काउसोको सुप
त्यसपछि काउसोले निवेदन लेख्यो । पेस्की पनि फछ्यौट भयो । निर्माण सकियो । काउसोले फेरि मन्त्रीलाई भेटेर भन्यो । - हजुर, अर्को साल सुपले मात्रै पुग्दैन नि हजुरलाई पनि, यसो बजेट थप्नुपर्यो !’
डा. विदुर चालिसे :
नमूना काम थियो । दाम नमूना थिएन । दाम कामको जब हल्ला चल्यो । ठेकदारले भन्यो ।
– मेरो पेस्की फछ्यौट गरिदिस्यो हजुर !!
– धेरै किचकिच नगर्नुस्, काम गर्नुस् तपाईं !
– म काम गर्न नसक्ने भएँ । म ठेक्का तोडिदिन्छु !
– ठेक्दा लिएपछि त्यसो गर्न मिल्दैन, काम सुरू गर्नोस् !’- मन्त्रीज्यू ! सर्तको पहिलो काम नै यताबाट भएको छैन । म सक्दै सक्दिनँ ।
– ल ल भयो, अहिले जानोस्, हप्ता दिनपछि भेटुँला ।’
ठेकदार त्यहाँबाट रन्थनिएर सचिवको कोठामा पुग्यो । सचिवलाई ठेकदारले फेरि विन्ती गयो ।
– हजुर !, म त यो ठेक्का तोड्छु । पेस्की फछ्र्यौट जसरी नि गरिदिस्यो ।
– किन नसक्ने तपाईं ? भन्नुस् त ।
– सर्तको काम यताबाट भएन, हजुर !
सचिवले आफ्नो अगाडि रहेको फाइल पल्टाए । नक्सा हेरे । कानुन पढे । प्रशासनको सहयोगको पत्र हेरे । बजेट देखाए । वाल्ल परिरहे अनि फेरि ठेकदारले झस्के झैँ गरेर भन्यो ।
-हजुर !, म यो काम गर्दै गर्दिनँ । पेस्की फछ्र्यौट गरी पाउँ ।
त्यसपछि सचिवले उपाय निकालेर ठेकदारलाई निकै नरम स्वरमा भने ।
-बरू काम सुरू नभएसम्म क्षतिपूर्तिको व्यवस्था गरूँला, काम गर्नू । त्यसपछि ठेकदारलाई लाग्यो । क्षतिपूर्ति हुन्छ भने उसले फेरि काम सुरू गर्ने कुरा सोच्यो । सडकमा ठेक्काको विरूद्धमा चर्काचर्का नारा लागेको पनि सुनिरहेको थियो ।
– ठेकदार चोर ठेक्का छोड़- प्रदर्शन निकै तनावमय अवस्थामा थियो । रमितेहरू ताली बजाउँथे । यत्तिकैमा ठेकदारले मन्त्रीको ढोकाको छेउमा पुगेर भन्यो ।
– भोलिदेखि निर्माणको काम सुरू हुन्छ, हजुर ।
तर मन्त्रीकोमा उभिरहेको एकजना मान्छेले निकै उत्तेजित हुँदै ठेकदारलाई लम्किझम्की गर्यो । प्वाक्क भनिदियो । -बाटो नबनाउने आफैँ, क्षतिपूर्तिचाहिँ हसुर्ने । लौ त हेरूँ कसरी आफू मात्रै क्षतिपूर्ति हसुर्दो रैछस् !, देख्लास् अब !
त्यो ठेकदार डरले मन्त्रीको कोठामा पुग्यो । मन्त्रीको कोठामा निकै चर्काचर्का आवाज सुनिएको थियो । मन्त्री फकाउँदै थिए ।
– तिमीहरू त आफ्नै मान्छे ! अवरोध नगर न !
उनीहरू त्यसपछि चुपचाप लागे । आफ्नो नजिकै उभिएको सचिवलाई सुनाएर उनले प्रदर्शनकारीलाई सोधे । के खाउँ भन अब ? त्यसपछि सबैले एकै स्वरमा भने ।
– काउसोको सुप ।
सचिवतिर मन्त्रीले आँखा डुलाए । सचिवले आशय बुझिहाले । उनले प्रदर्शनकारीहरूलाई बाहिर पठाए । मन्त्रीको कोठामा निकै समयदेखि चुपचाप उभिरहेको ठेकदार थचक्क बस्यो । थचक्क बसेको ठेकदारलाई मन्त्रीले भनिहाले ।
– हामीले खाएजस्तै रहलपहल सुप छ नि अलिअलि तिनलाई पनि दिनु न ! त्यसपछि काउसोले निवेदन लेख्यो । पेस्की पनि फछ्यौट भयो । निर्माण सकियो । काउसोले फेरि मन्त्रीलाई भेटेर भन्यो ।
– हजुर, अर्को साल सुपले मात्रै पुग्दैन नि हजुरलाई पनि, यसो बजेट थप्नुपर्यो !’
०००
काठमाडौं