साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलम पुराण

कैयौँ चाहिँ खराबभन्दा खराब मान्छेलाई महान् बनाउने दुस्कर्ममा अक्षर खर्च गरी उल्टो बाटोतिर हाम्फालिरहेका पनि देखिन्छन् । यो संसारै अपरम्पार छ । कलम कतै आसमानमा छ त कतै ख्वामितहरूको पाउमा लम्पसार छ ।

Nepal Telecom ad

कलमको सिर्जना नभएको भए यो संसार कुन अवस्थामा रहन्थ्यो होला ? विज्ञानको यो ठूलो उपलब्धी हो म सर्वप्रथम यसलाई सलाम गर्छु । मस्तिष्कमा लौरो टेकाउने कला नै कलम हो । अनि यसलाई मामुली किसिमले हेरेर हुन्छ जस्तो लाग्दैन । सलामी गर्नु सबैको धर्म र संस्कार रहेको छ । सलामी गर्न कुनै बन्दुकको आवाज दिइरहनु पर्दैन । सलामी एक किसिमको कृतज्ञता ज्ञापन हो, जो कलमले मज्जासँग गर्दछ ।

म कलमका बारेमा जे जति कुरा कथुर्दै छु, यसलाई कलम पुराण भनेर बुझिदिए फरक नपर्ला । कलमको ओजन सम्झिँदा तपाइँका खुम्चिएका कान पनि ठाडा हुन्छन् । कलम सम्झने बित्तिकै मनमा साहित्यको समुन्द्र तैरिइरहेको छ । वास्फीकरण भएका नदेखिने पानीका अणुहरू पनि कलमले देख्छ भन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । कलम त अणुबमलाई भेदन गर्ने क्षमता बोकेको एउटा शक्तिशाली औजार हो ।

अक्षरको खेती कलमको मुख्य व्यवसाय हो । आज कलमले करोडौं-करोड अक्षर कोरिरहेको छ । ती सबै अक्षर बटुल्ने हो भने पृथ्वीका सबै समुद्र छोपिन सक्छन् । मसँग पनि ती अक्षरहरूकी जननी कलम छ र त्यसै मार्फत अक्षर
कोरलिरहेको छु । मेरो कलम आफैले सिर्जना गरेका अक्षर समुद्रमा जुन गतिमा पौडन खोज्दछन् म सहजै त्यो गति समात्न सकिरहेको छैन ।

नेपाली बजारमा पसलैपिच्छे सामानको भाउ घटीबढी भए जस्तै आजकल कलमको मूल्य र महत्व घटीबढी हुँदै गएको देखिन्छ । नेपाली नेताले पदको दुरुपयोग गरे झैं कलमको टुँडो पनि दुरुपयोग हुने गरेको कुरा कलमले नै लेख्नुपर्दा मलाई चाहिँ औडाहा हुन्छ । यो देशको म शक्तिशाली जनता तर कलमले नै मलाई डुबाएको छ, कतै उडाएको छ, कतै बिष्टाएको छ । कलम अमनचयनमा रमाउनु पथ्र्यो तर कालो धन कमाउनमा सक्रिय भएको जब देख्छु अनि कलम समाउने मेरो हात थरर्र काम्ने गर्दछ ।

मेरो मनले भन्छ- कलमको दिनचर्या सभ्य र भव्य हुन्छ भन्थे तर होइन रहेछ । कलम समेत आलु कुहिएर ठसठसी गन्हाए जसरी गन्हाउँदो पनि रहेछ । मुगलिनको बासीभातलाई साजी बनाएर बफाए जस्तो । रञ्जनाको बफ मम जस्तो । टिपटपको समोसामा मुसा भेटेर आजकल सस्तो भए जस्तो । आश्चर्य लाग्छ- किन बिकेर र बेचिएर कलमले ओकल्छ विद्रूप शब्दहरू ?

हाम्रो धारणा छ- ठूलो कलम बोक्नेहरू ठुलै हुन्छन् । यो सोचाईले पनि एकसय असी डिग्री पल्टा खायो । जबसम्म खराब दृष्टिकोणबाट कलम चलाउनेहरू राज्यको डाडुपन्यूँ समाउने ठाउँमा पुग्छन् तबसम्म देशले अधोगतिकै यात्रा तय गरिरहन्छ । कलम सस्तो होस् वा महँगो केही फरक पर्दैन, कलम चलाउने हात कस्तो छ त्यसैमा भर पर्छ । सुन्दर कविता लेख्ने पनि कलम नै हो । नागरिकले राँकेजुलुस निकाल्दै विरोध गर्नुपर्ने विधेयक लेख्ने पनि कलम नै हो । कसैको भाटगिरी लेखेर जुठोपुरो बटुल्न अक्षर ओकल्ने पनि यही कलम हो । कलम प्रयोग गर्नेहरूले राज्य दोहन गरिरहेको मैले अनुभव गरिरहेको छु । मालपोततिरका कलम छोइ नसक्नु देखिन्छन् । न्यायालयतिरका कलमको कुरा गरिसाध्य नै छैन । गरिब नेपालीमाथि जबरजस्त लादिएको दोहोरो तेहरो करको दर कायम गर्ने र टेबुलबाटै राजस्व छलि गर्ने कलम छरपस्टै छन् । आफ्नै श्रीमतीको हत्या गर्ने लोग्नेलाई जन्मकैदबाट छुटकारा दिने न्यायिक कलमको भो म कुन मनले के चर्चा गरुँ ?

राजनीतिक बृतमा सक्रिय कलमले सबैभन्दा भ्रष्ट, अनैतिक, कमिसनखोर, चरित्रहीन लफङ्गालाई उमेद्वार प्रदान गर्ने ‘टिकट’मा ख्यासख्यास दस्तखत गर्छ । त्यही दस्तखत पाई चुनाव जितेर सांसद भएकाहरूलाई के हिउँद के वर्षा सधैं मङ्सिर आएको छ । संसदमा न बोल्नु पर्ने, न बस्नु पर्ने । सांसदको खान्की खाएर आफ्नो बान्की सुधार गर्नु नपर्ने रहेछ । कलम झिकेर दस्तखत धस्काएकै भरमा राज्यको कोषबाट वार्षिक लाखौँ कुम्ल्याउने कलमका मालिकहरू हाम्रै ओरिपरि छन् । हामीलाई नै ढाँटेर उनीहरू ठाँटसँग महलमा चयन गर्दाछन् ।

हाम्रो देशमा कलमले गरेको गडबडी मन्थन गर्दा एक हजारको तमसुकमा सुन्ना सापटी मागेर १० हजार पुर्‍याई घरखेत निखन्ने पुराना जिम्दार र मुखियालाई पनि सम्झनैपर्छ । उनीहरूले गरेका अनेदेखा कर्तुत आजसम्म संस्मरणीय हुनु अनौठो होइन । गाउँतिरका खर्क, गाई चर्ने चउर, भिर, खोलाको बगर, पखेरो सबैको लालपूर्जा आफ्नो नाममा बनाएका लुच्चा कलमहरू शहर पसेकोले उनीहरू आजकल गाउँतिर त्यति देखा पर्दैनन् ! यतै यतैतिर आनाको करोड पर्ने सार्वजनिक जमिन हत्याउन भूमाफियालाई पट्याउनमै व्यस्त छन् । तारे होटेलमा गुन्द्रुक ढिंडो पाइहालिन्छ । रोस्ट टोस्ट जत्ति पनि
पाइन्छ । रङ्ग विरङ्गका रङ्गिला झोलसँग बँदेलका सुकुटी मिसाउन यतै पाइन्छ । नामी नामी र दामी दामी कलम यतै पल्केका छन् । कर्तव्याकर्तव्य भुलेर यतै सल्केका छन् ।

जुलियन असान्जको कलमले ओकलेको बारुदी विक्लिस कलमकै करामत हो- जसले शक्तिशाली सम्राटहरूलाई नाङ्गेझार पारेको थियो । आजको विश्वमा कलमले रोपेका अपराध कहिल्यै झिनामसिना भनेर पन्साउन सकिएको छैन । कलमको यस्तो शक्तिशाली धारमा किन खिया लाग्दैछ ? कलम कलम नरहेर किन आधुनिक सम्राटहरूको राल सिँगान ओकल्ने औजार बन्न पुगेको होला ? म यहि जिज्ञासा बोकेर कलम समात्दै छु । मलाई मेरो कलममा मसी होइन वारुद भर्न मन लागेको छ ।

कलममाथि प्रशंसा पनि पोखिएका छन्, आक्षेपहरू पनि लागेका छन् । हुन पनि कलमले साली फकाउने गजल पनि लेख्दै आएको छ, ताली खाने कविता पनि लेख्दै आएको छ । कैयौँ कलमजीवी कलम घोटेरै ज्यान पालिरहेका पनि भेटिन्छन्, कैयौँ चाहिँ खराबभन्दा खराब मान्छेलाई महान् बनाउने दुस्कर्ममा अक्षर खर्च गरी उल्टो बाटोतिर हाम्फालिरहेका पनि देखिन्छन् । यो संसारै अपरम्पार छ । कलम कतै आसमानमा छ त कतै ख्वामितहरूको पाउमा लम्पसार छ ।

व्यासजीले अठार पुराण लेखेथे, म नाथे झ्यासले पुराण नै लेख्ने आँँट त गर्दिन तर कलमका बारेमा लेखेको यो लेखोटलाई कलम-पुराण भनिदिए के नै खतबात लाग्ला र ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x