साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देश

हाम्रो देशमा सगरमाथा सर्वोच्च शिखर हो । अलिकति मेहनत गर्न सकियो भने विश्वको सबैभन्दा भ्रष्ट मुलुक बन्न सकिन्छ । अहिले गाउँगाउँमा सिंहदरबार पुगेको छ । गाउँगाउँमा अफिस खुलेको छ । अफिसमा सबै काम भोलि हुन्छ ।

Nepal Telecom ad

योगीश कृष्ण

(छिमेकका एज जना निम्नमाध्यमिक तहका विद्यार्थीले आफूले लेखेको निबन्ध हेर्न दिए ।‘मेरो देश’ शीर्षकको यो निबन्ध सरकारले चाहेमा पाठ्यक्रममा समावेश गर्न उनले अनुमति दिएका छन् ।)

मेरो देशको नाम नेपाल हो । मेरो देशको नाम नेपाल यस कारण रहिरहेको छ कि नाम परिविर्तन गर्ने विषयमा कुनै आन्दोलन भएको छैन । कुनै पनि विदेशीले नेपालको नाम अर्को राख्नू भनेर सुझाव पनि दिएको छैन । कुनै विदेशका दूतले नाम फेर्न आन्दोलन गरिहाल् भनेर आदेश पनि दिएको छैन । त्यस कारण मेरो देशको नाम नेपाल हो । नत्र नेपालबाहेक जे पनि नाम हुनसक्थ्यो ।

नेपालको उत्तरतिर चीन छ । दक्षिणतिर भारत छ । भारतसँग हाम्रो घनिष्ट सम्बन्ध छ । त्यसकारण हामीलाई शत्रुको आवश्यकता परेको छैन । भारतबाट चामलदेखि लिएर सागपात समेत आउँछ । त्यही भएर भारतलाई रोटीबेटीको सम्बन्ध पनि भन्छन् । यो भनाइ पुरानो हो । त्यतिबेला भारतबाट चामल आउँदैन थियो । नेपालबाटै जान्थ्यो । अब भारतसँग भात-दाल-तरकारी-रोटीबेटीको सम्बन्ध छ । भारत नेपाल सीमामा नाकाबन्दी गरेर आन्दोलन गर्न सजिलो छ । यातायातका साधनमात्र होइन, मानिसलाई जिउँदै जलाएर पनि शान्तिपूर्ण आन्दोलन हुन्छ । शान्तिका दूत गौतम बुद्धको जन्म यसै क्षेत्रमा भएको हो ।

हाम्रो देशमा लोकतन्त्र छ । त्यसअघि प्रजातन्त्र थियो । प्रजातन्त्रले पञ्चायती व्यवस्थालाई बिदा दियो । लोकतन्त्रले प्रजातन्त्रलाई । लोकतन्त्र र प्रजातन्त्रमा के फरक छ भनेर मैले सामाजिक शिक्षा पढाउने सरसँग सोधेको थिएँ । सरले लोकतन्त्र भनेको सबैभन्दा राम्रो प्रजातान्त्रिक व्यवस्था हो भनेर जवाफ दिनुभयो । लोकतन्त्रमा पार्टी पार्टी मिलेर सरकार चलाउँछन् । पार्टी भनेको हाम्रो स्कूलमा भएका ‘ग्रूप’ जस्तै हो । एउटा ‘ग्रूप’को अर्कोसँग ‘फाइट’ परिरहन्छ । जनताले चुनावमा भोट हालेर पार्टीका नेतालाई संसदमा पठाउँछन् । त्यहीँबाट प्रधानमन्त्री चुनिन्छन् । प्रधानमन्त्रीले मन्त्री बनाउँछन् ।

त्यहाँ पनि फाइट हुन्छ । हाम्रो स्कूलमा कहिलेकाहीँ दुइटा ग्रुप मिलेर मिलेर तेस्रोलाई तह लाउनु पर्‍यो भने दुईटा शत्रु शत्रु मिलेर फाइट गर्छन्, पार्टीहरू पनि त्यसैगरी कहिलेकाहीँ चुनाव लड्छन् । पछि आफू आफू पनि लडछन् । अनि नैतिकता नैतिकता भनेर हल्ला गर्छन् । विभिन्न दिवसहरूमा नेताहरू शहीदको सपना पूरा गर्नु छ भनेर भाषण गर्छन् । अनि संसदमा कुटाकुट ।

अरु देशमा जस्तै हाम्रो देशमा सरकार छ । मन्त्री प्रधानमन्त्री नेपाललाई कहिले जापानजस्तो बनाउने त कहिले सिङ्गापुर जस्तो त कहिले स्वीजरलेण्डजस्तो बनाउने भन्छन् । तर नेपाल त्यस्तो बन्न सकेको छैन । नेपाल सधैँ नेपालजस्तै भइरहन्छ । नेपालीहरू जस्तै नेपाल पनि स्वभिमानी छ । कुनै पनि हालतमा अरु जस्तो हुन चाहँदैनन् । यो नेपालीको पहिचानको कुरा पनि हो ।

हाम्रो सरकारको मुख्य काम सरकार चलाउने हो । सरकार चलाउन प्रधानमन्त्री मन्त्री बन्नुपर्छ । त्यसपछि देश विदेश घुम्न पाइन्छ । गलामा फूलको माला लगाएर ठाउँठाउँमा भाषण गर्न पाइन्छ ।

हाम्रो देशमा सरकार बन्नासाथ ढल्न र ढाल्ने कुरा शुरु हुन्छ । सरकार बेला बेलामा ढलिराख्छ । खोइ, कसले कहाँबाट ढालिदिन्छ कुन्नि । हाम्रो टोलमा एउटा रक्सी पसल छ । रक्सी खाएपछि मातिएर तीनचार जनाको समूह सडकमा देखिन्छ । तीमध्ये एउटा लड्छ, अर्कोले उठाउँछ । अब उठाउने नै लड्छ । होस नआइन्जेल उनीहरूको लड्ने उठ्ने क्रिया जारी रहन्छ । अरु देशमा सरकार पाँच वर्ष टिक्छ रे । हामी वीर नेपाली हौँ, शत्रुलाई पनि ढाल्ने गरेको हाम्रो इतिहास छ । आजकाल शत्रु ढाल्न पाइँदैन । त्यही भएर सरकार ढाल्छन् । बेलाबेलामा सरकार ढलिरहेको खबर सुन्दा मलाई रक्सी पसलबाट निक्लेका बेहोश जड्याहाँहरूको सम्झना आउँछ ।

हामी विद्यार्थीहरू देशका कणर्धार हौँ । देशको भविष्य हाम्रै काँधमा छ । अहिलेका नेता हामी जत्रा हुँदा पहिलेका नेताले भविष्य उनीहरूको काधमा हालिदिएका थिए होलान् । अहिले देशको भविष्य हाम्रो काँधमा छ । हामी देशको भविष्य बनाउन खाडी मुलुक, भारत लगायतका देशमा जान्छौँ ।

नेपाल कृषिप्रधान देश हो । हामी जन्मजात कृषक हौँ । त्यसकारण हामी कृषि मजदुरी गर्न अरु मुलुक जान्छौँ । त्यहाँबाट कमाएको पैसाले त्यतैको उत्पादन आयात गरेर खान्छौँ । हाम्रै कमाइका कारण गाउँगाउँमा भ्यू टावर बन्न सकेको छ । नेपाल जलस्रोतको धनी देश हो । हाम्रो टोलमा धाराबाट हप्ताको एक पटक पानी आउँछ । राजधानीमा मेलम्चीको पानी आउँछ भनेको तीस वर्षभन्दा बढी भयो । त्यहाँको पानी बदमास विद्यार्थीजस्ते अटेरी छ जस्तो छ । भनेको नमान्ने ।

हाम्रो देशमा नेताहरू धेरै छन् । हाम्रै टोलमा भुतपूर्व मन्त्री मात्र पाँच सातेक छन् । उनीहरूलाई बोलाउँदा मन्त्रीजी भन्छन् । नेता भएपछि केही काम गर्नु पर्दैन । काम नगर्नाका लागि नेता भएको हो कि नेता भएकाले काम नगरेको हो ? यो कुरा हाम्रो सर म्याडमले पढाइदिएको भए राम्रो हुन्थ्यो ।

थुप्रै सर म्याडम पनि नेता हुनुहुन्छ । उहाँहरू सार्वजनिक विद्यालयको शिक्षा स्तरोन्नति गर्न प्राय विद्यालय बाहिरै बस्नुहुन्छ । हप्ता महिना दिनमा आएर हाजिर गरेर जानुहुन्छ । यसबाट समयको वचत हुन्छ । कतिपय अत्यन्त कर्तव्यनिष्ठ शिक्षकले खेताला शिक्षक राखिदिनुहुन्छ । हामीलाई नैतिक शिक्षा पढाउने सर पनि अत्यन्त कर्तव्यनिष्ठ हुनुहुन्छ ।

हाम्रो देशमा सगरमाथा सर्वोच्च शिखर हो । अलिकति मेहनत गर्न सकियो भने विश्वको सबैभन्दा भ्रष्ट मुलुक बन्न सकिन्छ । अहिले गाउँगाउँमा सिंहदरबार पुगेको छ । गाउँगाउँमा अफिस खुलेको छ । अफिसमा सबै काम भोलि हुन्छ । यो कुरा बुझेर मानिसहरू आजको साटो भोलि काम गराउन जान्छन् । तिनलाई कर्मचारीले भोलि आउनू भनेर फर्काइदिन्छन् । सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान नेपालको प्रमुख उखान हो ।

०००
काठमाडौं
२०७० साल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x