साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले लाज पचाइसकेको छु 

सास रहेसम्म आश गर्नुपर्छ । यही मान्यतालाई आधार मान्दै हरेस खान छोडेको छु । हरेसका सट्टा भाङ्, धतुरो, गाँजा, रक्सी, चुरोट, खैनी र सुर्ती खान थालेपछि फुर्ती बढ्न थालेको छ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

ज्यादा सोझो हुनुभन्दा टेढिनु छ फलाsधिक
गरिँदैन कुनै सोझो ग्रहको पूजनाssदिक ।

लेखनाथ बाजेले लेखेको यो कवितांशले मन छोएको छ । सानामा सबैले इमान्दार, अनुशासित र सोझो हुन सिकाए । सोझो हुनाले जीवन डामाडोल भयो । बुझाइ यस्तै छ मेरो । हिजो अरूका पछाडि लाग्नाले, अरूका कुरा पत्याउनाले आज बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खानु परेको हो । आफै सिल्ली भएपछि दिल्लीलाई गाली गरेर भएन । उबेला कान छामेको भए हुने । बिनासित्तीमा मुटु फुट्ने गरी कागका पछाडि दगुरियो । मुतेपछि दैलो देख्ने आफू उस्तै ।अब पछुताएर के गर्ने ? यहीँ सुर्तामा सुर्ताएर सुर्ती मिच्दै गर्दा कुर्ताले भनिन् “सोझो ओैँलाले घिउ निस्किन्छ र ? अलिकति बङ्ग्याउनुहोस् ।”

म अलिक एकोहोरो स्वभावको छु । दिमागमा जे छाप बस्यो । बस्यो । त्यसलाई विस्थापित गर्न गाह्रो । यस्तो बानीले आफैलाई हानी गरेको हुँदा आफूलाई बदल्ने कोसिसमा थिएँ । यसर्थ मुडी नै भए पनि बुढीको विचार दर्शनलाई स्वीकार गर्दै आफूलाई बङ्ग्याउने बाटोमा लागेको हूँ ।

सोझो हुँदा कसैले टर्दैनथे । टेढिएपछि सबैले टेर्न थालेका छन् । अघिपछि नदेखेजस्तै गर्नेहरूले घुरी घुरी र कुरी कुरी हेर्न थालेका छन् । मेरो सान, मान र रबाफ बढेको छ । बल्ल पो जिन्दगीमा रमाइलो लाग्न थालेको छ । अरुको प्रगतिमा आहारिस गर्नु मानवीय स्वभाव हो । अगाडि बढ्न खोज्नेलाई खुट्टा तान्नेहरू पनि हामीकहाँ छदैछन् । कुकुर भुक्दैमा हात्ती कहाँ रोकिन्छ र ?

हिजो सोझो हुँदा सबैले बाङ्गो बनाइदिए । आज बाङ्गो भएपछि नाङ्गो बनाउन खोज्दैछन् । यसमा कुनै प्रवाह छैन । बाङ्गो भएपछि नाङ्गो हुन केको लाज ? मैले लाजलाई शब्दकोशबाट हटाइदिएको छु । लाजलाई पदीय मर्यादाबाट मुक्त गरिदिएपछि मलाई मुक्ति मात्रै होइन् उन्मुक्ति मिलेको छ ।

लाज पचाउन गाह्रो हो । पचाएपछि कुनै अप्ठ्यारो छैन । कसैले हग्नेलाई भन्दा देख्नेलाई लाज पनि भन्न भ्याए । वनका चरा के बास्छन् के बास्दैनन् । बास्नेहरू बासिरहन्छन् । हाँस्नेहरू हाँसिरहन्छन् । आफ्नो काममा लागिरहनु पर्छ । टन्टलापुर घाममा धान रोप्ने किसानमाथि उपहास गर्न खोज्दा महादेवले पनि हार्नु परेको कथा सानैमा पढेको पनि हो । जब हग्नेलाई नै लाज छैन भने देख्नेलाई किन लाज लाग्नु पर्यो ? यदि कसैलाई लाग्छ भने मुख छोपेर हिडे भैगो । नाकमा हस्को आउँछ भने ठेटी लगाए हुन्छ । झिंगाले सताए भने बिना कामका हात होलान् । धपाए हुन्छ ।

कसैलाई मेरो विचार ठीक लाग्छ भने अनुयायी बने हुन्छ । बिना शुल्क सल्लाह दिएको छु । आजैबाट सोझोपनको आदर्शलाई खोलामा सेलाइदिएर आउनुहोस् । भाषा, धर्म, संस्कृति र परम्पराको धरो भिर्दासम्म देश दुनियाँलाई चिन्न सकिदैन । खानपिन र आहारबिहारलाई विहारतिरै लगेर थन्क्याइदिनुहोस् । जनै फाल्नुहोस् , टुप्पी काट्नुहोस् । माक्स, लेनिन, माओ, गान्धी, बुद्धका आदर्श छाट्नुहोस् ।

यो संसार कि आँट्नेको हो कि ढाँट्नेको हो । यी दुईमा एउटा धार समाते जीवन चलाउन गाह्रो छैन । आँट र ढाँटको मिश्रण गरिदिएपछि उच्च सफलता प्राप्त हुन्छ । लङ्कामा सुन छ कान बुच्चै भनेझैं बाकसमा राखेको सर्टिपिकेटको के अर्थ ? सर्टिपिकेटले खान दिदैन । लाउन दिदैन । यदि दिन्थ्यो भने युवा विदेश किन हिन्थ्यो ?

यो संसारमा धन नै सर्वशक्तिमान छ । अचेल इज्जत र प्रतिष्ठा बजारमा किन्न पाइन्छ । धन छ भने पाजी पनि काजीसाहेब बन्छ । धनबिनाको काजी पाजी बन्दछ । चिल्ला तिघ्रालाई सबैले हेर्छन् । फुस्रा तिघ्रालाई भुस्याहा कुकुरले पनि हेप्छन् । धनदेखेपछि महादेवको तेस्रो आँखा खुल्छ । हामी त मान्छे हौँ । त्यसैले जसरी पनि धन कमाउनु पर्छ भन्ने मेरो सिद्धान्त हो ।

आखिर कक्षामा फस्ट बेन्चमा बस्नेहरू कहाँ नै पुगे र ? लास्ट बेन्चमा बस्नेको हातमा शासनको बागडोर छ । धनदौलत, गाडीघोडा, बङ्गला र जग्गाजमिन उसैका साथ छ । उसकै निगाहामा, जिउ हजुरीमा राज्यका निकाय चल्दछन् भने आदर्शको भजन गाएर के हुन्छ ?

बेलामा बुद्धि आएन । हिजो झोलामा किताब राख्नुको सट्टा हतियार राखेर डुल्नु पर्दोरहेछ । तरूनीका तिघ्रा चिमोट्दै , गाईका गर्धन निमोठ्दै हिँड्नु पर्ने थियो । मान्छे कुट्दै र लुट्दै हिँड्दा अपराधको अभियोग लागेकाहरूले जेल बसेको सर्टिपिकेट भजाएर उच्च पदस्थ बन्न पुगे । आज पछुताएर के गर्ने ? सास रहेसम्म आश गर्नुपर्छ । यही मान्यतालाई आधार मान्दै हरेस खान छोडेको छु । हरेसका सट्टा भाङ्, धतुरो, गाँजा, रक्सी, चुरोट, खैनी र सुर्ती खान थालेपछि फुर्ती बढ्न थालेको छ ।

मैले विचार बदलेपछि के छैन ? सबथोक छ । विद्या र बुद्धि गोठालो बसेका छन् । कुटनीति , लुटनीति , झुटनीति , राजनीति, लाजनीतिले सुदर्शन चक्रको काम गरेका छन् । सत्ता आफ्नै भएपछि, पावर हातमा रहेपछि कसको बाउले के नाप्न सक्छ ? घुसखोरी, तस्करी, भ्रष्टाचारी, बलत्कारी र व्यभिचारी जसले जे भने पनि केही फरक पर्दैन । किनकि मैले लाज पचाइसकेको छु ।

०००
रेसुङ्गा न पा -२, छापटोला, गुल्मी ।

Subscribe
Notify of
guest

6 Comments
Oldest
Newest Most Voted
Bashudeva Ghimire
Bashudeva Ghimire
1 year ago

Keep it up

Ramprasad panthi
Ramprasad panthi
1 year ago

धन्यवाद वासु सर

Bhim Dhakal
Bhim Dhakal
1 year ago

साहै राम्रो छ राम सर ।यसलाई निरन्तरता दिनु होला

Ramprasad panthi
Ramprasad panthi
1 year ago
Reply to  Bhim Dhakal

धन्यवाद भीम सर

Rehit Saiju
Rehit Saiju
1 year ago

गज्जब राम्रो अनि रमाइलो लाग्यो दादा । उत्कृष्ट निबन्ध प्रकाशन गर्नु भएकोमा हार्दिक बधाई ।

Ramprasad panthi
Ramprasad panthi
1 year ago
Reply to  Rehit Saiju

धन्यवाद प्याराे भाइ

Nepal Telecom ad
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
6
0
Would love your thoughts, please comment.x
()
x