खगेन्द्र नेउपानेशान्तिको खोजी
हैट ! कवितामा बिम्ब र बस्तुको संयोग मिल्यो भने पनि अप्ठ्यारो पो पर्ने रहेछ त । कविता लेख्न मन पराउने म लठुवा पनि कतै यस्तै फसादमा फँसेर मण्डी धुलाइमा त पर्दिन ?

म बिहानै दमकतर्फ जाँदै थिएँ । पुरानो लखनपुर गाविस मास्तिर पुगेको थिएँ । लिला नर्सरीतर्फ पस्ने गोरेटोको मुखमा केही मान्छेहरू जम्मा भएको देखेर मैले मेरो मोटर साइकलको स्पिड कम गर्दै घ्याच्च रोकें ।
त्यतिकैमा एकजना अन्दाजी २२ बर्ष जतिको युबकलाई वर्तिर पर्तिर दुई जानाले समाएर सडकतर्फ ल्याए । युवकको नाकबाट रगत बगिरहेको थियो लुगा केही च्यातिएको र शरीरमा धूलो लागेको आदि दृश्यले त्यहाँ युवकमाथि कसैले हातपात गरेको सहजै अनुमान लगाउँन सकिन्थ्यो । युवकलाई एउटा ट्याक्सीमा चढाएर दमकतर्फ पठाइयो ।
कुराको चुरो पहिल्याउँने क्रममा मैले केही मान्छेहरूसँग जिज्ञासा राखेँ । युवकले एउटा कविता लेखेका रहेछन् । उक्त कविता दमकबाट दैनिक प्रकाशित हुने पत्रिकामा प्रकाशित भएको रहेछ । एउटा अर्को मान्छेले पत्रिकाको कटिङ् ल्याएर मेरो हातमा थमाए । कविता यस प्रकार थियो-
शीर्षकः- शान्तिको खोजीमा
मैले मन्दिरमा खोजेँ
मस्जिदमा खोजेँ
गुम्बा चर्च सबैतिर खोजेँ
शान्ति !
मेरी शान्ति !
तिमी कहाँ छ्यौ ?
मेरो गाउँ
मेरो ठाउँ
घर गोठ र मेरो ओछ्यान
मेरो निन्द्रा मेरो सपना
सबैतिर खोजेँ मेरी शान्ति
तिमी कहाँ छ्यौ ?
तिम्रो आगमनको प्रतिक्षामा
म भोक न निन्द्रा भएर बसेको छु
आऊ ! मेरो मनभरि आऊ !
हामी दुबै जाउँ
कुनै जङ्गलको एकान्तमा
एक अर्कामा हराऔँ
हात समाएर रमाऔँ
तर
तिम्रो दर्शन नपाएर छटपटिएको छु
मेरी शान्ति
तिमी कहाँ छ्यौ ?
………………..
………………….
………………….
आदि आदि ।
पत्रिका आज बिहानै युवकको छिमेकी, युवकसँग सामान्य हिमचिम थाहा पाएर केही दिन पोखरातिर पठाइएकी शान्ति नाम गरेकी केटीको बाबुको हातमा परेछ । उनले पनि कविता पढेछन् र रिसले चुर भएर युवकलाई घर अगाडिको बाटोमा बेस्सरी ठटाएछन् ।
हैट ! कवितामा बिम्ब र बस्तुको संयोग मिल्यो भने पनि अप्ठ्यारो पो पर्ने रहेछ त । कविता लेख्न मन पराउने म लठुवा पनि कतै यस्तै फसादमा फँसेर मण्डी धुलाइमा त पर्दिन ? एक पटक आङ जिरिङ्ग गर्यो । मनभरि यही कुरा खेलाउँदै म दमकतर्फ लागेँ ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































