काशीनाथ मिश्रितकागजमा
हाम्रा कतिपय बुद्धिजीवीहहरूले कागजमै लेखेको पत्र खोज्नुहुन्छ कुनै कार्यक्रम विशेषमा । फोन गरेको वा इमेल पठाएको औपचारिक हुन्न रे । कतिपय गुरुहरूले छापिएको भन्दा हातैले लेखेको प्रमाणपत्र चाहिन्छ भन्दा त मलाई अचम्म हैन ताजुब नै लाग्छ ।

काशिनाथ मिश्रित :
‘कहिले तमघास कागज, कहिले काठमाडौं कागज ! के हो हो यो सधैं कागज, सधैं कागज ? सधै कागजमा हिँडेर केटाटीलाइ पढाउने कहिले हो ?’ म जैरे माविको मामुली शिक्षकलाई एक जना गाउँ सरकारका मन्त्री आएर थर्काउँछन् । त्यसरी थर्काउन पाउने उनको अधिकार हुन्छ र छ । तर उनलाई यो ख्याल छैन कि काज भन्नुपर्ने शब्दलाई कागज भनिरहेछन् ! त्यसो त उनी ल्याप्चे योग्यताका भएकाले त्यति अनौठो मान्नु नपर्ला । तर मैले वरिष्ठ भनाउँदाहरूले बोल्ने गरेका कैयन् यस्ता शाब्दिक त्रुटीहरू भेटाएको छु । किन किन म यतिखेर शब्दमा मात्र अल्झिरहेको भान भइरहेछ ।
हुन त भाषाको आधार नै शब्द हो ! अर्थ र अनर्थ यसैबाट थालिने भएकाले त्यस्ता बुज्रुकहरूले के बोलेँ भन्ने ख्याल गर्नुपर्ने हुँदो हो भन्ने मेरो बुझाइ हो । एक जना वरिष्ठ वकिलले कानुनलाई काउन भन्छन् भने अर्का त्यस्तै उपसचिव हूँ भन्नेले कानगुन भन्छन् ! कसको सही मान्ने ? एक जना हेडमास्टरकै कुर्सी पड्काएकाले भने, ‘ऐंजन मौकामा विचार पुर्याएर बोल्नुपर्छ । ‘भन्नु पर्ने ऐन मौका थियो तर भनिदिए ऐजन मौका ! गर्नुहुन्छ के ! अनि मैले एकान्त लगेर सम्झाएँ गुरु यो ऐंजन मौका भन्ने ठाउँमा ऐन मौका भन्नुहोला है ! अलिक बौद्धिक जमात भएका ठाउँमा भनियो भने कमजोर मूल्याङ्कन हुन्छ ।
त्यस्तै एउटा कार्यक्रममा एकजना नेताले भने, ‘मैले तपाईँहरूको कुरालाई नजर अन्दाज गरिसकेँ, यो माग पूरा गर्न यथाशीघ्र पहल गर्नेछु ।’ के हो यो यथाशीघ्र भनेको ? नजर अन्दाज गरेपछि के हुने हो ?? उनको कुरा सुनेर मलाई खित्का छोडेर हाँस्न मन थियो तर त्यत्रा ठुला मान्छेको खिसिट्युरी गरे जस्तो हुने ठानेर दबाएँ हाँसोलाई । कुन शब्दले के अर्थ दिन्छ भन्ने विचारै नगरी बोल्ने मान्छेहरू मैले थुप्रै फेला पारेको छु । कुरा गर्दै जाँदा कसैले तातो पानीमा दायित्व हुन्छ । ‘भन्यो भने तपाईं के बुझ्नुहुन्छ ? म त केही बुझ्दिन । तर भनिदिए एक जना समाजसेवीले !!
किन हो किन यथाशीघ्र, काउन, एेजन, नजर अन्दाज कसैले पनि मलाई त्यत्रो ठुलो झड्का दिएन । तर कागजमा भन्ने शब्दले च्वास्स घोच्यो सियोलेझैँ । आखिर हाम्रो देशमा के भएको छैन र कागजमा ? जे जति भएका छन् सबै कागजमा त भएका छन् । कागजमा नभएको भए अहिले हैन उहिले नै नेपाल सिङ्गापुर भइसक्थ्यो । अहिले कागजमा त स्विट्जरल्यान्ड पनि भैसके होला तर वास्तवमा सिक्किम पो हुने हो कि भन्ने त्रासले तर्साइरहेछ ।
मध्यावधि भएन भने पाँच वर्षमा चुनाव आउँछ । सानाठुला, भुरेटाकुरे, नयाँपुराना सबै दलहरूले तँछाडमछाड गरेर घोषणापत्र जारी गर्छन् । कसैले देशलाई सिङ्गापुर बनाइदिने भन्छन् । कसैले स्विट्जरल्यान्ड बनाउँछौँ भन्छन् । अझ कसैले त देशलाई स्वर्गकै मुनि पुर्याएर उपरस्वर्ग बनाइदिनेसमेत घोषणा गर्न चुक्दैनन् । बिपना तिता भोग्नु परे पनि सपना चाहिँ मिठा मिठा बाँड्छन् । तर केवल कागजमा !
अँ, साँच्ची ! एक पटक यस्तो शुभ समाचार पनि सुन्न पाइएको थियो – ‘फलाना ठाउँमा पुल निर्माण कार्य सम्पन्न !’ कति अरब लगानीमा बनाइयो पुरै समाचार पढ्न थालिएन । आजकल कसले कागजमा छापिएको पत्रिकाको समाचार पूरै पढ्ला र ! रेडियोमा पनि सो समाचार फलाकियो । प्रधानमन्त्री गएर उद्घाटन गरेको समाचार त झनै हाइलाइट गरेर छापिएको थियो पत्रिकामा । तर अपसोच् ! दुई महिनामै अर्को अशुभ समाचार पनि आइहाल्यो- ‘बनेको दुई महिनामै पुल भाँचियो’ !! अब तपाईं नै भन्नुहोस् त्यो पुल वास्तवमा बनेको थियो कि कागजमा ?
यथार्थ यथावत छँदै छ, विकास भने कागजमा तीव्र रूपमा भइरहेको हुन्छ । जाबो पिच गरेको अलकत्रा र रोडाको रोड खाल्टाखुल्टी परेर कसलाई के लछार्छ र ! मन्त्रालयको कागजमा हेर्ने हो भने ऐना हेर्न मिल्ने चिल्लो सडक सम्पन्न भएको देखिन्छ । कार्यालयको कागजमा हेर्ने हो भने फलाना ठाउँमा पानी टङ्की निर्माण भयो तर सो ठेगाना खोज्दै जाँदा हावाटङ्की मात्र फेला पर्छ । किसानका कैयौँ बाख्राका खोर कागजमा बनेका छन् । टन्नै टनेलहरू बनेका छन् । गाई फाराम त कति हो कति ! झोले विद्यालयको समाचार त सबैले सुनेकै हुनुपर्छ । कागजमा विद्यालयको नाम छ, शिक्षक विद्यार्थी सबै छन्, तर खोज्न जाँदा शून्य ! हैन कस्तो रहेछ यो कागज ।
अरुलाई ढाँटे पनि मैले आफैलाई त ढाँट्न मिल्दैन नि, कि कसो ? झुटो कुरा लेख्दै छ यसले भनेर मलाई नसराप्नु होला । मैले आफैले गरेको काम हो कागजमा । जिल्लाले एक लाख जति बजेट मेरो संस्थालाई दिएको थियो त्यस्तै तालिमसालिम गर्न भनेर । चाहिने जति कागज पत्र मिलाएर बजेट खातामा पारियो । काम के भयो कोही हेर्न आएन । फेरि मलाई भ्रष्टाचारी भनेर मुद्दा लगाउन नखोज्नुहोला नि ! खातामा राखेको बजेट जस्ताको तस्तै छ, मासिएको छैन अझसम्म । नपत्याए बैँकमा हेर्न गए हुन्छ । लौ भन्नुहोस्, यस्तो तरिकाले देशको विकास कहिले हुन्छ ?
छ सय एक जना बुज्रुगहरूले सत्ताइस सय बाह्र दिन लगाएर बनाएको संविधानमुनि हामी छौँ । संविधानमाथि को को घोडा चढे त्यो आफै खोज्नुहोस् । संविधानको विरोध गरेर देशद्रोही बन्न खोजेको होइन म । एक सय एक प्रतिशत समर्थन नै गर्ने हो भने पनि कागजमाबाहेक कहाँ देख्नुहुन्छ संविधान ? सानालाई ऐन ठुलालाई चैन भनेर हाम्रा पुर्खाले त्यसै कहाँ भनेका हुन् र ! एकतिसवटा मौलिक हक हामीले पाएर कति रमाएका छौ हगि ? ‘वैदेशिक रोजगारीको हक’ लेख्नु पर्नेमा ‘रोजगारीको हक’ मात्र लेख्नुभएछ सभासदहरूले र पो दङ्ग छु म । बेलायतमा संविधान कागजमा नभए पनि चल्ने हाम्रोमा कागजमा भए पनि नचल्ने कस्तो गजब !
पुराण फलाक्दा पण्डितजीले भनेका थिए, ‘बाहुनले माछा मासु खानु हुँदैन । अर्काको ज्यान मारेर आफ्नो शरीर पोस्नु भनेको महापाप हो ।’ सुन्दा त हो जस्तो पनि लाग्यो । नरक भोग्नु पर्ने डर पनि लाग्यो । तर एक दिन घुम्दै जाँदा तिनै पण्डितजी होटेलमा मजाले बसेर तारेका माछा चपाउँदै रहेछन् । अनि अस्तिको प्रवचन सम्झाइहालेँ मैले, ‘हैन पण्डितजी ! बाहुनले माछा खानु हुँदैन भन्नुभएको हैन र ?’ पण्डितजी विद्वान भएकाले तर्कमा उनलाई मैले भेट्न सक्ने कुरै भएन । जवाफ दिइहाले, ‘कागजका माछा पो हुन्न भनेको हो लाटा ! हेर् न मैले छोएर पो कहाँ खाएको छु र, काँटाले खाएको छु नि देखेनस् !’ पण्डितजीसित मुखमुखै लाग्ने हिम्मत मेरो भएन । यो हैन त कागजको करामत ?
आजकल कसैसित केही कुरा गर्यो भने ‘कहाँ लेखेको छ ?’ भनिहाल्छन् । के जे कुरा पनि त्यही जैरे कागजमा लेखेकै हुनुपर्छ भन्ने छ र ? संसारमा अधिकांश काम कुरा नलेखेरै भएका हुन्छन् । थोरै मात्र लेखेर भएका हुन्छन् । अझ अचम्म लाग्ने र महत्वपूणर् कुरा त यो छ कि धेरैजसो काम कुरा भएकै हुँदैनन् तर लेखिएका हुन्छन् कागजमा ! पुलिसले कोर्रा लगाएर बकायो भने अदालतलाई प्रमाण हुन्छ र निरापराध पनि फसाइन्छ । साहूले निदाएको बेला तमसुकमा ल्याप्चे लगाइदिन्छ र गरीबगुरुवाको उठिबास गराउँछ । लेखेकै सही साँचो हो भन्ने के आधार । ‘कहाँ लेखेको छ?’ भन्ने सज्जनहरूप्रति मलाई दया लाग्छ ।
बकितमलाई भन्दा लिखितमलाई मान्यता दिले चलनको म घोर विरोध गर्छु । यो बिलकुल सामन्ती सोच हो । सानालाई उठ्नै नदिने जालझेल मात्र हो । नत्र आन्दोलनकारीहरूसित एउटा सम्झौता बनाएर हस्ताक्षर गर्ने र ऐनमा समावेश गर्न लैजाँदा अर्कै भएर आउने कसरी हुन्थ्यो ? जाबो कागजमा लेखेकैले के नाप्दो रहेछ त ! इमान्दारीता भएन भने लिखितमले हैन लिखितमका बाबुले पनि केही लछारपाटो लाउन्न बुझ्नु भो ?
अरुलाई ऊः भनेर चोर औँलाले औल्याउँदा आफूतिर चारवटा औँला फर्किरहेका हुन्छन् भन्ने हामीले ख्याल गरेका हुँदैनौँ । मैले अरुलाई किन भन्नु पर्यो र ! आफ्नै कागजप्रेम बताउँछु । किन हो किन आजकल हामी कागजप्रेमी बनेका छौँ । काज होस् नहोस् कागज भए हामी सन्तुष्ट हुन्छौँ । मेरै हेर्नुहोस् न मामाको सोर्स लगाएर तिन महिना स्वास्थ्य चौकीमा काम गरेको प्रमाणपत्र बनाएको छु । दाजुको पावर प्रयोग गरेर पत्रकारको परिचयपत्र बनाएको छु । पुलिसलाई पैसा खुवाएर गाडीको लाइसेन्स निकालेको छु । के गर्नुहुन्छ भन्या ? ठाउँमा काम लाग्ने कागज हो बोलीले कसैले पत्याउँदैन क्यारे । क्षमता भए पनि नभए पनि प्रमाणपत्र भए हामीलाई पुग्छ । प्रमाणपत्र हुने कागजमै त हो नि हैन र ! प्रक्रिया पुर्याएर होस् कि किनेर होस् त्यही खोस्टो भएन भने काम चल्दैन गर्नुहुन्छ के ? यही कागजले गर्दा आजकल मान्छेको मगज खान थालिसकेको छ । यो कागजमोहले कुन खाडलमा लगेर जाक्ने हो कसैलाई थाहा छैन ।
धिक्कार छ कागज तँलाई ! कुन अशुभ साइतमा जन्मेछस् कुन्नि तँ ! साराका सारा मान्छेहरूलाई फँसाउने भइस् गाँठे । थुइक्क कागज ! अझ नक्कली र सक्कली बनेर आफैले आफैलाई विभेद गर्दोरहेछ । नत्र त्यत्रो कागजपत्र मिलाएर अमेरिका पुगिसकेका सक्कली नेपालीहरूको हालत खराब हुनुपथ्र्यो र नक्कली भुटानी शरणार्थी बनेर । म फलानो देशको नागरिक हूँ भन्न चाहिने त्यही पाजी कागजको खोस्टो ! वास्तवमा भारतीय हो, नागरिकता छ नेपाली । खासमा नेपाली हो, नागरिकताको खोस्टो बोक्छ इन्डियन ! यता बस्दा यहीँको, उता जाँदा उहीँको कति मजा ! तेरै करामत हैन त ? अझ पेनसन् खाने बेलामा मास्टर साहेबको प्रमाणपत्र पत्ता लाग्छ नक्कली । अस्पतालको निर्देशक बनिसकेपछि डाक्टर साहेबको सर्टिफिकेट पाइन्छ डुब्लिकेट । झोँक चल्ने कुरा हैन यो । क्या छ कागजको दुनियाँ । बरु तेरो जन्मै नभैदिएको भए कति जाती हुन्थ्यो होला ।
सबभन्दा राम्रो नर्सिङ्गा बजाउने तल्लारे माइलाको कुनै प्रमाणपत्र छैन । चिटिक्क पारेर घरको गारो लगाउन सक्ने उपल्लारे जेठाको पनि प्रमाणपत्र छैन । यस्ता सिप भएका तमाम सिपालुहरूको खोस्टो नभएरै पनि चलेको छ । उनीहरूको कामबाट पनि पसिनाको फल फलेको छ । कागजले रोक्ने भए तल्लारे माइलाको नर्सिङ्गा नबजोस लौ । उपल्लारे जेठाले लगाएको गारो ढलोस् भएन ? तर त्यस्तो कहिल्यै भएको छैन र हुन्न पनि । यी कागजका पछाडि दौडनेहरूलाई चुनौति हैन त यो कुरा ?
कागजमा यस्तै दुर्गुण बढेर हो कि किन हो म भन्न सक्दिन, आजकल विद्यार्थीहरूले कागजका अक्षर पढ्नै छोडिसकेका छन् । पढ्नेहरू बिरलै भेटिएलान् । जमाना कहाँबाट कहाँ पुगिसक्यो । को कागज हेरेर बसिरहन सक्छ ? अबको युग कागजी युग हैन, डिजिटल युग हो । मुवाइलमा सल्ल सल्ल हात डुलाएर भिडियो हेर्न छोडेर ती बाङ्गाटिङ्गा अक्षरमा आँखा कसले गाडिरहोस् । बरु निद्रा परेन भने आज सिल्पिङ ट्याब्लेट चाहिन्न, किताब अगाडि तेस्र्याइदिनुहोस् निद्रा लागिहाल्छ । साँच्चै हो क्या ! मेरो कुरालाई ठट्टा नसम्झनुहोला । सरकार नै डिजिटल नेपालको अभियानमा जुटिसकेका बेला हामीले कागजमोह त्याग्न किन कन्जुस्याइँ गर्ने ? समयमै भृकुटी कागज कारखाना बन्द गरेर अग्रगामी कदम चालेकोमा सरकारलाई मुरी मुरी धन्यवाद । यस्तो नक्कली काम गर्ने कागज उद्योगहरू अरु पनि बन्द गरेर कागजरहित डिजिटल नेपाल बनाउने अभियान चलाउने हो भने भ्रष्टाचार भन्ने शब्द कहाँ लेखिन्थ्यो र ।
कागजलाई बहिष्कार गरेर डिजिटल प्रविधिको आविष्कारलाई स्वीकार गरेनौँ भने अब हामीलाई डाइनोसरले पनि गिज्याउने छ । म प्राकृतिक परिवर्तन सहन नसकेर लोप भएँ, तिमीहरू चाहिँ भौतिक परिवर्तन सहन नसकेर लोप हुने भयौ भन्ने उसको तर्क हुन सक्छ कि सक्दैन आफै विचार गर्नुहोस् । मन्टो धान्न पनि नसक्ने बालकलाई मन्टेश्वरीमा मन्ट्याएर कखरा लेखाउनु पर्ने अवस्था अब छिटै अन्त्य हुनुपर्छ । मैले धुलौटोमा अक्षर लेखेको थिएँ भनेर कहाँ चल्छ अब ? हाम्रा कतिपय बुद्धिजीवीहहरूले कागजमै लेखेको पत्र खोज्नुहुन्छ कुनै कार्यक्रम विशेषमा । फोन गरेको वा इमेल पठाएको औपचारिक हुन्न रे । कतिपय गुरुहरूले छापिएको भन्दा हातैले लेखेको प्रमाणपत्र चाहिन्छ भन्दा त मलाई अचम्म हैन ताजुब नै लाग्छ । एक जना मास्टरजीलाई त मैले भनिदिएको पनि थिएँ कुनै बेला – ‘उसो भए हाम्रा हजुरबाले चिना लेख्ने जस्तो निँगालाको कलमले ताडपत्रमै लेखेर दिने कि ?’
अहो ! ती गाउँ सरकारका मन्त्रीले सधैं कागज सधै कागज भनेर मेरो सातो उडाइदिएकाले दिमाग पनि कता उडेछ उडेछ । यसो दिमागलाई ठन्डा पारेर सोचेँ एकैछिन । यो जाबो कागज नबन्दै पनि त संसार चलेकै थियो । हाम्रा पुरेत बाजेले श्राद्धे गराउँदा ‘श्रुतिस्मृति पुराणोक्त फल प्राप्त्यर्थम्’ भन्दै सङ्कल्प गराउँछन् अझै पनि । त्यत्रा त्यत्रा वेदहरू कागज नबन्दै श्रुतीस्मृतिका आधारमा पढ्दै आएका थिए पुर्खाले । कागजले त कति पो हैकम जमाए होला र ! त्यही तिनचार हजार वर्ष न हो । अब युगले फड्को मार्यो । डिजिटल प्रविधि अघि बढिसक्यो । कागज विस्थापित हुन अब धेरै समय लाग्नेवाला छैन । के त्यसपछिको संसार पनि चल्दै नचलेर ठप्प होला त ? अवश्य हुन्न ।
०००
२०८० असोज २० गते
फोक्सिङ, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































