विनाेद खनालबोकाको दाइँ
यही बोकावादले नेपालमा धोकावाद बढिरहेको छ, यही बोकावादले देशमा भोकाहरूको संख्या दिनदिनै बढिरहेको छ र पोका बोकेर विदेशतिर पलायन हुनु परिरहेको छ ।

विनोद खनाल :
“बोकाले दाइँ हुने भए, गोरु किन चाहियो ?” भनेर बुढापाकाहरूले भनेको सुन्दा अहिलेका केटाकेटीहरू खितित्त हाँस्छन् । नहाँसुन् पनि किन, अहिलेका केटाकेटीले दाइँ देखेका भए पो ! धान फल्ने खेतमा खोलाको बालुवा हालेर बगर जस्तै बनाएपछि धान कहाँ फल्नु र ! अनि दाइँ गरेको कसरी देख्नु त बबुराहरूले ! कृषिप्रधान देशका मानिसले खेतै नदेखी भात खान पाए भने त्यहाँ भन्दा भाग्यमानी अरु कहाँका मानिस होलान् र ! अहिलेका केटाकेटीलाई तिमिर्को दाइँ सकियो नानी ? भनेर सोध्यो भने, “होइन है काँ दाइ सकिनु, अहिलेसम्म त घरमै हुनुहुन्थ्यो, कस्ले भन्यो तपाईंलाई ? नभको कुरा नगर्नु है” भनेर निहुँ खोज्न बेर लाउँदैनन् ! दाइँ र दाइलाई एकै ठानेर ।
अहिले अनुस्वार, चन्द्रविन्दु, ह्रस्व, दीर्घ, विसर्गमा कसले पो ध्यान दिन्छ र ! भाषामा निकै दक्षता भएका मै हुँ भन्ने लेक्चरर साहेबहरूको त हिज्जे निक्कै खुस्किन्छ भने स्कुलमा पढाउने शिक्षक महोदयहरूको त कुरै छोडौं न ! अनि केटाकेटी का कुरा ! अंग्रेजीको स्पेलिङ जान्दा भइगो नि किन जान्नु पर्यो नेपालीको हिज्जे ! अलिक पछिका केटाकेटीहरूले चैं चामलको रुख र फर्सीको रुख उस्तै हुन्छ अरे भनेर गफ गर्न बेर लाउँदैनन् । नेपालमा जताततै खेतमा बालुवा हालेर “नयाँ नेपाल” बनाउन थालेपछि न धान फलेको देख्न पाइन्छ, न फर्सी फलेको ! फेरि केटाकेटीहरूलाई दुई बर्ष पनि नपुगी भेनमा हालेर मुन्टेस्सोरीतिर मुन्ट्याउन थालेपछि काँबाट देख्नु धान र फर्सी फलेको ! अनि चामलको बोट र फर्सीको बोट उस्तै हुन्छ अरे नभनेर के पो भनून् र !
मेरो एउटा विद्यार्थीले भन्थ्यो, “सर काठमाडौंमा ‘ट्युसन’ पढाउन जाँदा एउटा विद्यार्थीलाई दुध के ले दिन्छ ? भन त बाबु ! भनेको त, पोकाले पो भन्यो ! सधैं पोका ल्याएर खन्याएको देखेपछि “दूध पोकाले दिन्छ” नभनेर के पो भनोस् त बबुराले ! धन्न बोकाले चै भनेनछ । गोर्खालीका छोराछोरीहरूको यो हालत ! त्यस्तै अब तराईका केटाकेटीहरूले नक्सामा मात्र धानको बोट देख्ने दिन आउन धेरै समय पर्खनु पर्ला जस्तो लाग्दैन !
नेपालका मान्छे धेर बुद्धिजीवी भएर अन्न खेती विकास समिति नबनाएर सुपारी खेती विकास समिति, कफि विकास बोर्ड, अदुवा उत्पादन तथा प्रशोधन केन्द्र बनाएर सरकारबाट पैसा मागेर खान्छन् । खेत मासेर भिट्टा बनाउँछ, सुपारी रोप्छ, अनि चामलको भाउ घट्नु पर्यो भनेर नारा लाउँछ । हुन त पहिलेका बुढाहरू “अन्नमाभन्दा सन्नमा बल गर्नुपर्छ” भन्थे । उनीहरूको भाषामा सन्न भनेको गोरस हो, अब त गाई पालोस् न गोरस खाओस् ! घरमा एउटा गाई पालेर गाईले एक लिटर दुध दिन्छ भने दुई लिटर बेचेर पनि एक लिटर दुध घरलाई उबार्छ मान्छे, अनि कसरी सन्नमा बल गर्नु र ! सन्न भनेको त पानी भो अब त, त्यही पनि धारामा आए पो खानु ! किनेर खाउँ भए एक लिटरको पच्चीस रुपियाँ ! जलस्रोतको दोस्रो धनी देशमा खानेपानीको यो हालत छ भने अर्थोकको त कुरै छोडौंन !
साँच्चै मैले त बोकाको दाइँको कुरा गर्न थालेको, नेपालका नेताको भाषण जस्तो कतातिर पुर्याएँछु । अहिले नेपालमा गोरुको कमी भएको कारण जताततै बोकाकै दाइँ छ, खेती कट्ठा र धुर, आना र पैसामा टुक्रिएपछि गोरु नै पो किन चाहियो र दाइँ गर्न ! फेरि नेपालका गोरु जति सबै बाङ्लादेशतिर निकासी भएपछि काँबाट पाउनु गोरु ! अनि बोकाले दाइँ नगरी के गर्नु र ! खेतबारीमा बोकाको दाइँ चले जस्तै राजनीतिमा पनि बोकाको दाइँ भरमार चलेको पाइन्छ आजकल ! वार्ड कार्यालयदेखि मन्त्रालयसम्म र विद्यालय ब्यवस्थापन समितिदेखि संसदीय समितिसम्म बोकाकै दाइँ भएको पाइन्छ ।
बोको पनि छिप्पिएपछि निक्कै गनाउँछ त्यस्तै नेपालको लोकतन्त्र, गणतन्त्र र सरकार पनि गनाएर खप्नु छैन ! धेरै नेपालीहरू त लोकतन्त्र, गणतन्त्र र सरकार कुहेको गन्ध खप्न नसकेर विदेशतिर भागिराखेका छन् । हुन त आजको जमानामा साँढेको खासै काम पनि छैन, जोत्नु परे ट्याक्टर, गाई भर्ना गर्नु परे ए.आइ. अनि किन चाहियो साँढे ! अनि मान्छे नै साँढे भएका छन् आजकल । टोल विकास संस्थादेखि प्रतिनिधि सभा, मन्त्री परिषदसम्म सबै साँढे ! एउटा साँढे होक्काँ गर्छ, अर्को साँढे सिँगौरी खेल्छ, अर्को साँढे धुरा पस्छ, अरु साना साँढे र बाच्छाहरू मिचिदै जान्छन्, यसरी हुँदैछ नयाँ नेपालमा आधुनिक साँढेवादको विकास ! चाहे समाजवाद होस् वा साम्यवाद,जनवाद होस् कि माओवाद यी सबैभित्र साँढेवाद नै प्रमुख सिद्धान्तका रुपमा विकास हुँदै गइरहेको छ ।
यतिमात्र होइन, हरेक धर्म, संस्कृति, जाति, थर, गोत्र र परिवारभित्र पनि साँढेवादी प्रवृत्ति नै लागू भएको पाइन्छ । यो साँडेवाद घर, परिवार, लिङ्ग, गोत्र, जाति, वर्ग, धर्म, समुदाय, जिल्ला, क्षेत्र, अञ्चल, प्रदेश, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रसम्म आजका पुराण र प्रवचन मौलाए जत्तिकै मौलाएको छ, जसका पछाडि तपाईं हामी मनग्गे कुद्ने गर्छौं । पहिला पहिला राणा र पञ्चायत कालमा गाउँमा एउटा दुइटा मात्र साँढे हुन्थे, तर प्रजातन्त्र आएपछि त घर घरमै साँढे, टोलटोलमा साँढे, चोकचोकमा साँढे, तर जति नै साँढे बडे पनि गाउँ र देश चै एकै बेत नब्याई बाँझिएको कोरली बाछी जस्तो भइसक्यो ! नपुङ्सक साँढेहरू । यस्ता साँढेहरूले एक ट्वाक बिजुली सर्बत लाउन पाएभने सारा गाउँ नै थर्काइदिन्छन्, कोशी, नारायणी, कणर्ाली र महाकाली नदीलाई हिमालतिर फर्काइ दिन्छन् ।
अचेल त साँढेहरूको जताततै बिगबिगी छ ! चोक, गल्ली, टोल, छिंडी जताततै साँढे नै साँढे भेटिन्छन् ! कार्यालयमा कर्मचारी साँढे, पसलमा गयो व्यापारी साँढे, पत्रिका बेच्ने हकरदेखि लेबलवाला पत्रकार सब साँढे, निर्माण कार्यमा ठेकेदार साँढे, मिस्त्री मजदुर सबै साँढे, विद्यालयका प्र अ, शिक्षक, कर्मचारी सब साँढे, पाटीमा भोटरदेखि कार्यकर्ता, नेता सब साँढे । त्यसकारण कारण यो साँढेमय नेपालको तपाईं पनि एउटा साँढे, म पनि एउटा साँढे ।
शीर्षक राखियो बोकाको कुरा गरियो साँढेको ! अहिलेका पण्डितजीहरूले पुराणको कथा प्रसङ्गलाई छोडेर गरेको प्रवचन जस्तै पो भो कि क्याहो, मेरो लेख पनि । तर ठिकै छ यो बेमौसमी समयमा लेखेको मेरो लेख पनि बेमौसमी भए के बिग्रेला र ! नेपालमा सागसब्जी मात्र होइन धेरै कुरा बेमौसमी छन् आजकल ! बैशाख, जेठ असार, मंसिरमा हुनुपर्ने बिहे साउन भदौतिर हुनु, मिठाइ पसलमा मोमो, चाउमिन र सोमरस बिक्री गरिनु पनि बेमौसमी काम त हुन् नि । हुन त आजभोलि समय नै बेमौसमी छ जस्तो लाग्छ । समय पनि कति छिप्पिएको आयो भने हिजोका दरबारीयाहरू आज वनबासी बन्न पुगे भने हिजोका वनबासीहरू आज प्रधानमन्त्री बन्न पुगे । यसकारण समय पनि एउटा साँढे हो कि जस्तो लाग्छ मलाई चैं ! पत्रकारले झैं खोजिनिधी गर्नु हो भने नेपालमा यस्ता बेमौसमी काम कति छन् कति !
आज हरेक क्षेत्रमा साँढेहरू पाइए पनि दाइँ चैं बोकाले नै गरिराखेका छन् । मन्त्रालयदेखि गाउँ पालिकासम्म जहाँ जाऊँ, त्यहाँका हाकिम साँढेहरू काज र गोष्ठीमै व्यस्त हुन्छन्, दाइँ चै बोकाले नै गरिरहेका हुन्छन् । प्रधानमन्त्री, मन्त्रीहरू, मुख्यमन्त्री, मेयर, उपमेयरहरू उद्घाटन, सेमिनार र गोष्ठीका प्रमुख अतिथि बन्दै फुर्सद पाउँदैनन्, पिएले पिएर दाइँ गरिराखेका छन् । अरू त कुरै छोडौंन सरकारी अस्पतालका डाक्टर साबहरू प्राइभेट हस्पिटल र नर्सिङ होमतिरै व्यस्त रहन्छन्, डाक्टरको काम चैं कारिन्दा र पिउनले गरिरहेका हुन्छन् । त्यहाँ पनि बोकाकै दाइँ चलिरहेको हुन्छ । यसरी नेपालमा दिनदिनै बोकावाद बढिरहेको छ । यही बोकावादले नेपालमा धोकावाद बढिरहेको छ, यही बोकावादले देशमा भोकाहरूको संख्या दिनदिनै बढिरहेको छ र पोका बोकेर विदेशतिर पलायन हुनु परिरहेको छ ।
त्यसकारण नेपालमा बोकाहरूको भाउ बढ्नु कुनै अचम्म होइन । सबैले बोकाहरूको नाममा सबैले एक पटक जय जयकार लगाऊँ ! जय बोकावाद !!
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































