेतीमा खनिएर लाग्ने दलालहरूलाई यथेस्ट सहयोग अनुदानको बजेट व्यवस्था गर्नु पर्‍यो । भ्रष्ट मति र दलाली प्रवृतिको उन्नतिमा मात्रै यो देशले अग्रगति लिनसक्छ । यो गुढ कुरा सरकारका कानमा छिर्नु पर्‍यो । नत्र त उही हो !

०००
काठमाडौं
२०७९ माघ ३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x