साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् नाइके, टाउके र लाउकेका जहान

स्ता पराक्रमी टाउके र नाइकेसँग सम्बधित श्रद्धाका शिरोमणि र पाखण्डका पावरफुल खेलाडीलाई सारा नेपाली जनता लाम लागेर सलाम गर्नु आजको परम आवश्यकता हाे ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

जहान भन्नाले एकै भान्छामा खाने, ज्यूनार गर्ने र हसुर्ने एकाघरका मानिस तथा लोग्ने र स्वास्नीको नातासम्बन्ध भन्ने बुझिन्छ । वर्तमान महान्नाइके भन्नाले अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार व्यभिचार गर्ने र तस्करका लस्करको अगुवायी गर्ने बहादुर भन्ने बुझिन्छ । राता र सेता टाउके भन्नाले भातमारा, सर्वहारामारा आकाशका तारा खसाल्छु भनेर निम्छराको बङ्गारा झार्ने, मनी, मशाल र पावर देखाएर जनतालाई लाहोर पठाउने, सुन, हातहतियार कामतियार भन्ने पनि बुझ्नुपर्ने हुन्छ ।

शीर्ष चुलीमा रहेका शब्दलाई एउटै गाँठो पारेर भन्नुपर्दा ऊन, सुन, खुन, घर, घर-घडेरी, जग्गा, जल, जमिन, जङ्गल, जहाज, पजेरो, पानीपँधेरो, बाटोघाटो आदि अनेक आहार विहारमा चलखेल गर्ने र परिवारसँगै बसेर भकारी भर्नेको समूह भन्ने बुझिन्छ । लाउके भन्नाले नजाने पनि जान्ने सुन्ने बनेर अघि सर्ने, दक्षता, क्षमता नभएको काममा सक्रियता देखाउने र समानुपातिकमा नाम लेखाउने, अरूको मात्र गल्ती देखाउने, लाम बसेर दाम कमाउने, भ्रष्टाचारी काम गर्ने हराम भन्ने पनि बुझिन्छ । समग्रमा समेट्नु पर्दा मियोविनाको दाइँ गर्ने, विदेशीको भर पर्ने, इसारामा जता पनि सर्ने, खाली आफ्नो मात्र भुँडी भर्ने, जनतालाई नटेर्ने र गरिबीको जालोमा बेर्नेहरूनै श्री ३ सरकार जस्ता नाइके, टाउके र लाउकेका महान् जहान हुन् भन्ने बुझ्नुपर्ने हुन्छ ।

नेपाली नागरिकताको नाता टुटानी गरी लुटानीका साथ भुटानी नागरिक बनाएर विदेश पठाउने नाइके टाउके, लाउके र तिनका जहानभन्दा महान् यो दुनियामा कतै भेट्न सकिएको छैन । यस्ता महान् कर्मकाण्डी नाइके, टाउके र लाउकेका जहान झनै महान् भएको पाइन्छ । पतिलाई आपतमा पारेर लुक्ने, लुट्ने र भुट्नेहरूको के कुरा गर्नु, करोडौँ कुम्ल्याएर भरेको भकारी जोगाउन किरिया खानेको कुरा गर्नु कुरैको दुःख हुन्छ । यस्ताले खाएको विmरिया, लाएको बात र समाएको तामा- तुलसीलाई विषय बनाएर आएको अनौठो समाचार सुन्दा यस्ता अजिङ्गरले देश पनि सर्लक्कै निल्छन्, मिल्छन् र सहमति गर्छन् ।

यिनले काण्ड पनि अनेक गरेका छन् । मानव तस्करी काण्डका साथै सुनकाण्ड, धमिजाकाण्ड, लाउडाकाण्ड, ललिता निवासकाण्ड, ओम्नीकाण्ड, चियाबगानकाण्ड, भन्सारकाण्ड, धन्सारकाण्ड आदि अनेक काण्डका पहाडहरू पाइन्छन् । यस्ता व्यक्तिगत, पार्टीगत, राष्ट्रिय र अन्तर्राष्ट्रिय उचाइका काण्ड गर्ने, गराउने टाउकाहरू एउटै बाउका छोराछोरी बराबर बनेका छन् । अनेक काण्डैकाण्डका कमाण्डर, सञ्चालक र आयोजकका जहान झन् महान् मानिएका छन् ।

गाई मारेर गधालाई पोसे झैँ जनताको मुख मोसेर, आफ्ना मतियारलाई पोसेर, चम्चालाई च्यापेर ज्युनार गर्दागर्दै महान् बनेका टाउके र नेपाली माटो, मुटु र महल बेच्ने मानव-तस्करका लस्करलाई विनादाम्लो बिचौलियाको बिचबाट समाएर ल्याएको तमासा देख्ता उनीहरूको अनुहार प्रशंसनीय मात्र नभएर उदेकलाग्दो पनि देखियो । यस्ता महान् नाइके, टाउके र लाउकेको जति गुनगान गरे पनि थोरै हुन्छ । राष्ट्रिय गौरव मासेर, मुलुकी ऐेन नासेर नक्कली हाँसो हाँसेर मुलुकै खान सक्ने लामा हात हल्लाउने बहादुर नेता हुन् कि अभिनेता भन्न सकिएन । “चोरलाई चौतारी, साधुलालाई सुली” भनेझैँ छ अचेल ।

लाज पनि लजाउने गरी दिनका दिनजस्तो सुनको समाचार सुन्दा नेपालमा स्वणर्युग आएजस्तो लाग्छ । हेर्दाहेर्दै ज्यानमाराले छुटकारा पाएको देख्ता लोकतन्त्र छाएजस्तो लाग्छ। अपराधी समूहका सारथी र महारथीले देशको नाक काटेको, छोरोलाई एकोहोरो बनाएर आफ्नै धर्म र कर्ममा सामेल गरेको, भन्सार छुटाउन फोन, मेल र इमेल गरेको, जहान मिलेर भकारी भरेको विश्वसमाचार सुन्दा महान् नाइके, टाउके र लाउकेका जहानलाई स्वणर्पदक दिन मन लाग्छ ।

पन्ध्र वर्षको पौरखी अवधिमा राष्ट्रिय गौरव, मान, शान र एकताको पहिचानलाई पाखा लाउन वर्तमान व्यवस्थाका नाइकेले देशलाई एसियाको प्रगतिशील लहरमा पहिलो गरिव मुलुक बनाएर सहर्ष घोषणा गराएको सुन्दा देशलाई हरिटाट बनाएर युवालाई परदेश पुर्‍याउने परिपञ्चमा पनि पहिला जनाएको अनुभूति हुन्छ । विगतको कृषिप्रधान देश आज कुर्सीप्रधान बनाएको देखिन्छ । हिजोको शान्तिक्षेत्र आज कुरुक्षेत्र बनाउन लागेको पाइन्छ । एसियामा सर्वप्रथम बिजुली बाल्ने देश आज बेसाएर खान पर्ने बनेको छ । विगतका धान-चामल निर्यात कम्पनीहरू आज आयात कम्पनीमा परिणत भएका छन् । युवाशक्ति परदेश पठाएका छन् । सामाजिक संरचना र साहित्यिक सिर्जना खल्बलिएको छ । पहिले साठी प्रतिशत आत्मनिर्भर भएको मुलुक अहिले परनिर्भरको चुलीमा चढेको छ ।यसैले देशको उन्नति, प्रगति र समुन्नति बढेको पनि छ । यसरी हरेक क्षेत्रका सूचीमा मुलुकलाई चरमचुलीमा आरोहण गराउने महान् नाइके, टाउके र लाउकेका जहानसमेत धन्यवादका पात्र बनेका छन् ।

यिनै महान् लाइके, टाउके र लाउकेका जहानले राजनीतिलाई लाजनीतिजस्तो बनाएका छन् र देशलाई असती, अपराधी र तस्करको केन्द्रबिन्दुजस्तो बनाएका छन् । यिनैले विचरा ! जनतासँग करमाथि कर उठाएका छन् र अथाह आम्दानी भएका व्यक्ति र संस्थाको कर छुट गराएका छन् । यनकेन प्रकारेण मिसन उनासी बजाएर मिसन चौरासी जुटाएका पनि छन् । युवाशक्तिलाई फुटाएर परदेश पठाएका छन् । बाँकी रहेका जनतालाई नाङ्गो बनाएर नाङ्गोमाथि बाङ्गो बोल्न थालेका छन् । अलिकति बाँकी रहेको धोती र कानको लोती पनि खोल्न थालेर आ-आफ्ना जहान मात्र उच्च कुर्सीमा बस्न थालेका छन् । अनि अरिङ्गाल बनेर जनता डस्न थालेका छन् । देशलाई वृद्धाश्रमजस्तो बनाएका छन् । धुन्दुकारीका भारी, भ्रष्टाचारीका भकारी भएर देशलाई हरिकङ्गाल पनि बनाएका छन् । यिनैले हिजोसम्म रहेको शान्तिक्षेत्रलाई आज कुरुक्षेत्र बनाउन थाले । सनातनी नेपाली धर्म, कर्म र राष्ट्रिय पहिचानलाई माटामा मिलाउन थाले ।

हिजो नेपालको धान, चामल, सामल र अन्य अनाज भारत, भुटान, कोरिया, बर्मा आदि मुलुकमा जान्थ्यो । विदेशीले हामीसँग बेसाएर खान्थ्यो । अहिले हामीलाई बेसाएर खाने परनिर्भर बकुरो प्राणी बनाएका छन् । हाम्रो आत्मनिर्भरतालाई आफ्नै खाता, नाता, छाता र गाताजस्तै बनाएर सजाएका छन् । हाम्रो पौरखी पहिचान, बहादुरी, इज्जत र गौरवलाई भजाएका छन् । खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर बेच्न सिकाएका छन् र बिकाएका पनि छन् । खरबारीलाई घरबारी नबनाएर अनदी, मसिनु, झिनुवा बासमति फल्ने धानखेतलाई खण्डित गरेर घर फलाउने नीति लिएका छन् । एकताको धागोमा उनिएको देशभित्र परदेश पनि बनाएका छन् ।

यिनैका पाखण्डले परापूर्व कालदेखि चल्दै आएको वैदिक सनातनी धर्म, सर्म, संस्कृति र सफलतालाई फालेका छन् । सक्कली दाँत, आँत र मर्मलाई फुकालेर नक्कली भेष धारणमा हात हालेका छन् । लाजै लजाउने गरी विदेशीको इसारामा पहिलो हुने कर्म गर्न थालेका छन् । यसर्थ, एसियामा पहिलो मुलुक सावित गर्ने, गराउने तथा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तर परिचालन नगरी गाईजात्रा देखाउने पौरखी र पारखीहरूको भूमिका उल्लेखनीय उदाहरण बनेका छन् ।

यस अग्रगामी अभियानका महारथीहरूको योगदानलाई प्रशंसनीय, मननीय र उदाहरणीय मान्नुपर्ने देखिन्छ । यसर्थमा उनीहरूकम महान् होइनन् र तीनका जहान पनि कम पौरखी छैनन् भन्ने प्रमाणित हुन्छ । यस्ता पराक्रमी टाउके र नाइकेसँग सम्बधित श्रद्धाका शिरोमणि र पाखण्डका पावरफुल खेलाडीलाई सारा नेपाली जनता लाम लागेर सलाम गर्नु आजको परम आवश्यकता, चरम कर्तव्य र अधिकार पनि हो । अब छुचुन्द्राको टाउकामा चमेलीको तेल घसेर बस्ने दिन गएको, चमेराको बथानमा ठेलमठेल गर्ने बेला बितेको, भाङ्ग्रालाई सयपत्री फूल चढाएर बस्ने व्यवस्था गुमेको अवस्था नआएसम्म सरकारी सदनमा बसेका चनाखा चमेराको चलनचल्तीमाथि चर्चा चलेको चरम चुलीमय चमत्कारलाई नमस्कार ! गरी सत्कार गर्नु आजको कुरो मात्र नभएर यस निबन्धको चुरो पनि ठहर्छ । अस्तु ।

०००

सुलेख, पूर्णाङ्क १३५, २०८० मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
छन्द छानेर हान्छु

छन्द छानेर हान्छु

डा. बमबहादुर जिताली
सृष्टिमा पार्वतीकाे दृष्टि

सृष्टिमा पार्वतीकाे दृष्टि

डा. बमबहादुर जिताली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x