साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरणार्थी

यी भरणार्थी एक प्रकारले कसैको अनुशरण लिने शरणार्थी मात्र हैनन् । शरण परी आफ्नो स्वत्व केही नभए झैं हातखुट्टा, दिमाग केही नचलेर अर्काको आसमा सास राख्ने भएकैले यिनलाई भरणार्थी भनेको हो ।

Nepal Telecom ad

रामकुमार पाँडे :

कहीं नभएको हाँडी यहींको जात्रामा । हेर्नोस्, सुनको थालमा माग्ने विकासे मन्त्री हुन् कि आश्वासनमा सपना देखाउने बतासे नेता कतैबाट दम नदिई चलेका छैनन् । दम कम भयो कि बहुलाएर हल्लिन लाग्छन् । जाँडले छोडेको जँड्याहा नातागतले हल्लेजस्तो । दम दिउन्जेल उफ्रने पुतली जस्ता परजीवी नेतादेखि गोप्य देख्नै नहुने ठाउँ कुठाउँ हात बढाई पद र पैसाले आफ्नो वर्चस्व चढाइ हाल्ने । चाहे परधर्मी विधर्मीले हण्डी खाएर भुँडी भरेका हुन्, चाहे दलको दलाल भएर पालित वा विदेशीबाट पोषित जे जति अदृश्य तलबधारी छन् ती सबैलाई एकमुष्ट हचुवामा भन्नुपर्दा भरणार्थी भन्नुपर्ने हुन्छ ।

हेर्नोस्, भरणार्थीले कसैको भर पाएर होस् वा भरण खाएर पोषणको शोषणले आवरण आफ्नो लागे पनि विवरणले चोर वा सो सरहको पद पाएको अत्तोपत्तो हुन्न । यति भैसकेपछि भरणार्थीको भर गर्नु डाडूमा पानी तताएर मर्नु बराबर हो । भरणार्थीको धर्मसर्म केही हुन्न । कुनै दूतले छोराछोरीलाई पढाइ लेखाइ दिन्छु भन्यो भने उसको पाउँ मोल्न र प्रशस्ति बोल्न पछि पर्दैन । अझ गोप्य कागजातहरू समेत लग्यो अनि ठग्यो । सरकारी जागिरमा बस्ने हुन् कि संवाददाता कुनै दाता भरण पोषणको खाता खोल्न पाको छैन लाजै नमानी खा को छ खा’को छ ।

हाम्रो वरिपरि भरणार्थी यति बढे कि अचेलका नेताको संख्या के बढ्ला भुस्याहा कुकुरको छाउरा झैं गल्ली गल्ली हल्ली हल्ली हिंडेका छन् । कोही धर्मको आडमा भरणपोषण हुँदै भरणार्थी भएका छन्, कोही अर्काको खुपियाको ठेक्का पट्टा गरेर भरणार्थी हुन् पुगेका छन् । विदेशीको भरणार्थी त कति हुन् कति । अनेकन नाममा तामझाम साथमा भरणार्थी हुन पुगेका छन् । यी कति दरिद्र छन् भने एक टुक्रा रोटि कसैले चेइ भन्दै देखाइदियो भने भुँडो भर्न पाइन्छ भन्दै कुकुर झैं पुच्छर हल्लाएर कुद्छन् । ठूलठूला परियोजनाका साँढे फेला पारे भने प्यालझैँ पछिपछि झर्ला र मुखैमा पर्ला अनि भरण पोषणले समाजमा इज्जत आउला भन्दै पछि लाग्छ । समाजका जान्ने सुन्ने, नजान्ने नसुन्ने पनि उस्तै छन् । तिनका तामझाम देखी यो त हो न हो ठूलै पुरुषार्थी ठूलै चाला मान्छन् । कहाँबाट कुन हैसियतबाट फूर्ति भयो कसैले न सोध्छन् न खोज्छन् । तिनकै अगाडि लुत्रुक्क परेर आफू खुत्रुक्क होउन्जेल हात जोर्छन् । लौ हेर्नोस्, यी कहाली लाग्दो बात भरण पोषणले ठूला देखिएका हुन् । कहीं लेखिएका छैनन् । कोही घुस डकुल्याएर भरणार्थी भएका छन्, कोही कसैको पालतु भएर घुकेका छन् । नत्र दलका दलालले आफ्ना भरणार्थीलाई कसरी नचाउथे ?

भरणार्थीको न बुद्धि हुन्छ न स्वतन्त्रता । नुन खाएपछि निमेकको सोझो गर्नैपर्यो भन्छन् । तर बिष्टा नै खाने गरेका भरणार्थी अझ दुर्गन्ध निकाल्दै कर्तव्य त कता हो कता बिके दलाल भएर वक्तव्य निकाल्छन् । कतैबाट भरणार्थीको पेरोलमा छ भने उसको हालको कुरै नगरौँ । चाल नै गज्जब लाग्छ । किनकि धर्म छोडेकोमा रौरवमा परे पनि गौरव ठान्छन् । धर्मै छोडेपछि सर्मको के कुरा ? भरणार्थीको बेला बेलामा भेला हुन्छ र तिनलाई मुड्ने काम हुन्छ । मुड्ने भनेर कपाल हैन बुद्धि, मुड्ने हैन मोड्ने । भरणार्थी भएपछि यसरी मोडिन्छन् कि हात खुट्टा सद्धे भए पनि देशले भरण पोषण नगरेपछि जसले दिन्छ उसै कहाँ जानुपर्यो भन्छन् । लाजै पचाएर हिँड्छन् ।

नपुंसकै भएर धर्म परिवर्तन गर्नेलाई कसले काँध थाप्ने ? तिनले आफ्नो गौरवको के नाप्ने ? कसैले भरणार्थी भएपछि जे दियो त्यो। लियो । त्यतिमा आफ्नो पुर्खा, आफ्नो पहिचान खुस्केको अत्तोपत्तो हुन्न । बस अनि विना काम नाम फेरेर हो न हो जुन नाम राख्यो त्यही भएको ठान्छन् । कालेलाई कार्ल र शन्त बहादुरलाई सेन्त ब्रदर्, भन्यो, नामै परेपछि तिनका बाबु तिनै भए अनि तिनका आमा कहाँ गए ? भरणार्थी भएपछि नाच भालु नाच मात्र हैन बोल सुगी बोल । सुगी पनि एक दाना दिनेबित्तिकै सुरु गर्छ, सुरिलो गानाको ताना छोडिहाल्छे ।

यी भरणार्थी एक प्रकारले कसैको अनुशरण लिने शरणार्थी मात्र हैनन् । शरण परी आफ्नो स्वत्व केही नभए झैं हातखुट्टा, दिमाग केही नचलेर अर्काको आसमा सास राख्ने भएकैले यिनलाई भरणार्थी भनेको हो । आफ्नो देशको नोकरी गर्ने, आफ्नो देशको हावापानीले प्राण भर्नेले देश बिग्रने र विगार्ने गर्दैन । यदि कोही कुकुर बहुलाए जस्तो बहुलायो भने कसैको शरणमा पुग्छ र भरण भएपछि भरणार्थी हुँदै राष्ट्रवादी हैन राष्ट्रघाती हुन्छ । बौलाहा क्या नहि कर्ता भनेझैं अर्काले भरण गरेको मान्छे भरणार्थीको न देश हुन्छ, न आफ्नो भेष, न तिनको आफ्नो भाषा हुन्छ न धर्मको फेस । तिनको विकृतिले बढावा पाएपछि न कसैको स्वाभिमान बच्छ न स्वतन्त्रता न सिर्जना शक्ति न मानव धर्म न विशुद्ध कर्म । यसैले यी कुकुरतान्त्रिक भरणार्थीबाट सतर्क रहनु होला । यसको तर्क गरे नर्कमा पर्नुहोला ।

०००
जोकतन्त्र जिन्दावाद ! (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x