ह्यारी- ८०ज्वाइँको च्वाइँ
जुँगाको लडाइँ गर्नेहरूले चौरासी गर्न छोडेर चौरासी आओस् अनि घरज्वाइँहरूले दुःखबाट मुक्ति पाउने छन् भन्दै अलापिरहेका छन् । जे आए पनि आखिर पानीआन्द्रे घरज्वाइँको च्वाइँ हुन्छ हुन्छ ।

ह्यारी- ८० :
घरज्वाइँ बसेका फतौरे काकाका ज्वाइँको पनि ज्वाइँलाई टोलभरिका मान्छेले पानीआन्द्रे घरज्वाइँ भनेर चिन्दथे । पानीआन्द्रे पनि किन नभनुन् भन्या, सम्धीदेखि ससुरासम्म, स्वास्नीदेखि सालाका स्वास्नीसम्मका बोली त के छाया देखे पनि डराउने डरछेरुवा कातरै थिए पानीआन्द्रे ज्वाइँ । यस्ता पानीमरुवा श्रीमान् भएर पनि घरज्वाइँ राख्न सकेकाकामा गर्व गर्ने पानीपेटे पत्नीलाई चाहिँ अर्कै विषयको पिरलो थियो । पत्नीका पेटमा चाहिनेभन्दा बढी पानी जम्मा भएकाले पत्नीलाई चाहिँ पानीपेटे जोई, पोइ न सोइ त्यसका सन्तान खोइ, भनेर जिस्काउँथे रे । त्यही भएर पानीआन्द्रे घरज्वाइँकीले भुँडी बोक्न नसकेकी हो भनेर कुरा काट्नेले कति काटे कति !
चुनाउका वेला बरु विपक्षी उमेदवारका कुरा त्यति नकाट्लान् नेताले त्यति कुरा काटेका छन् घरज्वाइँको । कुरा कटाइका व्रmममा महिला समूहकी एक शिक्षिताले गाउँभरि तातो कराईको तातै तेलजस्ती पानीपेटेले गर्दा ज्वाइँ नजिकै जान सक्दैनन् र ज्वाइँ आए भने च्वाइँ पारिदिन्छु भनेर थर्कमान बनाएकी छन् रे भन्दै झ्याली पिट्तै हिँडेकी छन् भन्ने सुनिएको पनि छ ।
पानी लिन जाँदा पँधेरामा हेपाइ सहनुपर्ने घरज्वाइँको त जिन्दगी नै गलेर पानी पानी भएको छ । धनी भएकाले सुख पाइन्छ भनी हुइँकिएका ज्वाइँले यतातिर स्वतन्त्र जीवन जिउनु त कता हो कता भनेका बेला पानी पिउन मात्र पाएको भए पनि केही थिएन । काठमाडौँवासीले काकाकुल बनेर बोतलको पानीका भरमा जिन्दगी गुजारे । यिनले ससुरालीमा पानीधरी आफूले नओसारी तिर्खा मेट्न पाएनन् । पानी जिन्दगानी भनेर पानीको जति नै बखान गरे पनि यी घरज्वाइँलाई भने यही पानीले कति अरूलाई पिरेको छ वणर्न गरेरै साध्यै छैन । कोशी ब्यारेजको पानी, गण्डक बाँधको पानी, शारदा, टनकपुर र पञ्चेश्वरको पानी, महाकालीको पानीले कतिलाई के पिरेको होला र यिनलाई त्यति पिरेको ससुरालीको पानीले । घरज्वाइँलाई जस्तै स्वाभिमानीदेखि अभिमानीसम्मलाई गिजोलेको छ भन्ने कुरा कि यही पानीलाई थाहा छ कि त्यहाँ सम्झौता गर्न जानेलाई थाहा छ ।
पानीको महत्त्व आयुर्वेदमा प्रयोग हुने पानीअमलादेखि लिएर पानीसरोसम्मको विषयको बखान विचरा यी पानीआन्द्रेलाई के थाहा छ र ! जसले जे अह्रायो त्यही गरेर सास धान्न जोइटिङ्ग्रे बनेर बसेका पानीआन्द्रेको कथा लाहुर पसेको खाडीको बुर्कमानको छोराले भोगेको सास्तीसँग तुलना गर्न पर्ला र ? ससुरालीमा तिर्खा लागेर पानी पिउन माग्दासमेत पानीजुको बनेर चुस्न पल्केका सालासालीहरूले भिनाजुलाई पानीपँधेरो मात्र गर्न लगाएनन् पानी पनि पिउन दिएनन् । भिनाजुपट्टिका नसनाताकालाई युक्रेनतिर, रस्सातिर कि पढ्न कि लड्न पठाएका छन् रे भन्ने कुरा तथ्याङ्कैले बोल्दछ । पानीघाटमा घन्टौँ कुराउनेदेखि पानीघट्टमा पिठो पिँध्न पठाएर पान चबाएर बस्ने सालाका छोरोले समेत ससम्मान हेपेको अवस्था समयपीडा नै हो पानीआन्द्रे ज्वाइँलाई ।
पानीओद अर्थात् पानीबिरालो बनेका ती महासालाहरूले पानीआन्द्रे ज्वाइँलाई पँधेरातिर पठाई मुसालाई खेलाई खेलाई ज्यानै लिउँलाझैँ गरेर सताएको हिजोजस्तो लाग्छ । पानीकलमा पानी लिन जाँदा पानी नआएर बिल मात्रै तिरेर आउन हिँडेका बेला पनि सहस्र काम अह्राउने तर पानीफल त के पानी पिउन पनि नदिने पानीआन्द्रेकी श्रीमतीले पनि नारी अधिकारका नाममा मिल्ने भए पानीपुरी बनाएरै खान्थिन् होला पतिपरमेश्वरलाई । पतिलाई पतिजस्तै नठान्नेले पतिलाई किन ग्रहण गर्नु पनि भन्थिन् रे कुरामा कुरा चल्दा ।
पानीरङले पोत्दापोत्दै बिग्रेको अमूर्त तस्बिरजस्तो जिन्दगी बोकेर पानीघरमा गएर पनि तिर्खा मेट्न नपाएको पानीआन्द्रेको पीडा उनी आफैँले बोध गर्नसमेत भ्याएका थिएनन् । उनको जीवनलाई कसैकसैले नारकीय जीवन भोगिरहेकी नेपाली चेलीझैँ पानीढलमा भाग्यरेखा कोरिएको व्यक्तिसँग तुलना नगरेका होइनन् । हुन त अरूले भाग्यमा सुख बर्साइदिन्छु भनेर मात्र कहाँ हुँदो रहेछ र, पानीढलोजस्तो जिन्दगी भएपछि सुखरूपी पानीकै आहाल कहाँ सम्भव हुन्छ र ?
पानीरुखजस्तो बटारिएर अर्काको आडमा लहरिने अवस्था आएकाले रिस खा आफू बुद्धि खा अर्को भएपछि कसको के लाग्छ र ? पानी चरीले पानीमा गोता खाएझैँ सधैँ घरलाई लत्याएर ससुरालीमा बसेका हाम्रा बडेमाका नेतृका नेताजस्ता पानीमरुवा ज्वाइँले पानीकागले जलाशयका नजिकमा ढुकेर शरणमा आएका किरा खोजेर खाएजस्तो जस्तो शरणार्थी खोज्दै क्वाप्लाक्क क्वाप्लाक्क हसुरेका देखेर पनि यिनले टुलुटुलु हेरिरहेको यी फाटेका कानले सुन्न नपरेको भए क्या मजा हुन्थ्यो । पानीकाठजस्तो हलुका बनेर सुरुसुरुमा चप्पल पड्काउँदै काठमाडौँ आएको पट्ठोले घरबेटीकीलाई आँखा मर्काएर पानी पिउने बहाना गर्दै कि सम्बन्ध जोड कि पानीहटक बनाइन्छ भन्दै अत्तो थाप्दै जोडी बनाइहाले । अहिले पाइन देख्तै छन् पानीआन्द्रे ज्वाइँसाहेब । कतिले यिनलाई पानी बाहेक गरका छन् । परिवारबाटै बहिष्कार गरेर दुःख झेलेर बसे पनि कुर्सीप्रिय बनेका छोटे महाराजलाई गतिलो ठाउँमा भेटाउँदा भने त्यही व्यक्ति पानी चल्ने अमृत बन्यो, पानीजुह अर्थात् मच्छिन्द्रनाथको पुजारीझैँ बन्यो । कसैलाई यही पानीआन्द्रे ज्वाइँ पानीलहरो नै बने । कसैलाई पानीलुँडे बने भने कसैका निम्ति पानीशालाको रजगज गर्ने पानीहाँस नै बनेको पनि पाइयो ।
पानीबहुलाजस्तो किरो बनेर ज्वाइँलाई खिसीट्युरी गरिरहने ससुरालीका सन्तानले पानीबिउ राखेजस्तो गरी ज्वाइँलाई ब्याडै बनाएर राखे र अहिले ज्वाइँ पाल्ने नाममा हिलोमै दबाउने, उखेलेर फाल्ने र हिलोमा पछार्ने गरेको देखिन्छ । पानीबेतजस्तो ससुरालीकै सेरोफेरोमा बस्ने यी ज्वाइँजस्ता अरू पनि छन् भन्दा यी ज्वाइँ अचम्मित हुन्छन् । पानीसाँपजस्ताका वरपर ज्वाइँलाई दैनिकी धान्न कति गारो छ भन्ने कुरा पानीजहाज चढाउँछु भनेर गुड्डी हाँक्ने टुरिस्टलाई के थाहा हुन्छ र ? पानीको पाहाले सधैँ आहा भन्दै पानीकिरा पव्रmेझैँ गाउँका सोझासाझा ठिटाहरूलाई आफ्नो मुठीमा पारेर राजनीति गरी ढलीमली गर्दै सबै लुड्याउन खप्पिस कन्या घरबेटीहरूले सबै डाडुपनिउँ आफ्नो हातमा राखेर भान्छेका नाममा आफैँ हसुरिरहेका छन् । पानीदुबोझैँ मौलाएका यी कन्याहरू धेरै सन्तानका आमा बनिसक्दा पनि गाउँलेलाई अपरिचित झैँ लाग्दछन् ।
कुर्सीमा पानीआन्द्रे बसेकै दिन फुत्त औतारी आएझैँ पत्नी बनेर आगमन भएकी कोठेरानी राष्ट्रसेवक र समाजसेवी बनेर आउने गरेको चाल फतौरे काकालगायतकाले बुझिसकेका थिए । कतिको सपना पानीफोकोझैँ प्याट्ट फुट्थ्यो र निकै समयसम्म दुखाउँथ्यो पनि । यसरी अलिकति कमजोर भए भन्दैमा पानीमुनि गए पनि नछोड्ने भनेर पानीखेदो गर्नुहुन्छ त यी घरज्वाइँलाई ? कतिपयलाई त चुनाउमा लज्जास्पद हार हुँदा पनि हालीमुहाली गर्न दिएकै छ, होइन र ? होइन यस्तो संस्कार यो घरमा किन नभएको होला भनेर गाइँगुइँ त गाउँमा भएकै छ तर पनि पानीहारी पानीआन्द्रे घरज्वाइँकै पक्षमा कसले बोल्ने ? चरोमुसो कोही बोलेनन् । पानीभालुको कन्पटजस्तो भयो यिनको पत्नीसँगको सुखद मिलन पनि । पानी बारबार भयो रे ? पानीपालो बसेझैँ कति कन्या मेरो पालो आउँछ भन्दै कुरेर बसेका थिए बिहाका लागि । होला नि राम्रै भनेर एउटा पानीपखाले लमीको विश्वासमा लागेर पिरती गाँसिहाले घरका पितामाताको कुरा लङ्घारेर ।
अहिले पानीठिङे चराले माछा आउँछ कि भनेर कयौँ दिन कुरेजस्तै भाग्य सप्रने दिन कुरेर बसेका छन् यी घरज्वाइँ । आखिर पानीघोडाले न लडाइँमा जान पायो न घोडसवारीमा मानिसलाई सहयोग गर्न नै । ठिक त्यसरी नै यिनले न ससुरालीको मेजमानीको स्वाद चाख्न पाए न त स्वतन्त्रता । हुँदा हुँदा मौका परे चुनाउमा उठ्नुपर्ला भनी गाउँमा पानीपतियाका लागि पानी बोकेर लगिदिए, बाटामा बसेर तिर्खाएका बटुवालाई पानी बाँडे । आखिर यिनलाई हातमा लाग्योे शून्य । व्यवस्था फेरियो अवस्था फेरिएन पानीआन्द्रे घरज्वाइँको ।
आवश्यक पर्नेलाई पानीमहुवा खोजेर ल्याइदिने, पानीअमला ल्याइदिने, रानीपोखरीदेखि पानीपोखरीसम्म जहाँ भने पनि गइदिने काम गरे । ससुरालीका सातपुस्तासम्मकालाई पानीखटिरा आए निचोरिदिने काम गरेनन् कि, सिमसारमा गएर पानीकरेलो ल्याइदिएनन् कि, पानीपरेवा, पानीढुकुर र पानीकुखुरा तारेर तिनका ससुरालीका नातेदारका सुत्केरीलाई स्वाद चखाएनन् कि, के चाहिँ गरेनन् यी घरज्वाइँले ।
आखिर पानीझ्याउलाई माछाले खाएझैँ ससुरालीले यिनलाई खाइरहे र यिनी आफूलाई पानीमरुवा बनी सक्दै गइरहे । यसरी जिन्दगी जिएर बस्नुभन्दा त डाडुमै पानी तताएर मरेको भए नि बेस हुन्थ्यो होला भन्नेहरूलाई यिनले म पानीसुँगुर होइन, पानीबट्टाई पनि होइन, म यहाँ पानी छल्न आएको नि होइन, तिमीहरूजस्तो पानी चढ्या आलु होइन म । एक दिन म पनि फेरि चुनाउमा उठेर जितेरै छोड्छु । हारेँ भनेँ समानुपातिकबाट भए पनि आएर यो देशको सेवा गर्छु बुझ्यौ भन्दै मुखभरिको पानीजोखना जवाफ दिन्थे पानीआन्द्रे घरज्वाइँ । बाग्मती आयो तर सुधारिएको ढल हालेर आयो, मेलम्चीको पानी आयो, दुई दिन आएर चखायो, खै के बगाउँदै आयो ।
जुँगाको लडाइँ गर्नेहरूले चौरासी गर्न छोडेर चौरासी आओस् अनि घरज्वाइँहरूले दुःखबाट मुक्ति पाउने छन् भन्दै अलापिरहेका छन् । जे आए पनि आखिर पानीआन्द्रे घरज्वाइँको च्वाइँ हुन्छ हुन्छ ।
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८० /०८/३० बुधबार
Subscribe
Login
0 Comments
Oldest












































