शिव सस्मितविशिष्ट पाहुना
त्यत्तिकैमा बा-आमा पनि भित्र छिरे । “धत्तेरिका कहिले कहिले त यस्ता पाहुना पनि आउँदा रहेछन् ।” बाले खेद व्यक्त गरे । “अफिसको भत्ता चुपुक्कै बचाएर अर्काको घरमा फोकटमा खाँदै हिँड्नेलाई यस्तै हुन्छ । त्यही जनताको पसिनाले सरापेको हो ।”

शिव सस्मित :
सानै छँदाको कुरा हो । एकदिन हाम्रा घरमा एकजना पाहुना आए । पाहुना त आइरहन्थे तर आजका पाहुना अलि विशिष्ट खालका हुन् भन्ने कुरा बाले आमाको कानैमा फुक्दाखेरि मैले पनि कान थापेरै सुनेको थिएँ । अड्कल काटेँ, सायद अड्डा अदालतका मान्छे हुनन् । नहुँदा हुन् त त्यत्रो त्यत्रो भुँडी कहाँबाट आउँदो हो ? आ !! बरिष्ठ होऊन् या अरिष्ट, आफूलाई त पाहुनाले ल्याएको खानेकुरासँग सरोकार थियो । अरूसँग केको दरकार ? पाहुनाको वरिपरि घुम्न थालेँ । केही बासना छ कि भनेर खल्तीनेर नाक निहुराएर सुँघ्न थालेँ । बाबै नि ! नाकले त पाइखानाको भन्दा पनि बढ्ता भएको अनुभव गर्यो । नाके ओढारबाट सिधै कुनै गन्धे वस्तु तालुसम्म पुगेजस्तै भयो । हो, मेरो नाकलाई छटपटी हुन थाल्यो । यसो कटकटी नाक छामेँ । नाक त त्यहीँ थियो । विशिष्ट भन्थे बाले तर सोचेँ- यिनले स्कूल पढेनछन् क्यारे । पढेका भए त ननुहाउने हो भने स्कूलमा कस्तो कारबाही हुन्छ भन्ने कुरा थाहा पाइहाल्थे नि । फेरि विशिष्ट मान्छे त पढेलेखेकै हुन्छन् होला । पक्कै पनि यिनी विशिष्टका नाउँमा कुनै थाङ्नेमाङने हुनुपर्छ ।
विशिष्ट पाहुनाका लागि गुन्द्री र गुन्द्रीमाथि काम्लो बिछ्याइयो । पाहुनाले जुत्ता खोले । जुत्ता खोल्दाबित्तिकै छ्या ! ह्वास्सै के गनाएको यस्तो भन्दै भान्साकी आमा पुटपुटाउन थालिन् । पाहुनाले नदेख्ने गरी बाले सिँगान पुछ्ने निहुँमा नाक बङ्ग्याए । मैले त नाकै थुनेँ । लाज सरमै नमानी गनाउने खुट्टा लिएर पाहुना काम्लामा गएर थचक्क बसे ।
नमस्ते गर् । बाले हुर्मत लिए मेरो । मन नलाई नलाई दुई हात जोडेँ । जोड्नुपर्ने पनि थियो । नत्र खानेकुरा गुम्न पनि सक्थ्यो । “बाबु ! यता आऊ त ।”- पाहुनाले धेरै पछि मुख फोरे । मलाई भने उनकै मुख फोर्नुजस्तै भएको थियो । फसाद पनि पर्यो । नजाउँ त तै पनि पाहुना विशिष्ट भएकाले पनि विशिष्ट खानेकुराको सवाल छ । जाऊँ त उनका अगाडि परिनसक्नु छ । ‘नखाऊँ भने दिनभरिको सिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ जस्तै भयो मलाई । जे होस् खानेकुरा त छोड्न भएन । गएर आडैमा बसेँ । उनले मेरो नाम, पढाइदेखि लिएर मावली गाउँका बाजेबराजुसम्मका सबै इतिवृत्तान्त सोधे । यस्तो लाग्यो कि मानौँ म कुनै अड्डामा अन्तर्वार्ता दिइरहेछु । खानेकुराको आसमा सबै उत्तर एकैसासमा दिएँ तर अहँ, खानेकुरा झिक्ने त सुरै छैन, के खान्छौ बाबुले भन्दै झोलातिर हात हाल्ने कुरै छैन । अरू सामान्य पाहुना आउँदा त केही पनि नसोधी खल्तीबाट केके हो केके झिकेर दिइहाल्थे । सायद यिनको अन्तरवार्तामा सफल पो भइएन कि ? उनीसँग बसेको आधाघण्टा भइसकेको थियो तर खानेकुराको ‘खा’ शब्द पनि निकालेनन् विशिष्ट पाहुनाले । त्यसै जाँगर मरेर आयो । अब त भएन भनी त्यहाँबाट फुत्कने प्रयास गरेँ तर कुन वहानामा फुत्कनु ? जहाँ समस्या त्यहाँ समाधान हुन्छ भन्थे, “म त ट्वाइलेट जान्छु” भन्दै त्यहाँबाट उठेर हिँडेँ ।
आमाले भात बसाल्न भड्डुमा घिउ च्वाइँय पारिन् । घिउको वासना पाहुना आउँदाका दिन मात्रै सुँघ्न पाइन्थ्यो । तर त्यस दिन च्वाइँय मात्रै भयो । बाहिर घ्यूको गन्ध आउन त आयो होला तर थाहा भने पाइएन । किनकि घिउको गन्धलाई पाहुनाबाट हरहर निस्केको गन्धले जितिसकेको थियो । मजस्तो भुराले यसो गमेँ, हैन यी त भन्नेबेलामा विशिष्ट पाहुना, देख्दाखेरि त साह्रै अशिष्ट पो रहेछन् । मलाई जङ् चल्न थाल्यो । चलेर के गर्नु ? टिमुर्किनुभन्दा मुरमुरिएर बस्नुको अर्को विकल्प थिएन । कुरो ओकेल्ने हो भने बा बूढाले मेरो हुर्मत लिनसम्म लिन्छन् । उपाय त केही अपनाउनै पर्ने भयो ।
‘खाना खान पठाइदिनुस् ।’ आमाले बालाई साउती गरिन् । बा बूढाले पाहुनालाई लोहोटामा पानी टक्र्याएर खाना खान जाऊँ भन्ने अनुरोध गरे तर म भने करेसाबारीतिर लागेँ । घरमा मूसाहरूको बिगबिगी थाम्न नसकेर अस्ति भर्खर बिख हालिएको थियो । बिख खाएको मूसो करेसाबारीमा पुगेर उत्तानटाङ लगाएको रहेछ । त्यो मरेको मूसो फेला पारेपछि मलाई त ‘के खोज्छस् दृष्टिविहीन आँखो’ भनेजस्तै पो भयो । विशिष्ट पाहुना खाना खान बस्नुअघि नै सुटुक्कै दम्कामुनि लगेर राखिदिएँ ।
विशिष्ट पाहुना खाना खान बसे । आमाले सकभर अतिथि सत्कार गरेकी थिइन् । एकछिनपछि त मरेको मुसाले नाक खल्बल्याउन थाल्यो । त्यसले पो बल्ल पाहुनाको गन्धलाई जित्यो । पाहुनाले घिउभात कपाकप खाइरहेका थिए । बा र आमा बाहिरतिर गएर कानेखुसी गर्न थाले । मैले झ्यालबाट टुलटुलु हेर्न थालेँ । लौ हेर, चाल पनि पाउँदैनन् कि क्या हो भनेको त एउटा हातले नाक थुन्दै अर्का हातले भात मुखतिर कोच्दैरहेछन् । मलाई लाग्यो बल्ल स्वाद चाखे पाहुनाले । आमा फेरि “यहाँलाई के चाहियो कुन्नि ?” भन्दै भित्रतिर पसिन् । उनलाई देखेर पाहुनाले हत्तपत्त हात झिकेर चिडचिड पसिना निकाल्न थाले । उता बा बूढाचाहिँ टर्चलाइट बालेर कुनाकाप्चामा हेर्न थाले । म गद्गद् भएँ । मलाई खानेकुरा नल्याइदिएर दुर्गन्ध मात्रै ल्याउने विशिष्ट पाहुनाले मरेको मुसाको गन्धसित भात निले, कति रमाइलो !
छिटोछिटो गरेर पाहुना उठेर चुठ्न निक्ले । आफ्नो छोराको उट्पट्याङ् बानी थाहा भएका बाले मलाई पल्लो कोठामा लगेर थुर्नससम्म थुरे । अनि जहाँबाट ल्याइस् उहीँ लगेर मरेको मुसो फाल् भन्ने आदेश पनि फर्माए तर मलाई पाहुनासित अझै रिस मरेको थिएन । त्यसैमा बाले पनि अलिकति रिस मैमाथि थपे । मेरो मन किन मान्थ्यो ? अँ अँ भन्दै मुसो बाहिरतिर लगेँ । फाल्न त कहाँ हो र ? दुर्गन्ध अलिकति खपेरै भएपनि मुसो समातेर पाहुना सुत्ने खाटमुनि राखिदिएँ । अनि आफ्नो बिस्तारातिर लागेँ । मेरो बिस्तारा पाहुनाकोठाको आडैमा थियो । सुतीसुती पाहुनाको चर्तिकला काठको चरबाट हेर्न थालेँ ।
विशिष्ट पाहुना खाटमा उक्लिए । उक्लिन नपाउँदै फेरि नाक थुन्न लागे । छि ! कस्तो गनाएको भन्दै पुटपुटाउन थाले । अनि त चुपचाप सिरक ओढेर गुर्लुम्म परे । के को सहन सक्नु ? एकछिनपछि त फल्र्याक्क सिरक फालेर झटपट उठेर त पेट छाम्दै वाक्क पो गरे । लौ वित्यास पर्यो । विशिष्ट पाहुनालाई के के भयो ? केही अनिष्ट हुने हो कि भन्ने शङ्काले म जल्न थालेँ । के भयो ? भन्दै बा टर्चलाइट नचाउँदै पाहुना कोठामा प्रवेश गरे । बूढाले प्रवेश गर्दाबित्तिकै चाल पाइहाले । अनि त मेरै बिठयाइँ हो भनेर पत्ता लगाएछन् कि क्या हो, बूढा रिसले रन्थनिन थाले । पाहुनालाई “यहाँलाई केही तकलिफ भयो कि ?” भनेर सोधे । हैनहैन, केही भएको छैन भन्दै विशिष्ट पाहुना फेरि गुल्टिए ।
बा बूढाले खाटमुनि लाइट बालेर हेरे । मरेको मुसो उत्तानिएको थियो । बिरालो समेतलाई घिन लागेर छोडेको त्यो मुसो बाले नाक थुन्दै लगेर कता मिल्क्याए कता । अब भोलि बिहान केके सजाय हुने हो । रातभरिमा बूढाको रिस त सेलाउला नि । विशिष्ट पाहुनाले भने मेरो सजाय भोगेका छन्, भोगेका छन् । मेरो उट्पट्याङ्प्रति मलाई गर्व भयो ।
दस मिनेटपछाडि त सुतेका पाहुना फेरि उठेर बसे । हेर, विशिष्ट पाहुनाको हरिगति, राति हुँदो थुपुक्कै नसुतेर खाटमाथि जाग्राम बसेका छन्, घ्याम्पो समाएका छन् । उनको हत्ते के हो कुन्नि ? अहँ मेरो मनमा उनीप्रति दया पलाएको भए त के..। यत्तिकैमा अघिको भन्दा ठूलो स्वरले वाक्क, वाक्क पो गरे । हँ ! बूढाले मुसो मिल्क्याएँ भनेर दिउँसोतिर राखेको तरुलको लुइँठो पो मिल्क्याएछन् कि क्या हो ? हैन, हैन मैले स्पष्ट देखेको हुँ, बाले त मुसाको पुच्छर समातेरै बाहिर लगेका थिए । त्यसपछि त मूसाको गन्ध पनि आउन छोडेको थियो । पाहुनालाई असर अलि पछि नै गर्दो रहेछ क्यारे ! कुरा खेलाउँदा खेलाउँदै मलाई हाम्री पल्लाघरे भाउजुको याद आयो । एकदिन उनले करेसातिर गएर वाक्क वाक्क गरिन् । मैले मेरी आमालाई भनेँ – “आमा ! आमा ! हेर त, ती भाउजुलाई सन्चो नभएजस्तो छ । अब अस्पताल लानुपर्छ होला है ?” मेरा कुरा सुनेर आमा बूढी त मरीमरी पो हाँसिन् । “हैन आमा किन हाँस्यौ यसरी ? त्यसरी त कहिल्यै पनि हाँसेकी थिइनौ ।”— मैले भनेँ ।
आमाले भनिन्- “तेरा कुरा सुनेर हाँसेको । त्यो त कहाँ बिसन्चो भएर वाक्क गरेकी हो त ? ऊ त दुई जिउकी भएर पो त ?”
“दुई जिउकी रे, तिनको जिउ त एउटै पो देख्छु म त, तिमीले उस्तै भनेकी हौ कि, मेरै आँखा उस्ता हुन् हँ आमा ? म आँखा तिखारेर एकपल्ट फेरि हेर्छु है ?” आमालाई यति भन्दै मैले करेसातिर हेर्न थालेँ । आमा त अट्टहास पो गर्न थालिन् । अनि मेरै कानैमा आएर भनिन्- “बुझिस् ? त्यो त ‘पाउनी’ भएकी छ ।”
यो कुराको सम्झनाले मलाई लाग्यो हाम्रा विशिष्ट पाहुना पनि दुई जिउका अर्थात ‘पाउनी’ भएछन् कि क्या हो ? तैपनि नाक तिखारी तिखारी चहरनेरै गएर सुँघेँ । पाहुनाको गन्ध पुत्ताएको थियो, अरु केही थिएन । अब त ठोकुवा नै गरेँ मैले हाम्रा विशिष्ट पाहुना गर्भवती नै भएछन् ।
फेरि पनि आन्द्राभुँडी नै फर्कलाजस्तो गरी वाक्क गरे । हँ ! यिनले त पाउँछन् कि क्या हो ? पाए भने के पाउलान् ? ढुङ्गो, माटो वा अरू…। मेरो बालमस्तिष्कले यस्तै शङ्का गर्यो । यत्तिकैमा बा आमालाई साथै लिएर दगुर्दै आए ।
“यहाँलाई त बिसन्चो भएजस्तो छ । म पानी तताएर ल्याउँछु” भन्दै आमा अगेनातिर लागिन् । “दुईचार गेडा ल्वाङ् पनि ले । अपच भएजस्तो छ ।” बाले आदेश बजारे ।
“ए ! भनेपछि पाहुनालाई त अपच पो भएछ । हो, अघि आमाले भातमा राखिदिएको घिउ पचेनछ क्यारे । ठिकै भो आमाले पनि जानेरै दनक दिइछन् पाहुनालाई । आमा त आमै हुन् नि, आफ्नो छोराको कम्ता माया लाग्दो हो र ? यस्तैमा त थाहा पाइन्छ नि आमाको माया । छोरालाई खानेकुरा नल्याइदिएको रिस आमालाई पनि रहेछ । अब बाले मात्र केही गर्न बाँकी छ । नाम विशिष्ट भए पनि चुइँयाले आज सजाय ठूलै भोगे । एउटो मिठाईंको गेडो पनि नल्याई अर्काको घरमा सित्तिमा घिउभात पचाउने नाथेलाई यस्तै हुनुपर्छ ।
तातोपानीसित ल्वाङ चपाएर निले पाहुनाले । अनि बालाई टर्चलाइट यहीँ छोडिदिनुहोला भने । बाले त्यसै गरे । पाहुना भनाउँदा सुते, बाआमा पनि सुते । म पनि निँद त पाहुनाले चपाइहालेका थिए क्यारे । यसो सुतेजस्तो गरेँ ।
एकछिन पनि भएको थिएन । पाहुना त जर्याकजुरुक उठेर टर्च बालेर बाहिरिए । हैन भागे कि क्या हो ? किन भाग्थे ? भोलिबिहानको भात पनि घिचेरै जाने सुर होला । ट्वाइलेटटिर गए होलान् । मैले मैसित बात मारेँ । उनी निकैबेरपछि फर्किएर आए । तुरुन्तै फेरि गए । आए, फेरि गए । यसरी नै रातभरि ओहोरदोहोर गर्ने हो भने आजको रात काँचै हुने निश्चित थियो । मलाई अर्को रिस पनि थपिन थाल्यो । हैन कस्ता खालका पाहुना हुन् यी ? आँखै नेहरी घिउ र भात घिचे । यस्तो पेट हुनेले किन कोचीकोची खानू नि ? पक्कै पनि सित्तिमा पाएँ भनेर यिनले अन्त पनि ठेलेर आएको हुनुपर्छ । नत्र हाम्रोमा खाएको त भर्खरै हो । यति चाँडै उँधौली, उभौँली त नहुनुपर्ने हो । कुकुरको चाल त हुँदैन नि मान्छेमा ।
विशिष्ट पाहुना ऐया ! ऐया ! गर्दै ट्वाइलेट जाँदै आउँदै गरिरहे । मेरा आँखा कुन बेला जोडिएछन् पत्तै पाइनँ । एकाबिहानै झल्याँस्स बिउँझिएँ । नाकले कस्तो-कस्तो गन्ध भित्र हुल्यो । हैन कस्तो खाले गन्ध हो यो ? गन्ध भने पाहुना भएको कोठातिरबाट आएको थियो । हैन पाहुना त दिनदिनै गन्ध फेर्ने अनौठा प्राणी रहेछन् कि क्या हो ? म त बडो अलमलमा परेँ । गन्ध मरेको मूसाको पनि थिएन । हिजो पाहुनालाई सुँघ्दा आएको जस्तो पनि थिएन । सुगन्ध पनि थिएन, दुर्गन्ध पनि थिएन । यस्तो गन्ध त आजसम्म चाख्नै पाएको थिएन मेरो नाके ओढारले । मिर्मिरे उज्यालो भएपछि यसो चहरबाट चिहाएँ । आश्चर्यको कुरो पाहुना त त्यहाँ थिएनन् । हिजै बेलुकीदेखि ट्वाइलेट जाने बानी गरेका, सायद ट्वाइलेटै गएको अड्कल काटेँ । धेरैबेरसम्म पनि उनी फर्केर नआएकाले ट्वाइलेटतिरै गएर हेरेँ । त्यहाँ पनि थिएनन् । हैन कुलेलम ठोकेछन् कि क्या हो ? मन्द गतिमा पाहुनाको कोठामा प्रवेश गरेँ ।
गन्धको छन्द चरमचुलीमा पुग्न थाल्यो । त्यो मीठो न मीठो, तीतो न तीतो, कस्तो-कस्तो खाले थियो । नाक थुन्न अभ्यस्त भइसकेको म त्यसो गर्दै खाटतिर गएर हेरेँ । मेरी बास्सै ! पाहुना त हिजो बेलुकीको लक्षणअनुसार खाटैमा सुत्केरी पो भएका रहेछन् । त्यसैको आहालमा सिरक र डसना लट्पटिएको थियो । केही खानेकुरा जस्ताको तस्तै थिए भने केही अलिअलि गलेका देखिन्थे । केही पूणर् रुपमा ध्वस्त भएका थिए । बल्ल रहस्य थाहा पाएँ, त्यसैले पो त्यस्तो गन्ध आएको रहेछ ।
त्यत्तिकैमा बा-आमा पनि भित्र छिरे । “धत्तेरिका कहिले कहिले त यस्ता पाहुना पनि आउँदा रहेछन् ।” बाले खेद व्यक्त गरे । “अफिसको भत्ता चुपुक्कै बचाएर अर्काको घरमा फोकटमा खाँदै हिँड्नेलाई यस्तै हुन्छ । त्यही जनताको पसिनाले सरापेको हो ।” यस्तै पुटपुटाउँदै बा बूढाले गुन्द्रीसितै विछ्यौना जरक्कै उचालेर बाहिरतिर लगे । विशिष्ट पाहुना कहिल्यै नदेखेको मैले आजै देखेँ ।
०००
असोज, २०६३
बागलुङ
Subscribe
Login
0 Comments
Oldest










































