भाउपन्थीछारो
अब के लेख्नू भन्नु नि । व्यङ्ग्य लेख्ने लत परिसक्याे होला । चुरोट-रक्सी र ड्रग खानेहरूको लत छुटाउन सकिन्छ तर अरुलाई गिज्याउने होच्याउने र खुइल्याउने काम गर्ने लत परिसकेपछि मान्छे सुध्रिन गाह्रै पर्छ ।

भाउपन्थी :
‘तपाईं व्यङग्यकार हो ?’ धारोनिर मन्जन गर्दै सोधियो । चोरलाई बल्ल प्रत्यक्ष सामातियो भन्ने भाव सोध्नेको चम्किला आँखामा थियो । तर मिठो स्वरमा शङ्का मिसिएको प्रस्टै झल्किन्थ्यो । सोध्नेको सायद शङ्का यो थियो— ‘व्यङ्ग्यकार भनेको अलि चुच्चोचुच्चो परेको छुचुन्द्रे टाइपको छुच्चो अनुहारको हुनु पर्थ्याे । तर यो त….।’ सोध्ने अरुकी धर्मपत्नी थिइन् । आफ्नी धर्मपत्नी घरमै— बिहानको चियानास्ता बनाउँदै । सोध्नेलाई— ‘तपाईं उसै पनि राम्री व्यङ्ग्यका कुरा किन सोधेको ?’ भन्न सकिन्थ्यो । तर अरुकी धर्मपत्नीलाई ‘राम्री लाग्नुभो’ भन्न हुँदैनथ्यो । आशय बाङ्गिने मात्र होइन टोलमा हल्ला हुन सक्थ्यो । उसै पनि मुखाले भनेर चिनिनेलाई त्यस्तो भनेर बाँदरलाई लिस्नु गर्नु थिएन ।
संवादको क्रमभङ्ग नहोस् भनेर सोध्नै पर्यो नत्र व्यङ्ग्य लेख्दैमा अरुसँग बोल्नै नहुने गरी गमक्क पर्नु पर्ने त होइन भनेर आक्षेप आउन सक्थ्यो, सोधियो— ‘माने ?’ त्यस्तो सोध्नुको अन्तर्ध्वनिमा यस्तो आशय ध्वनित गराइयो— ‘एकाबिहानै यस्तो प्रश्न सोध्नु हुँदैनथ्यो । तैपनि व्यङ्ग्यकार भइहालिएछ भने पनि के फरक पर्छ ?’ — सोधेपछि यस्तो ढाडस लिइयो मनमनै । शङ्का गर्नु थिएन— व्यङ्ग्यकारको सिङ पुच्छर उमेरको हुन्न भन्नेमा ? तैपनि टाउको छामियो । पुच्छरका लागि सार्वजनिक स्थानमा पिठिउँमुनि छामछुम गर्नु अश्लील मानिन्थ्यो । तर निष्कर्षमा टोलमा व्यङ्ग्यकार भनेर चिनिनु हुँदैनथ्यो ।
व्यङ्ग्यकार भनेर चिनिएपछि मानिसहरू दुई हात परैबाट बाटो काट्थे ? मात्र कति भने व्यङ्ग्यकारको उपस्थितिमा शिष्ट र इमानदार देखिने प्रयासमा रहन्थे । तर अरू बेला व्यङ्ग्यकार परै छ भने परैबाट तर्किन सक्थे । के देखेर पात्र बनाएर व्यङ्ग्य गर्ने हो कुन्नि भन्ने समाजमा भय रहन्थ्यो । व्यङग्यकारलाई पानी नचल्ने जातजस्तो मानिन्थ्यो ? छोइछिटो पनि गरिन्थ्यो होला ? तर कानुन लाग्ने भएपछि सब चुपचाप थिए— न छोइछिटो, न पानी बाराबर । तैपनि यी छिमेकीले सोधिहालिन्— ‘तपाईं व्यङ्ग्यकार ?’ साहसी रहिछन् । व्यङ्ग्यकारसँग संवाद गर्न लालायित रहेको देखाइन् । यिनले भर्खर हिजो मात्र थाहा पाइछन् कि क्या व्यङ्ग्यकार यही हो भनेर ? तर उनी मुखाले थिइनु । मुखाले हुनु र व्यङ्ग्य गर्नु एकै मानिनु पर्ने हो कि ?
तर यिनलाई मुखाले भन्न मिल्दैनथ्यो कारण यिनी अर्काकी पत्नी थिइन् तर राम्री थिइन् तापनि मिठो स्वरकी थिइन् । मिठो स्वरकी मुखाले भएपछि धेरैले उनले भनेको मन लगाएर सुन्थे । डर यही थियो, व्यङ्ग्यमा मिठो चल्दैन— कि टर्रो हुनु पर्यो कि तितो । नभए पानप् पिएको पियै गराउने पिरो । यिनी आफ्नै टोलकी थिइन् । यसमा विवाद थिएन । तर व्यङ्ग्यमा आफ्नो पराई भन्न मिल्दैथ्यो । जस्तै न्यायको मूर्तिको आँखामा कालो पट्टी बाँधिएको हुन्छ व्यङ्ग्यकारका आँखामा पनि त्यस्तै पट्टी बाँधिएको हुन्छ । यो तुलनाले व्यङ्ग्यकार गजक्क फुल्यो । न्यायको मूर्ति भइयो व्यङ्ग्यकार भए पनि ।
अगि उनले सोधेको ‘तपाईं व्यङ्ग्यकार ?’ भन्ने प्रसङग चुँडिन दिनु भएन । सोध्न परिहाल्यो— ‘किन र’
‘व्यङ्ग्यकार भनेको पनि माने रे ? र किन पनि रे ? उही नि व्यङ्ग्य लेख्ने भनेको नि । खुइल्याउने के ? कस्तो नबुझेझैँ गरेको ! तपाईं मृर्दुला दिदीको श्रीमान् होइन ? मलाई त शङ्का लाग्छ ।’
मृदुलाको नाम आएपछि डराउनै पर्यो । होइन भनेर उम्किने ठाउँ थिएन । ठिङुर्याउन सक्थे— ‘मेरो श्रीमान् नभए कसको त ?’
‘हो’ मा टाउको हल्लाइयो । नभए खबर ठाउँका ठाउँ पुगिसक्थ्यो । यीँ धारोबाट चिच्च्याएर सोध्न सकिन्थ्यो — ‘दिदी, मृदुला दिदी ! वाँ,’ मन्जन गर्दै गरेको ब्रुसले देखाएर, ‘तपाईंकाे श्रीमान् होइन र ?’ उताबाट कार्यव्यस्त भए टाउको हल्लाएर ‘हो’ जनाइन्थ्यो नभए सोधिन सक्थ्यो— ‘के भन्नुभो ? होइन कि हो ? कि अरु कतैकीको ?’
शङ्कामिश्रित प्रश्नको समाधानमा .भनियो— ‘तर अरुको बदख्वाइँ गर्दिनँ ।’ भनाइ यस्तो थियो मानौँ मृदुलाको श्रीमान् भनेको बदख्वाइँ गर्ने ठेकेदार हो जसले कुनै काम कम्पलिट गर्दैन, सधैँ बद्ख्वाइँ गरिहन्छ ।
मन्जनको फिँज थुकेर सोधियो— ‘बद्ख्वाइँ मात्र नगर्ने नि । अरुलाई उडाउनु त हुन्छ ? नभए व्यङ्ग्य भनेको के त ?’
बडो गहकिलो प्रश्न आयो मन्जन गरेर कुल्ला गरिनसकेको मुखारविन्दबाट ।
जवाफमा जोसिएर भनियो— ‘उडाउँदा पनि उडाउँदिनँ, बद्ख्याइँ पनि गर्दिनँ । तपाईंलाईं यो भ्रम कसरी भयो— व्यङ्ग्यकारले अरुलाई मात्र उडाउँछ, खुइल्याउँछ ?’
‘अरुलाई नउडाए नखुइलाए के त आफ्नै आङ कन्याएर छारो उडाउने ?’ संवादले ऊ ध्र्वमुखी गति समात्यो । कम्मरमा मन्जनको ब्रस समातेको हात राखेर त्यस्तो प्रश्न सोधियो । स्वर एकाएक जुध्न चाहेको कुखुराको भालेको क्वाँटक्वाँटमा परिणत भयो । हुन त उनी पोथी नै थिइन् तर भाले भइटोपलिन् । पोथी बासेको राम्रो होइन भन्थे तर प्रश्न नै घाँटी समात्ने भइदियो । पोथी बासेको पनि सुहाउने भइदियो । अनि यो फेरि आफ्नै आङ कन्याएर छारो उडाउने उखान बीचमा भाँजो बनिदिन किन आयो ? आङ कन्याएर छारो उडाउन कति महिना वर्ष ननुहाएको हुनुपर्छ जसले गर्दा जमेको मयल कन्याउँदा छारो बनेर उडोस् । यो सोचमा प्रयोगको आवश्यकता छ— एक्सपेरिमेन्ट ।
उनको प्रश्नले मुखै तितो गराइदियो— व्यङ्ग्य भनेको के ? प्रत्यक्षमा मुख कुल्ला गरेझैँ तर मुखको तिक्त स्वाद कुल्ला गरेर फाल्दै भनियो— ‘खै त्यो त थाहा भएन, व्यङ्ग्य के हो भन्ने । विसङ्गति विकृति देखेपछि विरोधको प्रतिक्रियामा कलम चलाइन्छ ।’
‘तपाईं जस्तो सोझो मानिस त्यसमाथि मृदुला दिदीका श्रीमान् ! तपाईंले व्यङ्ग्य लेखेको सुहाउँदैन,’ बाटो बिराएकालाई बाटो देखाइदिएको सज्जनता देखाउँदै भनियो । अर्को बाधा आइलाग्यो, मृदुला दिदीको श्रीमान् हुनुमा— यो एउटा शर्त आइलाग्यो— मृदुला दिदीको श्रीमान् हुनु छ भने अथवा वास्तवमा नै श्रीमान् होऊ भने व्यङ्ग्य नलेख्नू । व्यङ्ग्यकार पनि जोसममा आइदियो, अलिकति हाई प्रेसरको बिरामी हुनेतिर लागिरहेको पनि थियो । समाज र राजनीतिमा व्याप्त विकृति र विसङ्गतिले च्यापिँदा च्यापिँदा व्यङ्ग्यकार हाई प्रेसरको सिकार हुन लागेको हुन्छ ।
हाई प्रेसरलाई नियन्त्रणमा लिन खोज्दा खोज्दै जवाफमा झन्डै यसो भनिएन— ‘व्यङ्ग्य लेखनको स्वतन्त्रताका लागि उसलाई डिभोर्स दिन तयार छु ।’ व्यङ्ग्यकार थामियो । यति साह्रो उत्तेजित भइहाल्नु पर्ने खण्ड थिएन र यस्तो उत्तरका लागि पर्याप्त पृष्ठभूमि तयार भइसकेको थिएन । मुलुकमा गणतन्त्र खतरामा छ भनेर आफ्नो कुर्सी बचाउन मन्त्री—प्रधानमन्त्री कुर्लिने गरे पनि अवस्था भयावह भइसकेको छैन । यसको पनि रिपोर्ट मृदुला भएठाउँ सहजै पुग्ने थियो । यी मृदु स्वरकी अर्काकी धर्मपत्नी के व्यङ्ग्यकारकी श्रीमती मृदुलाकी सल्लाहकार हुन् ? तर उसले दिएको डिभोर्स गर्छु भन्ने उत्तरले टोलभरिमा आश्चर्य जन्माउने थियो । खैलाबैला र रुवाबासी वा मृदुलाको माइततिरको सहयोगको गुहार चल्न सक्थ्यो । ‘व्यङ्ग्य लेख्ने स्वतन्त्रताका लागि जस्तोसुकै मूल्य चुकाउन र प्राणको आहुति दिन तयार छु भन्नु पर्नेमा आफ्नै परिवार छिन्नभिन्न पार्छु भन्दनै पो छ यो व्यङ्ग्यका’— यस्तो आरोप आइलाग्न सक्थ्यो ।
महिलाले फाइनल कुल्ला गर्दै भनिन्— ‘व्यङ्ग्य लेखेर के फाइदा ? फाइदा के छ अरुलाई खुइल्याएर ?’
फाइदा त के हुनु । पारिश्रमिक त पाउनै गाह्रो छ । सबैले छाप्न डराउँछन् । नेताको व्यङ्ग्य लेख्यो भने उनीहरू रिसाउँछन् र विज्ञापन बन्द गरिदिन सक्छन् भन्छन् । व्यापारिक प्रतिष्ठानका अधीन नेताहरू काम गर्छनु र ती प्रतिष्ठानहरू नेताहरूको सेयर पनि हुन्छ भन्छ मिडियाहरू । सिन्डिकेट तन्त्रले खाइरहेछ मुलुक ! व्यङ्ग्यकारका लागि ठाउँ कहाँ छ ?
दरो हुँदै जवाफ दिइयो — ‘हेर्नोस्, पहिलेदेखि व्यङ्ग्य लेखियो । अब नलेख्नोस् भनेर भन्न मिल्दैन । तैपनि अरु के लेख्ने ? यसंको जवाफ पनि सुनिहालूँ न त ?’ यो कुरो हाँस्दै भनियो किनभने हाँस्नु जरुरी थियो कारण ऊ मृदुलाको श्रीमान् थियो । सोझो श्रीमान् । तर मान्छे व्यङ्ग्य लेख्ने गरेर भित्रभित्रै बिग्रेका रहेछन् । त्यसैले बिग्रेकालाई ढाक्न र सोझो देखिन हाँस्नु जरुरी छ । किनभने ऊ मृदुलाको श्रीमान् नहाँसे अर्कै अर्थ लाग्न सक्थ्यो !
‘अब के लेख्नू भन्नु नि । व्यङ्ग्य लेख्ने लत परिसक्याे होला । चुरोट-रक्सी र ड्रग खानेहरूको लत छुटाउन सकिन्छ तर अरुलाई गिज्याउने होच्याउने र खुइल्याउने काम गर्ने लत परिसकेपछि मान्छे सुध्रिन गाह्रै पर्छ । मृदुलाको श्रीमान् भएपछि त्यस्तो काम गर्न नहुने । अब खै के लेख्न भनौँ । केटाकेटीका लागि बालकथा, पशुपन्छीका कथा, नीतिकथा, लोककथा आदि लेख्ने गरेको भए भन्न हुन्थ्यो राम्रो काम गर्नुभयो भनेर । खै, मृदुला दिदीले कसरी सहनुभएको होला श्रीमान् व्यङ्ग्य लेख्छन् भन्ने कुरामा ?’ एकछिन् रुकेर सोधियो— ‘दिदीलाई थाहा छ ?’
यसको उत्तर दिइएन । सैद्धान्तिक प्रश्नभन्दा पनि कडा आयो । छोडेर लुरुलुरु कोठातिर लागियो । छारो उडाएर हिँड्नु ठीक होइन ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































