चूडामणि रेग्मीफोस्रा गफहरूको सङ्कलन र गाली
अर्काको लिखाजस्तो गल्तीलाई राँगो देखिन्छ, आफ्नो ढाडी जस्तो गल्तीलाई शून्य देखिन्छ- आजको प्रवृत्ति । गफडी सदा भन्छ-ए बाबै हो ! गुटफुट छाड, एक विचारले अघि बढ । यस्ता फोस्रा गफको शीर्षक यहाँ बन्दैन ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
खाल्टाको कुरा
मेची-देउनियाँ स्यानो खाल्टो हो । यसका कुरा छाडेर ठुलो खाल्टाको कुरा गरूँ । नाटक लेख्ने बालकृष्ण सम (लाख रुप्पे पुरस्कार पड्काउने ।) ले नेपाल खाल्टोमा जम्मै थोक छ भनेका थिए, रहेछ । हाल त्यहाँ पनि बेलुका भएपछि बत्ती जाँदोरहेछ । सिमेन्टीको पुरै हाहाकार त डिजेल पाउन गाडीको लाइन । अरु थोक त ठुलै भए- तुन सुन भएछ ! यस्तो हुँदा पनि पत्रपत्रिका बाल तथाकथित कराउँदा रहेछन् । सबैको हेर्यो-टेलिफोन, बिल्डिङ, राम्रा लुगा र अघि बढ्ने धुन । यस्तै खाल्डाका प्रभावमा हाम्रा साना खाल्टा पनि र छन् भन्ने कुरा गफडी सोच्छ ।
गफको जुग
गफडीलाई कतिले ठग भने, कतिले शिखण्डी, कतिले शोषक, कतिले पण्डा, कतिले गुप्तचर, कतिले डेढा ब्याज खाने, कतिले कामरेड, कतिले सामन्ती, यसो विचार गर्दा गफडी सबै थोक पो रहेछ ! धनी पनि, कुट्ने पनि, कुटिने पनि । बाफरे बाफ ! गफडी मात्र गफडी भन्या त गफडीभन्दा महागफडी पनि यहीँ हुँदारहेछन् । कलमको टुँडो ख्याएर, सर्टिफिकेटका डसना ओछ्याएर, सोर घण्टा खट्ने व्यक्ति ठग रे- जम्मै रे ! धन्यका गफडीका आलोचक । तर गफडीले गफको पिँध बुझेको छ । बोतल लगाएका वेला खुब कुरा फुर्छन् । चार जना सिल्ली मिले भने सय कुरा फुर्छन्, साधारण ! कहाँ हजुर ! पत्र-पत्रिकाका पाता पढ्नुहोस्- सब शोषकका विरोधी, भ्रष्टाचारका विरोधी ! भरे गुजारा भने गुप्तधन खाएर ऐश गर्ने । शोषित पक्ष र फुक्का खोज्ने थुप्रै वास्तविक शोषक र भाँड यहाँ थुप्रै देखिन्छन् ! हन जुग नै गफको न भयो । अनि त पर्नु हो । गफडीलाई पनि त सो हावाले भेटेको छ । चस्मा ढल्काएपछि र एक कप चिया सुर्काएर ठाँट-बाँट पाएर कसैको पुच्छरीभूत व्यक्तित्व भएपछि जय गाली ! जय फोस्रा गफ !
तीन पाता गाली !
यहाँ जस्तासुकै सिनेमा चल्दैनन् । यसैले हाहा-हुहु र ढिसिम-ढिसिम भएका, ठुला डाका र स्मगलर भएका सिनेमा चल्ने आजको यो जुग हो । दारासिंङे र गब्बरसिंङे डायलग खुब चल्छ अचेल ! यस्तै गाली पनि एक-दुई अनुच्छेदका रचनात्मक कोही हेर्दैनन् भने गालीमास्टरहरू घटीमा तिन पाता गाली गरी ‘गालीमास्टर-शिरोमणि’ हुने बेला गफडीका फोस्रा गफ पर्नु हो । कसले सुनिदेला । तर पनि लोभ, कठै ! विचरा नै हुँदोरहेछ ! यहाँ आफैमाथि माया लाग्छ ।
घुँडाबाट आँसु !
फोस्रा गफको प्रसङ्ग चल्यो त यसैबारे केही भनूँ । एउटा हात्तीका पछि केही भुसुना कुदेछन्- विचरा हात्तीको घुँडावाट बरर आँसु आएछ रे । अनि त गफडी विचार गर्छ- कतिपय पेपिँधका लोटाहरू जब गफडीका निम्ति पनि भुसुना हुन खोज्छन्- त्यतिखेर गफडीका पनि घुँडावाट बररर आँसु खस्छन् । गफडीलाई ठ्याक्कै आठ घण्टामात्र निद्रा लाग्छ र खान भने निम्ठो माना मात्र रुच्छ ।
पातमा पात ! बातमा बात !
यहाँ सुन्ने फुर्सत कसैलाई छैन भन्दा कमैलाई होला । जिउँदा शहिददेखि के- केसम्मलाई इज्जत, भुँडी, बिल्डिङको फिक्री छ । अनुशासन स्कुलमा पढाइने पुस्तकमा छ । पुस्तक पल्टाएर परीक्षा दिलाउन नपाउने अभिभावक शिक्षामा दोष देख्छ । भएको राम्रो बिगार्न पाए यहाँ खुब गर्यौ भन्ने धेरै भए । काला धन सोहोर्न यहाँ जसलाई जे भने पनि र जे पायो उही गरे पनि भएको छ । पातमा पात भए झै बातमा बात गर्छु- भारतको जनतापार्टी जुधेको दृश्य पढ्ने आजको नेपाली पाठक ‘गुट र फुट’ निकै गर्न थालेका छन् । सभापति एक थोक र प्रधानपञ्च एक थोक भन्न लाज पचाउन छाडेर एउटा अखबार एक थोक, अर्को अखबार एक थोक भनी बर्बराउन थाल्ने । अर्काको लिखाजस्तो गल्तीलाई राँगो देखिन्छ, आफ्नो ढाडी जस्तो गल्तीलाई शून्य देखिन्छ- आजको प्रवृत्ति । गफडी सदा भन्छ-ए बाबै हो ! गुटफुट छाड, एक विचारले अघि बढ । यस्ता फोस्रा गफको शीर्षक यहाँ बन्दैन । जय नेपाल ! सधन्यवाद आजलाई यति । आगे फेरि ।
०००
युगज्ञान वर्ष १०, अङ्क १८, २०३५
झापा
Subscribe
Login
0 Comments
Oldest







































