साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परोपकार पापाय पुण्याय परपीडनम्

सत्ताका लागि लुछाचुँडी गरे भनेर तपाईं हामी जस्ता मूर्खहरूले रुवावासी गरेर केही अर्थ छैन । सक्नेले गर्ने हो रजाइँ । नसक्नेले हारेको साँढेले झै मैदान छोडेर हिँड्ने हो । कसैले कसैलाई दया र कसैले कसैको उपकार गर्दैन र गर्नु पनि पर्दैन ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

झट्ट हेर्दा तपाईं झुक्किन सक्नुहुन्छ यो मन्त्र देखेर । आधा गाग्रो पानी छचल्किन्छ भने झैँ संस्कृतको स नजानेको लम्फुदासले किन संस्कृतमा हात हाल्नु परे होला भनेर एक झन्का रिस पनि उठ्न सक्छ । कतै वैराग चलेर यस्ता मन्त्र फलाक्न थालेछ लम्फुदासले भन्ने पनि लाग्न सक्छ । मैले धेरै पल्ट कोशिस गरेर मात्र याद गरेको हुँ यो मन्त्र । के गर्नुहुन्छ, घोकन्ते जुग गइसकेको भए पनि नघोकिकन त सम्झनै सकिएन । अहिले वेदव्यासको जुग हुन्थ्यो भने कुरा बेग्लै हो । अहिले त वेदनाशको जुग पनि सिद्धिइसक्यो । अर्जेल बाजेका हजुरबाका पालामा हुँदो हो । अर्जेल बाजेले आफ्नै पालामा घोषणा गरिदिइसके वेदनाशको जुग भनेर । अहिले त त्यो जुगले पनि पेन्सन पकाइसकेछ । अहिले वेदनाशबाट अघि बढेर बदमासको जुग सुरु भइसकेको छ । बदमासको जुगमा वेदव्यासको खोजी गर्ने धृष्टता को गरिरहोस् । जस्तो जान्यो त्यस्तै फलाक्यो ।

वेद नाश गरिसकेपछि वेदव्यासहरू भेटिने कुरा पनि त भएन । वेदव्यासले उहिलेका पुराणमा लेखेका थिए भनेर अहिले मान्नेवालाको छ र खै? ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् ॥’ नैतिक शिक्षा पढाउने गुरुले चार कक्षामा सुनाएको सिलोक हो यो । अठारै पुराणको सार भनेको अर्काको उपकार गरे धर्म हुन्छ र अरुलाई दुःख दिए पाप लाग्छ भन्ने हो । गुरुबाट यस्तो दीक्षा लिएको पनि चार दशक नाघिसकेछ । अब कुरा हुन्छ चार दशकको । एक दशकमा एउटा जुग बदलिँदै गएको अवस्थामा चार जुग बितिसक्दा कत्रो परिवर्तन भैसकेछ पत्तै भएन । अहिले त नैतिक शिक्षा भन्ने कुन चरीको नाउँ हो विद्यार्थीलाई थाहा छैन । एउटा दशके जुगले नैतिक शिक्षा र संस्कृत शिक्षाको सातोपुत्लो उडाइसकेको हो । त्यसपछि त्यस्ता पश्चगामी शिक्षा फर्केर आउन सक्ने कुरै भएन । डरले थुरथुर भएर कता दुला पसे कसैलाई थाहा छैन । उहिलेका कुरा खुइले भन्दाका चाल यो कुरा यत्ति गर् लम्फुदास भन्नुहोस् न । पुरानो घाउ कोट्याएर फोहोरी नबनेकै राम्रो ।

उहिलेका कुरा खुइलिए पनि अहिलेका कुरा त खुइलिइसकेका छैनन् होला । लौ अहिलेकै कुरा गरौँ । एउटा वेदव्यास खोजेर ल्याउनुहोस् अठारै पुराण दिएर पठाइदिउँला । बदमास खोजेर ल्याउन चाहिँ भन्दिनँ नि । म आफै एउटा बदमास ! तपाईं अर्को बदमास !! जता हेर्‍यो उतै बदमासै बदमास । बग्रेल्ती बदमासहरू भएका ठाउँमा खोज्ने जरुरत नै छैन । त्यसैले त यो जुग बदमासको जुग हो । अब जुगै बदमासको भएपछि मन्त्र पो किन सुल्टो घोक्नु भनेर उल्टो बनाएर घोकेको हुँ क्या मैले ! यो जुगमा सुल्टो र गतिलो गर्नेको भन्दा उल्टो र अगतिलो गर्नेकै फलिफाप छ त म के गरुँ ?

केही नगरी डाडुमा पानी तताएर मरुँ भने पनि मनले मान्दैन । केही न केही कोट्याउन मन लागिहाल्छ । कोट्याउँदा कोट्याउँदा थाकिसकेँ । जति कोट्याए पनि बेसार पहेँलाको पँहेलै ! किताबमा टाँसिएका नैतिक शिक्षाका सन्देशहरू हुँदा त त्यस्तै थियो अझ अहिले च्यातचुत पारेर मिल्काएपछि झन् हालत कस्तो छ भनिसाध्य छैन । मान्छेको स्वभाव नै स्वार्थी भएर हो कि किन हो जताततै बदमासीबाहेक केही सुन्न पाइन्न यी फुटेका कानले । सोझो हिसाबले कसैलाई सहयोग गरौँ भन्ने हो भने पनि ‘आफूले कति खाएको छ, त्यसै त किन गर्थ्यो र’ भन्नेहरूको जमात देख्दा त रिसको पारो तातेर आउँछ । यो जमानामा उपकार भन्ने त गर्नै हुँदैन । परोपकार पुण्याय भन्ने कुरो वेदव्याससँगै मरेको रहेछ क्यारे ।

मेरो मात्र हैन यो अनुभूति तल्लारे माइलाले पनि गरेका रहेछन् । बाटामा छटपटिएको एउटा घाइते बिरामीलाई देखेर उनले हतार हतार अस्पताल पुर्‍याएछन । मुखले प्याच्च नमिठो बोले पनि पेटमा तिन भारी स्याउला पकाएर बस्ने मान्छे होइनन् तल्लारे माइला । उल्टै ‘तपाईं यसको को हो ? तलमाथि परे जिम्मेवारी कसले लिन्छ ? लागेको खर्च कसले तिर्ने हो ? खबरदार तपाईं यहाँबाट निस्कन पाउनुहुन्न ।’ भनेर अस्पतालको गेट पो बन्द गरेछ । लौ भन्नुहोस् उपकार र दया गर्न खोजेर भयो त ?

सडकको बीचमै आत्मदाह गरेका पीडितहरूलाई देखेको नदेख्यै गरेर गाडीमा सुइँकिने जमानामा हुँदा न खाँदाको दुःख बेसाएपछि हुने तल्लारेकै हालत हो । बिचरालाई अस्पतालले थुनेको मात्र भए त हुन्थ्यो, उसलाई घाइते गराउनुमा माइलाकै हात भएको आरोप पो लगाएछन् । ‘चिन्नु न जान्नुको मान्छेलाई यहाँ ल्याउन तपाईंलाई कसले भनेको हो ? आफ्ना मान्छेहरूले ल्याइहाल्थे नि । यो मर्‍यो भने जिम्मेवारी तपाईंले लिनुपर्छ ।’ यसो भनेर र्‍यार्ख्याख्ती पारेछन् त्यहाँ । आफन्त गुमाएर एक्लै भएकाहरूले त मर्नेबाहेक के नै छ र खै ।

देखिएकै छ, अर्काको भलो गर्नेको भन्दा कुभलो गर्नेकै कल्याण भएको छ सत्ते जुगमा । सत्य जुग हुन्थ्यो भने पापाय परपीडनम् भन्न सुहाउँथ्यो । अहिले त पापाय परपीडनम् नै धर्म बनेको छ । नत्र अरुलाई जति दुःख दिन सक्यो त्यति आनन्द किन हुन्थ्यो र ? यो जुग जमानामा पनि धर्मका कुरा गर्ने ? हाम्रो देश धर्मनिरपेक्ष भैसकेपछि धर्मका बारेमा चुइँक्क बोल्न पाइन्न बुझिस् भन्नुहोला । ठिकै छ, त्यसैले पापको मात्र कुरा गर्छु । पापनिरपेक्ष देश त घोषणा गरिएको छैन होला नि !

कुम्भिपाक र रौरव नरकहरू यहाँ कतै बनाइएको छैन । फोकटमा लेखेका हुन् व्यास बाजेले । ती दाह्रीबुढाले पुराणहरूमा लेखे भनेर हुन्छ ? मरेपछि कोही पनि नरक जाँदैन । ज्युँदै त जान सकेका छैनन् अझ मरेपछि ? खालि सिधासादा मनुवाहरूलाई तर्साउन मात्र हो त्यो लेखिएको । ठुलाबडालाई त केहीले छुनेवाला छैन । त्यसैले गर्नुहोस् मज्जाले जे मन लाग्छ त्यही गर्नुहोस् । गाई मार्नुहोस् कि भाइ मार्नुहोस्, पकेट मार्नुहोस् कि लकेट मार्नुहोस्, महिलाहिंसा गर्नुहोस् कि पुरुषहिंसा गर्नुहोस्, देह बेच्नुहोस् कि देश बेच्नुहोस्, सुन तस्करी गर्नुहोस् कि कानुन मनपरी गर्नुहोस् तपाईंलाई कुनै बात लाग्नेवाला छैन, न त पाप लाग्नेवाला छ । बरू यसो गर्नुभयो भने तपाईं स्वर्ग जानै पर्दैन, तपाईँकै अगाडि स्वर्ग आफै हाजिर हुन्छ ।

यो जुगमा दान गरे धर्म हुँदैन बरू अरुको लुट्न सके ठुलो धर्म हुन्छ । अरुलाई पोषेर धर्म हुँदैन बरू अरुको खोसेर महाधर्म हुन्छ । अरुलाई हँसाएर केही फाइदा छैन बरू अरुलाई फँसाएर पाप लाग्दैन फलिफाप हुन्छ । नत्र त सुखी नेपाली समृद्ध नेपाल सपनामा देखेका किसानहरू किन उखुपीडित हुन्थे ? साग बेचेर बचत गरेका श्रमिक किन सहकारी पीडित बन्थे ? बलात्कारमा परेका नारी किन न्याय पीडित हुन्थे ? देशको दुर्गति भोग्न नसकेर विदेश भासिन हिँडेका युवा किन दलालपीडित हुन्थे ? कुरो जानिनसक्नुको छ, बुझिनसक्नुको छ । त्यसै त यो लम्फुदास किन बर्बराइरहन्थ्यो र ।

जसले हान्यो उसले जान्यो भन्ने उखान यो बदमासे जुगमा मूल मन्त्रका रूपमा लागु हुन्छ । अर्कालाई जति दुःख दिन सक्यो त्यति पुण्य मिल्छ अहिले । दधिची ऋषिले अरुको उपकारका लागि आफ्नो तिघ्राको हड्डीसमेत निकालेर दिएका थिए भन्ने झुटो कथा रचेछन् व्यास बाजेले । वृत्रासुरलाई मार्नका लागि दिएको हड्डी हो त्यो ! अरुलाई मार्ने काम उपकार भनेर चर्चा गर्ने व्यास जस्तो गफाडी अरु को होला र । दान गरे धर्म हुन्छ भन्ने चर्चा तिनले किन गरेका हँ ? बली राजाले धेरै दान गरे भनेर डाढले हैन वामन अवतार लिएर पाताल दबाएको ? अनि दान गरेकालाई सजायँ दिने कि इनाम दिने त दाह्री बुढा ! तिम्रा आदर्शवादी जमानामा पनि सत्ता हडप्छ भन्ने डरले अनेक तिगडम गर्थे भने अहिले गर्नै नहुने भनेर किन कोकोहोलो गर्नु प-याे र ? ठुलालाई चैन सानालाई ऐन त देउताका पालामा समेत थियो भने मान्छेका पालामा नहुनु पर्ने कारणै छैन । सत्ताका लागि लुछाचुँडी गरे भनेर तपाईं हामी जस्ता मूर्खहरूले रुवावासी गरेर केही अर्थ छैन । सक्नेले गर्ने हो रजाइँ । नसक्नेले हारेको साँढेले झै मैदान छोडेर हिँड्ने हो । कसैले कसैलाई दया र कसैले कसैको उपकार गर्दैन र गर्नु पनि पर्दैन । उहिलेको सत्य जुगको सिद्धान्त त्यो भए पनि अहिलेको सत्ते जुगको सिद्धान्त त सत्ता नै हो ।

यो जुगलाई व्यास बाजेले कली जुग भनेका थिए भनेर लम्फुदासले पनि मान्नै पर्छ भन्ने छैन । त्यसैले खाली सत्ता, केबल सत्ता, मात्र सत्ता देख्ने र सत्ताबाहिर हुँदा बालुवामा पछारिएको माछो जस्तो गर्नुपर्ने वर्तमान जुगलाई सत्ते जुग नै भन्नुपर्छ । सत्तामा जान नसक्ने हो भने न परोपकार गर्न सकिन्छ न त आत्मोपकार नै गर्न सकिन्छ त्यसैले धर्म र पापलाई निरपेक्ष राखेर सत्ताभक्त बनौँ, सत्तासक्त बनौँ अनि सत्तारत बनौँ । यसैमा सबैको उपकार छ, यसैमा सबैको पुण्य छ । अस्तु

०००
२०८१ जेठ २९ गते
कालीगण्डकी ५, फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x