होम सुवेदीहरि ॐ सत्ता सह नौ भुनक्तु
सत्ताको समय सकिने बित्तिकै विद्यालयमा कक्षाको अवधि सकिएजस्तै सिंहदरबारमा घन्टी ठोक्नुपर्छ । घन्टी ठोक्नासाथ पुरानोले कुर्सीबाट जुरुक्क उठिदिनुपर्छ । नयाँले थपक्क बस्न पाउनु पर्छ । समय बित्ला भनेर अघिदेखि नै अर्को पार्टीको प्रधानमन्त्रीको पात्र उसको हाँडाचिन्डासहित तयार भइरहनुपर्छ ।

होम सुवेदी :
‘होइन केको प्रवचन हो ?’ खबर कागत पढेर एक्लै भुत्भुताइरहेको जुँगे बालाई मैले सोधेँ ।
उनी जे कुरामा पनि एक्लै भुत्भुताउँछन् । अहिले पनि भुत्भुताइ रहेका छन् । ‘हेर न नानी भारतको उत्तरप्रदेशकी एउटी मुख्यमन्त्रीले सत्तालाई छ छ महिनाका लागि बाँडीचुँडी गरी खाने योजना अघि सारिछिन् । कस्ती बाठी !’ उनले मलाई भने र आफैँ फेरि फत्फताउन थाले । फत्फाउन थालेको बेला कसैले उनलाई चलाइदिनु हुन्न उनको एकाग्रतालाई बिथोलिदिनुुहुन्न । यही बुझेर म चुप लागेर बस्तै बरू सुन्नु नै पो पर्यो भन्ने लागेर उनको एकाग्रतालाई भङ्ग नगरी सुन्न थालेँ । उनी बोल्दै गए धारावाहिक रूपमा एक्लै । म सुन्दै गएँ ।
– ‘आजभोलिको विश्वमा राजनीतिको जाँड भक्भकी पाकिरहेको छ । यो जाँड खान पल्केका जँड्याहाहरूको लडाइँ छ । व्यक्तिव्यक्तिको जुधाइ छ । सत्तामा पुगेर सत्ताको खिचडी पाउने लोभमा ठुलाठुला वितण्डा चलेका छन् । जनताहरू तिनका नेताहरूका लागि चुनाबको रूपमा जाँड पारिदिन्छन् । हामी जाँड पकाइदिन्छौं । जनताहरू खिचडी पकाइदिन्छन् पस्किदिन्छन्, नेताहरू राजनीति रूपी जाँड त्यो खिचडीका साथमा सत्तामा बसेर लपालपी लतारिरहेका छन् । तर जनतालाई सेकुवाका रूपमा सेकिरहेका छन् । यिनले गर्ने राजनीतिलाई भाङ्लो भन्दा पनि भयो । त्यस भाङ्लोले मानौँ दुनियाँलाई भेडो तुल्याएको छ । त्यो भाङ्लो भिर्नेहरूले दुनियाँलाई आतङ्कित पारेर अर्कैतिर भुल्याएको छ ।
यस्तो राजनीतिक जँड्याहाहरूको आतङ्कको बेलामा कतैबाट जिउ जोगाउने प्रयत्न भएको देखियो भने त्यसलाई स्वाभाविकै मान्नुपर्छ । विश्वभरि राजनीतिक जाँडले मातेका साँढेहरूको हाहाकार भएको यो बेला ती जँड्याहाहरूलाई कतैबाट कसैले सत्मार्ग देखाउन आँँट गर्छ भने त्यसलाई स्वीकार्नु पनि पर्छ । विश्वभरिका जनतालाई जँड्याहाहरूका हाहाकारका यस आतङ्कले आजित पारेको अवस्थामा आजित भएका दुनियाँलाई विश्वका कुनै कुनाबट आशाको दीयो बल्यो भने त्यसतिर जँड्याहाहरूबाट पीडित आशावादीहरूको ध्यान स्वभावतः जान्छ नै । अनि मेरो ध्यान किन नजाओस् त !’
अब बूढाको गनथनको कुरा छाडेर म आफैँ पनि पो तर्कप्रतितर्क गर्न लागेँ । विशेष गरी हाम्रो देशमा र यसका छेउछाउमा सत्ताको जाँड खाएकाहरूले केही वर्ष यता ठुलो वितण्डा नै गरिरहेका छन् । हाम्रै देशमा र हाम्रा देशका पूर्वपश्चिम उत्तरदक्षिण दिशातिरका मुलुकमा सत्ता छिनाछिनका होडबाजी उपध्रोसँग फस्टाएको छ । अन्यत्रकै विश्वमा पनि यस व्याधिले ठूलो भूकम्प ल्याएको छ । मानौँ सत्ताको दाबेदार भनेका ती मुन्द्रे वा कुन्डलेहरू हुन् जो एक चुट्की चरेसका लागि ङारङार र ङुरङुर गर्दछन् । अथवा सत्तालोलुप भनेका ती श्यालहरू हुन् जो बाघहरूले खाइरहेको सिनो देखेर राल काढिरहेका हुन्छन् लुछाचुँडी गर्न लालायित हुन्छन् । मर्नमार्न तयार हुन्छन् ।
यी सत्ताको खेल खेल्ने, झेल खेल्ने र तेल पेल्नेहरू यदाकदा मारामारको बाटो छाडेर सही बाटो समाउन पनि सक्छन् र अर्काको अस्तित्व मानेर जीनव बाँड्न पनि सक्छन् भन्ने कुराको उदाहरण कतै पनि नदेखिएको बेला जुँगेबाले छिमेकीको घरमा आएको उदाहरणलाई राम्रो मानेका छन् । मलाई पनि राम्रै लाग्यो । यसैको कारणले अहिले हाम्रोमा अलिकति आशाको दीयो पनि बलेको छ । अरुले गरेको देखेर भए पनि नेपालमा पनि त्यो परम्पराको चलन चलेको छ । सौहार्द्रता हुनु हो भने सत्ता आतङ्कको एउटा विकराल परम्परा टल्न सक्ने कुराको आशा पलाएको छ । सहनौ भुनक्तु को पुरानो सिद्धान्त फेरि पनि फलेको छ । पारि भारतमा चलेको यो परम्परा आयातित हुने मनशाय देखिएको हुँदा यहाँ पनि त्यै परम्पराको आशाको बत्ती बलेको छ । कुरा के भने देशमा छ छ महिना गरेर सत्ता बाँडचुँड गर्ने र पालैपालो त्यसलाई खाने भन्ने सत्तासाझेदारीको अवधारणाको हल्ला चलेको छ ।
नेपालमा अरुतिरबाट सडलपडल भएका र अरुले जुठेल्नामा फ्यालेका कुराहरू नै बेसी प्रयोगमा ल्याइन्छन् । नयाँ शिक्षा त्यस्तै थियो, अझ यताको नयाँ भन्दा पनि नयाँ शिक्षा पनि त्यस्तै छ । तर सत्ताको अंशबन्डा गर्ने योजनाको प्रस्ताव भने उति टाढाबाट ल्याइएको होइन । भारतको उत्तर प्रदेशबाट ल्याइएको हो । उत्तर प्रदेशबाट थालिएको तर त्यहाँ उतिखेरै अफाप भइसकेको सत्तालाई छ छ महिनाको पालो बाँधेर खानु भन्ने सिद्धान्त माथि आधारित छ । यो कुरा व्यवहारमा उतार्ने हो भने सत्ताको जाँड खान राल काडेर बसेकाहरूलाई हानथाप गर्नबाट बचाउनेछ भन्ने आशा हुन सक्छ ।
उता भारतमा यो कुरा लागु भएर सडिसक्यो तर यता भने भर्खर मात्र लागु हुँदैछ । जे कुरा पनि हामीकहाँ उताबाट आउने न हो, त्यसलाई यता आइपुग्न केही समय लागिहाल्छ । उताबाट आउनेमध्येको मनसुनकै कुरा गरौंं न । भारतमा सक्रिय भएर सकिन सकिन लाग्दा बल्ल यता आउँछ । यो सत्तासाझेदारी धारणा पनि उता अजमाइओरि सडेर गल्यो र सकियो तर यता भने बल्ल मात्र आउँदैछ । सत्ता सह नौ भुनक्तु को सिद्धान्त लागु गर्न हतार भइहालेको छैन, जेमा पनि हामी अलिक ढिलै न छौं ।
सत्ता बाँडीचुँडी खाने गरेको देखेर धेरैले धेरै अनुमान लगाउलान् । यो वृत्तिलाई देखेर कृषकहरूले आफ्नो बेँसीमा पालो बाँधेर पानी लाएको सम्झेलान्, अथवा असारको पैँचो भदौमा तिरेकोे सम्झन सक्छन् । खेतालाहरूलाई तिर्नु पर्ने पर्मको सम्झना होला । छ छ महिनाको सत्ताको अंशवण्डाको कर्मले जजसले जे जे सम्झिए पनि नयाँ परम्पराको थालनी हुन सक्ने कुरामा शङ्का नगरे हुन्छ । यो कम ठुलो उपलब्धिको काम होइन । सत्ताका अंसियारहरूले नेपाली लोककथाको दाजुभाइमध्येमा एउटै सिरकको अंशवण्डा लगाउँदा भाइचाहिंलाई राति र दाजुको भागमा त्यही सिरक दिउँसोका लागि भागवण्डा गरेझैँ वण्डा नहोस् नत्र उही दुर्दशा लाग्न सक्छ । एउटाले सत्ताको जाँड घुटुघुटु खाने अर्कोले तोकिएको समयभरि पर्खिएर पनि पाएन भने फेरि सत्ता आतङ्क चल्न सक्छ । यसो होला कि भनेर सतर्क भई समयमै होस पुर्याउनु पर्छ ।
सत्ताका लागि पुच्छर निमोठ्ने र टुप्पी उखेल्ने कर्म हामीकहाँ पनि उपध्रोसँग चलेको छ । अंशवण्डा नहुँदाको गतिविधि सबैलाई थाहै छ । सत्ताका जँड्याहाहरूले मान्छेको क्रयविक्रय र अपहरण जस्तो कर्म पनि यहाँ उत्तिकै गरेका छन् । यो कर्म पनि यहाँ निकै राम्रो गरी फलेको थियो । यो पनि उतैबाट आयातित हो । यिनले गरिआएको अपहरण, बेचविखन, मोलतोल आदिका कामहरूको मूल आशय सम्पत्ति र सत्ताप्राप्ति नै हो । यो वितण्डालाई कति दिनसम्म चालू राख्ने ? कति अर्को पार्टीको सांसदलाई खरिद मात्र गर्ने ? कति अर्कोको जरा मात्र उखेल्ने ? बरु मित्रहरूकोमा चलेको त्यही सत्ता अंशबन्डा गरेर खाने प्रथालाई आयात गरेर देशमा किन लागु नगर्ने ?
कतिले भन्लान्— हाम्रो इज्जत छैन ? अर्काको मुलुकमा चलेको, अर्काको जुठो पनि के ल्याउनु ? सत्ता बाँडीचुडी गरी खाने प्रथा पुरानो भयो । छाडौँ यी सबै कुरा । कसैले जसको शक्ति उसैको सत्ता भन्ने सिद्धान्त नै ठिक हो भनेर उही सांसद खरदिविक्रीलाई यथावत् राखेर सत्ताको जाँड खाइरहनुपर्छ भन्ने सल्लाहा पनि देलान् । वास्तवमा तर्क गर्नु एक कुरा र व्यवहार गर्नु अर्कै कुरा हो । हामीले अर्कोकोमा चलेर सडिसकेको के कुरा चलाएका छैनौँ र ! सिनेमा ल्यायौंँ, होली ल्यायौँ, दहेज ल्यायौँ, छठ ल्यायौँ, इद बकरी इद ल्यायौँ, गाणतन्त्र ल्यायौँ, बडा दिन पनि ल्याइसक्यौँ । यस्ता सांस्कृतिक कुराबाहेक पकेटमारी परम्परा र बुहारी जिउँदै डढाउने संस्कार पनि ल्याइसक्यौँ ।
अनि सत्ता सह नौ भुनक्तुलाई किन नल्याउने ? देशैलाई उतै गाभ्नुपर्ने सोच राख्नु भन्दा उनीहरूको सत्ताभोजन परम्परालाई ल्याउनु नै राम्रो हो । जसको शक्ति उसको सत्ता सिद्धान्तले दुनियाँमा ठूलो ठूलो समरको डढेलो लागेको छ । यस सिद्धान्तले भस्मासुरे वृत्ति मात्र जागेको छ । त्यसैले अब उक्त भस्मासुरे स्वभाव छाडेर हमीले लाज घिन सरम नगरी भारतको राजनीतिलाई सत्ता बाँडचुँडको सिस्टमलाई ल्याइहाल्नु पर्छ । खाऊन् बाँडिचूडी गरी । जँड्याहाले मौकामा खान पाएन भने अरुको ता हानी गर्छ गर्छ आफ्नै टाउको पनि फोर्न सक्छ । भारतको राजनीतिमा अनेकौं कुराहरू उब्जन्छन् । उत्तरप्रदेशमा हामीको जति धेरै पार्टीहरू नभएकाले सत्तालाई पालो पिलो गर्दै छ छ महिनाको दरले खाने गरुँ भन्ने सत्ता बाँडचुँडको सूत्र जन्मेको हुनुपर्छ । तर हाम्रोमा ता ३६५ जति पार्टीहरू भएकाले छ छ महिनासम्म कुनै पार्टीलाई खान पुग्दैन । समयको ख्याल गर्नैपर्छ ।
नेपालमा बहुदल र गाणतन्त्र आएपछि शान्ति हराएर गयो तापनि हामी अझै पनि शान्तिप्रिय मानिन्छौँ । पुर्खाले भुत्ते खुकुरी हल्लाएर तर्छाएका थिए, त्यसैले अहिले पनि बहादुर नै छौँ । यसैले अब सत्ता बाँडचुँडकर्मलाई पनि उदाहरणका रूपमा विश्वभरि देखिने गरी फैलाउनै पर्छ । अंशवण्डाको प्रथा हामीकोमा पुरानो समयदेखि चलेकै हो । अब ता छोरीलाई समेत अंसबन्डा दिन थालिसकेका छौँ सत्ताको अंशवण्डा पार्टीलाई किन नगर्ने ? एउटा छाता र एउटा सिरक समेत दुइ भाइलाई अंशवण्डा गरिदिने जातका मान्छे न हौँ । अनि सत्ता बाँड्न केको भुत्रो हेरिरहनुपर्छ ?
हाम्रो मुलुकमा १५० भन्दा बढी पार्टीहरू अहिले पुगेका छन् । ६०१ जना भन्दा बढी प्रतिनिधि छन् । सबैले राल काढेका छन् । सबैलाई सत्ताको जाँड चाहिएको छ । यसैले सबैलाई हुने खालको वार्षिक क्यालेन्डर बनाएर सत्ताको बाँडचुँडको तालिका तयार गरिनुपर्छ । हानाहान नगरुन् । मारामार नगरुन् । अर्को पार्टीका सांसदलाई तानातान नगरुन्, बेचबिखन र क्रयविक्रय नगरुन् । सत्ता बाँडिदिनु पर्छ । खाउन् राल काढेकाहरूले । बरू सबैलाई सत्ताको अंशवण्डा कति समयका लागि गर्न सकिन्छ अंशवण्डा गर्दैखेरि विचार पुर्याउनुपर्छ । एक सय पचास जति पार्टीका लागि ३६५ दिनको एक वर्षलाई बाँड्दा एउटाको भागमा लगभग ३ दिन जति पर्न जान्छ । त्यत्ति नै सत्ता खाने र बाहिर बसेर कुर्ने गरियो भने निकै अनुशासनमा रहेको देखेर विदेशीहरूले अनुदान पनि दिन सक्छन् ।
सकिन्छ भने समझदारी गरेर एक पार्टीलाई एक एक दिनकाा लागि सत्ता दिनु राम्रो हो । यसबाट हिसाब राख्न सजिलो पर्छ । तर हिसाबकै कुरा गर्ने हो भने ता वर्ष दिनलाई पार्टीसङ्ख्याले बाँड्दा जति पर्छ त्यति नै लिनु अझ राम्रो हो । सत्ताको समय सकिने बित्तिकै विद्यालयमा कक्षाको अवधि सकिएजस्तै सिंहदरबारमा घन्टी ठोक्नुपर्छ । घन्टी ठोक्नासाथ पुरानोले कुर्सीबाट जुरुक्क उठिदिनुपर्छ । नयाँले थपक्क बस्न पाउनु पर्छ । समय बित्ला भनेर अघिदेखि नै अर्को पार्टीको प्रधानमन्त्रीको पात्र उसको हाँडाचिन्डासहित तयार भइरहनुपर्छ ।
तयार भएर पर्खेका ती नयाँहरूलाई स्वागत गर्ने कामका लागि अघिल्लैले लगाएका फूलमाला, अबिर, खादाहरू ओइलाएका हुन्नन् क्यारे । तिनै बन्दोबस्तीका साधनहरूलाई नयाँ आउने प्रधानमन्त्री र उसका हाँडाचिन्डाहरूका लागि पनि प्रयोग गर्दा भइहाल्छ । आखिर मितव्ययिता पनि ता केही चिज हो । त्यो सपथ खाने झमेलो कसले गरिरहोस् ! सत्ता खाइहाल्नु पर्छ । आज नभएको पार्टी फुटेर भोलि नयाँ बन्न सक्छ । नफुटीकन कुनै नयाँ पार्टी पनि बन्न सक्छ । यस्तालाई कसरी मिलाउने हो बाधा अड्काउ फुकाउबाट समाधान गर्नुपर्छ ।
अनि सत्ता खानेहरूले विदेश भ्रमण गर्नुलाई नैसर्गिक अधिकारको रूपमा मानेका हुन्छन् । यी तीन दिनेहरूलाई विदेश भ्रमणको कुरा चाहिँ कसरी मिलाउने हो त्यसका बारेमा भने अलिक बुद्धि फुरेको छैन । फेरि कुरा गर्दै गरौंला । अहिलेलाई ता ‘हरिःॐ सत्ता सह नौ भुनक्नु………!’
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































