साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विम्बको उन्मुलन

सीतामढीबाट आएका हजारौं भैँसीले गाउँ ढाकेको मेरो तालुकामा प्रधान सेवकले काशी यात्राबाट ल्याएका महिषलाइ बीउ मानेर मख्ख छौँ चाहे त्यो महिषको सट्टामा कैलाशको क्रौन्च नै दिएको किन नहोस् ।

Nepal Telecom ad

शम्भुप्रसाद गजुरेल :

सखारै घरबाट ननिस्के ताउलोमा जाउलोको जोहो हुँदैन, अरेली नौ भए पनि करेली कसेर स्याउलो नल्याए बस्तुको पेटमा अस्तु पर्दैन, किसानी मान्छे रिसानी र थकानीलाई गुजुल्टो पारेर थाप्लोमा नाम्लाले थिचेर निस्किएं म झिस्मिसेमा माद्रे ढुङ्गाको बुट्यान घारीतर्फ ।

भर्खर जन्मिदै गरेका भानु पनि आग्न्यास्त्र झैँ तेजिला वाण फैलाउदै आए आज किन हो कुन्नी खोलाको पानीलाई आफ्नै बा को नाभिबाट निस्केको सम्पत्ति ठानेर पाइपमा हालेर दूर देश पुर्‍याएका छन् विकासे ठिमाहाहरूले त्यसैले प्यास मेटाउने जलको संकट त कमिलालाइ पनि छ चिसोको नाममा आफ्नै पसिनाको भेल मात्र छ तैपनि विवशताको गोरेटोमा बाध्यताको भारी घिसार्दै हिड्नै पर्ने म हिड्दै थिएँ अनायास हल्ला सुनें र रोकिएँ सडक खन्दा जरा उतारिएको नाममात्रको चौतारीको टुटिल्कोमा ।

बहस चल्दै रहेछ घामको तातो र रूखको छहारी अनि खुर्पा र हम्मरको उपयोगिताको विषयमा! यो गर्मी देख्दा त सूर्यको उन्मुलन हुनुपर्छ अब भन्दै कुर्लियो चन्दन तस्कर अनि तत्काल जंगियो घामलाइ आफ्नै पेवा ठान्ने सकारी मालिक, नजिकै बसेको खुर्पे भन्दै थियो हामी रुख काटेर घाम छेक्ने छादन बनाउछौँ, कुराको सार यस्तै थियो । मैले आधा बुझेँ आधा बुझिन तर तीन वटै जमातमा भएका ताली प्रसादहरू प्रसाद पाउने लालचमा अर्काले ताली पिटेपछि हात बजाउदै थिए पररर ।

मेरो गोबर दिमागले सुकेको गोबरभित्र मरेका उर्बरक जीवाणुको लास नियाल्दै थियो अनि सोच्दै थियो मर्न लागेको चौतारोको फेदमा बसेर सूर्यको उन्मुलनको योजना बनाइरहँदा मल र जल नपाएर चैते खरु जस्तै बनेका मकैका बोट अनि आफैद्वारा सुकाइएको रसिलो खोला र आगो झैँ तातेको माटोको कथा र अभावको रसेटोमा उसिल्टिदै गरेका माटाकोरेको आकांक्षालाई विषयान्तर गर्ने चालबाजीमा चुर्लुम्म डुबेर चिँचिँ गर्ने म मूर्ख तालीबाज आफैलाइ धिक्कार भन्न सामर्थ्य जुटाउन सकिरहेको छैन ।

हुन त यथार्थको भर्सेलीमा बसालेको आश्वासनको तसला कुरेर रमाउने महरू कन्दनी मात्रै बाकी भएपनि लगौँटी पनि होला भनेर बतुराहरूको प्रहसनलाई निलिरहन्छौँ त्यसैले त होला सीतामढीबाट आएका हजारौं भैँसीले गाउँ ढाकेको मेरो तालुकामा प्रधान सेवकले काशी यात्राबाट ल्याएका महिषलाइ बीउ मानेर मख्ख छौँ चाहे त्यो महिषको सट्टामा कैलाशको क्रौन्च नै दिएको किन नहोस् ।

कुरा सुन्दा र मनमा गुन्दा गुन्दै घामको घोचाइ बढ्दै थियो मैले भारी ल्याउनु थियो त्यसैले लामपातेको मुन्टोमा चुनाको घग्डान गराएर प्याट्प्याट पारें च्यापें ओठमा । अनि झरें म अँधेरी खोलामा स्याउला काट्न ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x