साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिको निर्णय

नजिकको बानरलाई नजिक बोलाएर नन्दीको हालखबर बुझे । तपाईं हिँडेदेखि नन्दी धेरै मात्तिएको कुरा उसले गर्‍यो । एउटा गाई यहाँ आएको थियो । उसँग दिनभर प्रेमका कुरा गरेर बस्यो ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

एक दिन झोक औघी उठेछ पशुपतिनाथलाई । मान्छेप्रतिको पशुहरूको गुनासो सुन्दा सुन्दा काँसीबास जाऊँजाऊ जस्तो लागेछ । शौचालय जाँदा आउँदा पशुहरूले मान्छेले दिएको दुःखको उजुरी सुन्दा दिक्क पनि किन नलागोस् । अरु सुबै कुरामा डिस्टर्ब गरेको जोकोही अर्थात भगवान वा मानिसलाई मनपर्दछ । तर भोजनको क्षण, प्रेमको चक्कर चल्दा र शौचको बेलाको डिस्टर्ब अति नै रिसउठ्दो हुन्छ । पशुपतिलाई गाँजा तानेको समय, पार्वतीसँग भुलेका बेला र शौचालय ओहोरदोहोर गर्दा कसैले गुनासो राख्यो भने त्यसलाई एकै मुड्कीमा परमधामको टिकट काटिदिउँ कि जस्तो लाग्थ्यो । कति उजुरी सुन्नु । एक दिन नन्दीलाई पुसमाघको पारिलो घाममा बडेमानको किलोमा बाँधेर एक-दुई ओटा केराको पात हुत्याइदिएछन् उनको पालो । जहिल्यै पनि मान्छेको पक्षमा बोल्ने यी महादेव भन्दै गोबर लत्पत्याइदिएछ उसको पालो पछाडि फर्किएर । बूढा पशुपति उत्तराभिमूख नन्दी भने दक्षिणाभिमूख । हुनसक्छ मान्छेलाई कार्यवाही नगरी उल्टै उसैलाई सजिलो हुने गरी निणर्य लिन खोज्ने भन्ठानेर । तर काँसीवास जाऊँ जस्तो लागे पनि उनी त्यो निणर्यमा पुगिहालेका थिएनन् । मान्छेको बस्ती बस्ती पुगेर आफ्नै नजरले उसका गतिविधि नियाल्ने अल्पकालीन योजना पो उनको खोपडीमा फुर्‍यो । त्यही बाटो रोजे उनले ।

मान्छेले पहिचान गर्न नसकोस् भनी साधारण मान्छेझैँ भएर हिँड्न थाले । ड्राइभर, पुलिस, निजामती कर्मचारी शिक्षक सबै वर्ग र पेशाका, मानिसहरूको गतिविधि नजिकै गएर नियाल्ने योजना बन्यो उनको । सर्वप्रथम एउटा शिक्षकको घरमा पुगे । बिहानको सात बजिसकेको थियो । ढोका खोलिएको थिएन । एउटी बुढी मान्छे ख्वाङख्वाङ खोक्दै एकोहोरो तातोपानी मागिरहेकी थिइन् । बूढाचाहिँ गाली गरिरहेका थिए । छोराबुहारी उठेपछि दिइहाल्छन् नि । हामी चार घडी रात छँदै दैलो अँगेनु पोतिसक्थ्यौँ । यी लवस्तरा । लवस्तार्नीहरू घाम त्यतिमाथि आउँदा पनि उठ्दैनन् । आफ्नो यहाँ पेट कुलुलुलु गर्न थालिसक्यो । छि ! यस्ता बेइज्जतीहरू । खै, तपाईं पनि पाञ्चायन पूजा गर्न गएको ?

दोश्रो गन्तव्य उनको संसद भवन थियो । वक्ता र श्रोत सांसद सबैका वाणी श्रवण गरे । कोही सरकार परिवर्तनका गफ चुटिरहेका थिए । कोही राष्ट्रिय गौरवका आयोजनामा भागशान्ति कमिसन नआएको गुनासो पोखिरहेका थिए । दुई जना सांसद क्याफेमा वियर लागेर सोफामा कुम्भकर्ण बिर्साउँदै थिए । क्यान्टिनका मालिक भाउवृद्धिको विरोध गरिरहेका थिए । महङ्गी नियन्त्रण हाम्रो कि तपाईंहरूको दायित्व ? ऊ चर्किंदै थियो । विचरा ! तिनलाई महङ्गी वृद्धिको ज्ञान जिरो । उनी त्यहाँबाट फुत्त निस्किए रोडतर्फ । युगअनुकूलको ड्रेस नहुँदा गल्तीका कुत्ताले खेदेको हैरानी व्यहोरे । प्लाष्टिक टिपेर हिँड्ने व्यक्ति र आर्मी पुलिस काई देखेर कुकुर भुकेको देखी कारण खोजे । अचानक याद आयो कुकुर र मानिस स्वजातिको जन्मजात शत्रु बनाइदिएको विधानको । फोहोर टिप्ने दायित्व आफ्नो अधिकार भएको कुरा स्वीकारेको थियो त्यसैले । अब आर्मी पुलिस देख्दा कुकुर भुक्नुको कारण खोँजेँ । त्यसमा पनि शास्त्रीय आधार नै फेला पर्‍यो । एक गाँस दिने मालिकलाई कुकुरले भक्तिभाव देखाएको र आर्मी र पुलिसले जस्तोसुकै निर्देशनको पालना गरेको देखेँ । एउटा फेन्सी पसलमा छिरेँ । एघार सय पर्ने पाइन्टलाई ४८ सय लिइदियो । जुत्ता, मोजा, टोपीलाई चार दिनको पशुपतिको भेटी नै सकियो ।

केही समय शान्तिको आभाष भयो उनीलाई । केही क्षण अरण्ययात्रा रोजे । बाघभालु, गैँडा, हात्ती आ-आफ्नै बथानमा थिए । एउटा स्यालले उनको छेवैबाट अपानवायु फुस्काएर भाग्यो । ढेडुले रुखबाट कुहेको ऑपले हिर्कायो । हात्तीले खेद्न आयो । एउटा भाले मुकुन्दे हात्तीले भाले केही गैँडा लिएर उनीतर्फ दौडदै आयो खेद्दै । खोलो तर्न लाग्दा गोही मुख बाउँदै खान पो आइपुग्यो । उनले ऊ भन्दा छिटोछिटो खोला तरे । चिलले उनको शिरको टोपी लिएर उड्यो । हातमा एउटा हाँगैहाँगा भएको डण्डी लिएर हिँडिरहे । बाटामा गोमन साँपले फँणा फिँजाएँ । उनको पालो एक दनक के दिएका थिए । त्यो त्यही ढल्यो । अलिक तल एउटा बँदेलले उनीतर्फ नै हेरेर सिङ्गौरी खेलिरहेको थियो । तत्काल त्यही गएर त्यसलाई एक डण्डी दिँदा त्यसले त्यहीँ सिलटिमुर खायो । आफूले सृष्टि गरेका प्राणीहरूको त्यो मैमत्याईँ उनलाई पाच्य भएन । बेलुकी नन्दीले नदेख्ने गरी एउटा वृद्धासँग गाँजा तानेर नजिकैको सत्तलमा रात बिताए ।

बिहान व्युँझदा सूर्योदय भइसकेको थियो । आर्यघाट शवयात्रीहरूले खचाखच भरिएको थियो । एक-दुई मृतकका आफन्त पनि भेटिहाले । एउटाले सुसाइट र अर्को उच्च पियक्कडका कारण मृत्युको मुखमा पुगेका युवा थिए मृतकहरू । दुवैका किरियापुत्री आफ्नै बाउहरू थिए । दुवैका मृत्युका कारण डिभोर्स थियो । उता नन्दीले देखिहाल्ला भन्ने भयले सुटुक्क श्लोषमान्तकबाट सुईकुच्चा ठोके गौरीघाटतर्फ । नजिकै एक पुरोहित श्राद्धकर्म गराउँदै थियो । यज्ञमान (कर्ता) कपालमुण्डन नगरी सर्ट पाइन्ट कोट जुत्ता मोजा भिरी तर्पण गरिरहेको थियो । पुरोहित प्रसन्न मुद्रामा श्राद्धकर्म अगाडि बढाउँदै थियो । ‘द्रव्यादिभावे पुष्पम्’ को सट्टा ‘सम्पूणर्ादिभावे द्रव्यं’ को मानभङ्गीमा व्यक्त भइरहेको थियो । दुवैलाई एक एक चड्कन दिएर खोलतर्फ खुर्मुराइदिएर अन्यत्र लागे ।

घुम्दै जाँदा एउटा पार्टी प्यालेसभित्र छिर्न पुगे । त्यहाँ कवि साहित्यकारहरूको भीड थियो । सुटुक्क एउटा कुनाको कुर्सीमा थ्याच्च बसे । सबैले उनलाई अपरिचित नै ठाने । झण्डै १० ओटा पुरस्कार वितरण भएको थियो त्यो दिन । चार जना घोष राइटिङबाट स्रष्टाको तक्मा भिरेका व्यक्ति थिए । समीक्षक पत्रिकाको हकरको शैली र र ढङ्गमा प्रस्तुत थियो । रसहीन अभिव्यक्ति, आदरहीन ढोङ्गी शिष्टाचार । उनी फुत्त बाहिर निस्किए । एउटीले खाजा खान र पुस्तक किन्न चिप्लो घसी । ऊ कुनै पुरस्कृत लेखककी साली थिई । यसो आँखा दौडाए । टेबुलको पल्लो छेउमा एउटा बाक्लो गाता भएको पुस्तक थियो – ‘महादेवको कौसीबास’ । यी मनुष्यले कसरी थाहा पाए भनी ध्यान दृष्टिले हेर्दा पो नन्दीले प्रचार गरेको रहेछ । महादेवको मन्दिर वहिर्गमनको सूचना नन्दीले प्रेसलाई उपलब्ध गराएको रहेछ । पुस्तक विक्रेता यताउति अलमलिएको मौका छोपी फुत्त भागे ।

अनायस उनी चोकमा पुगे । त्यहाँ अगाडि रहेको ठूलो बङ्गालामा उनको नजर पुग्यो । झण्डै १० रोपनी जग्गामा बङ्गाला ठडिएको थियो । सँगसँगै अर्को अलिक सानो बङ्गला । पहिलो बङ्गालामा पूर्व खरिदार हाल उपसचिवबाट रिटायर पूर्व कर्मचारीको थियो । गेटमा मूर्तिवत उभिएको पालेलाई सोधे- “उनको आवास अन्यत्र पनि छ कि यति हो ?” यो त उनको उन्नाइसौं घर हो । त्यसले एक झमटमा उत्तर दियो “काठमाडौं उपत्यकामा मा १५ ओटा घर छन् उहाँको ।” मधेशमा १००० बिघा र पहाडमा ५०० रोपनी गैह्रीखेत भएको थप रहस्य पनि उजागर गरिदियो । ऊ थप कुरा गर्न खोज्दै थिए उनी गेटबाट बाहिर निस्किए । पल्लो अलिक सानो बङ्गालाको पालेले घरमालिकको उच्च प्रशंसा गर्‍यो । त्यो बङ्गालाचाहिँ ३० वर्षसम्म कम्युनिष्ट राजनीति गरेका पूर्वमन्त्रीको रहेछ । त्यस बङ्गालाको पाले पनि पहिल्यै जस्तै नै मालिकभक्त थियो । त्यही बङ्गला निकट १० पुस्तादेखि त्यही बस्दै आएको रैथाने मतदाताको थियो । त्यही घरवालाले यी दुई बङ्गालावाललाई जग्गा विक्री गरेको वृत्तान्त सुनेर खुइइय गर्दै गौशालातर्फ पाइला बढाए ।

नजिकै दुई आलिसान महल देखे । चार-चार आना घडेरीमा बनेका ती घरहरू आकर्षक थियो । १५/१५ ढलानका ती घरहरू क्याम्पस चलेको हो कि जस्तो देखिन्थ्यो । दुवै घरको गेट एउटै थियो । गेटको बाहिर बेल दबाए । दुवै घरको अट्टालीबाट दुई महिला निस्किए । के चाहिएको होला भनी सोधे । आफूलाई एउटा फुटकर कोठा चाहिएको बताएछन् उनले । फ्ल्याट मात्र छ, सिङ्गल रुम छैन भन्दै ती महिलाहरू भित्र पसे । बरण्डाको गमलामा पानी हाल्दै गरेकी एक महिलाले ती घरहरूको रहस्य खोलिन् । एउटा ड्राइभर र अर्को पुलिसको थियो । दुवैका ५/५ ओटी श्रीमती र तिनका भन्ट्याङभुन्टुङ झन्डै तीन दर्जन रहेछन् । उनलाई पानी प्यास लाग्यो । त्यस मालीलाई पानी मागे । उनले नजिकैको फिल्टर देखाइन् । एउटा गिलास त्यही रहेछ । दुई गिलास पानी पिएर बाटो लागे ।

अलि पर अर्को घर देखे । साइनबोर्डमा मालपोत कार्यालय लेखिएको थियो । लेखनदास र खरिदविक्री कर्ताहरूको लाइन लामै थियो । एक तलामाथि उनी के उक्लिएका थिए । एउटा लेखनदासले सोधिहाल्यो । यहाँको जग्गा पासको काम थियो कि ? “पशुपतिनाथ मन्दिर वरपरको जग्गा ८/१० रोपनी मिलाइदिन सक्छौ” उनले सोधेछन् । उसले शिरदेखि पाऊसम्म हेर्दै भनेछ । तपाई काँसीबास गएको भन्ने पो सुनेको थिएँ । उसको त्यो अनुमान कसरी मिल्यो । उनी छक्क परे । होइन, म कहाँ महादेव हुनु नि ! उनी त काँसीवास प्रस्थानको सूचना एउटा लेखकको पुस्तकबाट थाहा मैले पनि पाएँ भने उनले । त्यसले पत्याइहाल्यो । यहाँ असम्भव केही छैन । खर्च कतिको गर्न सक्नुहुन्छ ? उसले सोधिहाल्यो । म जति पनि सक्छु भन्दै उनले तत्कालै सुटेडवुटेड अवतार देखाए । हुन्छ, त्यो काम सकिएपछि मलाई राजधानीमा एउटा घर जोडिदिनु पर्दछ । हुन्छ, भोलि आँउछु भन्दै लाफ्ता भए ।

एक हप्ता बितेछ ख्यालख्याल गर्दागर्दै । अब काँसीको तीर्थयात्रा गरेर आएको भन्दा पनि नन्दीले पत्याउने छ भन्ने उनले ठाने । बिस्तारै पशुपतिनाथ मन्दिरको मूल ढोकाबाट चिहाए । नन्दीलाई देखेनन् । नजिकको बानरलाई नजिक बोलाएर नन्दीको हालखबर बुझे । तपाईं हिँडेदेखि नन्दी धेरै मात्तिएको कुरा उसले गर्‍यो । एउटा गाई यहाँ आएको थियो । उसँग दिनभर प्रेमका कुरा गरेर बस्यो ।

अचेल त्यो गाईसँग खुब भिडियोकल गरिरहन्छ । “महादेव नआए म नै यहाँको मालिक हुँ भन्दै धक्कु छोड्छ” वानरले भएभरको यथार्थताको धोक्रो बिसायो । आफूलाई जहिल्यै मान्छेको मात्र पक्षमा भएको आरोप लगाउने नन्दीको त्यो चाला सुनेर दिक्क भए । दक्षिणढोकाबाट फुत्त छिरे भित्र । थकाइका कारण भुसुक्क निदाएछन् । उठ्दा नन्दी अझै आइपुगेको थिएन ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x