शपथ खाने कि पिउने ?
शपथ खानु भनेको भोक जगाउने प्रक्रिया हो । त्यसरी भोक जागेपछि मूर्खहरूले देशको विकास निर्माण केके जाति पनि गरिटोपल्छन्, बुद्धिमानहरूले आफ्नै विकास हुने काम गर्छन् ।
लक्ष्मण गाम्नागे :
सङ्घ र प्रदेशमा कतै हप्तैपिच्छे कतै महिना महिनामा, कतै तीन तीन महिनामा सरकारहरू परिवर्तन भइरहेका छन् । नयाँ नयाँ मुख्यमन्त्री र मन्त्रीहरूले शपथ खाएका खाई छन् ।
शपथ खाने, शपथ खाने भन्छन्, के रहेछ यो शपथ खाने भनेको ! मलाई सधैँ अचम्म लागिरहन्थ्यो । यसपालि भने प्रदेशसभाका सांसदहरूले सपथ खाएको टेलिभिजनमा नियालेर हेरियो । जति नै ध्यान दिएर हेर्दा पनि शपथ खानेहरूले कुनै चिज खाएको भने देखिएन । अचम्म लागेर मैले एक पुराना अनुभवी र हालै प्रदेशसभाका निर्वाचित भएर शपथ खाइसकेका माननीय सांसदज्यूलाई डराइडराई सोधेँ, ‘हे माननीय महोदय, हजूरले त यस्ता शपथ कति खानुभयो कति ! तर मलाई सधैँ एउटा जिज्ञासा मनमा लागिरहन्छ, यो सपथ खाँदा खासमा हजूरहरू के खानुहुन्छ ? काँक्रो खाए जस्तो मरङमरङ चपाएको पनि देखिँदैन, भात खाए जस्तो सप्रङ सप्रङ पनि सुनिँदैन । जुस पिएजस्तो घुटुक घुटुक पनि छैन, चुइगम चपाएजस्तो मच्याक मच्याक पनि छैन । तर पनि यसलाई ‘सपथ खाने’ भन्नुहुन्छ । यसको अर्थ के हो माननीय महोदय ? कृपा गरी यो अज्ञानीलाई बेलिबिस्तार लगाइदिनुहोस् ।’
मेरो जिज्ञासा सुनेर उत्साहित हूँदै माननीयज्यू भन्नुहुन्छ, ‘हे बालक, वास्तवमा यो शपथ खाने भनेको भनाइ नै गलत छ । यो हाम्रो भाषागत त्रुटी हो । नेपाली भाषामा पानी पिउनेलाई पानी खाने भनिन्छ । धुवाँ तान्नेलाई चुरोट खाने भनिन्छ । घुस लिनुलाई पनि खाने भनिन्छ । धोका पनि खाने, गोता पनि खाने, जुत्ता पनि खाने, लात्ती पनि खाने, दिमाग पनि खाने । यस्तो पनि कहीँ हुन्छ ! शपथ भनेको पनि खाने होइन, निल्ने कुरा हो । यसलाई नजानेर खाने भनिएको हो ।’
‘अर्को कुरा सुन, शपथ खाँदा केही पनि खाएको देखिँदैन भनेर तिमीले जो भन्यौ, त्यो सरासर गलत हो । शपथ खाएको बेला ध्यान दिएर हेर्यौ भने सबैले केही न केही निलिरहेको तिमीले प्रष्ट देख्नेछौ । वास्तवमा शपथ खाएका बेला हामीहरू घुटुक घुटुक थुक निलिरहेका हुन्छौँ । त्यसैले शपथलाई खानेकुराको वर्गमा राखिएको हो । च्यापु नचलाए पनि यसमा निल्ने कार्य अनिवार्य हुन्छ । रूद्रघण्टी तलमाथि गरेकै हुन्छ ।’
मैले थप उत्सुक हूँदै सोधेँ, ‘यो त झन् अनौठो भयो । थुक चाहिँ किन निल्ने नि महोदय ?’
उनले बुझाए, ‘शपथ खाएपछि नै हाम्रा धेरैथोक खाने बाटाहरू खुल्छन् । मुख्य मन्त्री, मन्त्री, सभापति आदि अनेक हुने सम्भावना हुन्छ । त्यो केही नभए पनि शपथ खाएकै साँझदेखि तलव भत्ता पाक्न थाल्छ । कर्मचारी, ठेकेदार, व्यापारी, दलाल लगायत आम जनतावर्गबाट बाटोबाटैमा, घरघरैमा, अफिसअफिसमा जतासुकै नमस्कार खान पाइन्छ । शपथ खाइरहेका बेला हामी मनमनमा अनेक खानेकुराहरू सम्झिरहेका हुन्छौँ । जसका कारण हाम्रो जिब्रो रसाइरहेको हुन्छ । गाडी सम्झिन्छौँ, इन्धन सम्झिन्छौँ, झण्डा सम्झिन्छौँ, विदेश भ्रमण सम्झिन्छौँ । बालुवा, गिट्टी, तेल, अलकत्रा, खानी, पेट्रोलपम्प, ठेक्का, कमिशन, अनेकअनेक सम्झिन्छौँ । अनि घुटुक्क थुक निल्छौँ ।
वास्तवमा यसरी थुक निल्नु नै शपथ खानु हो । अर्थात् शपथ खानु भनेको भोक जगाउने प्रक्रिया हो । त्यसरी भोक जागेपछि मूर्खहरूले देशको विकास निर्माण केके जाति पनि गरिटोपल्छन्, बुद्धिमानहरूले आफ्नै विकास हुने काम गर्छन् । कुरा बुझ्यौ बाबु ?’ उनले हलल्ल हाँस्दै भने ।
मैले भनेँ ‘बुझे बुझे जस्तो भयो महोदय !’
०००
शीतलपाखा, कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest