लक्ष्मीप्रसाद फुयालबुख्याँचाको आतङ्क
बुख्याँचा हुनुको परिचय पनि त दिनुपर्छ जब; रैथाने चराहरूले वेगिलो उडान भर्छन् बुख्याँचाका आवरु उतार्दै शिरमा पिच्च बिष्ट्याएर लामो यात्रा गर्छन्।
लक्ष्मीप्रसाद फुयाल :

जब हुन्छ कतैबाट हावाले स्पर्श
तब;
बुख्याँचाहरू
बिस्तारै बिस्तारै सुसाउन थाल्छन्
हावाको बेग तेज भएसँगै
बेस्सरी फड्फडाउँछन्
मानौँ
ज्वालामुखी नै बर्षाउनेछन्
कसैका निर्देशन अनुसार
निशाचर झैं
फड्फडाउनु तिनको धर्म हो
रुपरङ्ग फेर्नु झनैं बाध्यता हो
किनकि ती ! मात्रै बुख्याँचा न हुन्।
जब;
अचेतन बुख्याँचामा
कतैबाट चेतनाको हावा भरिन्छ
तब;
चैतन्य बनेको स्वाङ पार्नु
आफ्नो अस्तित्व जोगाउन
तिनको ठुलो विवशता हो
जबसम्म कोही आतङ्कित भैरहन्छन्
तबसम्म आतङ्क मच्चाइरहनु
बुख्याँचाको परमधर्म हो।
स्वाभाविकै पनि त हो
लामो यात्राका पंक्षी आतङ्कित हुनु
नव आगन्तुक चरालाई त्राहिमाम पार्नु
बुख्याँचा हुनुको परिचय पनि त दिनुपर्छ
जब;
रैथाने चराहरूले वेगिलो उडान भर्छन्
बुख्याँचाका आवरु उतार्दै
शिरमा पिच्च बिष्ट्याएर लामो यात्रा गर्छन्।।
०००
२०८० – ९ – ५
पथरी शनिश्चरे, मोरङ
Subscribe
Login
0 Comments
Oldest





































