ह्यारी- ८०दोषी को ?
हामीले सारथि को खोज्यौँ ? दोषी को ? वापकी वैरी साँध्ने कि ‘सर्वे भवन्तु सुखिनः’ हेर्ने ? कुरा यत्ति हो, भौतिक दरवार पस्ने कि नपस्ने ? कालले निणर्य गर्नुअघि नै गर्नुपर्ने छ निर्णय जुन तपाइँकै हातमा छ ।

ह्यारी- ८० :
कोरोनाको कहरमा कर तिर्दा तिर्दा कन्तुरे बाजे कन्तुर फुटाएर पनि ग्याँस किन्न नसकेर चिसिएको कराइबाट नपाकेको कर्कलाको गानो झिेकर बोव्रmा कोतर्दै कर्यामकर्याम चपाउन बाध्य भएका थिए । सबैलाई काल पनि कहाँ आइहाल्दो रहेछ र ! कालकोठरीमा बसेर कतारे काकीलाई देखाउँदै जुँगामुठे काइँलो कपाकप कुराउनी खाँदो हो तर सोझी कतारे काकीलाई कठैबरा कहिल्यै ‘कालले मलाई लगेन किन होला ?’ भन्दै कोक्किई कोक्किई रोइन् क्यारे । कपटबहादुर कार्की जस्ता काइतेसाहूलाई ऋण बुझाउँदा बुझाउँदा यी कन्तुरे कर्किनीहरूलाई त झन्डै कालले लैजानलाई कसो कोट्याएको थिएन ?
हुन पनि हो, जनतालाई नेता कोक्याए पनि मासुभातले मुख बिटोलेका मतदाताको कामयाव पूरा गरिदिने काँतरेहरूलाई काउसो दलिदिनुपर्छ भन्ने तर चुनाउ आएपछि यिनलाई नै काँधमा बोक्ने प्रवृत्ति कसले पो थाहा नभएको हो र ? कहिलेकाहीँ त के लाग्छ भने मासुभातले मुखमा बुझो लाउन पाएका जनताले पठाएका मयूरप्वाँखे नेताको बुद्धिमा अरेली काँडाले च्वास्स घोचिदिन पाए कस्तो हुन्थ्यो । फकाएर फर्सी जत्रा भएकालाई टिको लाउँदै पठाएकालाई समातेर पाती लाइदिएका नेताले फर्काएर देखाइदिँदा पनि चेत नखुलेको देख्दा भने दुनियाँलाई उदेक लागेको छ । जनतालाई ख्यालख्यालमै खसी पारे पनि यिनीहरू जानीनजानी कुर्सी छोड्दैनन । बल्ल बल्ल पाएको कुर्सीमै बसी बसी पिण्डपानी खाने वाचा घरपरिवारलाई गरिसकेकाले त तैँ चुप मै चुप गरेर बस्ने गरेका छन् ।
होली वाइनले मुख कुल्ला गर्नेहरू र झन्डामा डन्डा घुसारेर बजेट जति भागबण्डा लगाउन खप्पिस कपटी बाहरूलाई धेरैले चोख्याए । ग्वाम्लाङ्ग अँगालो हालेर चतुरेबालाई जोगाउन विदेशी ब्रान्डले होस् वा स्वदेशी तीनपानीले जनताका माझमा गएर भएनभएको विषयमा खोक्नेहरूको जत्था नै सत्तामा पुग्दा केही नपाएकाहरू भुक्नु स्वाभाविकै हो । उता मासुभातले मुख चोख्याएका कठैबरा कण्टकारी बाजेले सधैँ नुनको सोझो गरिरहे । ऋण तिरिरहे मतपत्र बुझाएर । हिजो नसक्नेले जागिर खाने सक्नेले जागिर नखाने भन्ने आहान चलेको थियो । अब त खसोखास भन्ने हो भने आफ्नो मान्छे भएकाले मात्र जागिर खाने हो । झन्डामुनि बस्ने होइन, कुकुर जस्तै मालिकका पछि लागेर लुखुरलुखुर हिँड्न पछि पर्नुहुँदैन । कहिलेकाहीँ त फ्याट्ट मन्त्री, सांसद केही पद पाइयो भने त भइहाल्यो नि । आखिर गर्नुपर्ने केही होइन क्यारे । तवैतारे कुनै मिसन पूरा गर्नुपर्ने भए यसो बहिर निस्क्यो । बस्, छोटकारीमा भन्ने हो भने घरबारसरबार केही नभएकाहरूले दरबारमा पस्ने सूत्र बुझेझैँ गर्ने हो भने कसैको पनि रातारात उन्नति गर्ने कुरा टाढाको विषय होओइन ।
फोस्रा कुरा गर्न कोट लगाएर जाजरकोट गए पनि तेलकोट गए पनि तालीको सट्टा गाली खाएर लुत्रेकान लगाएर आएको देख्नुभएकै छ । यहाँ आएर ठुला कुरा गरेको सुन्ने अनि बुझ पचाउने पनि छन् । कप्टेराले मकै भुट्न नपाएकाहरू, हेलिकोप्टरको छायासम्म देख्न नपाएकाहरू आज राहतका ठाउँमा आहत दिएर समाचार छ्याप्छ्याप्ती भराउँदै छन् । जटिल परिस्थितिमा सक्कली र नक्कली चिन्न र चिनाउन चिना बोकेर हिँडेका चिनाजी, ऋणको भारले थिचिएर मर्न हिँडेका रिनाजी, भोकले रन्थिनिँदै हिँडेका भोकाकुल, बाकसको लासलाई शोकामग्न शोकाकुल अनि व्यवसाय गर्दा टाट्नामा टाट पल्टेका टङ्कजीको टङ्चिँदाको मर्म नबुझ्ने झोलेका मालिकहरूले फतुरे काकालाई कहिले दलानमा र कहिले ढलानमा पाहा पछारेझैँ पछारिरहे, लछारिरहे अनि आफू सेटिङमा जितिरहे अनि मुलासनेका वरिपरि भन्किरहे ।
जुम्साहरूले लुम्साहरूलाई कुर्सीमा राखेर धुन्सातिर जान छोडेर विदेशतिर बुर्कुसी मार्दै भ्रमण भत्ता, दैनिक भत्ता र लत्ता खान र खुवाउन पल्केकाहरूले खेताला राख्तै आफू विदेशमा सयर गर्न थालेका यथेष्ट प्रमाण हुँदा हुँदै पनि हजार हजारका बिटाले सिटा हानेझैँ हानिदिँदा तैँ चुप मै चुप भएको यथार्थ सबैमा जगजाहेर छ । अस्ति दरबार बस्नेको घरबार बन्यो, हिजो दरबार पस्नेको घरबार भत्क्यो आज दरबारमा पसेकाहरूले तरबार निकालेर रङ्गमञ्चमा खबरदार भनिरहेका देख्ता हामी प्रेक्षार्थीहरू अलमलमा परिरहेका छौँ भनेर पुरीकान्त भन्दै थिए । जसले पुरी दियो त्यतै ढल्कने यी पुरीकान्त बाजेले पनि कहाँ सुख पाए र ? भकुन्डे लात्ती खाएकोखाएकै छन् । हुन त सुकुम्बासी बनेर भएको महल भाडामा लगाई टहरामा बसेर गुन्द्रुक र ढिँडाका स्वादमा लरबरिएका अनि खुसार्नीबारीमा बसाइँ सरेर आएका खरीबोटे खयरगोलीले खरानीमा लुगा पकाएर खोलामा गई मुङ्ग्राले पिट्दै लुगा धोएको अस्ति जस्तो लाग्छ ।
समय न हो जनताले काँधमा बोकेर केही होला कि भन्दै खरीले लेख्दै पढेका खरीबोटका खपटे ठाहिँलाले अब ख्वाङख्वाङ खोक्दै ओरालो झरेको चार वर्ष भएको थिएन, समानुपातिकमा नाम पड्काएर उनले त्यही खरीले पढाउने खैराँते मास्टर सा’बलाई खसालेर खिसीट्युरी गर्ने पात्र बनाइदिए । आज भ्यागुताको धार्नी नपुगेजस्तो गरेर खल्वाट खैराँते मास्टरका कक्षा छोडेर सडक छाप हुँदा हुँदा आफैँ खल्वाट बने । आखिर के पाए यिनले ? औँठा छापेलाई स्यालुट हान्नुपर्ने बनाएर जनार्दन बन्न पुगेका हाम्रा गलफदी गर्न निपुण गँगटे राइँलो हाम्रै भोटले अहिले नोट गन्न भ्याइनभ्याइ अवस्थामा पुग्दा जनप्रतिनिधिको पगरी गुँथेर गलफुलो फुलाएर बसेका देख्दा कुन साधारण मान्छेको मन दुख्तैन र ?
कुम उचाल्दै हाते कैँचीको धार लगाएर धेरै कुखुराको बली चढाएका हाम्रा मसानघाटे अन्तरे वैद्यलाई रखवारी गर्दागर्दै आज चौबाटो तातेको छ, शक्तिको उन्मातले मातेको छ । चोक र गल्ली सेलाउन नपाउँदै फेरि मूल सडकमा यो र त्योका बहानामा सिसा फुट्न थालेका छन् । तरवारको धारमा आफूलाई राखेर साँढे जुधाए, कुकुरलाई तालिम दिए, गधालाई धोए, भ्यागुतोको धार्नी पुर्याउन खोजे । तर गाँठी कुरोको चुरो जिउँका तिउँ छ । तपाईँलाई, मलाई र उसलाई थाहा छ कि कन्तुरे काका पनि ज्यउडाकाट छन् । होइन धार्नी त अरूको पनि पुग्दैन, खालि भ्यागुताकै धार्नी किने पुर्याउन पर्यो ? जेको धार्नी पुग्छ त्यसलाई प्रयोग गरे भइहाल्यो । निणर्ायक बनेका वेला धार्नी न बिसौलीको टोपी पनि त छ । टोपी जुनसुकै बेला लगाइँदैन । टोपीका कुरा गहिरिएर पछि गरुँला अहिले कपटानन्द कर्कटापाध्याको पनि कुरो छ । कुरो लम्ब्याउने त हाम्रो पुख्र्यौली संस्कृति नै हो ।
कपटानन्द कर्कटापाध्याले ‘मेरो काम गरिदिनुभयो त हजुर’ भन्न नपाई कारिन्दाले ज्या, भुसुक्कै बिर्सेछु, अब एक दुई दिनपछि भने । भैरव अर्याललाई त पर्खाएर राखेकाले पख्नोस् निबन्धै लेख्न पुगेका थिए मजस्ताको कुरा गर्नु कुरै खेर जानु हो । … सकेपछि दैलो देखेर हुन्छ त ? एक दुई दिनमा भइहाल्छ भनेकै सात वर्ष भइसकेछ । कुरा मात्र गर्ने विषय विधानको, विकासको, निर्मलाको, रोजगारको, पहिचान आदि विषयको कति छन् विषय कति ? थाहा छ त तपाईँलाई, केहीले नयाँ बोतलको पुरानो रक्सी बनेर आफू अमृत हुँ भन्दै दुर्गन्ध फैलाउन छोडेको छैनन् । नचाहेर पनि फतुरे काकाहरूले सुुँघिरहनुपरेको छ, सुनिरहनुपरेको छ, फतरफतर गरेका गन्हाउने मुखका दुर्गन्धित कुरा । जनताले जति ट्वारट्वार गरे पनि कहिल्यै भ्यागुताको धार्नी पुगेन सधैँ राज रही नै रह्यो साँढेहरूको । बल मिचकोमिच्यै छन् यिनले । जनतालाई दाइँ गरेर आफू मोटाएकाहरूको ठुलो स्वरलाई कसले नियन्त्रण गरेको छ र ? खुसुक्क भन्ने हो मोटाउने भन्दा मोटाउन दिने मतियारको खोट बढी छ ।
पालुवाटारको अगाडि नै साइलेन्सरबाट बन्दुक पड्काएझैँ आवाजमा हुइँक्याइएका बाइकहरूलाई बिल्लाधारीहरूले सुनेका छैनन् । पालुवाटार त अहिले मोटरसाइकलको एक्सिलेटर बटार क्षेत्र भएको छ । भगवान्का नाममा निद्रा हराम गर्ने भजनमण्डलीका माइकहरू भी आर बुलेट बाइकभन्दा कम छन् र ? पार्टीमा घन्केका बाजाहरू, नाचमा उरालिएका वाद्यवादन अनि फलामका चिउरा अरूलाई चपाउन लगाएर आफू चाहिँ रसवरी निल्न सकिएन केहीसँग चोब्न पाए हुन्थ्यो भन्ने चप्पलपड्के साहूका कहानी सुन्दै बसेका फतुरे काकालाई चन्दा बटुलेको थाहा भयो तर बाँडेनन् भनको सुन्दा सुन्दा कानै टट्याइसक्यो । दश ठाउँमा ठक्कर पाएका ठाकुर दादा आज ठिमाहा छोराको चिनाटिपन लिएर नागरिकताका बनाउनका लागि चिना बोकेर कार्यालयका ढोकामा बिटा लिएर पुगेको देख्ता उनी लाजले शिर निहारउँछन् र भन्छन्, कति शक्तिशाली छिन् कान्छी नानी । दुहुनु गाईझैँ भएको छ बिचौलियाहरूलाई ।
धन्य छ बिचौलियाहरू जसले ने मुनिले पालन गरेको यो देशाँ जति महङ्गी भए पनि किनेर खान सक्ने भएकै छन् क्यारे । यो जति धनी देश अरु कुनै हुन सक्छ र ? आखिर खुसामदमा किनिएको पद र प्रतिष्ठा खुटी हेर्दै चाल पाइन्छ भन्नेहरूले नेपालीको नारी छामेका छन् नै । यहाँ प्राकृतिक स्रोत र साधनको छेतोखेलो छँदै छ क्यारे । यिनको प्रयोगमा डाडुपन्यूँ आफ्नै ठान्नेहरूले कुम्ल्याउनसम्म कुम्ल्याउन पाएकै छन् । बाहिरका भतुवालाई त पोसेका छन् यिनले । विदेशका खोपामा लुकाएका काला पोकाहरू कसले खोतल्ने ?
कसैले सुँघ्नै नपाउने कसैले सबै घोप्ट्याउन पाउने अवस्था सिर्जना कसले गरेको हो, कुन वादीले कसलाई के भने यो फतुरे काकाको सरोकारको विषय होइन, आखिर मोही माग्ने ढुङ्ग्रो लुकाउने कसरी हुन सक्छ र ? खोजेकै कुरो के हो भने एक छाक खान, एक सरो लाउन अनि ओत लाग्न बास खोजेका हुन् । बिरामी हुँदा सामान्य उपचार खोजेका हुन् । कसैलाई च्यापुसम्म आउने गरी कसैलाई हरितन्नमको अवस्था हुनु सतीको श्राप नभए के हो भन्नेका मुखमा बुजो लगाउने वेला भएन र भन्या ? लगामविनाको घोडा बनेको भूमि खोज्न कतै जानु परोइन । हामीले सारथि को खोज्यौँ ? दोषी को ? वापकी वैरी साँध्ने कि ‘सर्वे भवन्तु सुखिनः’ हेर्ने ? कुरा यत्ति हो, भौतिक दरवार पस्ने कि नपस्ने ? कालले निणर्य गर्नुअघि नै गर्नुपर्ने छ निर्णय जुन तपाइँकै हातमा छ ।
०००
२०८० /०८ /१६ गते
गोकर्णेश्वर- ५, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest











































