साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाम्न नसक्ने बोझ

मेरो एकजना छिमेकी छन्, बिजुली पानीको बोझ थाम्न नसक्दा सम्साँझै बाटोमै सुत्ने गर्छन् । जब आधारात बितेपछि त्यो बोझ अलि हल्का हुन्छ, बल्ल उठेर घर जान्छन् । मान्छेले थाम्न नसक्ने बोझको लेखाजोखा गर्ने हो भने विशाल महाकाव्य बन्नसक्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

उहिल्यै केटाकेटी छँदा, गोरुले काँधको जुवा र हलोको बोझ थामेको देख्दा मन सिरिङ्ग हुन्थ्यो । लाग्थ्यो, त्यति बिघ्न भारी वस्तुको बोझ थाम्नु पनि छ, जोत्नु पनि छ। लाग्थ्यो, गोरुको जन्म कसैले नपाओस् । जब उमेर पुग्दै गयो, आफूले थाम्नु पर्ने बोझ झनै भारी लाग्न थाल्यो । उता कामको जोताइ आफ्नै ठाउँमा छ । अचेल त लाग्छ, ‘म भन्दा घरकी जोरु सुखी, जोरु भन्दा बरू गोरु नै सुखी ।’

मान्छेले थाम्नै पर्ने अनगिन्ती बोझ हुने रहेछन् । ज्यानको बोझ र मनको बोझ थाम्न नसके मान्छे थर्थर ‌काम्दो रहेछ । मान्छे कि डरले काम्छ कि त करले काम्छ, थोरै मात्र हो रहरले काम्ने त । यो बोझ थाम्ने कुरा पनि बडो विचित्रको रहेछ । पेटलाई बोझ थपिन्छ भन्ने ख्यालै नगरी भोजमा मोज गर्न जाँदाको अवस्था हेर्नुस् त ! त्यहाँको मिठो मसिनो परिकार देखेर मन थाम्न नसकेपछि कुप्रो हुनेगरी हिमचुली जत्रै थुप्रो बोकेर खाली टेबुल खोज्दै हिँडेको क्षण म झलक्क सम्झन्छु । भोजमा उपस्थिति जनाउन पुग्ने मुख्य पाहुना भनेको हामी नै हो । भोज सभ्य र भव्य होस् भनेर भोजन ग्रहण गर्न न त छुट्टै मुलुकबाट पाहुना बोलाइन्छ न अर्कै ग्रहबाट एलिएन ! कहिले आफन्तको नाताले त कहिले छिमेकीको नाताले मैले पनि निकै पटक यसप्रकारको भोजमा सामेल हुने अवसर पाएको छु । जब भोजको निम्तो आउँछ, यस्तो महत्वपूर्ण अवसर छुटाउने कुरा पनि त भएन नि !

सधैं घरमा दालको झोल थालको छेउमा राखेको मुलाको चाना र आधा माना भात च्यापेर दैनन्दिनी कार्यमा कुुद्नु पर्ने मान्छेलाई भोजको दिनमा भने भ्याइनभ्याइ हुने नै भयो । समय व्यवस्थापन देखि पोशाक छनौट र घरका सबै धन्दा सकिवरी छनौटकै पोशाकमा सवारीको जोहो गर्दै पार्टी प्यालेस पुग्ने काम सजिलो भने हुँदैन ।

पार्टी प्यालेसमा जब, नजरले नानाथरी मिष्ठान्न र परिकार देख्न थाल्छ, के उठाउने र कति उठाउने तत्काल मन मष्तिष्कले ठोस निर्णय गर्न सक्दैन । अनि त के चाहियो, कमिजको बाउला स्यार्दै आठ दश थरी ताउलाबाट छ्यालब्याल परिकार एक एक डाडुका दरले थालीमा खन्याए मात्र पनि हिमचुली नबने के बनोस् त ! जब ती परिकार मुखमा घान हाल्न थालिन्छ, घ्यू, तेल र नानाथरी वासनादार मसलाको मन्द गन्धले आधा हिमालय भन्दा बढी एक गास पनि पेटमा छिर्न मान्दैन । यता आधा थाल परिकारले पनि आफू भ्यागुतो निलेको सर्पको जस्तो पेट लिएर दहीको कप खोजी रहेको हुन्छु । उता टेवलमा भने हिम पहिरोले आकार बिगारेको हिम चुचुरो झैं बाँकी भोजन ङिँच्च दाँत देखाएर उपहासपूर्ण हाँसो हाँसिरहे झैं लाग्छ । खाँदा खाँदैको अन्न छोडे अन्नले श्राप दिन्छ भनेर घरमा थाल चाटीचाटी भाग बुत्याउने अभ्यास भएको मलाई पार्टी प्यालेसको भोजमा भने तिनै परिकार अन्नका हुन् भन्नेपनि ख्याल हुँदैन ।

उहिले केटाकेटीमा सुनेको जस्तै पस्किएको अन्न फाल्नेहरूले श्राप बोक्नु पर्ने थियो भने मैले निकै पटक अन्नको श्राप बोकिसकेको छु । पार्टी प्यालेसमा हुने भोजमा अधिकांश सहभागीहरूले अन्नलाई हेला गरेर पापी बन्ने सौभाग्य प्राप्त गरेको हुनुपर्छ । मान्छेले मन थाम्न नसक्दा देशमा उत्पादित अन्न मध्ये भण्डारण गरिसकेका अन्न त यसरी नै खेर जाने रहेछन् । यस्तै भोजमा जाने गरेपछि पत्ता लागेको रहस्य हो यो । अबदेखि भोज गरिने सबै स्थलहरूमा सरकारले बडेमानको साइनबोर्ड टाँस गरिदिनुपर्छ , जसमा लेखिएको होस् “मन थामेर निकाल्नु होला।” पक्कै पनि सोच्न कर लाग्थ्यो ।

जब भोजबाट फिर्ता भइन्छ अब भने सबैभन्दा गाँठी कुरा, पेटले भोजको बोझ थाम्न नसकेको लक्षण देखाउन थालिहाल्छ । हरेक भोजको भोलिपल्ट झुसिलो डकार आउने, पखाला लाग्ने , पेट फुल्ने, अपच हुने र खान नरुच्ने जस्ता समस्या देखापर्छन् । कहिलेकाहीं त सिकिस्त भएर ओछ्यान परेको घट्ना पनि नभएका होइनन् ।

भोजमा मात्र होइन, मान्छेले अनेक तरहले थाम्नु पर्ने तर थाम्न नसकेका अनगिन्ती कुरा त कति छन् कति ! थाम्ने कुरा सजिलोसँग थाम्न सके जीवन सहज हुन्छ । अन्यथा जीवन कठिन भयो भनेर बुझे हुन्छ ।

कसैले आफ्नै थुतुनो थाम्न नसक्दा गाली बेइज्जतीको मुद्दा खेपिरहेका हुन्छन् भने कसैले राल थाम्न सक्दैनन् । गाल थाम्न नसके छरछिमेकमा हात हालाहाल हुन्छ । काल थाम्ने कुरा मान्छेको हातमा छैन । हात थाम्न नसक्दा कारागारको चिसो खानेहरू पनि उल्लेख्य मात्रामा छन् । बात थाम्न नसक्दा पँधेरोदेखि अँधेरो कोठासम्म हुने झगडाले उग्ररूप लिने गरेको छ ।

बैँस थाम्न नसक्नेहरूको बयान गर्ने हो भने महाभारत भन्दा ठूलो ठेली बन्नसक्छ । मेरो विचारमा ९० प्रतिशत अपराधिक क्रियाकलाप बैँस थाम्न नसकेर हुने गर्दछन् । उता शरीर छोप्ने गरि लगाउने कपडाको बोझ थाम्न नसकेर अर्धनग्न हुनेहरूको बगाल पनि परार भन्दा पोहोर र पोहोर भन्दा अहिले दिन दुईगुना रात चौगुनाका दरले बढिरहेकै छ । खाइपाई आएको पद र मान सम्मान थाम्न नसक्नेहरू जीवन नर्कमा रुपान्तरण गर्दै मामाघरको कालकोठरीमा पुग्दा पनि ठूलै पौरख गरेझैँ मुसुक्क मुस्कुराउँदै र हात हल्लाएर प्रवेश गर्ने गरेको यिनै आँखाले देखिएकै हो ।

आमा बाबुको माया थाम्न नसकेर नाकको सिँगान निचोरे झैं बाबु आमालाई फुत्त मिल्काएर आफ्नो सुर गर्ने लक्का जवानहरू गाउँमा मात्र होइन शहरमा पनि उत्तिकै देखिन थालेका छन् । रिस थाम्न नसकेर साथीको साथ गुमाउनेहरू इख थाम्न नसकेर सम्साँझै जारसँग भट्टी छिर्नेहरूको कहानीले जग हँसाउने गरेको छ । भोटको भार थाम्न नसक्नेहरूले देशले संघियता थाम्न नसकेको भने ख्यालै गर्न सक्दैनन् । बाबु बाजेको छालाको बोझ थाम्न नसकेर पुर्ख्यौली सम्पत्ति कौडीको भाउमा बिक्री गरेर नेटो कटाउने बहादुरहरू र चुनावमा पहिरिएको विजयको माला थाम्न नसकेर चुनाव जितेर राजधानी पुगेपछि पुनः जिल्ला फर्कन बिर्सनेहरुको कथा नयाँ होइन ।

यसरी सबैकुरा थाम्न नसक्दा व्यक्ति एकजनालाई मात्र होइन , परिवार , गाउँ र राष्ट्रलाई नै बोझ हुने गरेको छ ।
मान्छे भएर जन्मिएपछि अनगिन्ती बोझ थाम्न सक्नुपर्छ । हुन त मान्छेले बोझ कसरी थाम्ने भन्ने विषयको पढाइ पनि कतै हुँदैन । न त बेलाबेलामा सरकारले बोझ थाम्ने विषयको तालिमको नै आयोजना गर्ने गरेको छ । न कसैको बोझ कसैले उठाइ दिने गरेको छ । अधिकांश मान्छेलाई आफूले बोक्नु पर्ने बोझ त्यति हेक्का पनि रहँदैन र हलुकासँग बोझ थाम्न पनि सक्दैनन् । त्यसैले बोझ कसरी थाम्ने भन्ने विषयमा व्यक्ति स्वयं सचेत हुनुपर्दछ । भरमग्दुर प्रयास गरेर भएपनि बोझ थाम्ने कोशिस जारी राख्नुपर्छ ।

ऋणको बोझ थाम्न नसकेर आत्मदाह गरेका समाचार बेलाबखत आइरहेका हुन्छन् । जुत्ताको बोझ थाम्न नसके खुट्टामा फोरा उठ्छ । बोराको बोझ थाम्न नसके हुतिहारा भइन्छ । बोर्डिङ स्कुलमा किताबको बोझ थाम्न नसक्ने नानीहरू र मासिक शुल्कको बोझ थाम्न नसक्ने अभिभावकहरूको पीडा आफ्नै ठाउँमा छ । परिवारको बोझ थाम्न नसक्ने घरमुली र परिवारले बोझ थाम्न नसक्ने सन्तानबाट हैरानी पाएका घर परिवारको सङ्ख्या बाक्लै देख्न पाइन्छ । यस्ता अनेकौं बोझ थाम्न नसकेर मान्छेले अनगिन्ती कष्ट भोगिरहेका छन् ।

मनको बोझ धान्न नसकेर डिप्रेशनमा जानेहरू पनि छ्यापछ्याप्ती देख्न पाईन्छ । जब डिप्रेसन उत्कर्षमा पुग्छ, दिमाग बाङ्गिन्छ अनि त मान्छे नाङ्गिन्छ । मन भित्रको बोझ र मन बाहिरको बोझ केही फरक हुन्छ । सम्बन्धको बोझ थाम्न नसके घमण्डी र एकलकाटे भइन्छ । छिमेकीको अत्याचारको बोझ थाम्न नसके नामर्द भइन्छ । सरकार नालायक भयो भने जनताले महङ्गीको बोझ थाम्न मात्र नसक्ने होइन, कुशासनको बोझले सातपुस्ताले मुन्टो उठाउन सक्दैनन् ।

जब महङ्गीको बोझले थिचिदिन्छ त्यसको लक्षण चुलो चौकाबाट सुरु भएर पारम्परिक चाडबाडमा गएर ठोकिन्छ । पारम्परिक चाडबाडमा ठोकिएपछि, पारिवारिक संरचनारुपी घरको इट्टा खस्न सुरुहुन्छ । यस प्रकारको बोझ थाम्न नसके गम्भीर परिणाम हातपार्न सक्छ । पहिले पहिले करको बोझ सजिलै थाम्न सकिन्थ्यो । अचेल भने त्यसले पनि ढाड दुन्याउने गरेको छ ।

मेरो एकजना छिमेकी छन्, बिजुली पानीको बोझ थाम्न नसक्दा सम्साँझै बाटोमै सुत्ने गर्छन् । जब आधारात बितेपछि त्यो बोझ अलि हल्का हुन्छ, बल्ल उठेर घर जान्छन् । मान्छेले थाम्न नसक्ने बोझको लेखाजोखा गर्ने हो भने विशाल महाकाव्य बन्नसक्छ । त्यसैले मान्छेले जहिले पनि थाम्नसक्ने बोझ मात्र बोक्नुपर्छ ।

सजिलोसँग बोझ थाम्न मन भए, एकपटक अतीत नियाल्नु पर्छ,जति ठूलो बोझ पनि सहजै उठाउन सकिन्छ । यसो पछाडि फर्किएर हेरौं त । आमाले ग्रीष्मयामको जस्तै तातो चुलो चौकाको बोझ उठाइन् । बाले अत्यन्त चिसो र कहालिलाग्दो हिमाल जस्तै बोझ उठाए । यसैलाई सम्झिएर अनुकरण गर्ने हो भने हामीले पनि सजिलै उनीहरूले झैं बोझ उठाउन सक्ने थियौँ । तर उल्टै हामीले आमा र बाबु नै बोझ भएको निश्कर्ष निकाल्यौँ । नपत्याए वृद्ध उमेरका बा आमा भएको घरमा पुगेर एकपटक बुझ्नोस् त ! छर्लङ्ग हुन्छ ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x